Saturday, November 29, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


मङ्सिरको खुल्ला आकाशझैँ उनको सफा मन मृदुभाषी, सरल लेखन, सोझा गाउँले कवि । साहित्यमा तीन दशकदेखि कलम चलाउँदै आइरहेको परिचित साहित्यकार उनकी श्रीमती गाउँमै ज्याला मजदुरी गर्छिन् । एउटा सानो छोरासहितको परिवार । आज उनलाई शहरमा एउटा ठुलो संस्थाले सम्मान गर्ने कार्यक्रम तय भयो । उ असाध्ये खुशी भयो । निर्धारित समयमै कार्यक्रमस्थल पुग्यो । संस्थाका अध्यक्ष लगायत अन्य विद्वानहरूले आ–आफ्नै प्रशंसा, संस्थाको विकास, इतिहास आदिको भाषण सुनाएर उनलाई कार्यक्रमको अन्तमा खादा र माला पहिल्याएर सम्मान कार्यक्रम समापन गर्‍यो । 

परर् ताली बज्यो । कार्यक्रम सके पश्चात् कालो चिया र बिस्कुट चपाएर पाँच/छ किलोमिटर लुरुलुरु हिँडेर घर फर्क्यो । आफ्नो श्रीमान् यसरी माला र खादा सहित आउँदा घरमा परिवार खुशी हुन्छ । उसले सोचेको थियो । तर घरमा पुग्नासाथ श्रीमती फत्फताइन्‌–  "हेर, हेर यो कविजीको ताल । काम केही छैन त्यस्तो जाबो माला र खादा पाएर के गर्नु ? एउटा तन्दा फेर्न नपाएर पत्रिका खाटमा ओछ्याएर बच्चालाई सुताउनु पर्‍या छ । हैन, यो कस्तो सम्मान हो ।’’ उसले खुशी हुँदै जवाफ दियो–  "यो खादा यो माला चानचुने होइन, माया र सद्भावको प्रतीक हो ।’’ श्रीमतीले संकेत गर्दै देखाइन्‌–  "हेर्नुस् त त्यो चौबिसौं खादा जोडेर छोरा पिङ खोलिरहेछ । यही कामको लागि रहेछ । नभन्दै उसले दृष्टिगोचर गर्‍यो । बकैनाको रुखको दुई हाङ्गामा आफूले पाएको चौबिस वटा खादा गाँसेर सानो छोरा त चचहुई गर्दै पिङ्ग पो खेल्दैरहेछ । अचम्म आफ्नो अथक साहित्य साधना त्यो सम्मान कहीँ कतै अपमान भएको महसुस भयो । कुनै आर्थिक उपलब्धिबिनाको यो खादा माला सम्मान हो कि अपमान उसले छुट्याउनै सकेन । सुकुलमा थच्चक बस्यो ।


- बुङमति–२२ ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment