कथाको पात्रको नाम 'विवेक’ । मेरा घरमा कोठा भाडामा लिएर बसेको पाँच वर्ष भइसकेको छ । समयमै कोठाभाडा तिर्छन् । घरको सरसफाईमा ध्यान दिन्छन । अनावश्यक बत्ती र पानी खर्च गर्दैनन । काममा निस्किन्छन समयमै कोठा छिर्छन् ।
एकदिन अबेरसम्म चालचुल नदेखेपछि म विवेकको कोठा अगाडि गएँ । ढोका भित्रबाट बन्द थियो । बाहिरबाट बोलाएँ – 'विवेक’ । भित्रबाट मसिनु स्वरमा आवाज आयो 'हजुर’ । 'ढोका खोल’– मैले भने ।
विवेकले ढोका खोले । निन्याउरो अनुहार, जिङरिङ्ग कपाल, हेर्दै बिरामी जस्तो देखेर मैले सोधे– 'के भयो बाबु?’ मलिन स्वरमा विवेकले भने– 'हिजोदेखि ज्वरो आएर सुतेको ।’ 'राति के खायौ?’ मैले सोधे । 'हिजोदेखि उठ्नै सकिन, केही खाएकै छैन ।’ विवेकले भने ।
मैले निधार छामेँ, नाडीको चाल हेरेँ, हनहनी ज्वरो थियो । लुगा लगाउन लगाएँ ट्याक्सीमा चढाएर अस्पताल पुर्याएँ । जाँच सुरु भयो । अस्पताल भर्ना गर्नुपर्ने देखियो ।
भोलि बिहानै जाउलो लिएर अस्पताल गएँ । पानीमा भिजेका कारण विवेकलाई टाइफाइड भएको रहेछ । अझै केही दिन अस्पताल राख्नुपर्ने चिकित्सकले सल्लाह दिए ।
रातभरि कुरुवा बसेँ । बिहान हातमा खाली टिफिन बक्सा बोकेर घर फर्कँदै थिएँ । मर्निङवाकमा हिँडेका मित्रसँग भेट भयो । 'कता पुगेर बिहानै झोला बोकेर’– उनले सोधे ।
भाडामा बस्ने भाइ बिरामी छन् उनैलाई खाना पुर्याएँ, रातभरि कुरुवा बसेर फर्केर आएको । मेरो कुरा सुनेर उनले भने – 'होइन के सुन्नुपर्यो?’ भाडामा बस्नेलाई खाना पुर्याउने ? 'आफ्नो हैसियतमा बस्नुपर्छ घरबेटी भएपछि । डेरावालाले हेप्छन् याद गर्नुहोस् ।’ उनको अर्ती सुनिरहेँ । कुनै प्रतिक्रिया जनाउन आवश्यक ठानिन ।
छुट्टिएर बाटो लागेपछि मनमनै सोचेँ । विवेक एउटा जेन्जी युवा हो । देशलाई उसको खाँचो छ । उसलाई सहयोग गर्ने परिवार साथमा छैनन् । मैले सहयोग नगरे कसले गर्छ ।
मित्रको दरिद्र सोच देखेर मलाई दया लागेर आयो ।
आफैँलाई प्रश्न गरेँ – 'के समाजमा मानवता हराएको छ र ?’
- साहित्य सन्ध्या, काठमाडौँ


No comments:
Post a Comment