"ल, बाबु साँझ छिप्पियो; म पनि घरतिर लागेँ ! बालबच्चाको राम्रो ख्याल गर्नू र सुखी रहनु ।’’ होमलाल काकाले भने ।
“हुन्छ काका, बेला बेलामा आउनुस् । अरू दिन त अफिसको तयारी र कामले थाकेका हुन्छौँ । हामी छुट्टिका दिन घरमै हुन्छौँ; आउनू होला !’’ सचिनले काकालाई बिदा दिए ।
आफ्ना श्रीमान्ले साँझमा काकालाई सजिलै बिदा दिएकोमा सुमिनालाई अचम्म लाग्यो । उनले केही असन्तोषको भावमा भनिन्, "होइन हो सचिनज्यू, बल्ल बल्ल हामीलाई सम्झेर आउनु भएको काकालाई यतै बसौं पनि नभनी, खाना खाऔं पनि नभनी पठायौं है ?’’
लौ सुन यिनका कुरा, घरमा आएका पाहुनालाई चिया, खाना बनाएर खुवाउनु पर्यो भने नारीले खटिनु पर्छ, तिमीले खट्नु पर्छ । हरबखत खट्न तिमी मेसिन हौ र ? सचिनले आधुनिक सोच प्रकट गर्यो ।
त्यो त हो नि ! तर काका बल्लबल्ल भेट्न आउनु भएको थियो । बिहान खाएर रहेको खसीको मासु भाँडोमा जस्ताको तस्तै छ पनि । एकछिन चामल उमालेर मासु र तातो भात खान दिएको भए बुढाको शरीरमा अलि ताकत भरिथ्यो कि । तिमीले त सजिलै बिदा दियौ । सुमिनाले भनिन् ।
म तिम्रो भावना बुझ्छु सुमिना ! काकी बितेदेखि काका एक्ला पनि छन् । हामीले माया गरेर खुवाउनु पनि पर्छ । तर काकालाई यतिञ्जेल छोराबुहारीले राम्रो हेरचाह गरिरहेका छन् । हामीले एकछाक खाना खुवाएर उनीहरूको दैनिक चलेको भान्छालाई किन बिगार्नु । बरु कुनै बिदाको दिनमा परिवारका सबैलाई डाकौंला नि, कसो ? बिदाको दिन म पनि तिमीलाई सघाउन भ्याउँछु । सचिनले भने । अनि केही सम्झे जस्तै गरेर फेरि भने ल, म मेडिकल गएर आउँछु, सुगरको औषधि सकिएको छ !
सुमिना काकालाई सम्मान गर्ने सचिनको फरक दृष्टि, महान विचार र उदार भावना अनि काममा नारीलाई सघाउने सोच देखेर दंग भइन् ।
- महालक्ष्मी–३ इमाडोल हालः बेरी, क्यानाडा


No comments:
Post a Comment