स्वर्गलोकमा एकोहोरो बस्दा बस्दा दिक्क लागेर एकदिन सृष्टिकर्ता ईश्वर पृथ्वीलोकमा ओर्लिए । चराचर जगतको प्राकृतिक सौन्दर्यता देखेर ईश्वर यसै मन्त्रमुग्ध भए । उनी धरतीको माधुर्यमा लीन हुन थाले । घुम्दै जाँदा ईश्वरलाई थकाई लाग्यो । उनी नजीकैको कुवामा गए । आफ्नो आँत भरिने गरी घटघट कुवाको पानी पिए । केही क्षणमै ईश्वरलाई आरामको जरुरत पर्यो । हरियो चौरमाथि बसेर प्रकृतिका सुन्दर दृश्यहरूको अवलोकन गर्दागर्दै उनी भुसुक्कै निदाए ।
ईश्वरले पानी पिएको कुवाछेउमै एउटा पोखरी पनि थियो । त्यो कुवामा एउटा भ्यागुता र पोखरीमा एउटा माछा बस्थ्यो । भ्यागुता र माछा पुस्तौंदेखि एकअर्काका दुश्मन थिए । उनीहरूबीच पटक्कै मिल्ती थिएन ।
त्यो दिन पनि यत्तिकैमा भ्यागुता र माछाबीच वाक्युद्ध सुरु भयो ।
माछाले भन्यो– “साँघुरो ठाउँमा बस्नेको साँघुरै सोच हुन्छ । मलाई हेर्, म यति फराकिलो ठाउँमा जलक्रीडा गर्दै कति आनन्दका साथ सैर गरेर जिन्दगी बिताइरहेको छु । मेरो सोच तेरोभन्दा कति फराकिलो छ ।”
भ्यागुताले भन्यो– “तँ फराकिलो ठाउँमा बस्ने भएर के गर्नु ? तँ बसेको पानी कति फोहोर छ, हेर् त ? गन्दा ठाउँमा बस्नेको सोच पनि तेरोजस्तो गन्दा नै हुन्छ ।”
एवम्रीतले माछा र भ्यागुताबीच भनाभन चलिरहेको थियो । हल्लाखल्लाले ईश्वरको निन्द्रा बिथोलियो । लामो समयपछि धरतीमा ओर्लेर आनन्द लुटिरहेका ईश्वरलाई आफ्नो निन्द्रा बिथोलिदिने माछा र भ्यागुताप्रति ज्यादै रिस उठ्यो ।
उनले तुरुन्तै माझीको रूप धारण गरे र पोखरीमा जाल हाने । त्यो माछालाई पक्रिएर एउटा पातलो ढुङ्गामाथि राखेर आगो बाली पोलेर खाइदिए । माछालाई माझीले लगेको देखेर खुच्चिङ बजाउँदै भ्यागुता खुसी भएर उफ्रिदै नाच्न थाल्यो ।
एकछिनपछि ईश्वरले पानीमा बस्ने सर्पको रूप धारण गरे र कुवामा पसेर त्यो भ्यागुतालाई पनि खाइदिए । यसरी माछा र भ्यागुताबीचको द्वन्द्वका कारण दुवैको ज्यान गयो ।
त्यसपछि धरतीलोकबाट विरक्तिएका सृष्टिकर्ता ईश्वर सरासर स्वर्गलोकतिर प्रस्थान गरे ।


No comments:
Post a Comment