बिहानको घाम झ्यालभित्र पस्दा म आफ्नो छायालाई टकटक हेर्दै थिएँ । ऊ हरेक दिन मेरो पछिपछि आउँथी— नसोचेका गल्तीहरू, अव्यक्त पछुतोहरू बोकेर । तर आज ऊ केही अनौठो देखिँदै थिई । ऊ स्थिर थिई, म हिँड्दा पनि हल्लिन चाहँदिनथी ।
– “के भयो ?” मैले फुसफुसाएँ ।
– उसले कुनै उत्तर दिइन, तर उसमा एउटा थकानको गन्ध थियो— जस्तो धेरै समयसम्म कसैको अस्तित्व बोक्न बाध्य आत्मा ।
– मैले आँखा मिचेँ । जब फेरि खोलेँ, ऊ भुइँतिर बग्दै गइरहेकी थिई— घामको कोणसँगै पतली हुँदै, अनि अन्ततः हराउँदै ।
– म दौडिएँ, तर जहाँ ऊ थिई, त्यहाँ केवल मेरो खाली रूप बाँकी रह्यो ।
त्यो क्षण मलाई लाग्यो— ऊ म होइन, म उसको नक्कल थिएँ ।
– छायाले मभित्रका अपराध, भ्रम र डरको बोझ बोक्दै थकान मानेकी थिई ।
शायद ऊ आत्महत्या गर्न खोज्दै थिई, मबाट मुक्त हुन ।
– साँझमा जब अँध्यारो फैलियो, म ऐनामा उभिएँ ।
मेरो अनुहार थियो, तर छाया थिएन ।
– पहिलोपटक म साँच्चिकै उज्यालोमा एक्लो थिएँ—
तर त्यो उज्यालो पनि अन्धकारजस्तै चिसो लागिरहेको थियो ।
– त्यो रात म बुझें— छायाको आत्महत्याको प्रयास असफल थिएन ।
– सफल ऊ थिई; किनभने म नै अब उसैको खाली खोल मात्र थिएँ ।
- धरान–१४ सुनसरी नेपाल, हाल द. कोरिया


No comments:
Post a Comment