Wednesday, May 6, 2026

लघुकथा (अङ्क ३४ मा प्रकाशित)

साहित्यिक कार्यक्रमका सञ्चालक आशन ग्रहण गराउँदैछन् मञ्चमा झण्डै एक दर्जन जति आगन्तुकहरूलाई मुख्य, विशेष तथा अतिथिका रूपमा । साहित्यकारहरूको फाट्टफुट्ट झुल्किने क्रम रोकिएको छैन । 

"तपाईंलाई कसले बोलाएको हो यो कार्यक्रममा?" छेवैमा बसेका महोदयले सोधे साउतीको स्वरमा कानैनेर । 

अनायास अनपेक्षित प्रश्न आउँदा म हल्का झस्किए । फेसबुकमै पोस्ट्याउने चलन छ कतिका निम्तो सार्वजनिक रूपमै । जलपानको बजेट टाईट हुने आयोजकहरूले निम्तोलाई पनि टाईट गर्दै मेसेन्जरमा वान टु वान निम्तो पठाउँछन भन्ने सुनेको हो ।

फलानाले बोलाएको भनेर मैले निम्तो गर्नेको नाम बताए ।

खोई के सोचे कुन्नी, उनले थपे "आजभोलि आयोजकहरूले आफ्नो दल, गुट वा समाजका साहित्यकार लेखकहरूमात्रै बोलाउँछन यस्ता कार्यक्रमहरूमा भन्ने सुन्छु । प्रगतिशिल, प्रजातान्त्रिक भन्न रूचाउनेहरूले निम्ताउने प्रमुख अतिथि र निम्तालुहरू त्यही अनुसार राजनैतिक हिसाबका हुन्छन रे ! लेखाई र बोलाईमा जतिसुकै आदर्श छाँटे पनि तिनले समग्रमा गर्ने व्यवहार भने फरक देखिएन यो देशमा, पाएसम्म आफै खाँउ, आफूले नपाए आफ्नैलाई ख्वाँउ । साहित्य नबिग्रियोस भन्छु ।"

मैले तोलाको जिब्रो फड्कार्नुको साटो धार्नीकै टाउको हल्लाएर सहमति जनाईदिए पछि उनले अझै हौसिदै थपे "त्यसो त आउनेहरू पनि ज्यादाजसो बेरोजगार र पेन्सनवाला नै हुन्छन । ती पनि कहाँ जाउन बरा । पेन्सन लिन ३ महिनामा एकपटक गए भैगो । बगली तातो हुनेहरूलाई घरमै थच्चिन मनले मान्दैन भन्छन । खर्च गर्ने पनि उमेरै रहेन । त्यसमाथी राजधानीतिर काम नै छ भने त एक काम दो पन्थ भैगो । एउटै बस भाडाले खाजा पनि भयो, शौचालयको व्यवस्था पनि ।"

- चाँगुनारायण –१, दुवाकोट, भक्तपुर

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment