Wednesday, May 6, 2026

लघुकथा (अङ्क ३४ मा प्रकाशित)

गाउँमा एउटा युवा क्लब थियो ।  लक्ष्मण गाउँको उदार र दयालु युवक मानिन्थ्यो । त्यस क्लबबाट सामाजिक विकासको लागि कार्यक्रमहरू हुने गर्थें । गाउँमा र क्लबमा कुनै पनि सामानको आवश्यकता पर्‍यो भने लक्ष्मणद्वारा नै उपलब्ध गराइने गरिन्थ्यो । गाउँमा समयमा काम होस्, समयको महङ्खव होस् भनेर एउटा घडी राख्नको लागि छलफल भयो । लक्ष्मणको पहलमा गाउँको चोकमा ठूलो घडी झुन्ड्याइयो, ताकि सबैले समय हेरेर काम गर्न सकून् ।

गाउँलेहरूले लक्ष्मणको प्रशंसा गरे, “युवाले राम्रो सोच ल्यायो ।”

तर लक्ष्मण आफैँ भने समयको कदर गर्दैनथ्यो । बैठक छ भने ढिला पुग्थ्यो, कामको जिम्मा लिँदा ‘भोलि गर्छु’ भन्थ्यो । घडी हेर्ने सबै थिए, तर समय पालना गर्ने कम । एकदिन विद्यालयको बैठक लक्ष्मणकै कारण ढिला शुरु भयो । बिरामी बुबा अस्पताल लैजान ढिला भयो, बुबालाई व्यर्थमा गुमाउनु पर्‍यो । किनकि गाडी समयमै चल्न सकेन । सानो लापरवाहीले ठूलो असर पर्न थाल्यो ।

केही दिनपछि चोकको घडी अचानक बन्द भयो ।

गाउँलेहरू आत्तिए—
“अब कसरी समय मिलाउने?”

घडी बनाउने मिस्त्रीले भने,
“घडी बिग्रिएको होइन, यसलाई चलाइराख्ने मानिसहरू सुस्त भएका हुन् ।”

यो कुराले लक्ष्मणको मनमा गहिरो छाप छोड्यो ।

उसले पहिलो पटक महसुस गर्‍यो, घडी झुन्ड्याउनु मात्र जिम्मेवारी होइन रहेछ, आफू उदाहरण बन्नु नै साँचो जिम्मेवारी रहेछ । त्यस दिनदेखि लक्ष्मण समयमै पुग्न थाल्यो, काम समयमै सक्न थाल्यो ।

उसलाई देखेर अरूले पनि सिके र अनुकरण गर्न थाले ।
घडी फेरि चल्न थाल्यो, र त्यससँगै गाउँको जीवन पनि व्यवस्थित हुन थाल्यो ।
समाज सुधार्न संरचना मात्र होइन, जिम्मेवारीको बोध पनि  हुनुपर्छ भन्ने सबैलाई ज्ञात भयो । 

- रमेश विकल प्रतिष्ठान मार्ग, आरुबारी

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment