Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

बाध्यता

- भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४, नवलपुर   


कति धौ भयो यो नाति हुर्काउँदा ? बाबाआमा अष्ट्रेलिया छन् । उहीँ गएर केही समय बसेर लिएर आइयो ?

राम्ररी राती पनि सुतिन म । चार पाँच चोटी राती उठेर बोतलबाट दुध ख्वाउँथे ? त्यो दुधे बालक ल्याएर अहिले यत्रो भयो । सम्झँदै बुढीले भनिन् हो त नि यसका बाबाआमालाई एकछिन फुर्सद छैन । व्यस्त जीवन पैसाको मोह भयो । परिस्थिति पनि त्यस्तै छ । के गर्ने ? यसको स्याहार सुसार कसले गर्ने ? त्यही भएर हामी नै हुर्काउँछौँ नाति भनी ल्याइयो ।

अहिले ठूलो भयो स्कुल खुरुखुरु जान्छ । बुझ्ने भइसक्यो । "साँउभन्दा व्याजको माया" नातितिर हेर्दै पुलकित मुद्रामा बुढाले भने ।

अबेला त ठिकै हो । बिरामी भयो भने मलाई त साह्रै डर लाग्छ किन हो ? कतै केही भई हाल्ने पो हो कि भनेर सात्तै जान्छ जान नि ? आफ्ना छोराछोरी हुर्काउँदा खै यस्तो विधि थाहा पाइएन । बस्तुभाउ, मेलापात, दाउराघाँस गर्नुपथ्र्यो । दुःख थियो । दुःखैदुःखले हुर्किएका हुन् बरा ! छोराछोरी त ? बुढीले थपिन् ।

अहिले त ध्यान नै यसैको मात्र छ । के खान्छ ? कस्तो लाउँछ ? कहाँ जाने भन्छ ? यसैको चाकडी गर्दा गर्दै दिन बित्छ । पहिला र अहिलेका दिन यिनै हुन् क्यारे ! समयले कहाँबाट कहाँ ल्यायो ? है बुढा मोबाइलमा घन्टी बज्यो । भिडियो कल गरे छोराबुहारीले । ल ! आऊ आऊ सुबोध नाति हेर त तिम्रो बाबाआमाको फोन आयो । ल आऊ त बोल्न । ऊ आफ्नै पारामा खेलिरह्यो । कति गर्दा नि मोरे बोल्न खोजेन ? वास्तै गरेन । सबैले अनेक प्रयत्न गरे तर सुबोधले ध्यान नै दिएन ।

बाआमा भनेर हामीलाई कति माया गर्छ ? एकछिन छोड्दैन पुच्छर लाएर हैरान पार्छ । आफ्ना बाबाआमाले बिचरा ! कति गर्छन तर पनि बोल्नै खोज्दैन ? किन हो, कतै आमाबाबा र सन्तान बीचको दूरी बढ्ने त होइन ? वास्तै गर्दैन, मलाई त सम्झँदा नि डर पो लाग्यो त ? मलीन मुखमुद्रामा बुढीले भनिन् ।

बुढाले घोरिदै सोचेर भने,  "आमाबुबाको माया, स्पर्श केही पाएको छैन ? अनि कसरी माया बसोस् त ? यो बाध्यात्मक परिस्थितिले निम्त्याएको दुरी पनि ठीक होइन ।"

....साथ सहयोगको खाँचो

No comments:

Post a Comment