Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

 कस्तुरी

- अम्बिका धिताल
कमलविनायक भक्तपुर 


"के भयो आजभोलि बुबा ? तपाईंको मुहार धपक्कै बलेको देख्छु । यसको भेउ पाउन पाए म पनि खुसी हुन्थेँ ।” 

“तैँले थाहा पाइहाल्छस् नि ।” बुबा हाँस्नुभयो ।

मैले भनेँ “मानिसको मन पनि अचम्मको छ है बुबा ?”

“हो, मनमिटर घुमिरहन्छ, बुझ्नै गाह्रो ।” भन्दै टार्न खोज्नुभयो ।

यतिकैमा साइला काका आएर भन्नुभयो, “तँ यतिको पढेर पनि देशमै सीमित हुने भइस् है ?  अन्याय, अत्याचार, भ्रष्ट, दलाली भएको यस्तो ठाउँमा तिमीहरूको भविष्य कहाँ छ भन् त ?”

“कस्तो कुरा गर्नुहुन्छ काका । सबै परदेश गएका छन् । गाउँमा लास उठाउने समेत मान्छे छैन । म त अब युवाहरूलाई आफ्नै ठाउँमा राख्ने अभियानमा छु ।” यथार्थ ओकलेँ ।

काकाले सम्झाउनुभयो, “हेर लाटा ! यहाँ रातदिन कमाई गरेर रुपैयाँ कमाइन्छ । त्यहाँ डलरको खेती अर्कै हुन्छ। त्यसैले हेर, बरु पैसा छैन भने म हालिदिउँला तर नेपाल भने पटक्कै नबस् दुःख पाउँछस् ।”

म उत्साहका साथ बोलेँ “म त काका आफ्नो ठाउँ आफै बनाऊँ भन्ने अभियान बोकेर हिँडेको छु । रगत र पसिना आफ्नै माटोमा खन्याउँछु ।” 

“मलाई त छोराले अमेरिका बोलाएको छ अर्को हप्ता जाँदै छु । तँ गए तेरा आमाबा पनि पछि जान पाउँछन् ।” लालचाजन्य कुरा काकाले बोलेपछि मैले भनेँ ।

“हेर्नुहोस् काका !  मलाई तँ बराबरको सुन दिन्छु भनेपनि म जाँदिन । पैसा नै सबैकुरा होइन । म मेरो देशमा आत्मसन्तुष्ट छु र मेरा बाआमालाई पनि विदेशको मोह छैन ।”

आउँदै गर्दा भतिजोका विदेश नजाने कुरा सुनेका जेठाबाले बुबातिर हेरेर मुख खोल्नुभयो, “आहा ! कति राम्रो विचार। हेर कान्छा तेरो छोरो देशकै कस्तूरी हो । बिस्तारै सबैले चिन्छन् । 


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment