Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

 जिजीविषा

- दुर्गा वनवासी
झापा  


मसानमा जलेका विभिन्न चिताहरूबाट बाँकी रहेका साना, ठूला दाउरा र चोइटाहरु खोलाकै बगरमा यत्रतत्र छरिएका थिए । जुन जुन चिताका ती दाउराहरु थिए, ती चितामा शरीर जलाइएका आत्माहरु मध्यरातमा तिनै दाउरामाथि बसेर गफ गर्न थाले । 

एउटा आत्माले भन्यो- ‘मेरो बाइकलाई त्यो असत्ती ट्यांकरले ठक्कर नदिएको भए यति चाँडो त्यो सुन्दर शरीर छाड्नुपर्ने थिएन नि मैले !’

दोस्रो आत्मा उसरी नै उदास हुँदै बोल्यो- ‘त्यो पैसामूखी डाक्टरले लापरवाही नगरिदिएको भए मैले पनि त यसरी असमयै शरीरबाट छुट्नुपर्ने थिएन ।’ 

‘ती स्वार्थी नेताहरूको लहैलहैमा लागेर बन्दुक नसमातेको भए म पनि यो सुन्दर संसारमा सशरीर घुमिराखेको हुने थिएँ । कत्ति न शहीद बन्ने लहड लिएर जीवन बलिदान दिएँ, न केही कदर भयो, न त परिवारले नै केही पाए !’ तेस्रो आत्माले अझ बोझिलो स्वरमा भन्यो ।

‘तिमीहरुकोभन्दा पनि दुखद् कथा त मेरो पो छ त साथीहरु ! मातापिताको शेषपछि दाइले अंश ठग्यो भनेर मुद्दा हालें, आफ्नै दाजुले गुन्डा लगाएर यो गति पारिदियो । श्रीमती रोइरहेकी देख्छु, छोराछोरी नियास्रेका देख्छु । न सान्त्वना दिन सक्छु, न त छुन नै बरु मुद्दा नहालेकै भए हुने रहेछ, अब पछुताएर के गर्नु ?’

यस्तै असन्तुष्टि र जिजीविषाहरुकै कारण शरीर छाडेको दुई सय वर्षसम्म पनि प्रेतकल्पमै रुमल्लिइरहेको र अब चाहेर पनि मुक्त हुन नसकेको प्रेतात्मा ती नयाँ आत्माहरूका अतृप्ति र गुनासाहरू सुनेर अलिनो मुस्कान मुस्कुराइरह्यो । बस् ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment