Friday, July 5, 2024

दिव्य गिरीका दुई कविता


 

बाटो र माटो


म त्यही बाटो हिँडिरहेँ
जुन बाटो पुर्खाहरूले हिँडेथे
म त्यही माटोमा खेलिरहेँ
जुन माटोमा पुर्खाहरूले खेलेथे
बाटो पनि जहीँको तहीँ छ
माटो पनि जहीँको तहीँ छ,
बाटो बदलिएको छैन
माटो बदलिएको छैन
केवल म बदलिएको छु
मेरो सोच बदलिएको छ ।

पुर्खाले देशको निम्ति
रगत र पसिना बगाए
म त्यही वीरको सन्तान
आज बिर्सेर पुर्खाको बाटो
आज बिर्सेर देशको माटो
म परदेशको बाटो हिँडिरहेछु
म परदेशको माटो रोजिरहेछु
अनगिन्ती सपनाहरू काखी च्यापेर
म परदेशमा रगत पसिना बगाइरहेछु
मेरो यो बाध्यता र विवशताको लागि
म आफै जिम्मेवार छैन
छातीमा हात राखेर भन्छु
म कदापी बेइमान होइन
यसको मुख्य कारक भनेकै
तिमी हौ, केवल तिमी हौ
जो आफूलाई सरकार भन्छौ ।

***********************

निर्मलकुमार आचार्यका तीन गीत

 


   1                                     


फेरिन्छ यो दुनिया बोलेर त हेर  
क्यै’ नलुकाई मन खोलेर त हेर ॥  

जत्तिसुकै घाउ गहिरो भए नि
सहनै नसक्ने पहिरो गए नि
पीडा सब बटुली पोलेर त हेर
         फेरिन्छ यो दुनिया ........

जहाँसुकैबाट हरेस खाए नि
सह्मालिनै गाह्रो आतेस भए नि
हृदयमा मह घोलेर त हेर
         फेरिन्छ यो दुनिया ........


  2                                      


हिंड्दा कैले काहीं ठेस लाग्दोरहेछ
ठेस लाग्नाले नै होस जाग्दोरहेछ ॥   

फुकाउन नसके हृदयको गाँठो
गुम्सिएर भित्रै मन पाक्दोरहेछ ॥

पलाउन नसके आशाको मुजुरो
बन्दुकजस्तो बोली गोली दाग्दोरहेछ ॥

बजाउन नसके जीवनको पिपिरी
आफ्नै सुर पनि खै कता भाग्दोरहेछ ॥

     

  3                                      


बनाउँछु बिग्रन्छ, फेरि बनाउँछु
भरोसाको घर, सकुन्जेल टिकाउँछु ॥    


आशाले मेटिन्छ, निराशाको बादल
नअलमलिन, आफैलाई सिकाउँछु ॥

डोरेटो, गोरेटो, सुनसान बगरमा
छरिएको मन, जतनले झिकाउँछु ॥

खुसियाली किनबेच हुने सहरमा
आफ्नालागि आफै, आफूलाई बिकाउँछु ॥

- सरस्वतीनगर, काठमाडौं


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com


..साथ सहयोगको खाँचो

Thursday, July 4, 2024

कविता संसारको अङ्क ११ मा प्रकाशित

 ***********************************

डा. दामोदर पुडासैनी 'किशोर' वर्तमान समयका जुझारु, लगनशील, निर्भिक र ऊर्जावान स्रष्टा हुनुहुन्छ । गद्यमा होस् या पद्यमा उहाँको लेखनी हस्तक्षेपकारी छ । उहाँका १० कवितासङ्ग्रह, ७ नियात्रासङ्ग्रह र १ दर्शन कृति प्रकाशित छन् । ती सबै कृतिहरू आम पाठक, समालोचक र शोधार्थीको चासोको विषय बनेका छन् । साझा प्रकाशनबाट प्रकाशित उहाँको नियात्रा कृति— डोल्पो ओ डोल्पोले साहित्य संगम मकवानपुरबाट यसै वर्ष वर्षभरि प्रकाशित कृतिहरूमध्ये सर्वोत्कृष्ट पुस्तक पुरस्कार पाएको छ । त्यस बाहेक उहाँका अरु कृतिहरूले सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । वि.सं. २०१९ जेठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मनुभएका डा. पुडासैनी लेखापरीक्षण (अडिटिङ) विषयमा विद्यावारिधि (पीएच.डी.) पुरा गर्ने पहिलो नेपाली हुनुहुन्छ । ज्ञान, विज्ञानका सान्दर्भिक उदाहरण सहित सटिक ढङ्गले तर्क गर्न रुचाउँने डा. पुडासैनी देशका विभिन्न भूगोलमा र संसारका अनेकौं स्थानमा घुमफिर गरेर नवीन सिर्जनाहरू रच्न रमाउनुहुन्छ । नेपाल सरकारको उच्च तहमा रहेर वर्षौं राज्यलाई उल्लेखनीय योगदान दिनुभएको उहाँले संसारका चालिसभन्दा बढी मुलुकहरू र देशका सतहत्तर जिल्लाकै भ्रमण गर्नु भएको छ । असार महिनामा झमझम पानी वर्षिरहेको बेला लमजुङ जिल्लाका दुई प्रख्यात गुरुङबस्ती— घलेगाउँ र भुजुङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किनुभएका उहाँसँग साहित्यकार एवं पत्रकार त्रिचन्द्र श्रेष्ठ 'प्रतीक्षा'ले गर्नुभएको कुराकानीको अंश यहाँ प्रस्तुत छ ः

***********************************


तपाईंको विचारमा कविता के हो ? कविता के को लागि लेख्नुहुन्छ ?

पुडासैनी : जीवनमा बुझेका र भोगेका घटनाक्रमले अनुभूतिहरू प्रवल रुपमा पैदा हुन्छन् । तिनै अनुभूतिहरूसँग संवेगहरू जोडेर र कल्पनाहरू मिसाएर लयात्मक रुपमा जीवन र जगत्को व्याख्या गर्नु नै कविता हो । उपमा, बिम्ब, प्रतीकको माध्यमबाट शब्दकला सुललित, मधुर र रसपूणर् बनेपछि कविता जन्मन्छ । कल्पनाको तीब्र बेगमा अनुभूतिका रसदार सारहरू मिसाएर अभिव्यक्ति स्वरुप कविता जन्माइन्छ । यसले मनलाई गहिरो प्रभाव पार्दछ । जीवन र जगतका यथार्थसँग कवि नजिकिन्छ । त्यो उसले ज्ञानको रुपमा ग्रहण गर्दछ । त्यसमा कविको कतिपय अवस्थामा सहमति हुन्छ, कतिपयमा असहमति पनि । त्यही जीवन अनुभवलाई कविले भावना, विचार, संवेदना, उद्देश्य जस्ता तत्वहरूमा मिसाएर लयदार निचोडको रुपमा कविता जन्माउँछ । जीवन र जगतबाट प्राप्त ज्ञान, विचार, मूल्य, आदर्श, उद्देश्यहरूलाई एकीकृत गरेर कविले जीवनको महानतालाई अघि बढाउँन त्यसप्रतिको फराक बाटोलाई कलात्मक रुपमा प्रकट गर्दछ । कविता सूत्रात्मक, व्यञ्जनापूर्ण र ध्वन्यात्मक बनाउन सकियो भने त्यसले विशेष महत्व राख्दछ ।

म मानवीय संस्कृतिलाई उच्च बनाउनकालागि कविता रच्छु । शब्दको माध्यमबाट आश्चर्यपूर्ण परिणाम खोज्न पनि म कविता रच्छु । कवितामा शब्द र विम्बको चित्रात्मक संयोजन हुन्छ र यसले युग चिनाउने मात्र होइन युगलाई अघि बढ्न प्रभावशाली बाटो देखाउनपनि सक्तछ । त्यसैले म कविता रच्छु । गहिरो अनुभूतिलाई लालित्यपूर्ण ढङ्गले अभिव्यक्त गर्न पनि कविता रच्न जरुरी ठान्छु म । मेरा भावना र विचारलाई सुन्दर ढङ्गले पस्कन, कयौं लुकेका कथाहरू अरु समक्ष राख्न र लुकेका खबरहरू सम्प्रेषण गर्न पनि मैले कविता रच्ने गरेको छु।