Showing posts with label ललिता ‘दोेषी’. Show all posts
Showing posts with label ललिता ‘दोेषी’. Show all posts

Thursday, June 5, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


ए देवकी बजै हान्ने राँगोजस्तै भएर जुनूको घरमा पुगेर लौरो मात्र के उठाएकी थिइन् । साकारले लौरो समातेर फ्याँक्दै खुसीको स्वरमा बोले– “म चौतारोमा रोएर बसेको थिएँ । दिदीले किन रोएको भनेर सोध्नुभयो । मैले सबै कुरा बताएँ । दिदीले ‘नरोऊ सहरिया बाबू ! म भाइटीका लगाइदिन्छु’ भनेर यहाँ ल्याउनुभएको हो नि ! मैले टीका पनि लगाएँ । मीठोमीठा खानेकुरा पनि खाइसकेँ । क्या मज्जा आयो ।”

हात जोड्दै जुनूका बाबु बोले– “माफ गर्नुहोस् बर्जु ! हामीले मर्यादा भुलेका छैनौँ । बाबूको आँसु हेर्न नसकेर मात्र हो । हामी परिबन्दमा पर्‍यौँ ।”

बजै मौन रहिन् । उनको आँखामा नातिले ‘हजुरआमा म टीका लगाउन आएको हुँ’ भनेको दृश्य नाच्यो । कानमा जेठी बुहारीले मोबाइलमा भनेका शब्द पनि गुञ्जियो– ‘नानीले मामाघरबाट आउन मन गरिनन् । साकारले अरूकै हातको टीका लगाए हुन्छ ।’

मुसुक्क हाँस्दै बोलिन् बजै– “मान्छे जातले होइन कर्मले ठूलो हुन्छ भन्थे ठीक नै रहेछ । म पनि अरूले जुनूसँग हजुरको नाति गएका छन्, भनेको सुनेर हान्निँदै आएँ । काठमाडौँदेखि त्यो पनि अरूको साथमा भाइटीका लगाउन भनेर नाति दोलखासम्म आए । आठ वर्षको नातिको भावना नौ वर्षकी जुनू र उनका बाबुआमाले मात्र बुझे । आफ्नै परिवारले र एघार वर्षकी दिदीले भाइको मर्म बुझिनन् । धन्न परमात्माको खेल ।”

जुनूलाई अङ्कमाल गर्दै साकार  बोले— “अबदेखि ठूलो ड्याडीको छोरीसँग होइन जुनू परियार दिदीसँग नै टीका लगाउँछु । त्यो नट्टी दिदीलाई कट्टी गरिदिन्छु के !” 

– बुद्धनगर काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, December 4, 2024

अन्तर्वार्ता (अङ्क १८ मा प्रकाशित)


**********************************************************************
 

नेपाली साहित्यको हरेक विधामा अनवरतरूपमा सक्रिय महिला साहित्यकार हुन् - ललिता 'दोषी’ । सूर्यकुमारी र कुलबहादुर गजुरेलकी सुपुत्री ललिता 'दोषी’ २०२५ कात्तिक १६ गते इमाडोल, ललितपुरमा जन्मिएकी हुन् । 

स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका ललिता अध्यापन सेवामा सम्वद्ध हुनुहुन्छ । २०४१ मा 'शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकी दोषीको पहिलो कृतिको रूपमा 'प्रेमको परिभाषा’ (कथासङ्ग्रह, २०५६) प्रकाशित भएको थियो । उहा“का 'भत्किएका किनारा’ (२०५७) उनले  बच्चाहरूका लागि र ठूलाहरूका लागि ४९ वटा पुस्तकहरू प्रकाशित गरेकी छन् भने नौवटा बालकथाहरू, बालगीत र बालकाव्यादिलाई श्रव्यदृश्य बनाइएको छ । केही पुस्तकहरू प्रकाशनको तयारीमा छन् । उनले एक दर्जन जति पुस्तक सम्पादन गरेकी छिन् । 

उनका आधुनिक, राष्ट्रिय, धार्मिक, चेतनामूलक, लोकगीत, पपगीत र बालगीतहरू रेकर्डिङ भएका छन् । साहित्यका प्रायः सबै विधामा कलम चलाउने ललिता 'दोषी’ले लेखेका बालकथा, बालकविता, बालनाटक गरेर करिब डेढ दर्जन बढी रचनाहरू पाठ्यक्रममा परेका छन् । उनी भानुमोती पुरस्कार, क्षेत्रीय प्रतिभा पुरस्कार लगायत कथा, लघुकथा, कविता, हास्यव्यङ्ग्य कविता, सुसेली, नाटक, बालकथा, बालकाव्य, बालगीत आदि दर्जनौंभन्दा बढी साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । ललिता 'दोषी’सँग लघुकथा संसारले गरेको छोटो कुराकानी ।

**********************************************************************

विशेष विधा के हो र किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?

ललिता 'दोषी’ : म प्रायः सबै विधामा कलम चलाउँछु । मनमा उर्लिएका भावनाहरू शान्त पार्न नै लेख्ने गर्छु । मरेर जाँदा हामी रित्तो हात नै जान्छौँ । बाँचुन्जेल समाजलाई केही दिनपाए हुन्थ्यो भन्ने लाग्छ । आफ्नै पौरखमा रमाउन पनि मन लाग्छ । त्यसैले लेखिरहेकी हुन्छु ।


कथा र जीवनदर्शनलाई दाँजेर कसरी हेर्नुहुन्छ ?

ललिता 'दोषी’ :  कथा र जीवनदर्शनको कुरा गर्दा दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्वव्यापी दृष्टिकोण हो । कथा र जीवनदर्शनलाई दाँजेर हेर्दा कथाको ज्योति नै दर्शन हो झैँ लाग्छ मलाई । 


यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ?

ललिता 'दोषी’ :  मेरो कथा लेख्ने निश्चित समय त छैन । निश्चित स्थानभने छ । मलाई सिर्जना गर्न एकान्त स्थान नै मन पर्छ । 

Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

बाण

- ललिता 'दोषी'
बुद्धनगर, काठमाडौँ  


काउकुती लगाउँदै अजय बोले— “हैन, बिहान-बिहान मेरी फूलकुमारी किन मुर्झाएकी ?” 

लोग्नेलाई जोडसँग धकेल्दै मधु च्याँट्ठिइन्— “मलाई जिस्केको पटक्कै मन पर्दैन । यो सब देखावटी माया हो । तन यहाँ छ मन भने कहाँ हो कहाँ ? घरमा छाक टार्न गाह्रो छ । प्रेमिकालाई भने... ।”

अजय रुन्चे स्वरमा बोले — “ऐया बाबा, म मरेँ ! हेर भित्ताले माया गरेर  टुटिल्को नै उठाए छ ।  होइन, तिमी खुस्केऊ कि कसो ? हनुमानले झैँ छाती चिरेर देखाउन सक्ने भए सबै देखाइदिन्थेँ । यो हृदयमा केवल तिमी मात्र छ्यौ बुझ्यौ मैयाँ ?”

बाहिर निस्किँदै भुतभुताइन् मधु — ‘‘झूटको आयु लामो हुँदैन बुझ्नुभयो ? यस्तो पापी, धोकेको मुख हेरेर के बस्नु ?’’ 

टुप्लुक्क सुमना देखा परिन् । भाउजूलाई अङकमाल गर्दै भनिन् — “हजुर त संसारकै भाग्यमानी नारीमध्यमा पर्नुहुन्छ । दाइले आफूलाई भन्दा बढी हजुरलाई माया गर्नुहुन्छ ।  हजुरलाई केकेको रहर छ । सपनामा बरबराइदे पुगिहाल्यो । बिपना भने दाइको बिथोलिन्छ । थोरै मेरो पनि.. । दाइले म गरिबको बछेडोले कसरी उनको रहर पुर्‍याऊँ ? उनको रहर पुर्याइन् भने बाँच्नुको कुनै सार नै हुँदैन भनेर छटपटिनुभयो । त्यसैले म हाजिर भएँ ।”

अजयले दुवैलाई अङकमाल गर्दै भने — “मेरो पीडा बुझ्ने मायालु कान्छुलाई धेरैधेरै धन्यवाद छ । ल प्यारी स्कुटीको कलर छान्न हिँड । मलाई तिम्रो कुनै कुराले दुख्दैन । चण्डी रूपमा पनि तिमी राम्रै देखिएकी थियौ ।”

मधु पश्चात्ताप र लाजले निहुरिन् । उनलाई बाण लाग्नुको कारण नै कसैलाई स्कुटी उपहार दिने  विषयमा कुरा गरेको सुनेर नै थियो । 


...साथ सहयोगको खाँचो

Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

खोट

- ललिता 'दोषी'
बुद्धनगर, काठमाडौँ  


लघुकथा वाचन कार्यक्रममा थियो । लघुकथा वाचनपछि नजिकै बसेका साहित्यकारहरूले प्रकाशको लेखनशैली र वाचनशैलीकै निकै प्रशंसा गरे । वाचन सिद्धिएपछि विद्वान् ठहरिएका समालोचकले लघुकथाहरूको समीक्षा गर्न थाले । प्रकाशको कथामा उनले धेरै नै खोट देखाए । कार्यक्रम सिद्धिएपछि रामेश्वरीले भनिन्— “हामीलाई त तपाईंको लघुकथा साह्रै राम्रो लागेको हो । पात्र चयन, चरित्र चित्रण, व्यग्य, संक्षिप्तता, कौतूहल सबैले पूणर् छ कथा । यति हुँदाहुँदै पनि सरले धेरै नराम्रोसँग टिप्पणी गर्नुभयो । तपाईंको लघुकथामा होइन, उहाँको मनमा नै खोट रहेछ ।”

“हैन, गल्ती देखाइदिनु भनेको ‘गाडेको धन’ देखाइदिनुसरह हो भन्छन् ।  उहाँ त धेरै विद्वान् मान्छे । उहाँको मनमा पटक्कै खोट हुनै सक्दैन । अबदेखि लघुकथालाई बाईबाई गरिदिन्छु ।” प्रकाशले उत्तर दिए

यो लघुकथा एकपल्ट फेरि पढ्छु, भन्दै रामेश्वरीले लगिन् । केही दिनपछि रामेश्वरीको म्यासेज आयो । त्यो हेरेपछि प्रकाश तीनछक परे । धेरै दिनदेखि बन्द कपी, कलमलाई खोल्ने सङ्कल्प गरे । रामेश्वरीलाई लाखलाख धन्यवाद छ । तपाईं नै मेरो प्रेरणा पुञ्ज, मेरो लागि भगवान् हुनुहुन्छ भन्न भुलेनन् । रामेश्वरीले सुटुक्क त्यो लघुकथा प्रतिगोगितामा पठाइदिएकी रहिछिन् । खोट देखाएकै लघुकथाले ५९ जनालाई उछिनेर प्रथम भएको रहेछ । प्रकाशको कानमा रामेश्वरीका तिनै शब्दहरू नै ओहोरदोहोर गरिरहे — ‘कथामा होइन, जीवन सरको मनमा नै खोट रहेछ ।’

...साथ सहयोगको खाँचो

Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

बबुरो

-ललिता 'दोषी’
बुद्धनगर, काठमाडौँ   


"हेलो, विनोदजी के छ हालखबर ?”

विनोदले जवाफ दिए —“अँ, सञ्चै छ जीवनजी ! म बबुरोलाई कसरी सम्झनुभयो ? धेरैमा फोन गर्नुभयो ।” 

जीवनले भने — ‘‘तपाईं रिसाए पनि रिसाउनुहोस् ।  एउटा कुरा भन्छु नै तपाईं बबुरो होइन । पत्थर नै हुनुहुँदोरहेछ विनोदजी ! हैन त्यसरी फेसबुक वालमा नै राखेको कविता प्रतियोगितामा पनि टपाटप नजिकका मान्छे टिप्ने हो त ? कमसेकम शुद्धता, भाव, शैली आदि हेर्नु पर्दैन ? ‘जसको हात उसैको जगन्नाथ’ गर्नुभयो ? हैन मर्दा कसरी सास जान्छ हँ तपाईंको ? होनहार प्रतिभाको आँसु लाग्दैन ?”

विनोदले कड्किएर भने— “ल मलाई एउटा त्यस्तो क्षेत्र बताउनुहोस् । जहाँ साहित्यकारहरूकोे मात्र कदर हुन्छ ?”

जीवनको मन एकाएक देशकै ठूलो साहित्यिक संस्थामा गएर अडियो । त्यहाँ पनि साहित्यका पुजारीहरूभन्दा राजनीतिका पुजारीहरू धेरै थिए । अन्य कैयौँ साहित्यिक संस्थामा पनि राम्रो हैन, हाम्रै मान्छेको चयन हुन्थ्यो । सबै सम्झिँदा उनको मुटु चिरिएझैँ भयो । आँखा टम्म भरियो । उनी मौन रहे ।

ठूलो हाँसोमा विनोदले उत्तर मागे— “ल, भन्नुहोस् केही जवाफ छ तपाईंसँग ?”

जीवनले रुन्चे स्वरमा भने— “अहँ, छैन । तपाईंहरूजस्ताले नै आफ्नो साम्राज्य जमाउनुहोस् । बबुरो त हामी पो हौँ । हामीजस्ता सिधासादाको यहाँ केही काम नै छैन । कृपया लतिका, सुयोगलगायतका कविता एकपल्ट फेरि पढ्नुहोस् । यतिचाहिँ भन्छु नै ।”

विनोदले अलि झस्केझैँ गरी भने— “हत्तेरिका उनीहरूको पनि कविता थियो र ?”


..साथ सहयोगको खाँचो

Tuesday, November 21, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

गणतन्त्र

ललिता ‘दोेषी’
बुद्धनगर, काठमाडौँ 



मनले भने— ‘‘हैन बाबा, हजुरलाई के भएको छ ? अस्तिदेखि नुन खाएको कुखुराजस्तै हुनुभएको छ ?’’

घनश्यामले आँसु झार्दै भने— ‘‘खोइ के भनौँ बाबु, धमिराहरुले देशको बचेखुचेको थोरै इज्जत पनि माटोमा मिलाए । यो पापी गणतन्त्र ल्याउन ज्यानको बाजी लगाएर लडेँ । मलाई गोली लागेको सुनेर तेरी आमा हृदयघात भएर सदाका लागि निदाई । म यही दिन देख्न बाँचेको रहेछु । मेरी प्यारीलाई र यो हात गुमाउँदाको चोटले पलपल मरिरहेको छु ।

त्यसमाथि आज सारा नेपालीको शिर झुकेको सम्झिँदा मुटुमा वज्र लागेझैँ भएको छ । त्यत्रा सम्पन्न नेताहरुले भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनेर नेपालीबाट कुन मुटुले पैसा हसुर्न सके होला ? यो खुल्लमखुल्ला मान्छेको व्यापार हैन त  बाबु ? म त जताततै केवल अँध्यारो मात्र देख्छु । थुप्रैले बलि दिएर ल्याएको गणतन्त्रमा सुशासनको छनकसम्म छैन अनि कसरी हाँसू, तँ नै भन् ?’’
अमितले पनि आँखाभरि आँसु पार्दै उत्तर दिए— ‘‘त्यो त हो, उनीहरुको घृणित कर्म देख्दा हाम्रो पनि मुटु चिरिएको छ नि बाबा ! यसरी हजुरले खान, सुत्न छोड्दैमा देश बदलिँदैन । व्यवस्था नराम्रो होइन, व्यक्ति भ्रष्ट हुन् । हजुरले जसरी गणतन्त्र ल्याउन कलम चलाएर चेतना छर्नुभयो । होस्टेमा हँैसे भन्नुभयो । गणतन्त्रको तानाशाह प्रवृत्ति देखेपछि विक्षिप्त हुँदै कलम नै बन्द गर्नुभयो । अहिलेको चुनावमा देशले केही राम्रा नेता पनि पाएको छ । उनीहरुको हौसला बढाउन र भ्रष्टको दोहोलो काढ्न बन्द कलम खोल्नुहोस् । अरु म के भनौँ ?’’

घनश्यामले बगिरहेको आँसु पुछ्दै बन्द कलम र कपीलाई खोली एकोहोरो कलम चलाइरहे ।

तिम्रा तिखातिखा चुच्चा
नच्यातेर हो नि !
पङ्ख फिँजाइ उडेका छौ
पापी, भ्रष्ट, खुनी

उखल्नेछौँ सबै पङ्ख
झार्छौं तलतल
त्यसपछि बग्ला नदी
गर्दै कलकल ।

Saturday, November 18, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

 बोहनी

-ललिता ‘दोेषी’
बुद्धनगर, काठमाडौँ  


"ए साहूनी ! साहूनी !” तलबाट एकोहोरो आवाज आयो ।
पारुको श्रीमान्ले अलि ठूलो स्वरमा भने— “ए पारु, तिम्रो बोहनीवाला भाइ आयो । छिटो जाऊ नत्र कानको जाली नै फुट्ने गरी कराउन छोड्दैन ।”

सासूले कुरा थपिन्— “यो बोहनी हो कि, सोनी वाला मोराले पनि मासु नै खाइसक्यो भन्या ! सधैँ गत न पतको तरकारी भिडाउँछ । सुधो गाई पाएको छ अनि किन नलुटोस् त ? आज केही नलिए पनि केही लछार्दैन । मैले भनेको टेर्ने भए पो !”

सासूको कुराको वास्तै नगरी पारु हतारहतार बाटोमा गइन् । तरकारी बेच्ने भाइले सधैँ भन्ने कुरा दोहो¥यायो— “हजुरले बोहनी गरेको चीज त छिट्टै बिक्री भै जान्छ हजुर ! हिजो हजुरले प्याजको बोहनी गरिजानुभएको थियो । उसो त एउटा दिदीले दस किलो लिई जानुभयो । अरुले पनि त्यस्तै लिए । हजुरको हातमा त भगवान्कै बास छ हजुर ! आज रामतोरियाँ बोहनी गरिदिनुप¥यो हजुर !”
पारुले उत्तर दिइन्— “भाइको बोहनी गर्दागर्दा मेरो घरमा तरकारीको थुप्रो भइसक्यो । रामतोरियाँ मेरो सासूलाई मन पर्दैन भन्ने थाहा छँदाछँदै । ल घिरौला दिनुहोस् ।”

तरकारी बेच्ने भाइले जिद्धी गर्दै भन्यो— “थोरै रामतोरियाँ बोहनी गरिजानुहोला हजुर ! त्यसपछि हजुरको जो चाहिन्छ लिइजानुहोला ।”

पारुले ‘ल त ल’ भन्दै रामतोरियाँ र घिरौला लिइन् ।  ऊ ‘हजुरको जय होस्’ भन्दै बोहनीको पैसा ढोगेर राख्दै गयो । केही बेरपछि पारु पसलमा गइन् । पसल जोडिएकै घरनजिकबाट त्यही तरकारी बेच्ने भाइको आवाज पसलसम्म पनि आइरहेको थियो— “हजुरको हातबाट गरेको बोहनी बहुत बडिया होइजान्छ हजुर ! रामतोरियाँको बोहनी भएकै छैन । आज रामतोरियाँको बोहनी हजुरको हातबाट......।”