नेपाली लघुकथा परम्परा र वर्तमान
- बाबुराम खपाङ्गी
विषय प्रवेशः
साहित्यको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध मानव समाज, सभ्यता र इतिहाससँग रहेको हुन्छ । मानिसले मानवीय जीवन र इतिहासका घटना, प्रसङ्ग आदिलाई कलात्मक किसिमले प्रस्तुत र सम्प्रेषण गर्न थालेबाट नै साहित्यको शुभारम्भ भएको हो । यसरी श्रुतिपरम्पराबाट सुरु भएको लोकसाहित्य हुँदै लिखित साहित्यसम्म आइपुग्दा साहित्यका क्षेत्रमा पनि धेरै विकास भएको छ । समय, परिस्थितिअनुरुप अघि बढ्दै जाँदा साहित्यिक क्षेत्रमा पनि नयाँनयाँ मूल्य–मान्यताहरु स्थापित भएका छन् । यसरी स्थापित भएका मान्यताहरुमध्ये लघुकथासम्बन्धी अवधारणा पनि एक हो । कुनै समय थियो, जब मानिससँग पर्याप्त समय थियो र त्यसलाई खर्च गर्ने उचित साधनको आवश्यकता हुने गर्दथ्यो, जसको परिणामस्वरुप लामालामा कथा, उखान र गाउँखाने कथा आदिको विकास भयो । लोक जीवनलाई लोक साहित्यका साथै लिखित साहित्यले पनि मनोरञ्जनका अतिरिक्त ज्ञानादि पनि दिन थाल्यो । ठूलाठूला महाकाव्य, नाटक, कथा, कविताहरु यसै आवश्यकता अनुसारका सुप्रतिफल हुन् । त्यस्ता ठूलाठूला ग्रन्थहरु रुचिकासाथ लेखिन्थ्यो र पढिन्थ्यो । तर हिजोआज निकै परिवर्तन आइसकेको छ । कोही फुर्सदमा देखिँदैनन् । एक किसिमले सारा संसार नै व्यस्तताको महाजालमा जेलिएको छ । भनौँ एकातिर सूचना र सञ्चारको उन्नत विकास र प्रगतिको कारण सारा विश्व एउटा कोठामा अटाउने भएको छ भने अर्कोतिर मान्छेका आवश्यकताका साथै व्यस्तता दिनानुदिन तीव्र गतिमा बढेको छ । त्यसैले अचेलका मानिसलाई फुर्सद हुँदैन, सधैँ हतारो भइरहन्छ । अल्प समयको प्राप्तिले होला, साहित्यका विधामा पनि लघुरुपले स्थान ग्रहण गरिरहेको छ । विशाल महाकाव्य र उपन्यासहरु लेखिने र पढिने काम विरलै भइरहेका छन् । प्रायः छोटाछोटा कविता र कथाहरु प्रकाशनमा आइरहेका छन् । यिनै अन्तर्गत आउँछ, लेखक र पाठक दुवैका निम्ति एक लोकप्रिय विधा–लघुकथा । यसबाट के बुझिन्छ भने आमलेखक तथा पाठक समयको पावन्दीका कारण सकेसम्म लघुरचना र त्यसमा पनि लघुकथातर्फ आकृष्ट हुन थालेका छन् । अहिलेसम्मको खोज, अध्ययन र अनुसन्धानमा साहित्यको सबैभन्दा कान्छो विधाको रुपमा देखापरेको लघुकथाको परिचय, स्वरुप, वैशिष्ट्य र विकास प्रक्रिया आदिबारे प्रकाश पार्नु नै यस लेखको मूल ध्येय हो ।
लघुकथाको परिचय
लघुकथा भन्नासाथ छोटो, सानो वा संक्षिप्त आयाम भएको कथा भन्ने बुझिन्छ । नेपालीमा अङ्ग्रेजी शब्द कजयचत क्तयचथ को समानार्थी कथा र ःष्ल्ष् क्तयचथ को समानार्थी लघुकथा शब्दको प्रयोग भएको पाइन्छ । शब्द रुपान्तरणका दृष्टिले क्जयचत क्तयचथ का लागि लघुकथा र ःष्लष् क्तयचथ का लागि लघुत्तम कथा शब्दको प्रयोग हुनुपर्ने हो तर हालको प्रचलनलाई नै स्वीकार गरेर यसमा क्जयचत क्तयचथ लाई कथा र ःष्लष् क्तयचथ लाई लघुकथा भनिएको छ । मोहनराज शर्मा, लघुकथा, लघुत्तम आख्यान, मधुपर्क (वर्ष–३२, अङ्क–४, २०५६ भदौ । पृष्ठ–२५) साहित्यका प्रमुख चार विधाहरु (कविता, नाटक, आख्यान र निबन्ध) मध्ये लघुकथा आख्यान विधा अन्तर्गत पर्दछ । आख्यानमा लघुकथाको स्थान वा उपस्थितिलाई निम्न दुई किसिमले देखाउन सकिन्छ भनेर मोहनराज शर्माले मधुपर्क मासिकको २०५६ भदौको लघुकथा विशेषाङ्कको लेखमा उल्लेख गर्नुभएको छ । उपन्यास बृहत् आख्यान – उपन्यास आख्यान ः कथा आख्यान ः कथा लघुकथा –लघुआख्यान लघुकथा पहिलो आरेखअनुसार लघुकथा सिधै आख्यानको एक स्वतन्त्र भेदका रुपमा देखापर्छ भने दोस्रोअनुसार लघुकथा उपन्याससँग केही टाढा र कथासँग केही निकट आख्यानको एक भेदको रुपमा देखा पर्दछ । यी दुवै आरेखबाट के कुरा प्रष्ट हुन्छ भने लघुकथा निर्विकल्परुपमा आख्यान विधाको एक स्वतन्त्र उपविधा हो ।