लघुकथा के हो?
-देवी नेपाल
लघुकथा लेखन, प्रकाशन र समीक्षणको ऐतिहासिक सन्दर्भलाई केलाउन थाल्ने हो भने वैदिक कालसम्म नै पुग्नुपर्ने हुन्छ । पूर्वीय काव्यजगतमा अत्यन्त सूक्तिमय छोटा आख्यानात्मक रचनाहरुको प्रयोग वैदिक, पौराणिक तथा साहित्यिक तीनै कालमा भएको पाइन्छ तर लघुकथालाई नामकरणका साथै प्रयोगात्मक रुपमा चिनाउने कार्यमा पाश्चात्य जगत्को विशेष भूमिका रहेको देखिन्छ । पूर्वीयमा जस्तै पाश्चात्य जगतमा पनि सिर्जनात्मक रुपमा यसको प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको भए पनि सैद्धान्तिक चर्चा भने सन् १९५० को दशकबाट हुन थालेको देखिन्छ । त्यसमा पनि यस सम्बन्धी औपचारिक अवधारणा भने सन् १९८० को दशकमा अङ्ग्रेजी साहित्यमार्फत अगाडि आएको देखिन्छ । त्यहाँदेखि यहाँसम्मको चार दशकमा लघुकथाले सैद्धान्तिक एवं सिर्जनात्मक दुवै क्षेत्रमा विश्वव्यापी लोकप्रियता हासिल गरेको देखिन्छ ।
लघुकथा नेपाली कथा परम्परामा पनि सर्वाधिक लोकप्रिय मानिन्छ । वर्तमानमा लघुकथाले आख्यानात्मक सबै खाले सिर्जनालाई उछिनेको देखिन्छ । नेपाली कथाको प्रारम्भचाहिँ शक्तिवल्लभ अर्यालको ‘महाभारत विराटपर्व’ (१८२७) बाट भएको मानिन्छ । साथै प्राथमिक कालीन ‘मुन्सीका तीन आहान’मा लघुकथाको पूर्वस्वरुप पनि फेला पर्दछ तर वि.सं. १९९२ को ‘शारदा’ पत्रिकामा प्रकाशित पूर्णप्रसाद बाह्मणको ‘वरदान’ शीर्षकको लघुकथालाई नेपालीको पहिलो लघुकथा मान्ने गरिन्छ ।
पुस्तकाकार कृतिमा भने ब्राह्मणकै २००७ मा प्रकाशित ‘झिल्का’लाई नेपाली लघुकथाको पहिलो कृति मानिन्छ । नेपाली लघुकथा परम्परालाई हेर्दा पृष्ठभूमिदेखि २००६ सालसम्मको समयलाई पहिलो चरण, २००७ सालदेखि २०२९ सालसम्मको समयलाई दोस्रो चरण, २०३० सालदेखि २०४५ सालसम्मको समयलाई तेस्रो चरण र २०४६ सालदेखि हालसम्मको समयलाई चौथो चरण भनी वर्गीकरण गरिएको पाइन्छ । नेपाली लघुकथाले आफ्नो चरणगत विकाससँगै एउटा छुट्टै विशेषता पनि बोकेर आएको देखिन्छ । यसरी २००७ देखि हालसम्मको सात दशकको अवधिमा नेपाली लघुकथाले जुन प्रकारको उचाइ प्राप्त गरेको छ त्यो नेपाली साहित्यको इतिहासमा नै गर्व गर्न लायक देखिन्छ ।