Showing posts with label देवकी के.सी.. Show all posts
Showing posts with label देवकी के.सी.. Show all posts

Sunday, August 10, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


छोरा रमेश भर्खरै कृषिमा स्नात्तकोत्तर गरेर गाउँ आएपछि बुबा धनवीरको फुरफुर निकै बढेको थियो । गाउँमा सबैले उसलाई भन्थे अब त तेरो छोरोले गाउँमा काम लाग्ने पढेछ । गाउँमा हाम्रो लागि पनि राम्रो हुने भयो । 

असार लागिसकेको थियो । गाउँमा रोपाइँको चटारो थियो । मकै गोड्ने हतारो थियो । । रमेश भने छ्या यो हिलो फोहर खेल्नु पर्ने बेला । गाउँले जीवन दुखी जीवन । गाउँ, यो कृषि पेशा भन्यो कि वाक्क लागेर आउँछ भन्दै ऊ सहर फर्कियो ।

सहरमा उसले एन.जि.ओ.मा कृषिको तालिम दिने विज्ञ भएर टन्नै पैसा कमाएछ । घडेरी पनि जोडेछ । एकदिन फेरि रमेश गाउँमा टुप्लुक्क आइपुग्यो । उसले धनवीरलाई भन्यो बुबा मैले सहरमा घडेरी किनेको छु । अब यताको जायजेथा सबै बेचेर उतै घर बनाउनुपर्छ हिड्नुहोस् उतै । उसै पनि धनवीरलाई छोरासित रीस उठिराखेको नै थियो । अहिले झन छोराको कुराले उसको रीस ह्वात्तै बढेको थियो । 

उसले छोरालाई भन्यो तँ किसानको छोरा भएर किसान हुँ भन्न लाज मान्छस् । तँ सहरका डलर खाने ठूला  कृषिविज्ञ । गाउँमा खेतबारी काम गर्नु त के देखे पनि तँलाई एलर्जी हुन्छ । अब के म  तेरो सहरमा घर बनाउन मेरा सुनजस्ता अन्न फल्ने जेथा बेचौ । अनि तेरो सहरमा गएर कागजमा अन्न फलाउँ । अनि तँ पनि त्यहि कागजमा तालिम सिकाएर ठूला मान्छे बन्नु हुन्न । बाउका यस्ता व्यङ्गवाण सुनेपछि ऊ लुत्रुक्क सहर फर्कियो । यस्ता ठूला कृषिविज्ञ भनेका छन् । सहरबाट गाउँ खेतबारी पस्न मान्दैनन् अनि सुधार हुन्छ हाम्रो देशको कृषिको अवस्था । धनवीरले छोरालाई हेर्दै फतफतायो । तर रमेशले बाउका कुरा सुन्दै नसुनि आफ्ना  पाइला सहरतिर लम्काइरह्यो । 

- दक्षिणकाली

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, April 29, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


रा
धाको असल आचरणकै कारण उनलाई शहरका सम्पन्न व्यापारिक घरानाका करणको परिवारले बुहारी बनाएको थियो । गरीब गाउँले केटी राधाले सहरको सम्पन्न परिवारसित नाता गाँस्न पाएकोमा सबैले उनको भाग्यको तारिफ गर्थे  । 

राधाको जीवन अत्यन्त सुखमय बित्दै थियो । यता राधाका आमाबाले पनि छोरीको परिवारजस्तै आफू पनि धनी बन्ने सपना देख्न थाल्यो । उनीहरू छोरीको घर भाड्ने योजना बुन्न थाले । त्यसपछि त सानोतिनो कुरामा पनि उनीहरु राधालाई उक्साएर कलह गर्न सिकाउन थाले । अन्ततः उनीहरूले राधाको घर बिगारेर करणसित डिभोर्स गर्न लगाए । त्यसबापत राधाले मोटो रकम हात पारिन् । 

राधाको घर बिगारेर पाएको मोटो रकमले उनको आमाबाको धनी बन्ने सपना पनि पुुरा भयो । गाउँमा खेती गरेर भन्दा त राधाका आमाबाले जस्तो छोरीको घर भाँड्ने खेती गरेर पो धनी भइँदो रै’छ । अनि पो सुखसयल गरेर बस्न पाइँदो रै’छ । कस्ता अभिभावक पनि भेटिन थाले यो समाजमा ? उनीहरूका बारेमा गाउँलेहरुले यस्ता कुरा काट्थे तर उनीहरु भने यस्ता कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदिन्थे ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, April 1, 2025

लघुकथा (अङ्क २२ मा प्रकाशित)


लामो समयको तनावबाट मुक्त भए भन्दै उफ्रि उफ्रि नाचेको केशरको टिकटक देखेर उनको छिमेकी गीतादेवी छक्क परिन् । दश वर्ष अघि शारदासित बिहे गर्दा केशर यसरी नै खुसीले नाचेको थियो । कहाँबाट एउटा लोग्ने डिभोर्स गरेर टन्न सम्पत्ति कुम्ल्याएको आफूभन्दा दश वर्षे जेठी त्यो अनुराधालाई भेटेदेखि यो केशरको मति नै बिग्रियो । त्यसले अमेरिका लैजान्छु भने पछि त यसले त्यस्तो असल श्रीमती शारदा र छोराछोरीलाई रातदिन कुटेर थिलथिलो पार्थ्यो ।

विचरी त्यो शारदालाई रुवाएर केशरले हिजो मात्रै डिभोर्स गर्न लगायो । आफ्नो सुखी परिवारमा आफैले आगो लगायो । त्यो अनुराधाको पछि लागेर शारदाको जीवनमा तनाव थपेर आफूचाहिँ तनाव मुक्त भएँ भन्दैँ टिकटक बनाएर नाँच्दो हो । यसलाई अमेरिका लैजान्छु भन्ने यो अनुराधाले पनि यसैगरी धोका दिए त म मज्जाले उफ्रि उफ्रि टिकटक बनाएर नाच्थें भन्दै छिमेकी गीतादेवीले भने टिकटक हेर्दै केशरलाई निकै बेरसम्म गाली गरिरहिन् । 

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, April 19, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

 एकल महिला

- देवकी के.सी.
दक्षिणकाली नगरपालिका ३, काठमाडौँ    


लौन सन्ते दाई मेरो बुढोलाई बिहानदेखि पखाला लागेर मर्न आँटिसके । बिहान त्यो पोइटोक्वाइ अलच्छिना गंगा मेरो घरमा एक गिलास दुध माग्न आएकी थिइ । तयसै बेलादेखि मेरो बुढोलाई पखाला चल्यो । पक्कै त्यो गंगाको नजर लागेर हो । पोइटोक्वाई, बोक्सी लोग्ने विदेश गएको महिना दिनमै बाकसमा फर्कियो । अब मेरो लोग्ने पनि खान ठिक्क परेकी । तपाईंले झारफुक गरिदिनु हुन्छ कि भनेर बोलाउन आएकी सन्ते दाई चमेली गंगालाई गाली गर्दै सन्तेको घरमा पुगिन् । 

एक महिना अघि मात्र क्यान्सरले स्वास्नी मरेर एक्लो बनेको सन्ते झारफुक गर्न भनेर चमेलीको घर आयो । एक गिलास नुन चिनी, पानी हातमा लिएर नबुझिने गरी खोइ के के दुई चार अक्षर फलाक्दै गिलासको पानीमा मुखले फुफु गर्दै फुक्यो । त्यसपछि चमेलीको लोग्नेलाई पिउन दियो । उसको पखाला कम हुँदै गयो । चमेलीले सन्तेलाई निकै धन्यवाद दिइन् । 

फेरि लोग्ने बिरामी पारिदिएको भन्दै गंगाको सत्तोसराप गर्न थालिन् चमेलीले । गंगा चमेलीको घरमा दुध माग्न जानु र चमेलीको लोग्नेलाई पखाला लाग्नु संयोग मात्र थियो । वास्तवमा सन्तेले दुइचार अक्षर फलाक्दैमा चमेलीको लोग्नेको पखाला रोकिएको पनि होइन । त्यो त नुन चिनी र पानीको कारण रोकिएको हो । 

अचम्म त के भने एउटी महिलाले अर्को महिलालाई पोइटोक्वाई, अलच्छिना, बोक्सी भनेर गाली गरिन् । लोग्ने मरेको गंगाले चमेलीको घर टेक्दा पोइटोक्वाई र बोक्सीजस्ता घिनलाग्दा अपशब्द प्रहार भए उनीमाथि । तर त्यो स्वास्नी मरेको सन्तेचाहिँ किन स्वास्नीटोक्वा र बोक्सा भएन होला चमेलीको नजरमा ? एकल महिलालाई घिनलाग्दो दृष्टिकोणले हेर्ने हाम्रो समाजमा स्वास्नी मरेका पुरुषचाहिँ किन अपहेलनाको शिकार नबनेका होलान् ?


....साथ सहयोगको खाँचो

Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

सर्टिफिकेट


-देवकी के.सी.
दक्षिणकाली नगरपालिका ३, काठमाडौं  


विश्वविद्यालयका प्रोफेसर चेतन असाध्यै राम्रा शिक्षकमा गनिन्थे । सधैं राजनीति र भागबन्डाको किचलो हुने विश्वविद्यालयमा कार्यरत औंलामा गन्न सकिने राम्रा नाउँभित्र प्रोफेसर चेतनको नाउँ पनि अटाउँथ्यो । पाँच महिना अघि मात्रै स्नातक अध्ययन गर्नकै लागि छोरालाई अमेरिका पठाउन सकेकोमा प्रोफेसर चेतन मख्ख थिए ।

तपाईंनै प्रोफेसर अनि आफ्नो छोरो चाहिँ किन स्नातक अध्ययन गर्न अमेरिका पठाउनु भयो नि ? किन तपाईंको  छोरोलाई स्नातक अध्ययन गराउन सक्ने शिक्षक र कलेज नेपालमा छैनन र? कि तपाईंलाई आफैले पढाएकोमा विश्वास छैन चेतन सर भनेर प्रश्न तेर्साउनेहरुलाई प्रोफेसर चेतन एउटै जवाफ दिन्थे । छोराले नै विदेशमा अध्ययन गर्ने रहर गर्‍योे के गर्नु मेरो चाहना त छोरालाई नेपालमै पढाउने थियो ।

आजभोलि प्रोफेसर चेतन सहकर्मीहरुसित चिया गफ भेटघाटमा अमेरिका गएको आफ्नो छोराकै मात्र कुरा गर्थे । उनी मेरो छोराले त नेपालका प्रोफेसर मेरो कलेजमा आएर पढ्यो भने नि फेल हुन्छ होला बाबा भन्यो भन्दै खित्का छाडेर हाँस्दथे । आफ्नै छोराले यहाँको शिक्षा र यहाँको प्रोफेसरको योग्यतामा प्रश्नचिन्ह उठाउँदा पनि मख्ख परेर हाँस्न प्रोफेसर चेतनलाई लाज पनि नलागेको देख्दा अचम्मै लाग्थ्यो ।

एक महिनापछि सर्टिफिकेट छानबिनमा विश्वविद्यालयका धेरै लेक्चरर, प्रोफेसर, रजिस्ट्रार परे । त्यसमा धेरैजसोको सर्टिफिकेटनै नक्कली पाइयो । त्यस्तै नक्कली सर्टिफिकेटधारीभित्र असाध्यै राम्रा मानिएका प्रोफेसर चेतन पनि परे । यो खबर सामाजिक सञ्जाल मार्फत् संसारभर फैलिदा अमेरिकामा स्नातक अध्ययन गर्दै गरेको प्रोफेसर चेतनको छोराको कानमा पनि पुग्यो । विचरो ! उसले आफ्नै बाउ नक्कली सर्टिफिकेटधारी रहेछन् भन्ने थाहा पाएर लाजले शिर उठाउनै सकेन ।

प्रोफेसर चेतनका सहकर्मीहरु चिया गफमा हाँसो गर्न थाले- चेतन सर त मेरो छोराले अमेरिकामा स्नातक अध्ययन गर्न आए पनि फेल हुन्छन् नेपालका प्रोफेसर भन्दै हाँस्थे । साँच्चिकै उनको छोराले त आफ्नै बाउ नक्कली सर्टिफिकेटधारी प्रोफेसर हुन् भन्ने चाल पाएर नै त्यसो भनेको रै’छ कि क्या हो ?


Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

सोच

-देवकी के.सी.
दक्षिणकाली नगरपालिका ३, काठमाडौँ  


त्यो तीन वर्ष मात्रै पुगेको कलिलो नातिलाई त्यति परको स्कुलमा किन पठाउनु परेको होला ? दैलोमा त्यति ठूलो स्कुल छँदै थियो नि । नातिलाई आउजाउ गर्न गाह्रो हुन्छ । राधाले छोराबुहारीलाई भनिन् ।

नातिको माया गरेर तपाईं उसको भविष्य नबिगार्नुस् त आमा । प्राइभेट  स्कुल त्यही पर छ त के गर्नु ? दैलो नजिक भए पनि त्यो सरकारी स्कुल हो त्यहाँ पढाएर हाम्रो छोराको भविष्य बिगार्नु छैन छोराबुहारीले रिसाउँदै राधालाई भने । 

हाम्रा पालामा त सरकारी चिज भनेपछि मान्यता नि ठूलो थियो । अहिले त सरकारी चिज भनेपछि सबै गुणस्तरहिन हुन्छ छ्या मात्रै गर्छन् छोराबुहारी । खोइ के भाको होला त्यस्तो राधाले मनमनै भनिन् ।

एक दिन छोराबुहारी खुसीले फुरुङ्ग हुँदै हातमा मिठाइको पोको बोकेर आएको देखेर राधाले छोराबुहारीलाई सोधिन्, के को खुसीयालीमा हो मिठाइ बोकेर आएका छौ त ? तपाईंको छोराको खरदारमा नाम निस्कियो । अब त तपाईंको छोरा पनि सरकारी जागिरे भएको हेर्ने मेरो सपना पनि पुरा भो । 

धन्य ! भगवान् नोकरी त सरकारी नै वेश । चम्किला अनुहार पारेर बुहारीले भनिन् ।

सरकारी सबै चिजलाई कमसल ठानेर अनुहार बिगार्ने छोराबुहारी पनि उ सरकारी जागिरे भनेपछि मख्ख भएको देख्दा राधालाई अचम्म लाग्यो । उनले मनमनै भनिन् नोकरी चाहिँ सरकारी उत्तम रे । अनि अरु चिज चाहि सरकारी कमसल रे ! सोचनै यस्तो भएर त होलानि देशको अवस्था बदल्न त पहिले सबैले आफ्नो सोच बदल्नु पर्दो रै’छ ।