कर्तव्य
-कुमार काफ्ले

ताराबहादुर र उजेलीले दुःखसुख भोगेर सबै छोराछोरीलाई शिक्षादीक्षा दिए, घरजम बसाइदिए । नातिनातिनीको मुख पनि हेरे । आफ्नो अतीत र जवानी सम्झदैँ आनन्दले बाँकी जिन्दगी बिताइरहेका थिए । बेलाबेलामा बूढा भन्थे, “हेर् उजेली, अब त हाम्रो स्वर्गको ढोका पनि खुल्यो....।’’
समय बित्दै गयो, छोराहरू आ–आफ्नो गरेर खाने भए अनि छुटपिट भए । उनीहरू कान्छो छोराबुहारीसँग बसे । कहिलेकाहीँ बिहे गरेर पठाएकी छोरी आउँदा तारा र उजेली खुबै खुसी हुन्थे । छोरीले दाजुभाइ र भाउजूबुहारीलाई बाबुआमाको अलि ख्याल गर्नुप¥यो भनेर सम्झाउँथिन्, कराउँथिन् । छोरी फर्कने बेला बाबुआमाले पनि लुकाएर राखेको पैसा खुसुक्क दिन्थे । छोरीको मुहार खुसीले धपक्क बल्थ्यो । बाबुआमा गुनुगुनु गर्थे, “हाम्री छोरी कति ज्ञानी छे है, यसको घरपरिवार कत्ति सुखी र खुसी छ होला .....।’’
आज बुबाको मुख हेर्ने दिन, छोरी पनि आइपुगिन् । बाबुआमालाई मनपर्ने कोसेली ल्याएकी रहिछिन्, आफ्नै हातले खुवाइन् । बालाई नुहाउन पानी तताएर तयार पारिदिइन्, आमालाई नुहाइदिएर ठङ हान्दै जुम्रा हेरिदिइन् । बाबुआमा दुवैलाई लुगा र चप्पल ल्याइदिएकी थिइन्, लगाइदिइन् । अनि बाबुआमाको कत्ति वास्ता नगरेको भन्दै दाजुभाउजू र भाइबुहारीको कुरा काट्न थालिन् ।
कुराकै सिलसिलामा उजेलीले छोरीलाई सोधिन्, “अनि तिम्रा घरका बाबुआमाको हालखबर के छ त नानी, सबै ठिक छ नि ?’’
मुख बिगार्दै छोरीले भनिन्, “उनीहरूको कुरै नगर्नूस् आमा, बूढाबूढी भएपछि सधैं उल्टोउल्टो कुरा गर्ने, हामीले खाएको खानेकुरा उनीहरूलाई नहुने, छुट्टै भान्सा लाउनुपर्ने, कामदाम केही छैन, बसेका छन् खा’का छन् ... अब त अति भइसक्यो आमा, हामी त वृद्धाश्रमतिर लगेर....’’
आमाछोरीको गन्थन् सुनिरहेका बाले भने, “भो छोरी, पुग्यो पुग्यो । अब यहाँभन्दा बढ्ता नबोल, अनि अर्को कुरा दाजुभाउजू र भाइबुहारीलाई नि अबदेखि अनेकथरि भन्न छोड, बुझ्यौ ?’’
“बुबा हजुर पनि कस्तो कुरा गर्नुहुन्छ ? आमा र हजुर छोराबुहारीलाई केही भन्नुहुन्न, अनि बेलाबेलामा मैले नै भन्नुपर्छ । यत्रो सम्पत्ति, घरजग्गा पाएपछि बाबुआमालाई त सुखले राख्नुपर्छ नि, म त भन्ने हो .....’’
“हेर छोरी, मान्छेले पहिला आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, अनि मात्रै अरुको बारेमा बोल्न सुहाउँछ, बुझ्यौ ?’’