Showing posts with label देवेन्द्र अर्याल ‘आँसु’. Show all posts
Showing posts with label देवेन्द्र अर्याल ‘आँसु’. Show all posts

Friday, November 8, 2024

म किन लेख्छु ? (अङ्क १७ मा प्रकाशित)


मेरो साहित्यिक लेखनयात्रा २०४७ सालदेखि नै सुुरु भए पनि पत्रिकामा प्रकाशित पहिलो रचनाका रुपमा महानगर दैनिकमा २०५० साल चैत्रमा कति साह्रो दुख्छ मुटु शीर्षकको गजल प्रकाशित भएको हो । हालसम्म कथा, कविता, समालोचना र संस्कृति विषयमा दर्जनभन्दा बढी मेरा विभिन्न कृतिहरु प्रकाशित भइसकेका छन् ।  

मेरो लेखन कसले के लेख्यो र के लेखेनसँग आधारित छैन । मैले आफ्नो बौद्धिकता, प्राज्ञिकतालाई कलात्मक रूपमा आफ्ना सिर्जनामार्फत् प्रस्तुत गर्ने गरेको छु । साहित्य समाजको दर्पण भएकाले त्यसमा समाजको प्रतिबिम्ब झल्किनु पर्दछ भन्ने मेरो मान्यता छ ।  सुरुमा आत्मसन्तुष्टिका लागि लेखियो । अहिलेको लेखनमा आत्मसन्तुष्टि भन्दा पनि समाजप्रतिको जिम्मेवारी बोध भएको महसुस भएको छ । मैले मेरो लेखनमार्फत् समाजका विकृति विसङ्गतिप्रति कलम चलाएको छु । समाज रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्नु नै मेरो लेखनको मूल मर्म हो ।  

आफूले अनुसन्धान र सिर्जना गरेका कृतिबाट लेखक स्वयम् सन्तुष्ट हुन सक्नुपर्छ भने पनि सिर्जनाको भोक झन बढ्दो रहेछ । फलस्वरुप दिन प्रतिदिन लेखकीय दायित्व बढिरहेको देख्दछु । त्यसैले थप जिम्मेवारी बोध गरेर मैले आफ्नो लेखनयात्रालाई अगाडि बढाएको छु । लेखनकार्यबाट कहिल्यै सन्तुष्टि प्राप्त नहुने हुँदा मेरो लेखन क्रम पनि त्यही क्रममा अगाडि बढिरहेको छ । 

सबै स्रष्टाले पाठकका मन छुने साहित्य रचना सिर्जना गर्ने प्रयास गरेका हुन्छन् नै । त्यस्तै, मैले पनि मन छुने साहित्य सिर्जनामा आफूलाई केन्द्रित गर्ने प्रयास गरेको छु । मानव मनलाई प्रेरित गर्ने सिर्जना लेखिनुपर्दछ भन्ने मलाई लागेको छ । त्यसैले पछाडि परेका, दबाइएका भुइँमान्छेको स्वर मुखरित हुने, सुधारात्मक तथा सकारात्मक सोच बढाउने, सार्थक र सान्दर्भिक लेखनतर्फ मेरो मन आकृष्ट भएको छ । 

मलाई कोरा कल्पनामा भन्दा बढी यथार्थ लेखन उत्कृष्ट लाग्दछ । त्यसैले मैले पछिल्लो समयको लेखनमा काल्पनिकता कम र यथार्थतामा बढी जोड दिन थालेको छु । जब कुनै विषयमा लेखौँलेखौँ लाग्छ, त्यतिबेला आफूलाई नलेखी चित्त बुझ्दैन । समय सन्दर्भमा कति कुरा लेख्न नपाउँदा मलाई पछुताउ पनि लागेको छ । त्यसैले, समयमा नै लेख्नुपर्ने बाध्यताको समेत मैले महसुस गरेको छु । पछिल्लो समय हाम्रो कलासंस्कृतिप्रति बढ्दो उदासीनता र वितृष्णाका कारण मैले कलासंस्कृतिको खोजमा आफूलाई थप जिम्मेवार ठान्दै त्यसतर्फ सक्रियरुपमा लागेको छु । आफ्नो पहिचान र अस्तित्वका लागि लड्नु हामी लेखकको पनि मूलधर्म भएका कारण मैले संस्कृतिको संरक्षण र जगेर्ना गर्ने कार्यतर्फ मेरो कलम अगाडि बढाएको हुँ ।


....साथ सहयोगको खाँचो

Sunday, November 19, 2023

लघुकथा (अङ्क ५ मा प्रकाशित)

 सफलताको साँचो

-देवेन्द्र अर्याल ‘आँसु’
तारकेश्वर  


उमेरले लगभग साठी टेक्ने बेलामा पनि उनी त्यही पसलमा काम गर्न बसेका छन् । आफ्नो विवाहमात्र होइन छोराछोरीको विवाह पनि उनले यही पसलमा काम गर्न बसेर नै सम्पन्न गरेका थिए । त्यहाँ काम गर्न बसेको दिनदेखि उनले अन्यत्र काम गर्ने सोच नै बनाएनन् । धेरैले उनलाई भनेजति तलब दिन्छौँ हामीले भनेको ठाउँमा काम गर्न हिँड पनि भनेका थिए । यो कुरा उनका मालिकले पनि नसुनेका होइनन् ।

ताल्चासाँचोको पसलमा काम गर्ने मानिसको यत्रो प्रगति ? मानिसहरु यस्तैयस्तै कुरा काट्थे । कोही नजानेझैँ प्रश्न सोध्ने गर्दथे, ‘होइन, तपार्इं कस्तो ताल्चासाँचो बेच्नु हुन्छ हँ ? भाग्यको ताल्चासाँचो आफूसँग राख्ने अनि हामीलाई चाहिँ फलामको ताल्चासाँचो बेच्ने ?’ प्रायः पसलमा आउने उनका नियमित ग्राहकहरु यस्तै प्रश्न गर्दथे ।
उनी केही बोल्दैन्थे मात्र मुसुक्क हाँस्थे । तर ग्राहकको प्रश्नमा साहुजी जवाफ दिन्थे, ‘बुझ्नु भो, भाग्यको ताल्चासाँचो बेचबिखन हुँदैन, त्यो आफूले गर्ने काममा निर्भर हुन्छ ।’

साहुजीले लक्ष्मीमाताको तस्वीरतिर हेर्दै मनमनै भने ‘यिनी यो पसलमा काम गर्न बसेदेखि नै हाम्रो भाग्यको ताल्चा खुलेको हो । आज म जति सम्पन्न भएको छु त्यसमा यिनैको ठूलो हात छ । यिनी हाम्रो सफलताको साँचो हुन् ।’ त्यति नै बेला उनले पनि लक्ष्मीमाताको तस्वीरतिर हेर्दै मनमनै भने, ‘जुन  दिनदेखि म यिनको पसलमा काम गर्न बसेँ, त्यस दिनदेखि नै मेरो भाग्यको ताल्चा खुलेको हो, वास्तवमा मेरो सफलताको साँचो यिनै साहुजी हुन् ।’