Showing posts with label रमेशचन्द्र घिमिरे. Show all posts
Showing posts with label रमेशचन्द्र घिमिरे. Show all posts

Sunday, September 14, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


घरमा काम गर्नका गाह्राले नोकर राखे । सोचे, “हाम्रो जिन्दगी सुखमा बित्ने भो ।”

“बजारमा जस्तो भन्यो त्यस्तै तरकारी किनेर खान पाइन्छ । कसले दुःख गरोस् ?” तरकारी लगाएर खान मिल्ने एउटा फोहोटो थियो, भाडामा लगाए ।

“निहुरी पर्न नपर्ने, ढाड नदुख्ने, हातलाई आराम हुने अनि घुँडा पनि नदुख्ने” भन्दै लुगा धुनका गाह्राले वासिङ मेसिन खरिद गरे ।

ग्याँस भन्यो ग्याँस, जार भन्यो जार पसलेले नै घरमा ल्याएर आफै फिट गरिदिने भएपछि उत्पातको झन्झट बेहोर्नै परेन । भएको खेत अँधियामा लगाएर बसी बसी आधा भाग क्वाप्प खान पाउने तारतम्य मिलाए ।

डाक्टरको सल्लाह बमोजिम अचेल कसरत नपुगेको निहुँमा बुढाबुढी मर्निङ वाक जान थालेका छन् अनि छोरो चाहिँ जिम हाउसतिर……… ।

भोर्लेटार, लमजुङ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

 खुसी

- रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ  


माथिबाट पहिरो आयो । सडकमा गुड्दै गरेको एउटा गाडीलाई पहिरोले पुर्‍यो । चिच्याएको आवाज सुनिँदै थियो । एकछिनपछि आवाज आउन बन्द भयो ।

“धन्न हाम्रो गाडी कटिहाल्यो र बचियो ।” खुसी व्यक्त गर्दै एउटा यात्रु फोनमा बोल्दै थियो ।

“हाम्रो गाडी ठ्याक्क पछाडि नै थियो । बचियो ।” अर्को यात्रु पनि खुसी व्यक्त गर्दै थियो ।

बाँचेका मान्छेहरू हाँस्दै, रमाउँदै र खुसी साटासाट गर्दै थिए ।

मर्ने मान्छेका बारेमा दुःख र सहानुभूति व्यक्त गर्ने मान्छे त्यहाँ कोही थिएनन् ।



---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, December 4, 2024

म किन लेख्छु ? (अङ्क १८ मा प्रकाशित)


मलाई कसैसँग प्रतिस्पर्धा गर्नु छैन । मेरो प्रतिस्पर्धी भनेको स्वयम् म नै हुँ । म प्रतिस्पर्धी रहित भएर लेख्छु । आफ्नै रचनासँग आफैले तुलना गर्छु । पहिले लेखेको राम्रो लाग्दैन अनि नयाँ लेख्न खोज्छु, चित्त बुझ्दैन फेरि लेख्छु । 

मलाई के लाग्छ भने मैले आफूले लेखेका रचना आफैले चित्त बुझाएँ भने नयाँ लेख्ने जाँगर आउँदैन र त राम्रो लेख्न सकिन्छ कि भनेर पुनः पुनः लेख्छु । विशेष गरी बालसाहित्यतर्फ मेरो रुचि छ, त्यस अन्तर्गत पनि मलाई बालकविता लेख्न औधि मज्जा लाग्छ । म बालबालिकालाई मनोरञ्जन दिनका लागि लेख्छु । बालबालिकालाई उपदेशको भारी बोकाउनु मेरो लेखनको उद्देश्य होइन । ती काम त अभिभावक र शिक्षकको हो । बालबालिकालाई नैतिक सन्देशको प्रत्यक्ष सम्प्रेषण हुने खालको आग्रहीकरणको भाषाशैली मलाई दिक्क लाग्ने विषय हो । के त्यसो भए बालबालिकालाई नैतिक सन्देश नदिएर बिग्रनै दिने त ? त्यसो होइन । उनीहरूलाई विभिन्न उदाहरणमार्फत मनोरञ्जन घुसाउँदै र अप्रत्यक्ष रूपमा नैतिक सन्देश दिनका लागि म लेख्छु । 

म बालपाठकलाई विचारको नाटकीकरण गरेर मनोरञ्जनमा भुलाउन लेख्छु । बालपाठकले मैले भन्न खोजेको कुरा रचना पढिसकेपछि आफै थाहा पाउँछन् । लेखेर पैसा कमाइएला र व्यावसायिक बनुँला भन्दा पनि आत्मसन्तुष्टिका लागि म लेख्ने गर्छु । एउटा रचना लेखेर थोरै पारिश्रमिक पाइयो भने मलाई तलब बुझेको भन्दा बढी आनन्द आउँछ । अचेलका युवा पाठकहरू पढ्नतिर भन्दा पनि कुलतमा फसेका छन्, प्रविधिको दुरुपयोग गरिरहेका छन् । उनीहरूलाई पठन संस्कृतिको विकास गराउनतिर केही सकिन्छ कि भनेर पनि मैले लेख्ने गर्छु । म शिक्षक भएको नाताले कक्षामा आफ्ना र अन्य साहित्यकारका रचना सुनाउँछु । उनीहरू साहित्यमा लहसिन वा सिर्जनामा रम्न सके भने रचनात्मक बन्न सक्छन् कि भन्ने म ठान्दछु र उनीहरूलाई प्रेरणा जगाउन समेत म लेख्ने गर्छु । अर्को कुरा म आफ्नो अनुभव बाँड्न र बाल तथा युवा पाठकहरूलाई सकारात्मक बनाउने प्रयास गर्न पनि लेख्छु ।


....साथ सहयोगको खाँचो

Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

राधा पियारी

- रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ


' यो उमेर लभ गर्ने उमेर हो त मोरामोरी हो ?’ प्रिन्सिपलले मायालु पारामा सम्झाए । ’तिमीहरू आजैदेखि लभ लेटर लेख्ने है, ओहो !’ भाइस प्रिन्सिपलले व्यङ्ग्यात्मक पाराले बोले । ’कानुनले बिस वर्षअगाडि बिहे नगर भनेकै छ त ! अनि तिमीहरूको पारा चाहिँ के हो हँ ?’ सम्बन्धित तहको इन्चार्जले नमिठोसँग भने ।


प्रिन्सिपलको कार्यकक्षमा यस्तो हुँदै थियो । केही सरहरू यता व्यस्त थिए । उता अरू सर मिसहरू श्रीकृष्ण जन्माष्टमीको अघिल्लो दिनको तयारीमा जुटेका थिए । साना कक्षाका कलिला विद्यार्थीहरू राधा र कृष्णको पहिरनमा सजिएका थिए । 


स्कुल हो साह्रै हल्ला खल्ला गर्नु हुँदैन भन्ने बुझेका सर मिसहरू थिए । सायद त्यही भएर होला, स्पिकरबाट अन्यत्र साह्रै डिस्टर्भ नहुने गरेर मधुर स्वरमा यस्तो गीत गुञ्जिरहेको थियोः ’राधा पियारी खै त कृष्ण मधुवनैमा ए राधा पियारी खै मधुवन खोज मनैमा !’


 .....साथ सहयोगको खाँचो

Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

कालको व्यापार

- रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ     


    

'तपाईंको चालाप्रति शङ्का छ । झोला खोल्नुहोस् ।' सिमाना प्रवेशमा शङ्कास्पद गतिविधि गरेको अनुमान लगाएर प्रहरीले केरकार गर्‍यो । ऊ गरुङ्गो झोला सकिनसकी बोकेर आउँदै थियो । 

'खासै केही छैन । घरायसी सामान, लत्ताकपडा यस्तै यस्तै हो । बरु यसो केही मिलाउँला नि !’ आरोपी बोल्यो । प्रहरीले पनि केरकारको अभिनयलाई सामान्य बनाउँदै लग्यो र एक मुठी पैसाको गोप्य र हाताहाती सम्झौतामा झोला नै नखोली झोलावालाको बाटो खुला गरिदियो ।

पछि प्रहरी सरुवा भएको केही दिनपश्चात् छापाको समाचार पढ्दै पत्रिका वालाले चिच्याउँदै गरेको सुनियो -  \प्रहरी र आतङ्ककारीको मुठभेडमा एक जना प्रहरी ठहरै ! ...'


 .....साथ सहयोगको खाँचो

Sunday, May 19, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

 प्रचार

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ   


मन्त्री पद सम्हालेकै भोलिपल्ट उनी उद्घाटन कार्यक्रममा बोलाइए । भाषणमा उनले बोले -“हामी काम गर्न आएका हौँ, हामीलाई काम गर्न दिनुहोस् । रिबन काट्ने र दियो बाल्ने कामलाई हामी प्राथमिकतामा राख्दैनौँ । तपाईंहरूले हाम्रो भाषणको होइन, कामको प्रचार गर्नोस् ।”

पत्रकारले फोटो खिचे, भाषणको भिडियो उतारे, समाचार लेखे र छाप्न हतारिए । रेडियोले यही फलाकिरह्यो, टिभीले यही दोहोर्‍यायो । दिनभरि युट्यूब र अनलाइन मिडियामा यही समाचारले महत्व पाइरह्यो ।


....साथ सहयोगको खाँचो

Friday, February 9, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

कालको व्यापार

-रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ   


'तपाईंको चालाप्रति शङ्का छ । झोला खोल्नुहोस् ।’ सिमाना प्रवेशमा शङ्कास्पद गतिविधि गरेको अनुमान लगाएर प्रहरीले केरकार गर्‍यो । ऊ गरुङ्गो झोला सकिनसकी बोकेर आउँदै थियो । 

’खासै केही छैन । घरायसी सामान, लत्ताकपडा यस्तै यस्तै हो । बरु यसो केही मिलाउँला नि !’ आरोपी बोल्यो । प्रहरीले पनि केरकारको अभिनयलाई सामान्य बनाउँदै लग्यो र एक मुठी पैसाको गोप्य र हाताहाती सम्झौतामा झोला नै नखोली झोलावालाको बाटो खुला गरिदियो ।

पछि प्रहरी सरुवा भएको केही दिनपश्चात् छापाको समाचार पढ्दै पत्रिका वालाले चिच्याउँदै गरेको सुनियो -ॅप्रहरी र आतङ्ककारीको मुठभेडमा एक  एक जना प्रहरी ठहरै ! ...’

Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

ठूलो एकादशी

-रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ  


'आज त ठूलो एकादशी, बिहान उठेर नुहाइ धुवाइ गर्नुपर्छ छोरा, उठ् ।' बाले यति भनेपछि 'हस्' भन्दै सिरक फालेर ऊ उठ्यो र नुहाइ धुवाइ गर्न थाल्यो ।

'आज त ठूलो एकादशी, लिङ्गो गाड्नुपर्छ । जा, गएर लिङ्गो लिएर आइज ।' आमाको वचन पूरा गर्न ऊ बाँसघारीतिर गयो र एउटा ठिक्कको बाँसको लिङ्गो काटेर छिमलछामल र खुर्कीखार्की गरी आँगनमा राख्यो ।

'आज त ठूलो एकादशी, फूलको लट्ठा तार्छन् । हामीलाई पनि लैजानु है दाइ, पिस्ती दोभानमा ...' भाइबहिनीको कुरा काट्न नसकेर फूल तार्ने ठाउँमा भाइबहिनीलाई पनि सँगै लिएर गयो । ठुलो एकादशीको दिनमा खाना खाने त कुरै थिएन । बरु फलाहारेले फलफूल, दही, केरा र सातुको व्यवस्था गरेका रहेछन् । त्यही खाएर फूलको लट्ठो तारेपछि ऊ पनि भाइबहिनीलाई लिएर फर्कियो ।

'आज त ठूलो एकादशी, तिहारको निख्य्रौलो ! पञ्च भलाद्मीको गोलमेच बैठकमा जुट्ने होला नि ?' साथीहरूको आग्रह स्वीकार गर्दै साथीहरूले होटेल बुक गरे ठाउँमा ऊ पनि खुसुक्क छिर्यो र आसन जमायो ।

'यतिञ्जेलसम्म त तिथि पनि कट्यो होला नि ?...' तास फेट्दा फेट्दै ऊ थप कुरा गर्न खोज्दै थियो । होटेल साहुले कुरा बुझ्यो र भनिहाल्यो – 'भुटुवा र ग्रेभी के ल्याइदिम् अनि ड्रिङ्कस् आइटममा लोकल कि अरू ?'