Showing posts with label डा. हिमलाल श्रेष्ठ. Show all posts
Showing posts with label डा. हिमलाल श्रेष्ठ. Show all posts

Monday, March 2, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


निखिललाई आन्दोलनमा जान वर्जित थियो । कक्षा आठमा पढ्दै गरेको निखिलको आन्दोलनको माहोल हेरि विद्यालयले विदा दिएको थियो ।

सडकमा नभएपनि ऊ स्कूलको युनिफर्म लगाएर, घाँटीमा स्कूलको कार्ड झुन्डाएर घरकै टिभी कोठामा वसेर उत्साहित बनिरहेको थियो । उसले आफ्नो आँखा टिभीबाट एक निमेषपनि अलग गरेको थिएन ।

माइतीघर मण्डलामा आन्दोलनको उद्घोष भयो – ‘आन्दोलनको दौरान हामी रेलिंग भान्च्दैनौ । हामी कसैलाई दक्खल पुग्ने काम गर्दैनौँ । सवारी बन्द गर्दैनौँ । सडकको दायाँ बायाँ तथा बीचमा रहेका विरुवा उखेलदैनौं, भाच्दैनौ र त्यसको जगेर्ना गर्छौं । यो सडकको हरियाली कायम राख्छौँ ।’

निखिलले बुझ्यो – ‘आन्दोलन सकारात्मक हुन्छ । जेन जीको आन्दोलनले आशाको हरियो दिपक निभ्न दिने छैन । सडक देखि सदनसम्म, भुइँदेखि आकाशसम्म र तलदेखि माथिसम्म व्याप्त तुवाँलो, अन्धकार र अनियमितताको अन्त्य गर्नेछ । यो मौका जेनजीको अबधारणाको पुष्ट्याई गर्न उपलब्ध छ ।’

शनैशनै उसले सोचे जस्तो केही भएन । आन्दोलन उत्तेजित बन्दै गयो । सरकार पानीको फोहरा र बन्दुकको गोली बोकेर खडा भयो । आन्दोलनकारीलाई संसद भवन छिर्न नदिन सरकारले बल प्रयोग गर्दा साना साना बाल बालिकाको ज्यान गयो । भोलिपल्ट आगजनी, तोडफोड सडकभरि ताण्डव भयो । यो सबैले रन्थनिएको निखिल बेहोस् भयो । उसका बा, आमाले उसलाई अतालिएर अस्पताल पुर्याए । तनावको बीच भरिभराऊ आकस्मिक कक्षमा झल्याँस्स ब्युँझिएर निखिलले सोध्यो – ‘आन्दोलनमा सडकको दायाँ बायाँका बोट बुट्यान नष्ट भयो कि भएन ?’

उपस्थित नातागोता, परिचारिका र डाक्टर हेराहेर गरे ।

- सूर्यविनायक –५, कटुन्जे, भक्तपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, January 22, 2026

पुस्तक समीक्षा (अङ्क ३१ मा प्रकाशित)


लघुकथाकार डा. हिमलाल श्रेष्ठको चौतारो चिन्तन नामक लघुकथासङ्ग्रह २०८२ मा दोस्रो कृतिको रुपमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका डाँफेको एकालाप, चिलहरूको वार्तालाप, काग र कोइलीको हानथाप, सोलीफिस्टो लगायत विभिन्न शीर्षकका अठ्चालिसवटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत अठ्चालिसवटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌ । यस सङ्ग्रहभित्रको डाँफेको एकालाप शीर्षकको पहिलो लघुकथामा मलाई लाग्छ हावा चलोस् । चिसो, तातो अनि मध्यम वायुको बेग बगोस् । अझै मेरो पखेटाको शक्तिलाई माथ गरौँ गरौँ भन्ने हुण्डरी चलोस् र त्यो हुण्डरीमा कावा खाँदै कहिले बेसी त कहिले लेक डुल्न पाइयोस् भनेर डा. हिमलालले लेखेका छन् । 


उनले मनमा उर्लिएका भावलाई लघुकथाको रुप दिन सकेका छन् । चिलहरूको वार्तालाप शीर्षकको लघुकथामा हामी सिमलको अग्लो रुखको डालीमा बसेर तल हेर्छौ । साना साना मुसा समेत देखेर सिकार गर्छौ । त्यसले किसानहरूको बालीनाली सप्रिन्छ भनेर लेखिएको छ । यस सङ्ग्रहभित्रका लघुकथाहरू आकारले मात्र होइन विषयका दृष्टिले पनि लघुकथा हुन् । उनले सामाजिक विषयका स–साना प्रसङ्गमार्फत जीवनका विविध पक्षलाई सरल ढङ्गले उजागर गरेका छन् । पाइलापाइलामा कुनै न कुुनै घटना भइरहेका हुन्छन् । ती घटनाले फरक फरक व्यक्तिमा फरक फरक सोच र सवेदना जगाउने गर्छन् ।

भाषिक सरलता डा. हिमलालका कथाहरूको महत्वपूर्ण विशेषता हो । विषय र विचारगत विविधता उनको कथाहरूको मूल उद्देश्य हो । काग र कोइलीको हानथाप शीर्षकको लघुकथामा अल्छी भए पनि बडो परिश्रम गरेर कागले आफ्नो गुँड तयार गर्‍यो र यो वर्षको नयाँ छिमल हुर्काउने उपक्रम सुरm भयो भनिएको छ । डा. हिमलालका लघुकथाहरूले आजको सामयिक विषय, पर्या चेतनाको आवश्यकता र राज्यले विगतमा भोग्नुपरेको भयावहतालाई सिर्जना मार्फत उजागर गरेका छन् । एउटा स्रष्टाले समय र समाजका सबैजसो सन्दर्भलाई केलाएर प्रस्तुत गर्दछ । 

फुर्के पोखरी शीर्षकको लघुकथाभित्र बडेमानको माछालाई उकुसमुकुस हुन्छ र मनमनै सोच्छ । मानिसहरू यतिका नकारात्मक कुराहरू कसरी दिमागमा राखिरहन्छन् ? भनिएको छ । एक माओवादीको मृत्यु शीर्षकको लघुकथामा साँझ परिसकेको समय उनी बर्छरेको बाटो हुँदै डाँडा उक्लदै थिएँ । बाटोमा ठुलो एकलास वन पर्थ्यो । उताबाट एक हुल प्रहरी आइरहेका थिएँ । प्रहरी साँझको समयमा एकलासे जङ्गलमा मान्छे देखिएकोले सशङ्कित बन्दै ३/३ जनामा विभाजित भई चारैतिर छरिएर माइला घर्तीलाई निगरानी गरेर बसे । 

Monday, January 19, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


त्रिपासा खेलिरहेका शिव पार्वती गफिँदै पनि थिए । जुवामा हार्दा हार्दा महादेव हलाक बनेका थिए । आकाशमा आउने जाने विमान देखेर पार्वतीले सोधिन्‌– 'आज पुष्पक विमानमा कस्को ओहोर दोहोर चलिरहेको छ पतिदेव ?’ महादेवले बेवास्ता गर्दै जुवा तिरै मन लगाए र भने– 'तिमी आफ्नो शान्त कुटीमा बसिरहेकी छौ । तिमीलाई अनेकथरि चासो किन ?’ पार्वती चुपचाप त्रिपासा खेल्न मै तल्लिन भइन् । महादेवले झन् हार्दै गए । आजको सन्जोग त्यस्तै पर्‍यो । पार्वतीले जिती मात्रै रहिन, महादेवले हार्दै गए ।

एकाएक नारदको प्रवेश हुन्छ । उनी हात जोडेर उभिइ रहे । ठुस्स परेका महादेवले 'के भन्न आएका हौ भन’ भन्ने इशारा गरे । नारदले बिन्ती गरे– 'रात सकिएकै थिएन । पृथ्वी माताले कोल्टे फेरेकै थिइनन् …..।’ महादेवको रिस तेस्रो नेत्रतिर सर्दै थियो– 'अनि के भो…?’

पार्वती के गरौं के नगरौं को भावमा उभिइ रहिन् । उनीलाई पनि नारद के भन्न खोज्दै छन् भन्ने थाहा थिएन । झुकेर नारद बोले– 'भेनेजुएलामा आश्चर्य भएछ प्रभु ! सीताको मात्र होइन रामको समेत अपहरण भएछ प्रभु ।’

- कटुन्जे, भक्तपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

राज्यको दायित्व

डा. हिमलाल श्रेष्ठ
अश्राङ्ग, गोरखा हालः कटुन्जे, भक्तपुर


उमेश जरुरी कामले जिल्ला पुग्नु थियो । बडो मुस्किलले तारतम्य मिलेको थियो । जिल्ला प्रशासन कार्यालयको अनुमति भरमग्दुर प्रयास पछि उडानको अनुमति मिलेको थियो । तर एअरलाइन्सले कोरोना परिक्षणको रिपोर्ट विना उड्ने अनुमति दिएन । स्वाबको नमुना सङ्कलनका लागि स्वास्थ्यकर्मीले गरेर लागेको थियो । खासै लक्षण नदेखिएकोले उमेशलाई ढुक्क थियो कि उसको नतिजा नेगेटिभनै आउँछ ।

तर नतिजा सोचेभन्दा ठिक उल्टो आयो । उमेशको पीसीआर टेस्टमा पोजिटिभ आयो । उसको उडान रद्द भयो । उसलाई अब थप ब्यवधान थपियो । लक्षण नहुँदा नहुँदै पनि आइसोलेसनमा बस्नुपर्ने भयो । आवश्यक सबै स्वास्थ्य मापदण्ड अपनाएकै थियो तर नतिजाले फरक देखायो ।

कोरोना पोजिटिभ रिपोर्ट आए पछि जिल्ला स्वास्थ्यले एक पटक फोन गर्यो  । अब दोश्रो परिक्षण गर्नु पर्दैन । लक्षण थप भएन भने १० दिन पछि आवश्यक परे बाहिर निस्कन मिल्छ भनियो ।

उमेशलाई भने झन् झन् व्यथाले च्याप्दै गयो । पोजिटिभ देखिएपछि हल्का रुघाखोकी अनि ज्वरो पनि बढ्दै गयो । घर परिवारमा अरु सदस्यलाई पनि सर्ला भन्ने त्रास पनि बढ्यो । सबैलाई तनाव भो ।

त्यसपछि सरकार र अन्य आधिकारिक निकायबाट न कहिलै सोधियो न त कुनै उपचारको विधि बताइयो । न कुनै सल्लाह प्राप्त भो । यत्रो महामारीको समयमा सम्पूर्ण सरकारी संयन्त्र त झन् बढी जिम्मेवार बनेर परिचालित हुनुपर्ने । सबैलाई आफ्नै ज्यानको माया बढी भयो । आफ्नो जिम्मेवारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै अनि सुरक्षाको प्रत्याभूतिसहित सेवामा खट्नुपर्ने हो तर त्यसो हुन सकेन ।

जसले उमेश जस्ता सकसमा परेका समुदायको पीडामाथि पीडा थपियो ।
उमेश भने एक तमासले सोच मग्न भयो – ‘‘राज्य र सरकार किन आफ्नो दायित्वबाट पछि हट्यो ?’’

Sunday, November 19, 2023

लघुकथा (अङ्क ५ मा प्रकाशित)

बेपत्ता लडाकू

-डा. हिमलाल श्रेष्ठ
अश्राङ्ग, गोरखा हालः कटुन्जे, भक्तपुर



रसिला यता सुन त – 'गुरुकुलमा मार्क्स फर्किए रे, तिम्रो विजय फर्कने कहिले त खोई ?’ भाव गहिरो भएपनि अनुरागको मुहारमा हाँसो थियो ।

रसिला झसङ्ग भइन् – 'होइन, आज तिमीलाई के भयो ? पहिले कहिलै यसो भनेनौ । अन्तिम निर्णय माग्दासम्म तिमीले केही भनेनौ । खाली मेरो मुख मात्र हेरेर बसेउ । तिम्रो अनुहारको भाव हेरेर मात्र मैले निर्णय लिएको हुँ ।’


अनुराग बोले – ’हो, तिम्रो निर्णयमा मेरो पूर्ण समर्थन थियो । नबोलीकनै तिमीले मलाई बुझेउ ।’
'अनि अहिले किन त तिमी बितिसकेको कुरा सम्झदै छौ र मलाई झक्झकाउँदै छौ ?’
'मैले सुनितालाई सम्झनु र तिमीले विजयलाई सम्झनु एकै होइन र रसिला !’


'हो ! तर बितिसकेको कुरामा समय व्यतित गरेर, अब असम्भव प्रायः बनेको कुरामा मन्थन गरेर के नै गर्न सकिन्छ र ? के तिमीले मलाई अघि देखेपछि पनि सारा कुरा सम्झिरहेका छौ ?’
 

'त्यस्तो होइन, रसिला ! सुनिताको एउटा गर्विलो समाचार छ । उनले देश र जनताको लागि लड्दालड्दै युद्ध मैदानमा नै आफूलाई बलिदान गरेकी हुन् । त्यस पछाडि के भयो ? उनले देखेको सपनामा कसले कति न्याय गरे ? कसले उनको सपनाको खिल्ली उडाउने काम गरे । अनि कसले उनको साख राख्न सके । त्यो अर्को कुरा हो, त्यो समयक्रमले अवश्य बताउने छ । तर विजयको प्रसङ्गमा म अझै टोलाउँछु । अनिर्णयले मानिसमा कस्तो मनोवैज्ञानिक प्रभाव पारिरहेको होला भन्ने अनुमान गर्छु । ती परिघटनाहरु पछि धेरै उतारचढाव आइसक्यो । सत्तापक्ष प्रतिपक्ष र विद्रोही पक्षले सत्तारोहण गरिसके तर तमाम बेपत्ताहरुको प्रश्न निरुत्तरित नै छ ।’

एकाएक रसिला आक्रोशित भइन् – 'जवाफ कसले दिन्छ र अनुराग ! जसलाई परेको हो, उसैले मात्र बुझेको र जिम्मेवारी हुन्छ, दुःख खप्ने । मार्क्स मात्र फर्किएर हुन्छ । खोइ त लेनिन फर्किएका, खोई त माओ फर्किएका, फर्किएर इतिहासको मूल्याङ्कन गरे भने के होला?’

अझै थप्दै गइन् – 'यतिका वर्षसम्म पनि बेपत्ता, के हरि बिजोग हो यो राष्ट्रको, कसैले जिम्मेवारी लिनु पर्दैन । मानिसलाई आशाको त्यान्द्रोमा झुन्ड्याउनुको पनि हद हुन्छ नि ।’

–'के परिवारले आफ्नो हकअधिकार मागेको हो ? के उनीहरुले सत्ताको लालसा राखेको हो ? के उनीहरुले राज्यको विखण्डन मागेको हो ? उनीहरुले त केवल हराइरहेका आफन्तको खोजी गरेका होइनन् ?’

– 'यति अबुझहरुलाई यो देशको जिम्मा लगायो समयले ?’
प्रश्नहरुको यावत फेहरिस्तसँगै रसिलाका आँखाबाट विद्रोहको आँसु झरिरहेको देख्न सकिन्थ्यो ।

लघुकथा (अङ्क १ मा प्रकाशित)

अयोग्य लडाकू

-डा. हिमलाल श्रेष्ठ
अश्राङ्ग,गोरखा, हालः कटुन्जे, भक्तपुर  


कृष्णराम ओहोर दोहोर गरी रहन्छन्– मनमा त्रास अनि हूटहुटी दुबै बोकेर घरि वल्लो छेउ घरि पल्लो छेउ गरेर आफ्नै आँगन नापी रहन्छन् । जाउँ भने पल्लो गाउँमा आर्मीको गस्ती आएको भर्खर खबर छोडेर गयो बिर्खे दाई । नजाउँ भने मनले मान्दैन ।
हजुर बाको चाल हेरिरहेको बखते उठेर छेउमा गएर सोध्यो– हजुरबा के भो ? किन यताउता गरिरहनु भएको?

बखते उमेरले सानो भएपनि पाको मान्छे जस्तो कुरा गर्छ, मेहनती छ, स्कुलमा पनि गुरुहरुले भनेको मान्छ, लेखपढ गरेर जान्छ र शिक्षक शिक्षिकाको वाहवाही बोकेर घर आउँछ ।

कृष्णरामको मनले अझै नमाने पनि परिवेशलाई बुझेर बखतेलाई पल्लो गाउँसम्म पठाउने सकसपूर्ण निर्णय गर्न बाध्य भयो ।

बखते सानै थियो, कसैको शङ्का पनि भएन । को आयो ? किन आयो ? कसलाई भेट्यो ? कसैलाई मतलब नै भएन ।
बखतेले हजुरबाले भनेको व्यक्तिलाई भेटेर चिठी दिएर घर फर्केपछि कृष्णराम ढुक्क भयो ।
उता बखतेले दिएको चिठी हेरेपछि साग र ढिंडो पस्कंदै गरेका लडाकूहरुले कासन सुने– हामी अब पाँच मिनेटमा सेल्टर बदल्दैछौं, सबै जना तयार हुने ।

घाराक घुरुक दैलो खोलेर लडाकुहरु दौडिए, कहाँ गए पत्तै भएन । घरबेटी बा हेरेको हेरै भए, उनको मुखबाट वचन फुट्दै फुटेन ।

लडाकूहरु निस्केको पाँच मिनेटपछि आर्मीहरु आए, केरकार गरे, र लडाकूहरुलाई खान खुवाएको र सेल्टर दिएको आरोप लगाएर घरबेटीलाई झाँगल झुंगल पारेर लगे ।

उता निस्केका लडाकूहरुको ज्यान बचेको खबर पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म फैलियो ।

लडाकूहरु हरेक चोटी त्यो गाउँमा पुग्दा कृष्णरामको घरमा पुग्थे र बखतेको कामको सराहना गर्थे ।

बिस्तारै बखते उमेरले कम भएपनि देश, समाज र परिवेश बुझ्ने भइसकेको थियो । समयको मागसँगै उसले एउटा निर्णय लियो । पार्टीले पनि उसको कामको लगाव देखेर धेरै काममा लगायो । उमेर हेरेर उसको महत्वपूर्ण काम गथ्र्यो । समाचार सूत्रको काम उसको हुन्थ्यो ।

पछि पार्टीले आफ्नो नीति परिवर्तन ग¥यो । अनमिनको मध्यस्थता स्वीकारेर सत्ता पक्ष र पार्टी दुबैले अगाडि बढ्ने निर्णय लियो ।

अनमिनले पार्टीले भनेको सङ्ख्याको हतियार, लडाकुहरुको वर्गीकरण गरेर तत्कालीन अवस्थामा उमेरको हद कम भएकोले अयोग्य लडाकूको सूची निकाल्यो । त्यही सूचीमा बखतेले आफ्नो नाम पनि देख्यो र आफ्नो काम र काम पछि लडाकूहरुले गरेको तारिफ सम्झ्यो । समाचारवाहक बन्दा योग्य अहिले अयोग्य?