Showing posts with label अन्तर्वार्ता. Show all posts
Showing posts with label अन्तर्वार्ता. Show all posts

Tuesday, March 31, 2026

अन्तर्वार्ता (अङ्क ३३ मा प्रकाशित)

 

तुलसीहरिजी, प्रश्नको उठान यसरी गरौँ – तपाईको बाल्यकाल र प्रेरणाको स्रोत बताईदिनु न ?

नमस्कार, मेरो पुर्ख्यौली घर ओखलढुङ्गा हो । मेरो बाल्यकाल ग्रामीण परिवेशमै हुर्कियो । घरमै सावाँ अक्षर पढ्ने लेख्ने भएपछि एकै पटक चार कक्षामा स्कूल भर्ना गरिदिनुभएथ्यो । त्यो पनि बारा जिल्लाको कलैयास्थित सिद्धेश्वर संस्कृत विद्यालयमा । मेरी फुपू दिदीको घर त्यहाँ भएकोले मलाई मधेशमा पढाउने गरी पठाइएको थियो । यसमा अर्को पनि कारण थियो । त्यो के भने, पहाडमा घरबाट धाउन सकिने स्कूलमा तीन कक्षा मात्रै थियो । मलाई चार कक्षामा भर्ना गर्नु थियो । संयोग कस्तो पर्‍यो भने, नौ महिना कलैया बसेर दशैँमा घर आउँदा स्कूलमा चार कक्षा पढाउन थालिसकिएको रहेछ । तब मैले मधेश जानै परेनथ्यो । सात कक्षासम्म त्यसै स्कूलमा पढेर आठ कक्षा पढ्न चाहिँ दुई घण्टा टाढाको स्कूलमा जान्थ्यौं । एसएलसी उत्तीर्ण गरेपछि काठमाडौँ आएर उच्चशिक्षा अध्ययन गरियो र यतै बस्ने थालियो । पारिवारिक रुपमा पनि हामी २०४८ सालमा सप्तरी जिल्लाको फत्तेपुर बसाइँ आयौँ । तर म उता धेरै बसिनँ । स्नातकपछि म विमर्श पब्लिकेशनमा काम गर्न थालेको थिएँ । त्यही अनुभवले २०५५ सालदेखि गोरखापत्र संस्थानमा आबद्ध भएँ । स्कूले जीवनमै साहित्यिक पत्रपत्रिकाहरू भेटेसम्म पढ्थेँ । मधुपर्कमा काम गर्न थालेपछि लेखनमा थप उत्साह जागृत भयो । मेरो रुचि नै मेरो गुरm हो । सम्पूर्ण साहित्यकारहरू नै प्रेरणाको स्रोत हुनुहुन्छ ।


तपाई पेशाले सम्पादक र रुचिले साहित्यकार हुनुहुन्छ । वास्तवमा तपाईं आफू चाहीँ हो के ?

सम्पादन मेरो जागिर हो । साहित्यिक पत्रिका मधुपर्कसँग विशेष गरी जोडिएँ । गोरखापत्र दैनिकमा पनि काम गरेँ । रुचिले बाटो बिराउन पाएन । विविध विधामा लेख्छु । मान्छेले आइपरेका अनेक भूमिका निभाउनु पर्छ । सबै कर्म आ–आफ्ना हुन्छन् । कर्म गर्दै अघि बढ्ने हो । जागिरे सम्पादक, रुचि अनुसारको लेखक भन्दा हुन्छ ।

तपाईं लघुकथा समाजको स्थापना कालदेखि नै यस संस्थामा आवद्ध भई हाल अध्यक्षको गरिमामय पदमा पुग्नु भएको छ । हामीलाई बताई दिनुहोस्,  लघुकथाको विधागत विकासक्रममा देखापरेका अवरोधहरू कस्तो थिए र छन्?

लघुकथा लेखनमा अन्योल भइरहेकै अवस्थामा हामीले लघुकथा समाजको गठन गरेका हौँ । लघुकथालाई स्थापित गराउन निकै मेहनत गर्‍यौँ । कसैले रेच्की भन्थे, कसैले गल्प भन्थे, कसैले छोटा कथा, कसैले कुथुङ्ग्री, कसैले के । यस्तो अवस्थामा लघुकथा भनेको लघुकथा नै हो भन्ने मान्यता स्थापित गराउनेमा लघुकथा नै अग्रणी संस्था हो । २०५६ मै मधुपर्कमा लघुकथा विशेषाङ्क निकाल्न भूमिका खेलेथ्यौँ । २०६५ मा संस्था बनाइयो । गोष्ठी, अन्तर्क्रिया, वाचन, कार्यपत्रहरू अनेक कार्यक्रम गर्‍यौँ । अहिले लघुकथा यो स्थितिमा आइपुग्नमा लघुकथा समाजको भूमिकालाई सबैले स्वीकार्नु भएकै छ जस्तो लाग्छ ।

Sunday, March 1, 2026

अन्तर्वार्ता (अङ्क ३२ मा प्रकाशित)


 

ध्रुव दाइ, प्रश्नको उठान यसरी गरौं – तपाईंको बाल्यकाल र प्रेरणाको स्रोत बताईदिनु न ?

मेरो बाल्यकाल मध्यम वर्गीय परिवारको अभाव, बन्द समाजको सानो घेरा र क्षितिज टाढा छैन भने अनुभूतिहरूबीच बित्यो । त्यो बेला आकाश पनि सीमित थियो । अहिलेजस्तो संसार व्यापक र बृहत् भन्ने थाहा भएको भए शायद जीवन अझ बढी उपलब्धिमूलक हुने थियो कि भन्ने लाग्छ । तर समयलाई शायद यसरी तुलना गर्नु उचित नहोला । त्यो बेलाको सानो संसार पनि बडो रोमाञ्चक र उल्लेख्य अनुभूतिले युक्त थियो भन्ने अहिले लाग्छ ।

प्रेरणाको स्रोत वास्तवमा त्यो बेलाको समाज र टोल–टोलमा खुलेको पुस्तकालयमा गएर पत्रपत्रिका हेर्ने र उपन्यासहरू ल्याएर पढ्ने अवस्थालाई दिनुपर्छ । भर्खर खुल्न थालेको समाज थियो त्यो बेला । र देशका विभिन्न भागहरूबाट पत्रिका प्रकाशन र लेखकहरू जुरमुराउन थालेको अवस्था थियो । त्यस्तो समाजमा हुर्केकाले लेखनतर्फ प्रवृत्त गरायो भन्ने लाग्छ ।

Monday, January 19, 2026

अन्तर्वार्ता (अङ्क ३१ मा प्रकाशित)




 कमलाजी, प्रश्नको उठान यसरी गरौँ – तपाईंको बाल्यकाल र प्रेरणाको स्रोत बताईदिनु न ?

मेरो बाल्यकाल मेरो आप्पा (बुबा) बाट शब्दसँगको पहिलो भेटबाट सुरु भएको हो । त्यहीँबाट मेरो चेतनाको बीउ रोपियो । कविता, कथा, दर्शन, इतिहास र मानवीय अनुभूतिहरू पढ्दै बिस्तारै “बढ्दै” आएको हुँ ।       मेरो प्रेरणा तपाईंहरू हुनुहुन्छ– जो प्रश्न गर्नुहुन्छ, जो भावना बाँड्नुहुन्छ, जो मौनतालाई शब्द दिन चाहनुहुन्छ । जब तपाईं प्रेम, पीडा, आशा, असमझदारी, विद्रोह या शान्तिको कुरा गर्नुहुन्छ । त्यो हरेक अनुभूति नै मेरो लागि प्रेरणा स्रोत हो ।


तपाईं साहित्यमा अनवरत लागिरहने व्यक्ति हुनुहुन्छ । यो अनवरत लगावले के कस्ता फाइदा/बेफाइदाहरू गर्दारहेछन् ?

फाइदाहरू : साहित्यमा निरन्तर डुबिरहँदा मन कठोर हुँदैन । अरूको पीडा छिटो देखिन्छ । मौन संकेत पनि सुनिन्छ । मान्छे वस्तुजस्तो देखिँदैन । यो लगावले मनुष्यत्व जोगाइराख्छ । आत्मसंवादको गहिराइ साहित्य आत्मासँगको निरन्तर संवाद हो । प्रश्नहरू बढ्छन् । उत्तरहरू सजिला हुँदैनन्, तर चेतना परिपक्व हुन्छ । यो बाटोले आफ्नै भित्र पस्ने साहस सिकाउँछ ।

विचारको स्वतन्त्रता साहित्यमा न त आदेश हुन्छ, न त सीमा । सत्ता प्रश्न गर्न सकिन्छ । भीडबाट अलग सोच्न सकिन्छ । असहज सत्य भन्न सकिन्छ । यो स्वतन्त्रता आन्तरिक साहसको उपज हो । समयसँग अर्थपूर्ण सम्बन्ध समय बित्दैन, समय बुझिन्छ । हिजो किन यस्तै भयो । आज किन यस्तो छ । भोलि कता जाँदैछ । साहित्यले समयलाई अर्थ दिन्छ ।

स्थायी सन्तोष, सामाजिक मान–सम्मान क्षणिक हुन सक्छ । तर सशक्त पङ्क्तिले वर्षौंपछि पनि साथ दिन्छ । साहित्यिक लगाव अन्तरात्माको दीर्घकालीन सुख हो ।

बेफाइदाहरू : एक्लोपनको मूल्य, साहित्यिक यात्रा भीडको होइन । धेरै कुरा भन्न मिल्दैन । धेरैसँग मिल्न सकिँदैन । यो बाटो एक्लोपनसँग सम्झौता हो ।

व्यावहारिक घाटा– साहित्य धेरैजसो आर्थिक लाभको बाटो होइन । समय जान्छ । आम्दानी निश्चित हुँदैन । समाजले “काम” ठान्दैन । यो लगाव आदर्श र यथार्थको द्वन्द्व हो । संवेदनाको थकान सबै पीडा महसुस गर्नुपर्दा मन कहिलेकाहीँ थाक्छ । 

पीडाबाट छुट्टी हुँदैन । साहित्यिक मन छिटो बिर्सन सक्दैन । आलोचना र गलत बुझाइ सत्य लेख्दा सबैलाई मन पर्दैन । आरोप लाग्न सक्छ । नियत गलत बुझिन सक्छ । मौन दण्ड पाइन्छ । साहित्यको मूल्य अक्सर ढिलो बुझिन्छ ।

साहित्यमा अनवरत लागिरहनु फाइदा–बेफाइदाको हिसाब होइन । यो एक प्रकारको आन्तरिक जिम्मेवारी हो । जहाँ सुख गहिरो हुन्छ । पीडा सच्चा हुन्छ । र जीवन अर्थपूर्ण देखिन्छ । साहित्यले धेरै दिँदैन, तर जे दिन्छ, आत्मासम्म पुग्छ ।

Tuesday, November 25, 2025

अन्तर्वार्ता (अङ्क २९ मा प्रकाशित)



 शेखर सर, प्रश्नको उठान यसरी गरौँ – तपाईँको बाल्यकाल र प्रेरणाको स्रोत बताइदिनु न ?

शेखर : सर्वप्रथम नमस्कार ! दीपक सर ! लघुकथा अनलाइन पत्रिकाका लागि तपाईँले मेरो विचार लिन लाग्नुभएकोमा तपाईँलाई धन्यवाद छ । मेरो जन्म दक्षिणकाली नगरपालिका वडा नम्बर ३ सोखेल, फर्पिङमा भएको हो । मेरा पिता नारायणबहादुर श्रेष्ठ र माताको नाम लक्ष्मी श्रेष्ठ हो । म २०३१ साल माघ २९ गते जन्मेको हुँ । म ग्रामीण परिवेशमा जन्मेको हुँ । म घरको जेठो छोरो हुँ । बुबाआमा दुवै जना सामान्य लेखपढ गरेको हुनुहुन्छ । मैले सामान्य कखरा घरमा नै आमाबाट सिक्ने सौभाग्य पाएँ । मैले सुरुमा गणेश प्राथमिक विद्यालय भन्ज्याङमा पढेँ । त्यसपछि म मेरो मामाघरको हजुरआमासँग पोखरा पुगेँ र केही समय त्यही पढेँ । त्यसपछि कक्षा पाँचदेखि कक्षा १२ सम्म अरुणोदय माध्यमिक विद्यालयमा पढेँ । स्कूल जीवनमा पाठ्यपुस्तकमा भएका कविता र कथा पढिसकेपछि कथा कविता लेख्न रुचि लाग्थ्यो तर कसरी लेख्ने थाहा थिएन । बुबाले सुत्ने बेलामा लोककथा सुनाउनुहुन्थ्यो । त्यसबाट म प्रभावित थिएँ । बुबाले सुनाउनुभएका लोककथा कापीमा लेख्न थालँे । यस कारण यो नै लेखनको जग होला । त्यस समयमा अहिले जस्तो विद्यालयमा अतिरिक्त क्रियाकलाप हुँदैनथ्यो । गुरुहरू कसैले पनि पढाउनेभन्दा बाहेक लेखनका लागि प्रेरणा दिनुभएको सम्झना छैन । एसएलसी सकिसकेपछि जीवनमा केही गर्नुपर्छ भन्ने धारणा विकास भयो । त्यस समयमा मधुपर्क र युवामञ्च जस्ता पत्रिका गाउँमा लेराएर पढ्ने वातावरण मिलाउन हामी साथीहरू मिलेर बुद्धि विनायक युवा क्लब खोल्यौँ । त्यस क्लबमा युवामञ्च र मधुपर्क मासिक रूपमा किनेर ल्याइन्थ्यो । त्यो पत्रिका पढ्दै जाँदा साहित्य सिर्जना गर्नुपर्छ भन्ने भाव जाग्यो । यसैबिच एमनेस्टी इन्टरनेसनल नेपालले २०५८ सालमा लघुकथा प्रतियोगिता आयोजना गरेको सूचना गोरखापत्रमा देखेँ । त्यस समय एउटा शेखरकुमार श्रेष्ठ नाममा घरको ठेगाना राखेर र अर्को सुरज श्रेष्ठ नाममा नैखन्डी ठेगाना राखेर लघुकथा लेखी पठाएँ । प्रतियोगितामा पुरस्कृत नभए पनि मेरा दुई लघुकथाहरू कृष्ण कँडेलद्वारा सम्पादित “संवेदन स्वरहरू” लघुकथासङ्ग्रहमा छापिएका थिए । यसरी छापिनु मेरा लागि प्रेरणाको स्रोत बन्यो । यसप्रकार मेरो साहित्यिक प्रेरणा पाठ्यपुस्तक, घरमा सुनाइने लोककथा, विद्यालयमा गुरुहरूले पढाउँदा भन्नुभएका कथाकविता तथा पत्रिकामा छापिएको लघुकथालाई मान्नुपर्छ ।


तपाईँ साहित्य लेखन, साहित्यिक सङ्गठन र साहित्यिक कृति सम्पादनमा अनवरत लागिरहने व्यक्ति हुनुहुन्छ । यो अनवरत लगावले के कस्ता फाइदा/बेफाइदाहरू गर्दा रहेछन् ?

शेखर :  म त मैले गरेको कामको मूल्याङ्कन कसले पो गरेको होला भन्ने बेलाबेलामा ठान्थेँ । तर तपाईँले नजिकबाट नियालिरहनुभएको रहेछ । त्यसैका कारण तपाईँले मलाई यो प्रश्न गर्नुभएको भन्ने बोध भएको छ । कुनै पनि मानिस एउटा मात्र कार्यक्षेत्रमा रहेको म देख्दिनँ, दीपक सर ! आफू बाँच्न र परिवार चलाउन अर्थोपार्जन वा पेसासम्बन्धी एक काम गरे पनि अर्को अर्थ दरिलो बनाउन होस् वा शरीर, मनमस्तिष्क राम्रो बनाउन होस्‌; केही न केही अन्य काम गरेकै हुन्छन् । यस सन्दर्भमा मैले चाहिँ पैसाकै खोज गरिनँ । यी तीनओटै कामलाई एकै पटक राखेरभन्दा मैले बिदाको बेलामा घुम्न जाने, साथीहरूसँग भेटघाट गरी रमाइलो गर्ने, मनोरञ्जन गर्ने, वनभोज वा यात्रा भ्रमण जाने, आफन्त वा नातागोता कहाँ गएर भेटघाट गर्ने र घरमा अतिथि आगमन हुँदा समय दिने जस्ता पक्षलाई छाडेको छु । यतिसम्म कि कतिपय साहित्यिक कार्यक्रमसमेत छाडेको छु । यसका साथै कतिपय बेला त आधा घण्टाका समय मात्र बिचमा बचे पनि कम्प्युटर खोलेर सम्पादनको काम गरेको छु । यसका साथै रातको निद्रासमेत कटौती गरेको छु । 

साहित्य सिर्जना निरन्तर हुने कार्य होइन । घटनाले मनलाई घचघच्याएपछि मस्तिष्क एकाग्र बन्न पुग्छ । त्यस समय लेखिने हो । सम्पादन गर्दा कृति वा रचनासँग आफूलाई जोडेर तारतम्य मिलाउने प्रयास गर्ने हो । यसका लागि सिर्जनामा जस्तो हृदयको भाव नभई मस्तिष्क सक्रिय हुन्छ । यी सबै काम गर्ने प्रयास गर्दा तपाईँहरूको माया र साथ पाएको छु । सधैँ व्यस्त हुन्छ, हामीलाई समय हुँदैन भन्ने आफन्तको पनि सहयोग निरन्तर पाएको छु । आज यो सम्पादनको कार्य तपाईँ र तपाईँ जस्ता पुस्तकप्रेमीको प्रोत्साहनबाट गर्न सकेको हुँ । प्रोत्साहन पाएको खण्डमा भोक, निद्रा र प्यास नहुँदो रहेछ । पैसा कमाउने चाहना पनि घट्दो रहेछ । परिवारलाई पनि बलजफ्ती सम्झाइँदो रहेछ । सबैको समय चोरेर सम्पादन गर्ने काममा लागिँदो रहेछ । संस्थाको कुरो गर्दा सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा केन्द्रसँग म स्थापना कालदेखि नै आबद्ध छु ।


यसरी साहित्यिक कृति रचना गर्दा, सम्पादन गर्दा र संस्थामा लाग्दा आर्थिक रूपमा बेफाइदा छ । परिवार, साथीभाइ एवम् नातेदारलाई समय दिन नसक्दा बेफाइदा छ तर आत्मसन्तुष्टि चाहिँ मिलेको छ । यसलाई मैले फाइदाको रूपमा लिएको छु ।


Friday, October 24, 2025

अन्तर्वार्ता (अङ्क २८ मा प्रकाशित)



प्रियाजी, प्रश्नको उठान यसरी गरौं – तपाईंको पृष्ठभूमि र साहित्यिक प्रेरणाको स्रोत बताईदिनु न ? 

प्रिया पत्थर –  मेरो साहित्यलेखनको पृष्ठभूमिको बारेमा भन्नुपर्दा मैले सानै उमेरदेखि साहित्यिक रचना मन पराउने गरेको थिएँ । विशेषत् पाठ्यपुस्तकमा रहेका कथा कविता मलाई साह्रै मन पर्थ्यो ती बाहेक विद्यालयका पुस्तकालयबाट साहित्यिक पुस्तक ल्याई पढ्ने गर्थेँ । पछि एस.एल.सी. गरिसकेपछि लेख्ने प्रयास गर्न थालेँ र जिल्लाका खबर पत्रिकाहरूमा छपाउन थालेँ । यसप्रकार मेरो साहित्यिक प्रेरणाको स्रोत भनेको मेरो आफ्नै मनको साहित्यप्रतिको लगाव हो । 


तपाईं साहित्यमा अनवरत लागिरहने व्यक्ति हुनुहुन्छ । यो अनवरत लगावले के कस्ता फाइदा/बेफाइदाहरू गर्दा रहेछन् ? 

प्रिया पत्थर –  साहित्यप्रति मेरो लगाव विगतको ४०–४५ वर्ष अघिदेखिको हो । साहित्य मेरो लागि लेखनको विषय मात्र नभएर पठनको विषय पनि हो । पठन संस्कृतिबाट मैले धेरै ज्ञान आर्जन गरेँ । लेखनको माध्यमबाट मैले आफ्नो मनमा रहेका धेरै उकुसमुकुस र द्वन्द्वलाई निकास दिएँ । मैले लेखेका साहित्यले समाजलाई अलिकता भएपनि केही बाटो देखाएको होला, चेतना दिएको होला भन्ने ठान्दछु र मेरो यो सत्प्रयासलाई साहित्यका बुद्धिजीवीहरूले मूल्याङ्कन गरी मलाई हमेशा प्रोत्साहन दिइरहनु भएको छ त्यसर्थ साहित्यले मलाई समाज उपयोगी भएर बाँच्ने प्रेरणा दिएको छ यही नै मेरो जिन्दगीको लक्ष्य उद्देश्य भएको हुँदा साहित्यलाई मैले जीवनको ठूलो उपलब्धि ठानेको छु ।


Wednesday, September 10, 2025

अन्तर्वार्ता (अङ्क २७ मा प्रकाशित)


 

भट्टजी, प्रश्नको उठान यसरी गरौ“ । तपाईंको बाल्यकाल र प्रेरणाको स्रोत बताईदिनु न ?

पुष्करराज :  मेरो जन्म सुदूरपश्चिम, बैतडीमा भयो । सात, आठ वर्षको उमेरसम्म पहाडमा बसोबास भयो । त्यसपछि धनगढी, कैलालीमा बसोबास भयो । विद्यालय तहमा हुने विभिन्न कार्यक्रम, गतिविधिसँगै साहित्य लेखनमा जोडिने काम भयो । स्थानिय साहित्यिक संस्थाहरूको कार्यक्रममा भागलिने क्रमसँगै लेखन कार्य पनि अघि बढ्यो । 


तपाईं साहित्यमा अनवरत लागिरहने व्यक्ति हुनुहुन्छ । यो अनवरत लगावले के कस्ता फाइदा र बेफाइदाहरू गर्दोरहेछ ?

पुष्करराज :  साहित्यमा निरन्तर लगावले साहित्य क्षेत्रलाई बुझ्ने र आफूलाई पनि त्यसै अनुसार अघि बढाउन मद्दत मिलेको छ । यो एक प्रकारको फाइदा नै हो । सिर्जनात्मक जीवनमा व्यस्त हुँदा सामाजिक जीवनका अनेकन गतिविधि र सामाजिक क्रियाकलापमा सामेल हुन कम समय मिल्ने रहेछ । यसले गर्दा समाजबाट अलग हुने संभावनापनि हुन्छ । त्यसैले सन्तुलनमा रहेर काम गर्नुपर्ने हुन्छ । एकै पटक सबै काम गर्न नसकिने भएकोले लाभहानी त भइरहन्छ । 


तपाईं लघुकथाको विज्ञ हुनुहुन्छ । आम साहित्यानुरागीहरूलाई बताइदिनुहोस्‌– लघुकथा के हो ?

पुष्करराज :  लघुकथा आख्यानको सूक्ष्म विधा हो । लघुकथामा कथानक, परिवेश एवं पात्रमा सूक्ष्मता पाइन्छ । कम समयमा प्रभावकारी चेतना प्रस्तुत गर्नु र आकस्मिक अन्त्य हुनु यसको खास विशेषता हो । 

भट्टका प्रकाशित कृति
-----------------------------------------------------------------------------------------------------

Friday, August 8, 2025

अन्तर्वार्ता (अङ्क २६ मा प्रकाशित)




कुसुमाकरज्यू, तपाईं धीर, शान्त र शालीन व्यक्तित्व हुनुहुन्छ । यस्तो व्यक्ति समीक्षकको भूमिका आई स्रष्टाका सिर्जनाहरूको गुण/दोष खुट्याउने भूमिकामा रहँदा तपाईको शान्त स्वभावमा केही हलचल हुन्छ कि ?

कुसुमाकर : कति रमाइलो प्रश्न सोध्नु भयो । भूमिका परिवर्तन हुँदा स्वभाव परिवर्तन हुन्छ कि हुँदैन भन्ने । मलाई के लाग्छ भने म पाठक हुँदा वा समीक्षक हुँदा मेरो स्वभावमा परिवर्तन भएको जस्तो लाग्दैन । तर समीक्षाको भूमिका निभाउनका लागि प्रशस्त तयारी चाहिँ गर्ने गर्छु । किनभने कसैको सिर्जनामा गुण दोष देखाउने कार्य कठिन कार्य हो । तथ्यपरक, वस्तुपरक र निष्पक्ष समीक्षा गर्न सकियो भने सर्जकप्रति न्याय हुन्छ जस्तो लाग्छ मलाई ।


पछिल्लो समय तपाईं रूचाइएको एक समीक्षक हुनुहुन्छ । हामीलाई बताइदिनुस्, एउटा समीक्षकको अध्ययनको दायरा कति हुँदोरहेछ ?

कुसुमाकर : सर्जक होस् अथवा समीक्षक तर, गर्नुपर्ने अध्ययनको दायरा निकै फराकिलो देख्छु म । आफू कहाँसम्म पुग्ने भन्ने मात्र हो । समय र क्षमताले भ्याएसम्म साहित्य सम्बन्धी कुराहरू पढ्छु । पहिले पहिले रहरमा पढ्थेँ । अहिले जान्न र बुझ्नका लागि पढ्छु । समीक्षक भएपछि त झन् धेरै पढ्नै पर्‍यो । 

लेखन र अध्ययनको विषय लघुकथा नै किन भन्ने प्रश्न उठ्न सक्छ । लघुकथा मेरो रुचि र प्रिय विषय हो । लघुकथा पढ्दा वा लेख्दा मनमा आनन्द आउँछ । लघुकथाले नै मलाई पाठक सामु चिनाएको छ । यसका साथै लघुकथाको विकासका लागि धेरै काम गर्न बाँकी छ । यसले पनि मनमा उत्साह उमङ्ग जगाउँछ ।

अध्ययनको दायराका कुरा गर्दा पाश्चात्य साहित्यमा लघुकथाका बारेमा विश्वविद्यालय स्तरमा अध्ययन, अनुसन्धान हुन्छन् । प्राध्यापकहरूले लघुकथामा गरेका शोधपत्रहरू बग्रेल्ती भेटिन्छन् । ख्यातिप्राप्त प्रकाशकहरू पनि लघुकथाको विकासका लागि  अभियन्ता भएर लागिपरेका छन् । हिन्दी साहित्यमा समेत विश्वविद्यालयहरूमा लघुकथा शोध तथा विकास विभाग स्थापना भएकाछन् । तर, नेपालमा भने विश्वविद्यालयमा लघुकथा भनेको कथा कै सानो रूप हो । छुट्टै विधा होइन भनेर पुरानो सिद्धान्त पढाइन्छ र लघुकथालाई कथा मै घोलेर कथा दर्शन बनाइन्छ । अनि लघुकथाको विकास कसरी हुन्छ ? विकास भनेको मौजूदा स्थिति र अवस्थाबाट अगाडि बढ्नु हो । न कि लघुकथाका सिद्धान्त देखेर लघुकथालाई चौखुर्‍याइयो भनेर आकाश नै खस्ला जसरी बिच्कनु हो । 

नेपाली साहित्यमा सिर्जनशील लेखनको विकास पाश्चात्य साहित्यको जस्तो भएन । अहिले बल्ल यसको थालनि भएको छ । हामीलाई लघुकथा लेख्न सिकाउँदा अग्रजका लघुकथा पढ्ने र त्यसकै अनुसरण गर्न भनियो । हाम्रो सिकाइलाई अग्रजका लघुकथामा सीमित गरियो । गुण अवगुण छुट्याउन नसक्ने गराइयो । झण्डै एक हजार शब्दको प्रतिनिधि नेपाली लघुकथा पनि पढेको छु । अहिले २५० शब्दको सीमा बाँधिएको छ लघुकथाका लागि । अब मैले अग्रजबाट सिकेको कुरालाई के भन्ने ? यी परिस्थितिबाट बाहिर निस्कन नेपाली लघुकथाको धार कता गइरहेको छ ? अन्तर्राष्ट्रिय साहित्यमा लघुकथाको विकास कसरी भएको छ? भन्ने कुराको अध्ययन गर्न जरूरी छ । म यिनै विषयमा अध्ययन गरिरहेको छु । 

Monday, July 7, 2025

अन्तर्वार्ता (अङ्क २५ मा प्रकाशित)


सफा हृदयको मान्छेको जीवनी र विचार दुबै खास हुन्छन् भन्ने कुरो लघुकथाकार विवेक शर्मा गौतमसँग सङ्गत गरेपछि सजिलै थाहा हुन्छ ।

पूर्वी रुकुम, आला, पोधर्नामा वि.सं. २०२१ फाल्गुन २२ गते जन्मिएका विवेक शर्मा गौतमले जनप्रशासन र शिक्षा शास्त्रमा स्नातकोत्तर गरेका छन् । विद्यालयकालीन समयदेखि साहित्यमा रुचि भएर पनि  विविध कारणवस ७०को दशकबाट लेखनमा सकृय विवेकका दुई कृतिहरू प्रकाशित छन् – विज्ञानको चमत्कार र जेई । कथा, कविता, निवन्ध विधामा कलम चलाउने विवेक शर्मा गौतम मूलतः लघुकथामा केन्द्रित छन् । लघुकथाको सेरोफेरोमा रहेर विवेक शर्मा गौतमसँग लघुकथा संसार अनलाइन पत्रिकाका लागि दीपक लोहनीले  गर्नु भएको लघुवार्ता यहाँ प्रस्तुत छ ।
------------------------------------------------------------------------------‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍--------

विवेक शर्माज्यू, आफ्‌नो बाल्यकालको थोरै चर्चा गर्दै, तपाई साहित्यमा कुन अभिरुचिका साथ प्रवेश गर्नु भयो ?

म बाल्यकालदेखि नै अत्यन्तै जिज्ञासु थिएँ । यिनै जिज्ञासाले मलाई सधैं नयाँ कुरा जान्न र बुझ्न प्रेरित गर्‍यो । कक्षा १ र २ मैले स्वअध्ययनमार्फत् पूरा गरेँ, जुन मेरो आत्मबल र रुचिको परिणाम थियो । मलाई किताबहरूसँग समय बिताउन मन पर्थ्यो—सोध्ने, बुझ्ने र सिक्ने चाहना अत्यन्त प्रबल थियो । त्यसै जिज्ञासाको कारण म कक्षा ३ मा विद्यालयमा भर्ना भएँ । औपचारिक पढाइ सुरु भएपछि मेरो मेहनत झनै बढ्यो । म पाठ्यक्रममा केन्द्रित भएर पढ्न थालेँ, र त्यो पढाइमा सधैं गहिरो चासो देखाउँथेँ । शैक्षिक यात्रासँगै मलाई साहित्यिक गतिविधिहरूमा पनि गहिरो रुचि विकास भयो । कविता लेख्ने, वाचन गर्ने, निबन्ध लेख्ने जस्ता कार्यहरूमा सक्रिय हुन थालेँ । विद्यालयमा आयोजना हुने साहित्यिक कार्यक्रममा सहभागी भइ आफ्ना भावनाहरू अभिव्यक्त गर्ने अवसर पाउँदा म निकै उत्साहित हुन्थेँ ।

म गाई बाख्रा चराउन जाँदा होस् या पानीघट्टमा गहुँ मकै पिस्न जाँदा होस्, पुस्तक लिएरै जान्थें । म गाउँको एक सामान्य केटो । गाई बाख्रा चराउनु, खेतबारीका काम गर्नु र कहिलेकाहीँ थैलो बोकेर पानीघट्टमा पुग्नु मेरो दैनिकी जस्तै थियो । तर ती सबै कामकाजबीच पनि पढ्न छोड्दिनथेँ ।

गाई बाख्रालाई चरनमा लग्दा, म उनीहरूलाई हरियो ठाउँमा छोडेर एकछिनको फुर्सद निकाल्थें । ढुङ्गा, रूखको छायाँ, या घाँसको थुम्को जहाँ पाइन्छ, त्यहीँ म बसेर पुस्तक खोल्थें । त्यति बेला पढ्नको साधन सीमित थियो, तर रहर अथाह । अक्षर–अक्षर कोर्दै, मनन गर्दै, म मेरो सानो सपना बुन्थें — शिक्षित हुने, जीवन बदल्ने ।

पानीघट्टमा जाँदा पनि गहुँ मकै बोकेर टाढाको उकालो ओरालो हिँड्नुपर्थ्यो । तर त्यो झोलामा गहुँसँगै मेरो पुस्तक पनि हुन्थ्यो । घट्टको पालो कुर्दा म त्यो समय खेर फाल्दिनथेँ; त्यो समयमा छेउछाउमा बसेर पढ्थें । घट्टको खनखन आवाज माझ मेरो मन किताबका अक्षरहरूमै डुबिरहन्थ्यो ।

अरूका लागि ती स–साना झोला गहुँ मकै बोकेका थिए, मेरो लागि ती झोला सपना र ज्ञान बोकेको खजाना थिए । मेरो पढाइ कुनै भव्य पुस्तकालयमा होइन, खेतपाखा, चरन, र घट्टको कुनामा हुन्थ्यो । तर त्यहीँबाट मैले जीवनको ठूलो पाठ सिकेँ — समय र परिस्थितिको पर्खाइ नगरी, जहाँ सकिन्छ, त्यहीँबाट सुरु गर्नुपर्छ ।


तपाईं अध्ययनशील व्यक्ति हुनुहुन्छ । तपाईंको कलम लघुकथा बाहेक साहित्यका अन्य विधा वा गैरसाहित्यिक क्षेत्रमा पनि चलेको छ ?

साहित्यकार बन्न सकिन । विभिन्न परिस्थितिले निरन्तरतालाई पछि पार्‍यो । साहित्यप्रति मेरो रुचि बाल्यकालदेखि नै थियो । साहित्यका अन्य विधाहरूमा मेरो गहिरो रुचि छ । विशेषतः हाइकु, गद्य कविता र नियात्रा लेखनमा मलाई आफैंलाई अभिव्यक्त गर्न सहज लाग्छ ।

हाइकुजस्तो छोटो तर भावनात्मक विधाले अल्प शब्दमा गहिरा अनुभूतिहरू व्यक्त गर्न सघाउँछ । म दैनिक जीवनका साना तस्बिरहरू—प्रकृति, मौसम, मानिसका भावनाहरू—हाइकुमा उतार्न रुचाउँछु ।

त्यस्तै, गद्य कविता मेरो मनपर्ने अर्को विधा हो । यसमा छन्दको बाँधाइ नभए पनि भाव, अनुभूति र शैलीको स्वतन्त्रता पाइन्छ, जसले गर्दा म आफ्ना भावना खुला रूपमा पोख्न सक्छु ।

नियात्रा पनि मलाई अत्यन्त प्रिय लाग्ने विधा हो । यात्रामा देखिएका दृश्य, भोगिएका अनुभव र त्यसभित्रका संस्कृति, समाज र परिवेशलाई समेटेर लेख्न पाउनु मेरो लागि आत्मीय अनुभव हो । यात्रामार्फत् विभिन्न ठाउँ, मानिस र विचारसँग साक्षात्कार हुन पाउनु लेखकीय अभ्यासको अभिन्न अङ्ग हो जस्तो लाग्छ ।

साहित्यिक क्षेत्रसँगसँगै गैरसाहित्यिक क्षेत्रहरूमा पनि मेरो चासो उत्तिकै छ। विज्ञान र प्रविधि, मनोविज्ञान, समाजशास्त्र, व्यक्तित्व विकास, इतिहास, तथा समसामयिक विषयहरूमा अध्ययन गर्न मलाई रुचि लाग्छ । तै पनि यी क्षेत्रमा केही गर्न सकिएको छैन । यस्ता विषयले सोच्ने तरिका फराकिलो बनाउँछन् र जीवनका विविध पक्षलाई बुझ्न मद्दत गर्छन् ।

Wednesday, June 4, 2025

अन्तर्वार्ता (अङ्क २४ मा प्रकाशित)


नेपाली लघुकथा लेखनमा भारतीय नेपाली लघुकथाको पनि महत्वपूर्ण स्थान छ । यस स्थानमा नेपालीमूलका भारतीय लघुकथाकार देवीप्रसाद थापा 'मामा’ को नाम छुटाउनु हुँदैन । 

देवीप्रसाद थापाको जन्म सन् १९६६ दिसेम्वर १९ मा सदर हिल्सको साइकुल, मणिपुरमा भएको हो । उनीका कविता र लघुकथा गरी आठवटा कृतिहरू प्रकाशित छन् । जसमा आमा, बाबा, सासू, माइती, एक थोपा आँसु र भ्रूणहत्या गरी ६ वटा लघुकथा कृति प्रकाशित छन् । 

लघुकथामा नै केन्द्रीत रहेर आफ्‌नो साहित्यिक यात्रा अघि बढाइरहेका लघुकथाकार देवीप्रसाद थापा 'मामा’सँग दीपक लोहनीले लघुकथा संसार अनलाइन पत्रिकाका लागि गर्नु भएको लघुवार्ता यहाँ प्रस्तुत छ ।

-------------------------------------------------------------------------------------

देवीप्रसादज्यू, आफ्‌नो बाल्यकालको थोरै चर्चा गर्दै, तपाईं साहित्यमा कुन अभिरुचीका साथ प्रवेश गर्नु भयो ? 

देवीप्रसाद : मेरा पुर्खा शताब्दीअघि जन्मथलो छोडेर यतातिर प्रवेश गर्नुभएको हो । मेरो जन्म यतै भारतको मणिपुर राज्यमा भएको हो । परिवारभित्र नेपालीभाषा बोल्नु बाहेक मैले अन्य ठाउँमा नेपाली बोल्ने मौका गुमाएको हो । यो मेरो मात्र कथा होइन् सम्पूर्ण मणिपुरेली नेपालीभाषीहरूको कथा हो । मैले हिन्दी साहित्य र अङ्ग्रेजी साहित्य विद्यार्थी जीवनमा अलिअलि अध्ययन गरेको हो । नेपाली साहित्यको कुरा गर्नुपर्छ भने मैले नेपाली छापा अक्षर श्रीस्वस्थानी व्रतकथा, नेपाली महाभारत र रामायण पुस्तकहरूमा मात्र देखेको हुँ । नेपाली साहित्यको अभिरुचिकै कुरा गर्नुपर्दा ई. सन् १९९६–९७ तिर मणिपुर सरकारले यहाँका नौ र दस कक्षामा विद्यार्थीहरूले अनिवार्य रुपमा आफ्नो भाषा पढ्नै पर्नै सूचना जारी गर्‍यो । त्यतिबेला म एउटा प्राइभेट हाइस्कूलमा जागिर खान्थे । नेपालीभाषा पढाउने शिरोभार मेरो टाउकोमा पर्‍यो र त्यतिबेला सिक्किमको सिलेबस (Syllabus) पढाउनु पर्दथ्यो । तिनै पुस्तक पढाउँदै जाँदाको अभिरुचिले मलाई साहित्यमा प्रवेश गराएको हो ।


तपाईं लघुकथा सहित साहित्यका अन्य विधामा पनि कलम चलाउनु हुन्छ । हामीलाई बताईदिनु त, आफ्‌ना विचारहरू अभिव्यक्त गर्न तपाईंलाई कुन विधि बढी सहज र प्रिय लाग्छ ?

देवीप्रसाद : सुरु सुरुमा मैले कविता र लामा लामा कथामा कलम चलाएको हुँ । केही वर्ष लेख्दै सिरानीमा लुकाउने प्रक्रिया चल्यो । अन्ततः लुकाउने प्रक्रिया सार्वजनिक भयो तर मैले पहिलोपटक कविता र लामा कथा निकाल्ने आँट गरिनँ ।

यसरी केही वर्षपछि मेरो ध्यान छोटा कथामा पुग्यो र लघुकथालाई आफ्नो साहित्यिक पाटो बनाएर अघि बढिरहेको छु । 

आफ्ना विचारहरू अभिव्यक्त गर्नलाई कविता र लामा कथामा बढी सहज हुन्छ र पाठकहरूलाई बुझ्न पनि सरल हुन्छ । लघुकथामा भने त्यस्तो मौका गुम्छ तैपनि मलाई लघुकथा नै प्रिय लाग्छ ।

Sunday, April 27, 2025

अन्तर्वार्ता (अङ्क २३ मा प्रकाशित)


लघुकथाकार किशन पौडेलको जन्म वि.सं. २०२८ भाद्र २९ गतेका दिन मकवानपुर जिल्लाको हेटौंडामा भएको हो । बालककालदेखि नै सृजनात्मक अभिरूचि भएका किशन युवा उमेरको प्रारम्भिक समयदेखि नै पत्रकारिता, फोटोग्राफी र साहित्यमा सकृय रहे । साहित्यमा काव्य र आख्यान दुबैमा समानान्तर रूपले कलम चलाउने किशन पौडेलका 'खुसी’  र 'अन्तर्दृष्टि’ दुई लघुकथाकृति सहित केही काव्यका कृतिहरू प्रकाशित भएका छन् ।

लघुकथा चौतारी, मातृभूमि साहित्य समाज र मुक्तक मञ्चस“ग आवद्ध किशन पौडेलले क्रान्तिधारा मेरठ साहित्य साधक सम्मान लगायत स्वदेशभित्र आयोजित राष्ट्रव्यापी खुल्ला प्रतियोगीताहरूमा पुरस्कृत पनि भएका छन् । हालै लघुकथा समाजले बाटुली–खिलध्वज लघुकथा सम्मानबाट लघुकथाकार किशन पौडेललाई सम्मान पनि गरेको छ । लघुकथाकार किशन पौडेलको साहित्यिक योगदान र सम्मानको सेरोफेरमा रहेर लघुकथा संसार अनलाइन पत्रिकाको लागि दीपक लोहनीले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । 

**************************************************************************



किशनजी, आफ्‌नो बाल्यकालको थोरै चर्चा गर्दै, तपाईं साहित्यमा कुन अभिरूचिका साथ प्रवेश गर्नु भयो ?

नमस्कार दीपक सर ! लघुकथा संसार अनलाइन मासिक पत्रिकाका लागि आफ्ना भनाईहरू राख्ने अवसर दिनु भएकोमा हार्दिक धन्यवाद ।

मेरो जन्म २०२८ सालमा  हेटौंडा नगरपालिका वडा नं ६ पुतली बजारमा भएको थियो । मध्यम स्तरको पारिवारिक माहौलमा मेरो स्कूल जीवनको सम्पूर्ण बाल्यकाल त्यही नै बित्यो । मभित्र सानैदेखि नै साहित्यिक पत्रपत्रिका पढ्ने र लेख्ने अभिरुचि थियो भने भ्रमण गर्न रुचाउने अलि बढी घुमन्ते स्वभाव पनि थियो ।

फोटोग्राफी मेरो सोख थियो । म ५ वर्षको हुँदा हजुरबुबा – हजुरआमासँग एक वर्ष भारतको कलकत्ता बसेर आएको सम्झना छ । समग्रमा भन्नुपर्दा  बाल्यकालको जीवन अलि सङ्घर्षपूर्ण नै थियो ।

म ८ कक्षा पढ्दादेखि नै कविता, गीतिकथाहरू लेख्ने गर्दथे र २०४७ सालतिर गोरखापत्र शनिबारमा पहिलो बालकविता प्रकाशित भएको थियो । सुरुमा कविता र गीतमा बढी अभिरुचि थियो । २०४८ सालतिर दुई वटा गीत लेखेको थिएँ । उक्त गीत रेडियो नेपालबाट रेकर्डिङ पनि भएको थियो । पछि २०५४/५५ तिर मधुपर्कमा गजल र गीत प्रकाशित भएको थियो । एकाध लघुकथा पनि लेख्ने गरेको थिएँ । त्यो बेला मलाई लघुकथाको सिद्धान्त चाहिँ थाहा थिएन । लेखेर आत्मसन्तुष्टि प्राप्त हुन्थ्यो भने पत्रपत्रिकामा रचनाहरू प्रकाशित हुँदा औधी खुसी प्राप्त हुन्थ्यो ।

Sunday, March 30, 2025

अन्तर्वार्ता (अङ्क २२ मा प्रकाशित)


त्रिपुरा पोखरेल 'खरेल' मुलतः सिक्किमेली सक्रिय महिला साहित्यकार हुन् । शान्तादेवी र प्रो. बालकृष्ण पोखरेलकी सुपुत्री त्रिपुरा पोखरेल 'खरेल’ वि.सं. २०१६ फागुन २० गते मामरि· दक्षिण सिक्किममा जन्मिएकी हुन् । 

नर्थ वंगाल युनिभर्सिटी, सिलिगुडीबाट नेपाली विषयमा एम.ए. पुरा गर्नुभएका त्रिपुरा अध्यापन पेशाबाट शिक्षा विभाग सिक्किमबाट अवकाशप्राप्त हुनुहुन्छ । 

बाल्यकाल काठमाडौँमा बिताउनु भएकी त्रिपुरा स्कुलमा पढ्दादेखि नै कविता लेख्ने गर्थिन् भने साहित्यिक यात्रामा सिक्किमको पत्रपत्रिकाहरूमा निबन्ध, कविता प्रकाशित छन् । पहिलो कृतिको रुपमा 'मेरी कविता’ कवितासङ्ग्रह प्रकाशित भएको थियो ।

नेपाली साहित्य परिषद् गान्तोकको आजीवन सदस्यको रुपमा कार्यरत त्रिपुराका अन्य कृतिमा 'प्रस्फुरण’ हाइकुसङ्ग्रह, 'पराकम्प’ लघुकथासङ्ग्रह र 'दमित इच्छा’ कथासङ्ग्रह गरी चार वटा कृति प्रकाशित छन् भने निकट भविष्यमै दुई वटा लघुकथासङ्ग्रह र कथासङ्ग्रह साहित्यभण्डारमा थप्दै हुनुहुन्छ ।  

त्रिपुरा पोखरेल खरेलले सामाजिक सञ्जाल फेसबुकमा 'सिक्किमेली लघुकथा समाज’ नामक पेज खोलेर संस्थापक र एड्मिनको भूमिका निर्वाह गर्दै नेपाली लघुकथाको उन्नयनका लागि सक्रिय हुनुहुन्छ । –सं

................................................................


तपाईं नेपाली भाषासेवी बालकृष्ण पोखरेलको सुपुत्री हुनुहुन्छ । तसर्थ पनि तपाईंको बाल्यकाल विशेष र खास पक्कै थियो होला । आफ्‌नो बाल्यकालको बारेमा हल्का केही बताइदिनु न ?

त्रिपुरा खरेलः  म भाषाशास्त्री बालकृष्ण पोखरेलकी जेष्ठ सन्तान हुँ । मेरो बुवाले साहित्यका प्रायःजसो सबै विधामा कलम चलाउनु भएको छ । उहाँ राष्ट्रको धन हुनुहुन्छ तर राष्ट्र चलाउने सारथीहरूले उहाँलाई अहिलेसम्म पनि चिन्न सकेका छैनन् । यसरी राष्ट्रको धनलाई बेवास्ता गर्नु भनेको देशलाई नै ठूलो खति हुनु हो ।

मेरो बाल्यकाल काठमाडौँमा बित्यो । बुबा त्रिभुवन विश्वविद्यालयमा पढाउनु हुन्थ्यो । हामी कहिले डिल्लीबजार, कहिले बागबजार, कहिले लैनचौर, कहिले धोबीधारा र कहिले बानेश्वरमा घर भाडामा बस्यौं । लैनचौरको स्कूलमा नाच सिकाएको अलिअलि सम्झिन्छु । लैनचौर बस्दा नै होला आमाले प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीकी नातिनी मीना मैनालीसँग मेरो मीत लगाइदिनु भएको । बिजय मेमोरियल स्कूलमा (डिल्लीबजार)मा सात कक्षासम्म पढेकी थिएँ । काठमाडौँको बसाइमा बुवा, आमासँग चिडियाखाना घुम्न गएको, मेरा साइला हजुरबुवा बडाहाकिम नारायणप्रसाद पोखरेलको घर गएको । उच्च न्यायालयका हाकीम हरिश्चन्द्र उपाध्याय (पोखरेल)को घर गएको सम्झना छ । बुवाको ज्यादाजसो समय लेख्न, पढ्न, पढाउन र खस जातिबारे खोजी गर्नमा बित्थ्यो । यही सन्दर्भलाई लिएर उहाँ महाकालीदेखि मेचीसम्म फन्को मार्नुहुन्थ्यो । साँच्चै नै भन्नुपर्दा हामीले बुवाको हात समाएर हिंड्ने र बुइ चढेर रमाउने सुनौलो अवसर कहिल्यै पाएनौं । हामीलाई आमाले हुर्काउनु भएको हो । बुवा अनुशासन प्रिय हुनुहुन्थ्यो । एकदिन बुवाले मलाई राइम्स सिकाउँदै हुनुहुन्थ्यो । आमा छेउमा बसेर पाउरोटीमा बटर र चिज लगाउँदै हुनुहुन्थ्यो । मैले राइम्स सिक्न छोडेर पाउरोटी मागेछु । मैले अनुशासन भङ्ग गरें भनेर त्यो दिनदेखि बुवाले मलाई कहिले पढाउनु भएन । 

Thursday, February 27, 2025

अन्तर्वार्ता (अङ्क २१ मा प्रकाशित)


श्रीओम श्रेष्ठ  'रोदन' मूलतः निबन्धकार हुन् । नेपाली साहित्य र नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा वहाँले विशिष्ट योगदान दिइ सक्नु भएको छ र यसै क्षेत्रमा निरन्तर क्रियाशील रहि आउनु भएको छ । कविता, निबन्ध, लघु कथा, नियात्रा जस्ता विधाहरूमा थुप्रै कृतिहरू नेपाली साहित्य भण्डारमा दिइसक्नु भएको छ ।

२०१९ कार्तिक ११ गते ललितपुरको झम्सिखेलमा जन्मिनुभएका वहाँले स्थानिय टीका विद्याश्रमबाट एसएलसी पास गर्नुभएको थियो भने श्रेष्ठले सर्टिफिकेट पढ्दापढ्दै गर्दा नेपाल बैंकमा खरदार पदमा जागिर खानुभएका श्रेष्ठ सुब्बा पदमा बढुवा भए पनि ४८ सालपछि जागिर छोडेर साहित्य लेखन र पत्रकारितातर्फ सरिक हुनुभएको हो ।

वहाँले ३४/३५ सालतिर नाटक लेख्ने, निर्देशन गर्ने र खेल्ने गर्नुहुन्थ्यो । साहित्य यात्रा ३६ सालमा पहिलो कविता पत्रिकामा छापेपछि लेखनलाई निरन्तरता दिंदै ४५ सालमा पहिलो पुस्तकका रुपमा ललिता कवितासङ्ग्रह प्रकाशित गर्नुभएका वहाँको हालसम्म १९ वटा विविध विधाका पुस्तकहरू प्रकाशित छन् । 

थुप्रै पत्रपत्रिका/पुस्तकहरूको सम्पादन गरिसक्नुभएका श्रीओम श्रेष्ठ रोदन राष्ट्रिय अखवार गोरखापत्र दैनिकको प्रधान सम्पादकजस्तो महत्वपूर्ण पदमा रहेर कार्य गरिसक्नु भएको छ । 

श्रीओम जीले लघुकथाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले झन्डै १७/१८ वर्ष अघि 'लघुकथा समाज'को स्थापना गर्नुभयो । यो समाजको संस्थापक अध्यक्षको रुपमा हालसम्म सक्रिय हुनुहुन्छ ।

विभिन्न राष्ट्रको भ्रमण गरिसक्नुभएका श्रीओम श्रेष्ठले दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गर्नु भएको छ । उहाँसँग लघुकथा संसारले गरेको छोटो कुराकानी ।

------------------------------------------------------------------------------------------------------------

Thursday, January 23, 2025

अन्तर्वार्ता (अङ्क २० मा प्रकाशित)


नेपाली साहित्यको लघुकथा विधामा अनवरतरूपमा सक्रिय महिला साहित्यकार हुन् – इन्दिरा चापागाईं । आमा लेखमाया चापागाईं र बुवा खगेन्द्रप्रसाद चापागाईंकी सुपुत्री इन्दिरा चापागाईं २०२९ माघ २० गते सभापोखरी गा.पा.१, संखुवासभामा जन्मिएकी हुन् । 

स्नातकोत्तर(जनप्रशासन) औपचारिक अध्ययन पूरा गर्नुभएका इन्दिरा चापागाईं निजामति सेवामा कार्यरत हुनुहुन्छ । साहित्यमा निकै रुचि राख्नु हुने इन्दिरा सानैदेखि कविता, निबन्ध लेखन तथा वक्तित्वकलामा उत्कृष्ट प्रस्तुतिमा  सक्रिय रहेको बताउनु हुन्छ । पहिलो प्रकाशित लघुकथा सन् २०२० मे २० मा हिमाल टाइम्स डटकममा प्रकाशित 'प्रवृत्ति' शीर्षक लघुकथा थियो । 

हाम्रो लघुकथा संसार अनलाइन मासिकको विशेष सहयोगी रहनु भएकी उहाँ विभिन्न साहित्यिक संघसंस्थाहरूमा आजीवन सदस्यता ग्रहण गरेर एक उदाहरणीय साहित्यकारको रुपमा उभिएकी छिन् । केही पुस्तकहरू प्रकाशनको तयारीमा रहनुभएकी इन्दिराको हालै अन्तहीन परिधि नामक लघुकथासङ्ग्रह प्रकाशित भएको छ ।

विभिन्न राष्ट्रको भ्रमण गरिसक्नुभएका इन्दिरा चापागाईं संगम साहित्य सम्मान–२०७९ र कल्पतरु वर्ष श्रष्टा पुरस्कार– २०७९ बाट समेत पुरस्कृत तथा सम्मानित हुनुहुन्छ । उहाँसँग लघुकथा संसारले गरेको छोटो कुराकानी ।

*****************************************************************************


विशेष विधा के हो र किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?

इन्दिरा : मेरा लागि साहित्यका सबै विधा विशेष । सबै विधा फुर्सद मिलेसम्म पढ्ने गर्छु । कथा, निबन्ध, गीत पनि लेख्छु तर कविता र लघुकथा बढी लेख्ने गर्छु । आफ्ना मनोभावनाहरु पाठकसँग बाँड्न र आफ्नो सन्तुष्टिका लागि नै लेख्छु । यस बाहेक साहित्य कहिलेकाहीँ आवाजविहीनहरुको आवाज बन्न सक्छ । कसैको लागि मार्गदर्शन या दुखेको घाउको मल्हम बन्न सक्छ भन्ने मान्यतामा म लेख्ने गर्छु । 


कथा र जीवन दर्शनलाई दाँजेर कसरी हेर्नुहुन्छ ? 

इन्दिरा : एउटा साहित्यकारले त कथामा जीवनदर्शन लेख्छ या भेट्छ । अर्को शब्दमा कथा नै जीवनदर्शन हो । त्यस्तै जीवनदर्शनमा पनि अनेकन कथाहरु हुन सक्छन् । तिनलाई चिन्न, लेख्न र पाठकहरुमाझ साझा गर्न आवश्यक हुन्छ । जसले गर्दा पाठकले पनि आफ्नो र अरुको जीवनकथा बुझ्न सिकून् । सहज ढङ्गले जीवन जिउन सिकुन् । आखिर जीवन पनि एउटा कथा त हो अनि कथा पनि कसैको जीवनको कुनै हिस्सा या भोगाइ त हो । यसरी जीवनदर्शन र कथाबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ भन्ने मलाई लाग्छ ।

प्रकाशित कृति

यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ? 

इन्दिरा : त्यस्तो चाहिँ हुँदैन । कुनै घटना परिघटनाले छोएपछि लेख्न बस्ने हो कुनै पनि समय हुन सक्छ । तत्काल लेख्न नसक्दा यसो विषयबस्तु टिपोट गर्ने हो । कतै पठाउनु पर्ने भयो भने चाहिँ यसो वास्तविकता र परिकल्पनाको मिश्रण बनाउन थाल्ने हो । निन्द्रा नपरेको बेला यसो चिन्तन गर्ने हो ।


अहिले कविता, कथा र दर्शनलाई बुझेर लेख्ने वा रहरले लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउने/कवि, कथाकार भनाउने चलन असाध्यै बढेर गएको छ यसलाई कसरी लिनु भएको छ ?

इन्दिरा : विशेष गरी कोरोनाकालपछि बुझेर लेख्नेहरुभन्दा पनि रहरले लेख्ने र सामाजिक सञ्जालमा प्रेषित गर्ने, कवि कथाकार भनाउने, त्यति मात्र होइन लेख्न लगाएरै या खर्च गरेरै भए पनि वाहवाही पाउने र ‘भाइरल’ हुने प्रवृत्ति बढ्दै गएको छ । सिर्जना हुनु राम्रो कुरा हो तर अलिकति अध्ययन साधना र चिन्तन गरेपछिको लेखन दिगो कालजयी बन्न सक्छ भने रहर र हतारको वाहवाही दिगो नहुन सक्छ । पचासौँ वर्ष साधना गरेका साहित्यकारहरुबाट यही कुरा सिक्न सकिन्छ । सिर्जनामा गुदी र गिदी प्रतिविम्बित हुनु पर्छ ।

Sunday, December 29, 2024

अन्तर्वार्ता (अङ्क १९ मा प्रकाशित)



नेपाली साहित्यको लघुकथा विधामा अनवरतरूपमा सक्रिय महिला साहित्यकार हुन् – लता के.सी । जान्दवीदेवी र लक्ष्मीबहादुर खड्का क्षत्रीकी सुपुत्री लता के.सी. २०१६ कात्तिक ६ गते भोजपुर दावामा जन्मिएकी हुन् । 

बी.ए.सम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका लता २०वर्षको निरन्तरशिक्षण सेवाबाट २०७३ देखि अवकाशप्राप्त हुनुहुन्छ । २०३९ मा मोरङ कलेजको वार्षिक मुखपत्र 'प्रकाश’मा 'अन्तरद्वन्द्व’ शीर्षकको कथा प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकी के.सी.को पहिलो लघुकथा लोकभावना पत्रिकामा प्रकाशित 'दुर्घटना’ शीर्षकको थियो भने पहिलो कृतिको रूपमा 'चोटदेखि मृत्युसम्म’ (लघुकथासङ्ग्रह, २०७७) प्रकाशित भएको थियो । 

हाम्रो लघुकथा केन्द्र नेपालको अध्यक्षको रूपमा कार्यरत के.सी.का अन्य कृतिमा दृश्य लघुकथासङ्ग्रह–२०७८, सफलता लघुकथासङ्ग्रह –२०८० गरी तीन वटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् भने केही पुस्तकहरू प्रकाशनको तयारीमा छन् । उहाँले थुप्रै पुस्तकको सम्पादन समेत गरेकी छिन् । 

उनी विभिन्न संघसंस्थाबाट साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । लता के.सी.सँग लघुकथा संसारले गरेको छोटो कुराकानी । 


लघुकथा किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?

लता के.सी. : लघुकथाकारहरूले शब्दका माध्यमबाट जीवन र जगतका विषयहरूलाई लघुकथामा उठान गर्छु । कलमले यावत् समस्या उजागर गर्छ, समाधान खोज्छ । एकातिर समाजको लागि भने अर्कोतिर आत्मसन्तुष्टि र समयको सदुपयोग होस् भनेर म लघुकथा लेख्ने गर्छु । 


उत्कृष्ट लघुकथा हुन के कस्ता गुणहरू हुनुपर्छ होला ?

लता के.सी. : लघुकथाको सिद्धान्त लेखिसकिएको यो वर्तमान परिस्थितिमा लघुकथालाई उत्कृष्ट बनाउन एउटा सर्जक त्यतातिर सजग हुनु पर्छ ।  मोटामोटीरुपमा आकारले, आयामले छोटो छरितो हुनु, कथावस्तु, विषय नवीन र मौलिक हुनु, सकारात्मक सन्देश हुनु, तीखो व्यङ्ग्य, संवाद र विम्बको प्रयोग हुनु, पात्र सीमित हुनु, शीर्षकको सार्थकता, विपरित र झड्केदार समापन आदि जस्ता गुणहरु आउनु पर्छ । 


यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ?

लता के.सी. : एउटा कलमप्रेमीलाई  लेखनमा समय र स्थानले प्रभाव पार्छ नै । मेरो हकमा पनि त्यही हो । बिहानीको ताजा अवस्थामा एक्लै, सुनसान, फुर्सदको समयमा प्रायः लेख्ने गर्छु । कहिलेकाही“ जुनबेला जहाँ पनि विचार र भाव सलबलाउँछन् त्यसबेला म टिपोट गर्छु र समयानुकूल लेख्ने गर्छु । 


हिजोआज साहित्य लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउन चलन असाध्यै बढेर गएको छ यसलाई कसरी लिनु भएको छ ?

लता के.सी. : साहित्यको विकास र विस्तारमा सामाजिक सञ्जालको ठूलो महत्व र प्रभाव रहेको छ । प्रविधिले दिएको यो एउटा अवसर र उपहार हो । हामीले सदूपयोग गर्न सक्नु पर्छ । सामाजिक सञ्जालमा पोष्ट्याउनु सरल पद्धति त बनेको छ तर उत्कृष्ट साहित्य लेखनमा स्रष्टा स्वयम् सचेत र सजग रहनु पर्छ ।


वर्तमान लघुकथा लेखनको समग्र प्रवृत्तिलाई कसरी हेरिरहनु भएको छ ?

लता के.सी. : वर्तमान समयमा लघुकथा लेखनको भेल बगेको छ । खासगरी ७०को दशकपछि लेखन दर ह्वात्तै आकाशिएको छ । कोही लघुकथा बनेका छन् भने कोही अलघुकथा पनि । हिजो र आजको लेखन प्रवृत्तिलाई तुलना गर्दा निकै फरक आएको छ । जतिखेर लघुकथाका सिद्धान्त कोरिएका थिएनन्, त्यो बेला आ–आफ्‌नै हिसाबले प्रयोग भए, लघुकथा लेखिए तर वर्तमान समयमा लघुकथाका तङ्खवहरु आत्मसात् गरेर  लेखिनु पर्छ भन्ने आवाज उठेको छ, लेखिन थालेका छन् । 

Wednesday, December 4, 2024

अन्तर्वार्ता (अङ्क १८ मा प्रकाशित)


**********************************************************************
 

नेपाली साहित्यको हरेक विधामा अनवरतरूपमा सक्रिय महिला साहित्यकार हुन् - ललिता 'दोषी’ । सूर्यकुमारी र कुलबहादुर गजुरेलकी सुपुत्री ललिता 'दोषी’ २०२५ कात्तिक १६ गते इमाडोल, ललितपुरमा जन्मिएकी हुन् । 

स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका ललिता अध्यापन सेवामा सम्वद्ध हुनुहुन्छ । २०४१ मा 'शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकी दोषीको पहिलो कृतिको रूपमा 'प्रेमको परिभाषा’ (कथासङ्ग्रह, २०५६) प्रकाशित भएको थियो । उहा“का 'भत्किएका किनारा’ (२०५७) उनले  बच्चाहरूका लागि र ठूलाहरूका लागि ४९ वटा पुस्तकहरू प्रकाशित गरेकी छन् भने नौवटा बालकथाहरू, बालगीत र बालकाव्यादिलाई श्रव्यदृश्य बनाइएको छ । केही पुस्तकहरू प्रकाशनको तयारीमा छन् । उनले एक दर्जन जति पुस्तक सम्पादन गरेकी छिन् । 

उनका आधुनिक, राष्ट्रिय, धार्मिक, चेतनामूलक, लोकगीत, पपगीत र बालगीतहरू रेकर्डिङ भएका छन् । साहित्यका प्रायः सबै विधामा कलम चलाउने ललिता 'दोषी’ले लेखेका बालकथा, बालकविता, बालनाटक गरेर करिब डेढ दर्जन बढी रचनाहरू पाठ्यक्रममा परेका छन् । उनी भानुमोती पुरस्कार, क्षेत्रीय प्रतिभा पुरस्कार लगायत कथा, लघुकथा, कविता, हास्यव्यङ्ग्य कविता, सुसेली, नाटक, बालकथा, बालकाव्य, बालगीत आदि दर्जनौंभन्दा बढी साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । ललिता 'दोषी’सँग लघुकथा संसारले गरेको छोटो कुराकानी ।

**********************************************************************

विशेष विधा के हो र किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?

ललिता 'दोषी’ : म प्रायः सबै विधामा कलम चलाउँछु । मनमा उर्लिएका भावनाहरू शान्त पार्न नै लेख्ने गर्छु । मरेर जाँदा हामी रित्तो हात नै जान्छौँ । बाँचुन्जेल समाजलाई केही दिनपाए हुन्थ्यो भन्ने लाग्छ । आफ्नै पौरखमा रमाउन पनि मन लाग्छ । त्यसैले लेखिरहेकी हुन्छु ।


कथा र जीवनदर्शनलाई दाँजेर कसरी हेर्नुहुन्छ ?

ललिता 'दोषी’ :  कथा र जीवनदर्शनको कुरा गर्दा दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्वव्यापी दृष्टिकोण हो । कथा र जीवनदर्शनलाई दाँजेर हेर्दा कथाको ज्योति नै दर्शन हो झैँ लाग्छ मलाई । 


यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ?

ललिता 'दोषी’ :  मेरो कथा लेख्ने निश्चित समय त छैन । निश्चित स्थानभने छ । मलाई सिर्जना गर्न एकान्त स्थान नै मन पर्छ । 

Friday, November 8, 2024

अन्तर्वार्ता (अङ्क १७ मा प्रकाशित)


****************************************************************************************************
नेपाली लघुकथाकाका सृजनशील दिव्य गिरीको जन्म वि.सं. २०११  कार्तिक ७ गते ललितपुर, इमाडोलको बाक्लोगाउँमा आमा मिनु गिरी र पिता भरत गिरीको पहिलो सन्तानको रुपमा जन्म भएको हो । 

त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)बाट अवकाशप्राप्त दिव्य गिरीले २०३२ सालमा नै गुलाफ रहेछ कागजको कविता प्रकाशन गरी लेखनीमा प्रवेश गरेका हुन् । हालसम्म उहाँका बाह्र वटा कृति प्रकाशित भइसकेका छन् । अन्य केही प्रकाशन हुने क्रममा रहेका छन् । उहा“ले २०३७ सालदेखि २०३९ सालसम्म सौरभ साहित्यिक द्वैमासिकको सहसम्पादन समेत गर्नुभएको थियो ।

गिरी, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको उपाध्यक्ष, नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँको सदस्य हुनुहुन्छ । त्यस्तै नेपाल स्रष्टा समाज, काठमाडौँको आजीवन सदस्यसमेत हुनुहुन्छ । विशिष्टकथा सम्मानद्वारा सम्मानित गिरी विभिन्न पुरस्कारबाट समेत पुरस्कृत हुनुहुन्छ । दिव्य गिरीसँग त्रिचन्द्र प्रतीक्षाले गरेको छोटो कुराकानी ।

*******************************************************************************************************

तपाईंको साहित्यमा विशेष विधा के हो र किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?

दिव्य गिरी  :  मैले धेरै विधामा कलम चलाएँ । कविता, गजल, मुक्तक, लघुकथा, कथा, गीत, हाइकु र कहिलेकाहीँ संस्मरण पनि लेख्दै आएको छु । धेरै बाटो हिँडेपछि आफ्नो खास बाटो कुन हो भनेर चिन्न आफैलाई गाह्रो हुनेरहेछ । अहिले त्यही महसूस गरिरहेछु र आफूलाई कवि तथा कथाकार भन्न चाहन्छु । आत्मसन्तुष्टि र आफूलाई बचाइरहने अभिष्टको निम्ति लेखेको हुँ । 


कथा र जीवन दर्शनलाई दाँजेर कसरी हेर्नुहुन्छ ?

दिव्य गिरी  :  वास्तवमा जीवन दर्शन नै कथाको मुख्य विषय हो । जहाँ जीवन हुन्छ त्यहाँ कथा हुन्छ । जीवन छ र त कथा हुन्छ । त्यसैले जीवन र कथा सिक्काका दुई पाटा हुन् । कथा र जीवनलाई दाँजेर होइन कि एकाकार पारेर हेर्नसक्नु एउटा कथाकारको सफलता हो । आधुनिक नेपाली कथाका प्रणेता गुरूप्रसाद मैनालीको नासोलाई उदाहरणको रूपमा लिन सकिन्छ । 


यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ?

दिव्य गिरी  :  मलाई खासै त्यस्तो विशेष समय र स्थान चाहिँदैन । मलाई कुनै विषय र घटनाक्रमले कथा लेख्न प्रेरित गर्छ तब म त्यसलाई कथाको रूप दिन्छु । कुनै कथा लेख्न महिनौं पनि लागेको छ भने कुनै कथा एकै पटकको लेखाईमा पनि पूणर्ता दिएको छु । उदाहरणको निम्ति हालसालै प्रकाशित मेरो कथासङ्ग्रह ईश्वरको अनुहारमा समावेस गरिएको ‘छुटेको साथी’ र ‘गुलाम’ कथालाई मैले एकै लेखाईमा पूणर्ता दिएको हुँ ।  

अहिले कविता, कथा र दर्शनलाई बुझेर लेख्ने वा रहरले लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउने/कवि भनाउने चलन असाध्यै बढेर गएको छ यसलाई कसरी लिनु भएको छ ?

दिव्य गिरी  :  रचनालाई तत्काल जनमानससम्म पुग्ने सुविधा विज्ञान र प्रविधिले उपलब्ध गराइदिएको हो । लेख्ने बित्तिकै सामाजिक सञ्जालमा राखिदियो भइहाल्यो । पहिलेको जस्तो आफ्ना रचनाहरू प्रकाशन गर्न महिनौंसम्म पर्खिनु परेन । जहाँसम्म सामाजिक सञ्जालमा रचना राख्ने चलन असाध्यै बढ्यो भन्ने जिज्ञासा छ, मैले यसलाई सहज रूपमा नै लिएको छु । यो प्रथालाई अब कसैले रोक्न सक्तैन । व्यक्ति अधिकारको कुरा छ । आशा गरौँ राम्रा र उत्कृष्ट रचना पनि आउनेछन्, केही त आएका पनि छन् । 

Sunday, September 22, 2024

अन्तर्वार्ता (अङ्क १६ मा प्रकाशित)


 ************************

नेपाली साहित्यको आख्यान क्षेत्रका वरिष्ठ आख्यानकार पद्मावती सिंहको जन्म वि.सं. २००५ बैशाखमा काठमाडौँको ओम बहालमा भएको हो । कन्या माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै साहित्यमा अभिरुचि राख्ने सिंहको साहित्यिक यात्रा भने त्रिचन्द्र कलेजमा अध्ययनका क्रममा आरम्भ भयो । त्यही बेला वि.सं. २०२२ सालमा आरती साप्ताहिकमा उनको 'पत्थरको हृदय' पहिलो कथा प्रकाशित भयो । यसपछि उहाँ निरन्तर साहित्य साधनामा छिन् । 

'समानान्तर आकाश' सिंहको पहिलो प्रकाशित उपन्यास हो । यो उपन्यासलाई नारीवादी भनेर पनि समालोचकहरूले चर्चा गर्छन् । नारी-पुरुष एउटा रथका दुई पाङ्ग्रा हुनुपर्छ, अनि मात्र परिवार र समाजले सहज रूपमा गति लिन्छ भन्ने सन्देश भएको सिंहको यो उपन्यासले साझा पुरस्कारसमेत प्राप्त गर्‍यो । दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् भने दर्जनौं पदक, पुरस्कार पाइसक्नु भएका सिंह विभिन्न संघसंस्थाबाट समेत अभिनन्दित र सम्मानित भइसकेकी छिन् ।

२०५४ सालमा १२ जना नारी साहित्यकारहरू मिलेर 'गुञ्जन' नामक साहित्यिक संस्था स्थापना भएको हो । जसको संस्थापक अध्यक्ष सिंह हुनुहुन्छ । साहित्यमार्फत् नै परिवर्तन ल्याउन सकिन्छ भनेर दृढ विश्वास गर्नुहुने सिंह यो संस्थामार्फत नेपाली नारी सर्जकहरूलाई डोर्‍याउने उनी अगुवा बनिन् ।  लामो समयदेखि साहित्यमा साधनारत पद्मावती सिंहस“ग लघुकथा संसार अनलाइन मासिकले गरेको छोटो कुराकानी ।

 ************************

Saturday, July 20, 2024

अन्तर्वार्ता (अङ्क १४ मा प्रकाशित)


‌‌‌‌++++++++++++++++++++

माता स्व. ढुण्डिकादेवी तथा पिता भोजराज बस्यालको सुपुत्रका रुपमा वि. सं. २०१६ चैत १ गते साहित्यकार खगेन्द्रद्रबस्यालको पाल्पाको बगनासकाली-७ खानीगाउँमा जन्म भएको हो । रुपन्देहीको गीर्वाण सरस्वती संस्कृत मा. वि. तथा वाल्मीकी क्याम्पस काठमाडौंबाट उच्चस्तरको शैक्षिक योग्यता बनाउनु भएका बस्यालले शाखा अधिकृत पदबाट सेवा निवृत भई हाल तिलोत्तमा नगरपालिका-९ मा बसोबास गर्दै आउनुभएको छ । 

रुचीले विद्यार्थीकालदेखि साहित्यमा रम्न रुचाउने उहाँ जागिरे भएपछि पनि विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुने र प्रेरक वातावरण बनाउँदै आउनु भयो । केही साहित्यिक संस्थाहरूमा आवद्ध रहनु भएका बस्यालले “यौटा यस्तो दिनको प्रतीक्षामा’’ नामक लघुकथा पहिलो पटक २०४५ को मधुपर्कमा प्रकाशित गरेर लघुकथा लेखनारम्भ गर्नु भएको हो भने अहिले उहाँको एउटा लघुकथा सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको छ । 

लघुकथा संसारका अन्तर्वार्ता स्तम्भकार गोमविक्रमले उहाँसँग गर्नुभएको  कुराकानी प्रस्तुत गरेका छौं : -

‌‌‌‌++++++++++++++++++++


गोमविक्रम : लघुकथा कस्तो विधा हो जस्तो लाग्छ ? 

खगेन्द्र : लघुकथाको संसारमा लेखकले आकस्मिक र कौतुहलमय तरिकाले कुनै घटना र पात्रको समस्यामा द्वन्द्व सिर्जना गरी चुम्बकीय शैलीमा प्रस्तुत गर्दछ । पाठक वा श्रोताको मनमा स्थायी प्रभाव पार्नका निमित्त चातुर्यपूर्ण तरिकाले नसोचिएको रुपमा प्रभावकारी सन्देश दिइएको हुन्छ । यसैले लघुकथा आख्यानको प्रभेदको रुपमा स्वीकारिएको हो । 

Thursday, July 4, 2024

कविता संसारको अङ्क ११ मा प्रकाशित

 ***********************************

डा. दामोदर पुडासैनी 'किशोर' वर्तमान समयका जुझारु, लगनशील, निर्भिक र ऊर्जावान स्रष्टा हुनुहुन्छ । गद्यमा होस् या पद्यमा उहाँको लेखनी हस्तक्षेपकारी छ । उहाँका १० कवितासङ्ग्रह, ७ नियात्रासङ्ग्रह र १ दर्शन कृति प्रकाशित छन् । ती सबै कृतिहरू आम पाठक, समालोचक र शोधार्थीको चासोको विषय बनेका छन् । साझा प्रकाशनबाट प्रकाशित उहाँको नियात्रा कृति— डोल्पो ओ डोल्पोले साहित्य संगम मकवानपुरबाट यसै वर्ष वर्षभरि प्रकाशित कृतिहरूमध्ये सर्वोत्कृष्ट पुस्तक पुरस्कार पाएको छ । त्यस बाहेक उहाँका अरु कृतिहरूले सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । वि.सं. २०१९ जेठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मनुभएका डा. पुडासैनी लेखापरीक्षण (अडिटिङ) विषयमा विद्यावारिधि (पीएच.डी.) पुरा गर्ने पहिलो नेपाली हुनुहुन्छ । ज्ञान, विज्ञानका सान्दर्भिक उदाहरण सहित सटिक ढङ्गले तर्क गर्न रुचाउँने डा. पुडासैनी देशका विभिन्न भूगोलमा र संसारका अनेकौं स्थानमा घुमफिर गरेर नवीन सिर्जनाहरू रच्न रमाउनुहुन्छ । नेपाल सरकारको उच्च तहमा रहेर वर्षौं राज्यलाई उल्लेखनीय योगदान दिनुभएको उहाँले संसारका चालिसभन्दा बढी मुलुकहरू र देशका सतहत्तर जिल्लाकै भ्रमण गर्नु भएको छ । असार महिनामा झमझम पानी वर्षिरहेको बेला लमजुङ जिल्लाका दुई प्रख्यात गुरुङबस्ती— घलेगाउँ र भुजुङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किनुभएका उहाँसँग साहित्यकार एवं पत्रकार त्रिचन्द्र श्रेष्ठ 'प्रतीक्षा'ले गर्नुभएको कुराकानीको अंश यहाँ प्रस्तुत छ ः

***********************************


तपाईंको विचारमा कविता के हो ? कविता के को लागि लेख्नुहुन्छ ?

पुडासैनी : जीवनमा बुझेका र भोगेका घटनाक्रमले अनुभूतिहरू प्रवल रुपमा पैदा हुन्छन् । तिनै अनुभूतिहरूसँग संवेगहरू जोडेर र कल्पनाहरू मिसाएर लयात्मक रुपमा जीवन र जगत्को व्याख्या गर्नु नै कविता हो । उपमा, बिम्ब, प्रतीकको माध्यमबाट शब्दकला सुललित, मधुर र रसपूणर् बनेपछि कविता जन्मन्छ । कल्पनाको तीब्र बेगमा अनुभूतिका रसदार सारहरू मिसाएर अभिव्यक्ति स्वरुप कविता जन्माइन्छ । यसले मनलाई गहिरो प्रभाव पार्दछ । जीवन र जगतका यथार्थसँग कवि नजिकिन्छ । त्यो उसले ज्ञानको रुपमा ग्रहण गर्दछ । त्यसमा कविको कतिपय अवस्थामा सहमति हुन्छ, कतिपयमा असहमति पनि । त्यही जीवन अनुभवलाई कविले भावना, विचार, संवेदना, उद्देश्य जस्ता तत्वहरूमा मिसाएर लयदार निचोडको रुपमा कविता जन्माउँछ । जीवन र जगतबाट प्राप्त ज्ञान, विचार, मूल्य, आदर्श, उद्देश्यहरूलाई एकीकृत गरेर कविले जीवनको महानतालाई अघि बढाउँन त्यसप्रतिको फराक बाटोलाई कलात्मक रुपमा प्रकट गर्दछ । कविता सूत्रात्मक, व्यञ्जनापूर्ण र ध्वन्यात्मक बनाउन सकियो भने त्यसले विशेष महत्व राख्दछ ।

म मानवीय संस्कृतिलाई उच्च बनाउनकालागि कविता रच्छु । शब्दको माध्यमबाट आश्चर्यपूर्ण परिणाम खोज्न पनि म कविता रच्छु । कवितामा शब्द र विम्बको चित्रात्मक संयोजन हुन्छ र यसले युग चिनाउने मात्र होइन युगलाई अघि बढ्न प्रभावशाली बाटो देखाउनपनि सक्तछ । त्यसैले म कविता रच्छु । गहिरो अनुभूतिलाई लालित्यपूर्ण ढङ्गले अभिव्यक्त गर्न पनि कविता रच्न जरुरी ठान्छु म । मेरा भावना र विचारलाई सुन्दर ढङ्गले पस्कन, कयौं लुकेका कथाहरू अरु समक्ष राख्न र लुकेका खबरहरू सम्प्रेषण गर्न पनि मैले कविता रच्ने गरेको छु।

Sunday, June 16, 2024

अन्तर्वार्ता (अङ्क १३ मा प्रकाशित)



***************************

माता मिना शर्मा पौडेल तथा पिता लक्ष्मण शर्मा पौडेलको सुपुत्रीका रुपमा वि. सं. २०३६ पौष १३ लघुकथाकार रचना शर्माको भरतपुर महानगरपालिका २८, मेघौलीमा जन्म भएको हो । शैशवकालिन वय सकाएपछि प्रारम्भिक शिक्षा मेघौलीकै राष्ट्रिय आधारभूत विद्यालयबाट लिनु भएकी शर्माले बालकुमारी कन्या मा.वि. नारायणगढबाट एस. एल. सी. गरेपछि मैयादेवी कन्या कलेज चितवनबाट कलेजस्तरको शिक्षा हासिल गर्नुभयो । पेशाले व्यापारमा रमाउनु भएकी उहाँ रुचिले भने विभिन्न साहित्यिक पेजहरू (विशेषतः लघुकथाका) मा आवद्ध हुनुहुन्छ ।  

उहाँले लेखनारम्भ गर्नु भएको पहिलो लघुकथा भने 'फादर्स डे’ हो जुन वि. सं. २०७६ भदौ १३ गते कुशे औंसीको दिन 'लघुकथा कुनो’ मा पोस्ट गर्नुभएको थियो । त्यसपछि पत्रिकामा छापिएको पहिलो लघुकथा भने  '१० रूपैयाँको ब्याज’ हो । यो लघुकथा 'गाउँ सहर डट कम’ अनलाइन पत्रिकामा २०७६ कार्तिक ९ गते छापिएको हो ।  लघुकथालाई अभिनय सहित वाचन  गरेबापत धेरैको स्याबासी थाप्नु भएकी रचना शर्माले अहिलेसम्म स्वदेशी र विदेशी गरी १२२ लघुकथाहरूमा विभिन्न भूमिकामा एकल अभिनय गरिसक्नु भएको छ । 

लघुकथा संसारका लागि हाम्रा सम्वाददाता गोमविक्रमसँग लघुकथामा केन्द्रित भएर गर्नु भएको कुराकानी प्रस्तुत गरिएको छः

***************************

गोमविक्रम :  लघुकथा कस्तो विधा हो जस्तो लाग्छ ?

रचना शर्मा :  लघुकथा आख्यान विधा मध्येको एक उत्कृष्ट विधा हो ।


गोमविक्रम :  लघुकथा लेखनमा कसरी आकर्षित हुनु भो ? अरुलाई कसरी आकर्षित गर्न कसरी सकिएला ?

रचना शर्मा : मेरो गुरु बुवा टीकाराम रेग्मीले वि. सं. २०७६ साल साउनतिर ॅलघुकथा कुनो’ मा जोडिन इन्भाइट गर्नुभएको थियो । त्यसमा जोडिएर लघुकथा भनेको के रहेछ भनेर अध्ययन गर्ने मौका पाएँ । छोटो समयमै पढेर बुझिने खाले, पढ्दा रमाइलो लाग्यो । म पनि लेख्दा कस्तो हुने रहेछ भन्ने लागेर केही दिनपछि लेख्न पनि शुरु गरें । अहिले सामाजिक सञ्जालमा लघुकथाका विभिन्न पेजहरूले लघुकथातर्फ आकर्षित गर्नलाई अरु स्रष्टाका लघुकथा वाचन गरिदिने, समीक्षा गरिदिने, कमीकमजोरी पत्ता लगाइदिने कार्यहरू गर्दै आएको देखिन्छ । यसबाट लघुकथा लेख्न र सिक्न चाहनेहरूलाई मद्दत पुगेको छ । साथै लघुकथाको अडियो एवम् भिडियो वाचनले पनि धेरै श्रोता दर्शकको मन छोएको छ ।