Showing posts with label रुद्र अधिकारी. Show all posts
Showing posts with label रुद्र अधिकारी. Show all posts

Sunday, August 10, 2025

साभार लघुकथा (अङ्क २६ मा प्रकाशित)


 

मेरो घरमा मुसाहरू धेरै आएर हैरान पारे, कसरी भगाउने होला ?’’ सुमनले भुवनलाई सोध्यो ।

“मुसा धपाउन धेरै सजिलो छ । घरमा गणेशको फोटो वा मूर्ति राखेर साँझ बिहान पूजा गर्नुपर्छ, दुई चार दिनमा मुसाहरू गायब हुन्छन् ।’’ भुवनले उपाय सुझायो ।

सुमनलाई भुवनको जुक्ति चित्त बुझेनछ । उसले, “यस्तो वैज्ञानिक युगमा पनि कस्तो पुरातन सोच राख्नुभएको ?”, भन्दै तथ्यमा आधारित कडी भए मात्र बताउन आग्रह गर्यो ।

तत्पश्चात् भुवनले, “मुसा पकड्न ’गमको जाल’ उपयोगी हुने सुझाव दियो ।

गमको जाल राखेर सुमन मुसा पकड्न सफल भयो ।

दुवै सोच मग्न भए, “राजनीतिका मुसालाई पनि पकड्ने जाल बनाउन सके समृद्ध नेपाल र सुखी नेपालीको सपना पनि पूरा हुने थियो कि ?’’


..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, March 30, 2025

म किन लेख्छु ? (अङ्क २२ मा प्रकाशित)


किन लेख्छु ? भन्ने प्रश्न जति सरल छ उति नै जटिल पनि । सरल यस मानेमा छ की, लेखकले जे ध्येयका लागि पनि लेख्न सक्छ । त्यसैले, उत्तर जे पनि दिन सकिन्छ । फगत लेख्नका लागि मात्र लेख्छु भन्ने उत्तरको अपेक्षा, यो प्रश्नले गर्दैन । लेख्नुको उद्देश्यलाई गहिराइमा गएर खोतल्नु, यो प्रश्नको आशय भएकोले प्रश्न जटिल छ भन्दा अतिशयोक्ति नहोला ।

प्रथमतः लेखन मेरो रुचिको विषय हो । लेख्दा मलाई आनन्द महसुस हुन्छ । लेखन मेरो भावना अभिव्यक्तिको माध्यम हो । लेखनले शब्दका रूपमा आत्माको आवाज बनेर, मनभित्रका उतारचढाव, रिस, राग, माया, प्रेम, सुख, दुःख, हर्ष, आनन्द, अनुभव र अनुभूतिहरूलाई प्रस्तुत गर्दछ ।

दोस्रो, मेरो लेखनले मलाई शक्ति, ऊर्जा, उत्प्रेरणा दिन्छ त्यसैले म लेख्छु । लेखन मेरो साथी, आफन्त र शत्रु पनि हो । लेखले मलाई साथ र सहयोग मात्र दिंदैन, सचेत पनि गराउँदछ ।

तेस्रो, लेख्दा मलाई आत्मसन्तुष्टि त मिल्छ नै तर म सन्तुष्टिका लागि मात्र लेख्दिन । मैरो लेखनले पाठकलाई सूचना, ज्ञान, मनोरञ्जन, शिक्षा, सचेतना, प्रेरणा मिलोस् र मेरो आत्मानुभूतिको हिस्सा पाठकसँग पनि पुगोस् भन्ने हेतुले म लेख्ने गर्छु ।

चौथो, लेखन मेरा लागि व्यायाम, योग र ध्यान जस्तै हो । लेखन कला हो र, साधना पनि हो । लेखनले मेरो मानसिक, शारीरिक, मनोवैज्ञानिक र बौद्धिक क्षमतामा मलजल गरेर सन्तुलन कायम गर्दछ । त्यसैले म लेख्छु ।

पाँचौँ, म लेखनलाई सेवाको रूपमा लिने गर्दछु । जब सर्जकले सृजना गर्छ त्यो सिर्जना सर्जकमा मात्र सीमित हुदैन । पुस्तक, सामाजिक सञ्जाल र संसार माध्यमबाट पाठक समक्ष पुग्दछ । त्यसैले म सेवाको भावनाले पनि लेख्ने गर्दछु ।

मेरो विचारमा लेखन कला हो । लेख्न पढ्नुपर्ने हुन्छ । प्राप्त ज्ञानहरूलाई शब्दमा उतार्न सीप चाहिन्छ । सो सिर्जनशील कार्य पनि हो । आफूले गरेको सृजना कस्तो रह्यो भनेर पाठक प्रतिक्रियाको माध्यमबाट पृष्ठपोषण लिएर आफ्नू लेखन कौशलमा निखारता ल्याउन सकिन्छ ।

निस्कर्षमा भन्नुपर्दा, म मेरा भावना र अनुभूतिहरूलाई अभिव्यक्त गर्न, समान आवृत्ति कायम गरी पाठकसँग साट्न र लेखनको माध्यमबाट समाजमा योगदान दिन लेख्छु ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, March 1, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)


 घरमा बाँधेको कुकुर भुक्क ! भुक्क !! गर्दै जोडले भुकिरहेको थियो ।

कुकुरको जोश तेजिलो भएकोले होला, गलामा लगाएको फलामे सिक्री चुडाउला जस्तो गर्थ्यो ।

कुकुर धेरै कराएको सुनेर कुकुरको मालिक बाहिर आए र “कति भुकेको लक्की ? भोक लाग्यो ?“ भन्दै छुर्पी खान दिए ।

हस्याङ् फस्याङ् गर्दै कुकुरले मिलिक्कै छुर्पी खाई सक्यो र फेरी भुक्न थाल्यो ।

कुकुरको मालिकले “ट्वाईलेट लागेर कराएको हो की ?” भन्दै सिक्री समाएर कुकुरलाई आँगनको बगैँचामा घुमाए । एक छेउमा कुकुरले आची गर्‍यो । कुकुर मालिकले प्लास्टिकको झोलाले फुत्त आका टिपे र गाँठो पारेर कुकुरको दिसा राख्ने टोकरीमा फ्याके । त्यस पछि कुकुर पनि कराउन छोड्यो । उनले पुनः कुकुरलाई पहिला कै ठाउँमा बाँधिदिए ।

मालिकले कुकुरलाई यस्तो हेरचाह गरेको देखेर बिरालोलाई ईर्ष्या लागेछ । “तिमी त कस्तो भाग्यमानी है ? मिठो खान पाएका छौँ । राम्रो ठाउँमा बसेका छौँ । नुहाई धुवाई गरिदिने, पार्कमा घुमाउन लाने, ‘पेट सप’को खानेकुरो किनेर तिमीलाई खुवाउने, कति हो कति !” कुकुरको नजिक गएर बिरालोले कुकुर प्रतिको आफ्नु द्वेष प्रकट गर्‍यो।

अचानक कुकुरको मालिक रिसाउँदै बाहिर आए “मानिसलाई खान धौ–धौ छ । यो कुकुरलाई खुवाएर कहिलेसम्म पाल्नु ?” भन्दै कुकुरको पट्टा खोली दिए ।

उसलाई लागेको थियो होला, कुकुर जोडले दगुरेर भाग्छ तर कुकुरले के बुझ्यो के बुझेन ऊ त झोक्राउँदै त्यहीँ बसिरहयो ।

बिरालोले कुकुरलाई भन्यो “अर्काले खटाएर दिएको मिठो मसिनु खानुभन्दा आफ्नै बलबुताले एक छाक खाएको बेस होइन र ? भाग तिमी अब स्वतन्त्र भयौ ।”

- ईटहरी–१९, सुनसरी हालः लन्डन

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

 काँचुली

- रुद्र अधिकारी 'निर्दोषी’
लन्डन, बेलायत  


"यो कुकुर कति भुक्दो रहेछ ?" कमलश्रीले बार्दलीबाट बाहिर हेरे ।

उनले देखे- ठूलो भिड उनको आगनमा रहेछ ।

सबैले अभिवादन गर्दै उपचुनावको लागि आफ्नु उमेदवारलाई भोट हाल्न अनुरोध गरे ।

त्यति बेलासम्ममा विमला ढोका खेलेर बाहिर निस्किसकेकी थिइन ।

कमलश्रीले “यस्तालाई भोट हालेर के लछारपाटो लाग्दो हो” भनेर मनमा गुन्दै बार्दलीमा रहेको कुर्सीमा बसे ।

उनको नजर घर अगाडिको रहेको रुखमा चराको गुडमा परेछ । चराले पल्याक पुलुक हेर्दै आफ्ना बच्चालाई चारो ल्याउदै खुवाउँदै गरिरहेको थियो । यता बरन्डाको रेलिङ्गमा कमिलाहरूको ताँती थियो । उनीहरूले सामूहिक रूपमा मरेको किरालाई बोकेर हिँडिरहेका थिए । यो दृश्यले उसका आँखा रसाएछन् ।

“ए सानेका बा ! अघि कुकुरलाई किन गाली गर्नु भएको ? विमला कराउँदा उनी झसँग भए ।”

“होइन यो के भन्छे ? यो लोकतन्त्र आए पछि कुकुरलाई पनि गाली नपाईने रहेछ ?’’ उनले प्रति प्रश्न गरे ।

“अस्ति चोरी हुँदा यही कुकुरको कारणले चोरलाई समातेको बिर्सिनु भयो ? कुकुर हाम्रो रक्षक हो । बिनसित्तिमा किन गाली गर्नु पर्‍यो ?’’ विमलाको कुराले ऊ गम्भीर देखियो ।

“कुकुर मात्र होइन, सबै जनावरहरू र वनस्पतिहरू हाम्रा मित्र हुन् । हामीले उनीहरूलाई हानी नपुर्‍याएसम्म उनीहरूले कहिल्यै हामीलाई नोक्सान गर्दैनन् । बरु, पर्यावरण सन्तुलन गर्न र मानव अस्तित्व बचाई राख्न उनीहरूको भूमिका ममत्वपूर्ण हुने गर्छ ।” विमला जटिल कुरोलाई सरल तरिकाले व्यक्त गरेको सुनेर कमलश्रीलाई आफ्नो श्रीमती प्रति गर्व लाग्यो ।

उसले विमला प्रति समर्थन जनाउँदै भन्यो, “वास्तवमा यी पशुपन्छी, चरा चुरुङ्गी र किरा फट्याङ्ग्रा जत्तिको बुद्धि अघि भोट माग्न आउने नेताहरूमा भई दिएको भए देशले उहिल्यै काँचुली फेरि सक्थ्यो ।”


....साथ सहयोगको खाँचो

Monday, September 23, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

गाउँ फर्क

- रुद्र अधिकारी 'निर्दोषी'
इटहरी-१९, सुनसरी हालः लन्डन 


"प्रणाद दाजु !" दरवारमार्गमा अपर्झट भेट हुँदा कमलले मलाई अभिवादन गर्‍यो । 

“ए कमल पो ! भाग्यमानी भएस् !  के कति कामले ! कहिले आयौ काठमाडौँ ?” मैले जिज्ञासा राखेँ ।

कमलले “जलवायु परिवर्तन सम्बन्धी गोष्ठीमा भाग लिन आएको” भन्दै कोठा खोज्न सुन्धारा जान लागेको र कोठामा सामान राखेर कार्यक्रममा जाने बतायो ।

मैले “काठमाडौँमा मेरो घर हुँदाहुँदै बाहिर लजमा बस्ने हो?” भन्दै मेरो गाडीमा उसलाई बसाएर घर ल्याएँ । उसले आनाकानी गरिरहेको थियो । 

गाडीमा उसले धेरै जिज्ञासा राख्यो,
“यो कुन गाडी हो?
डिजेल, पेट्रोल, हाइब्रिड वा इलेक्ट्रोनिक हो?
तपाईंलाई काठमाडौँमा बस्दा उकुस मुकुस हुँदैन?
धुँवा, धुलो र प्रदूषण के साह्रो आकासिएको ? 

सरकारले देखेर पनि अनदेखा गर्न मिल्छ?, म त दुई चार दिन बसें भने निस्सासिने रहेछु’’ उसले प्रश्न मात्र गरिरहेको थिएन, धारणा पनि राखिरहेको थियो ।

ऊ बोल्दै गयो “जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम तारे होटलमा मात्र सीमित हुँदा रहेछन, ब्यवहारमा हुँदैन रहेछन् । यस्तो तालले कसरी पृथ्वी र मानवलाई जलवायु परिवर्तनले गर्दा हुने असरबाट बचाउन सकिन्छ खै ?” उसले लामो श्वास तान्यो । मैले उसलाई जलवायु परिवर्तनको कारण, प्रभाव र समाधानबारे अत्यन्तै चिन्तित भएको पाएँ ।

कुरैकुरामा जब मैले “कस्तो संयोग ! तिमी सहभागी हुन आएको कार्यक्रममा मैले पनि जलवायु परिवर्तन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दैछु ।” भनें; त्यसपछि उसले मुखैमा आएका कुरा पनि छान्दै, तौलँदै बोल्न थाल्यो ।

एक छिन गमेर उसले सोध्यो “दाजु, मलाई सानो सहयोग गरिदिनु न ल ?”
मैले सहजै जवाफ दिएँ “निर्धक्क भन, म सहयोग गर्न तयार छु ।’’

“मलाई बसपार्कसम्म पुर्‍याइ दिनुहोस्, यस्तो गोष्ठीमा म भाग लिन्न आजै नाइट बसमा गाउँ फर्कन्छु ।”


.‍..‍.साथ सहयोगको खाँचो

Monday, June 17, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

 ह्याक

- रुद्र अधिकारी
ईटहरी-१९, सुनसरी, हालः लन्डन   



"यो उमेरमा पनि पुष्प सरले फेसबुकमा कति थोक गर्न जान्नु भएको ?”

“मैले के जान्नु पर्छ र ! जे गर्छ, यो प्रविधि र फेसबुकले गर्छ ।” 

पुष्पले फेसबुकमा आफ्नै तस्विरलाई कहिले बच्चा, जवान, बुढा त कहिले युवती बनाएर राख्थे । अनेक रुप रङ् बदल्दै भिडियो बनाउनु उनको दिनचर्या नै थियो । सामाजिक सञ्जाल प्रयोगकर्ता माझ उनी चिरपरिचित थिए । हुन पनि दुःखी वा निरास भएर बसेको मानिस पनि उनको प्रस्तुति हेरेर खुसी हुन्थे ।

सूचनाको मानसपटलमा पुष्पसँग भएको संवाद र विगत झल्झली आइरहेको थियो । कारण थियो, धेरै दिनदेखि सामाजिक सञ्जालमा नदेखिएका पुष्प अचानक टुँडिखेलमा भेटिनु । 

“फेरि भूमिगत नै हुनुभए छ कि ! भन्ने सोचेको थिएँ, संयोगले भेट भयो ।”

“सत्ताको स्वाद चाखेपछि कहाँ भूमिगत हुन सकिँदो रहेछ र !’’ पुष्पले भने ।

“सामाजिक सञ्जाल भरी तपाईंको खोजी भइरहेको छ । न कुनै प्रस्तुति भटिन्छ न कुनै ‘अपडेट नै !’ सूचनाले आश्चर्य प्रकट गरिन ।

पुष्पले भने “रमाइलोको लागि भन्दै जे पायो त्यही ‘एप’ चलाउनु नहुने रहेछ, मेरो फेसबुक ह्याक भयो ।”


...साथ सहयोगको खाँचो

 

Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

जाल

 - रुद्र अधिकारी निर्दोषी
ईटहरी-१९, सुनसरी (हालःलन्डन) 


मेरो घरमा मुसाहरू धेरै आएर हैरान पारे, कसरी भगाउने होला?’’ सुमनले भुवनलाई सोध्यो ।

“मुसा धपाउन धेरै सजिलो छ । घरमा गणेशको फोटो वा मुर्ति राखेर साँझ बिहान पूजा गर्नुपर्छ, दुई चार दिनमा मुसाहरू गायब हुन्छन् ।” भुवनले उपाय सुझायो ।

सुमनलाई भुवनको जुक्ती चित्त बुझेनछ । उसले “यस्तो वैज्ञानिक युगमा पनि कस्तो पुरातन सोच राख्नु भएको ?” भन्दै तथ्यमा आधारित कडी भए मात्र बताउन आग्रह गर्‍यो ।

तत्पश्चात भुवनले मुसा पकड्न ‘गमको जाल’ उपयोगी हुने सुझाव दियो ।
गमको जाल राखेर सुमन मुसा पकड्न सफल भयो ।

दुबै सोच मग्न भए “राजनीतिका मुसालाई पनि पकड्ने जाल बनाउन सके समृद्ध नेपाल र सुखी नेपालीको सपना पनि पुरा हुने थियो की !”


..साथ सहयोगको खाँचो

Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

अज्ञता

-रुद्र अधिकारी ‘निर्दोषी’ 
ईटहरी–१९ सुनसरी हालः लन्डन  


"के गर्दैछौं नमुना ?”

“ए जमुना पो ! बागवानी केन्द्रबाट रुखका बिरुवा ल्याएकी थिए, रोप्दैछु ।”

“घर अगाडि किन रुख रोपेको ? ढल्यो भने घर भत्काउँछ ।” नमुनाले बोली नसक्दै जमुनाले प्रतिक्रिया जनाइन् ।

पल्लो घरको बरन्डाबाट अभिषेकले भन्यो “यहाँंबाट टाढासम्म देखिन्थ्यो, सबै छेलिने भयो ।”

नगरपालिका कुचिकार टुप्लुक्क आइपुगेछ, उसले पनि आफ्नो विचार सुनाई हाल्यो “झरेका पात बढार्न सास्ती हुने भयो ।”

रुख रोपेको विषयमा आफू अनुकूलको विचार, सोच र नकारात्मक प्रतिक्रिया सुनेर अवाक् थिइन नमुना ।

उनले एकै श्वासमा जवाफ दिइन “मैले रुख रोपेको कारणले हाम्रो स्वास्थ्य र वातावरणमा हुने फाइदा प्रति किन तपाईंहरुको ध्यान नगएको हँ ?’’

Sunday, January 7, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

आडम्बरी

-रुद्र अधिकारी
ईटहरी सुनसरी हालः लन्डन  


"दाई ! ठूलै कार्जे गर्न लाग्नु भयो की क्या हो?” दुबै हातमा किनमेलका झोलाहरु बोकेर हिडिरहेका बिष्णुलाई सीताले सोधिन् ।

“त्यस्तो केही हैन ।” उनले हाँस्दै जवाफ दिए ।

उनी गाउँभरिकै खर्चालु व्यक्तिका रुपमा चिनिन्थे । कारण थियो- चाड, पर्व, भोज, भतेर, विवाह र ब्रतवन्धमा उनी पैसाको खोलो बगाउँथे । ॅॅडिजाइनर फेसन’’का लुगा लगाउनु त जोईपोईको सौख नै थियो । सामान्य सरकारी जागिर खाएर पनि यस्तो भड्किलो र रवाफिलो व्यवहार चलाएको देखेर छिमेकीहरुले “भ्रष्टाचार गरेको पैसा होला ! किन नउडाउन त?” भनेको गाईगुई गरेको सुनिन्थ्यो । कसैलाई आर्थिक सहयोग गर्नुपर्‍यो भने उनका दाँतबाट पसिना झथ्र्यो तर कोही बिरामी पर्दा र मरिमराउ हुँदा दिल खोलेर भौतिक सहयोग गर्ने उनको बानी थियो ।

सीताले फेरि कौतुहलता पोखिन “यत्रो किनमेल के का लागि त?”

“हल्ला नगर्नु है, बूढीले टिकटक बनाउनलाई ‘अनलाइन’बाट किनेको सामान फिर्ता गर्न हिंडेको ।”

Tuesday, November 28, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

फरक

-रुद्र अधिकारी
ईटहरी, सुनसरी हालः लन्डन


"अब भुवन र गौरीको विवाह गरिदिनु पर्ला, मिल्न पनि औधी मिल्छन, जात, कुल, घरान, धर्म सबै मिलेकै छ, पारिवारिक चिनजान छ, के भन्छ्यौ बूढी ?” बूढाको कुरोमा ह मा ह मिलाउँदै श्रीमतीले जवाफ दिन “मेरो मनको कुरा भन्नुभयो ।”

चिन्दै नचिनेको, आनी, बानी थाहा नभएको, अन्धविश्वासको भरमा, टाढाको व्यक्तिसँग विवाह गरिदिनुभन्दा, परिचित व्यक्ति र एउटै गाउँमा छोरी दिंदा चाडपर्वमा आउजाउ गर्न पनि सहज हुने तर्कमा जोइपोइको समर्थन थियो । आफ्नो मृत्यु आगाडि छोरीलाई विवाह गरिदिनु बा–आमाको ठूलो जिम्मेवारीबाट मुक्त हुनु हो भन्ने मान्यता राख्ने उनीहरू, तत्पश्चात मात्र स्वर्गको लागि ढोका खुल्नेमा विश्वास गर्थे । उनीहरू जतिसक्दो चाँडो गौरीको विवाह गरिदिन चाहन्थे । श्रीमान् श्रीमतीले भुवन गौरी ठूला भइसकेकाले आफ्नो निर्णय आफै गर्न सक्छन भन्ने सोचेर दुवैलाई बोलाए ।

“के सारो मिलेका ? तिमीहरू मिलेको देखेर हामीलाई ईष्र्या लागि सक्यो” श्रीमानले संवाद सुरु गरे । “गौरी र म आजीवन सबैभन्दा मिल्ने साथी हौ” भुवनले समर्थन जनायो ।

श्रीमतीले “तिमीहरु साथीमात्र भएर के गर्छौ ? अब विवाह गरेर जीवनसाथी बन, हाम्रो आशीर्वाद छ ।” भन्दै दुवैजनाको काँधमा हात राखिन् ।

आमाको कुरा नसकिँदै गौरीले भनिन “हामी ‘आजीवन सबैभन्दा मिल्ने साथी’ मात्र हो, ‘श्रीमान्’ र ‘साथी’ फरक हो, म भुवनसँग विवाह गरेर मेरो साथी गुमाउन चाहन्न ।”

Friday, November 24, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

बधाई न सधाई

-रुद्र अधिकारी
ईटहरी, सुनसरी, हालः लण्डन 


आज धेरै खुसी छु । मेरो जीवन कै ठुलो सपना साकार भएको छ । मेरो अष्ट्रेलियाको भिसा लाग्यो ।” शरदले भिसाको फोटोसहित आफ्नो स्टाट्स सामाजिक सञ्जालमा प्रेसित मात्र के गरेको थियो, बधाईको ओईरो लाग्यो ।

उसलाई मात्र होइन आमाबुबा, दाजुभाइ, दिदीबहिनी लगायत परिवारका सबैलाई कसैले प्रत्यक्ष भेटेर, कसैले फोन÷म्यासेज मार्फत्, त कसैले सामाजिक सञ्जालको माध्यमबाट बधाई दिनेक्रम चलिरह्यो ।

यहाँ सम्मकी भर्खरै प्रेम सम्बन्ध तोडेकी पूर्व प्रेमिकाले समेत “मलाई माफ गरिदेउ ! जे भयो बिर्सिदेउ । म गलत थिएँ । तिमी सँग छुटेपछि मैले मेरो
गल्ति महसुस गरेँ । म अहिले पनि तिमीलाई पहिलेजति नै माया गर्छु ।” भनेर म्यासेज पठाएकी थिइन ।

सारा संसारबाट बधाई आउँदा पनि छिमेकी काकी न भेट्न आइन न बधाई नै दिइन । शरदको आमालाई सारै खुल्दुली लागेछ, आफै सोध्न गइन । “शरद तपाईंको पनि प्यारो थियो । अष्ट्रेलिया जान लागेको त थाहा पाइहाल्नु भयो होला? के तपाई खुसी हुनुहुँदैन ? बधाई पनि दिनु भएन !” काकीले जवाफ दिइन “बधाई न सधाई ! तिम्रो छोरोले अब उतै घरजम गरेर बस्छ । भोलि तिमी बिरामी हुँदा तातो पानीसम्म दिने कोही हुँदैन । दागबत्ती दिन पनि आउँदैन । तिमी पनि मख्ख नपर । उसलाई बिर्सने आदत बनाउ !”

Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

गर्भ

-रुद्र अधिकारी
ईटहरी, सुनसरी, हालः लण्डन 



"नागरिकता सम्बन्धी नयाँ विधेयक पास भएदेखि धेरै विदेशीले नेपाली नागरिकता लिएको प्रमाणहरु फेला परिसक्दा पनि सत्ता पक्ष किन मुकदर्शक भएर बसेको छ? म सभामुख मार्फत सम्बन्धित मन्त्रीलाई प्रश्न गर्न चाहन्छु । यसरी नागरिकता बाँड्दै जाने हो भने एक दिन नेपालीभन्दा विदबेशी धेरै हुने छन् । एक दिन हामी नै अर्कै देशको नागरिक हुन बेर छैन ।" माननीय कविराजको खरो सम्बोधनका बीच तालीले सदन नै गुञ्जायमान भएको थियो । थप्पडी बजाउनेमा कतिपय सत्ता पक्षका सांसद पनि देखिन्थे ।

बैठक चलिरहेकै थियो । कविराजले आफ्नो दाँया बायाँ बसेका माननीयहरूलाई म्यासेज देखाउँदै बडो गर्वका साथ भने, "लु हेर्नुहोस् त ! छोरा बुहारी आजदेखि अष्ट्रेलियाको नागरिक भएछन् । म आज धेरै खुसी छु । मेरो तर्फबाट हाम्रो पार्टीका सबै माननीयहरूलाई रात्रीभोजको व्यवस्था गर्नेछु ।"

Tuesday, November 21, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

संकल्प

- रुद्र अधिकारी
ईटहरी, सुनसरी, हालः लण्डन 


"लघुकथा यसरी सुरु हुन्छ........." बच्चाले मोबाइल चलाउँदै गर्दा फेसबुकमा थिच्चिएछ । संयोगवश उसकै लघुकथा प्रत्यक्ष वाचन तथा समीक्षा भइरहेको रहेछ । हत्तपत्त बच्चाको हातबाट मोबाइल खोसेर ऊ पनि फेसबुक लाइभमा जोडियो ।

समीक्षा सकिएसँगै उसले सुझावलाई आत्मसाथ गर्ने प्रतिबद्धता, कमेन्ट मार्फत जाहेर गर्यो । लघुकथाका विभिन्न पेजहरुमा नियमित लघुकथा प्रेषित गर्नेभएर होला, उसका लघुकथाहरु कहिले वाचनको लागि छनौट त कहिले उत्कृष्ट भइरहन्थे । लघुकथाको क्षेत्रमा उसको नाम चिनिन थालेको थियो ।

यसपालि किन हो कुन्नि ! उसले एउटै लघुकथा सबैतिर प्रेषित गरेको थियो । उसको कथा कुनै पेजमा उत्कृष्ट ठहरियो, कतै वाचनको लागि छनौट भयो त कतै प्रकाशित भएर पनि खासै लाइक कमेन्ट पाएन ।

उसले प्रकाशित लघुकथाबारे सबै माध्यमबाट पाएको सुझावलाई समेटेर हेर्दा यस्तो पायोः
उसले जुन उद्देश्यले लघुकथा लेखेको थियो, पाठकले अर्कै बुझेछ, समीक्षकको बुझाई अर्कै रहेछ, प्रतिक्रियाहरु पनि फरक–फरक रहेछन, मन पराउने र मन नपराउने दुवै पाठक रहेछन, लघुकथामा जति सबल पक्षहरु छन् भनिएको थियो, सुझाव पनि उतिनै दिइएको रहेछ ।

त्यो दिन उसले यस्तो संकल्प ग-यो “लघुकथाको कम्तिमा मूलमर्म लघुकथाकार, पाठक र समीक्षकको नजरमा एउटै हुनेगरी लघुकथा नलेखेसम्म अब उपरान्त कुनै लघुकथा प्रकाशित गर्दिन ।”

Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

रोजाई

-रुद्र अधिकारी
इटहरी, सुनसरी हालः लन्डन बेलायत


"निसु ! यो टिकटक चलाएर तिमी कहिल्यै थाक्दैनौं होइन? बिहान उठेदेखि यसैमा झुन्डिएको छ, मेरा लागि समय नदिए पनि कमसेकम केटाकेटीलाई त समय देउ !”

निसुले जवाफ दिइन्– “सबै काम सकेर यसो मोबाइल छोएको मात्र के थिएँ ! यत्रो भनाइ खानुप¥यो । घरको काम कति हुन्छ, घरमा बसे पो थाहा होस ? अरुका घरै छोडेर टिकटक बनाउन कहाँ कहाँ पुग्छन् । मैले भने घरको काम सकेर एकछिन के चलाएको थिएँ, ठूलै अपराध गरेजस्तो सास्ती झेल्नु प¥यौ ?

“मैले देख्दा सधैं टिकटक चलाको मात्र देख्छु । म नहुँदा के गर्छौं मलाई के थाहा ! अब अति भयो । कि तिमी मलाई रोज कि टिकटकलाई !“ उसले निसुलाई दबाब दियो ।

निसुले पनि साहस जुटाएर जवाफ दिइन् “तिललाई पहाड बनाउने ? नारी भनेर कमजोर ठानेको? म तिम्री दासी हैन । मैले परिवारको जिम्मेवारी राम्रोसँग बुझेकी छु र कर्तव्य पनि सोही अनुसार निर्वाह गर्दै आएकी छु । मलाई तिम्री श्रीमती भएकाले टिकटक चलाउने पनि स्वतन्त्रता छैन भने यो सम्बन्धको के काम? रोज्नै पर्छ भने म तिमीलाई होइन टिकटकलाई रोज्छु ।’’