Showing posts with label डा. देवी नेपाल. Show all posts
Showing posts with label डा. देवी नेपाल. Show all posts

Sunday, June 16, 2024

लेख (अङ्क १३ मा प्रकाशित)


 लघुकथा के हो र कसरी लेखिन्छ?

साहित्यमा सबै विधाका आआफ्नै विधागत चिनारीहरू हुन्छन् । कविताको मूलभूत चिनारी लयविधान हो, निबन्धको मूलभूत चिनारी दृष्टिकोण वा विचार हो, नाटकको मूलभूत चिनारी संवाद वा अभिनय हो भने कथाको मूलभूत चिनारी घटना हो । त्यसैले कथा घटना वा कथावस्तुलाई केन्द्रमा राखेर गरिने गद्यात्मक सिर्जना हो । यस प्रकृतिका रचनाहरूलाई आख्यान भनिन्छ । संरचनात्मक आयामका दृष्टिले आख्यानका पनि लघुतम संरचना (लघुकथा), लघु संरचना (कथा) र बृहत् संरचना (उपन्यास) आदि रूपहरू पाइन्छन् । छोटो संरचनामा कथावस्तुलाई पूणर्ता दिने एउटा प्रभावकारी भाव सम्प्रेषण गर्न सक्ने आख्यानात्मक सिर्जनालाई लघुकथा भनिन्छ । कथाका लागि आवश्यक सबै तत्वहरूको सम्पन्नताभित्र खँदिलो संरचना अनि मितव्ययी अभिव्यक्ति लघुकथाको सबैभन्दा ठुलो सम्पत्ति हो । यस लेखमा आख्यानअन्तर्गत पर्ने एउटा शक्तिशाली एवं नेपाली साहित्यमा अत्यन्त लोकप्रिय उपविधाका रूपमा रहेको लघुकथाका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

लघुकथाको सैद्धान्तिक स्वरूप र परम्परा

‘लघु’ र ‘कथा’ दुइटै तत्सम शब्द हुन् । यी दुई शब्द मिलेर ‘लघुकथा’ शब्दको निर्माण भएको हो । लघु भनेको छोटो हो भने कथा भनेको कहानी हो । अर्थात् छोटो कथा नै लघुकथा हो । यसका बारेमा विभिन्न विद्वान्हरूका आआफ्नै अवधारणाहरू पाइन्छन् । एडगर एलेन पोले आख्यानको लघुतम प्रभेद नै लघुकथा हो भनेका छन्, रोनाल्ड वालेसले एक पृष्ठको आयाममा विस्तारित २५० शब्दभित्रको छोटो आख्यान नै लघुकथा हो भनेका छन् भने फ्रान्सिसले चातुर्यपूणर् तरिकाले समापन गरिएको छोटो कथा नै लघुकथा हो भनेका छन् । यस सन्दर्भमा आर होगार्डले त एक मिनेटका कथालाई लघुकथा भनिन्छ भनी स्पष्ट उल्लेख गरेका छन् । यसका आधारमा हेर्दा एलेन पो र वालेसले सङ्केत गरेका आयाम र फ्रान्सिसले सङ्केत गरेको प्रभावकारिताले लघुकथाको बाह्य तथा आन्तरिक दुवै पक्षलाई सङ्केत गरेको पाइन्छ भने होगार्डले सङ्केत गरेको समयसीमा भने सूत्रकथाका लागि स्वाभाविक भए पनि लघुकथाका लागि त्यत्ति व्यावहारिक मानिँदैन ।

नेपाली साहित्यमा पनि लघुकथाका विषयमा अनेकौँ परिभाषाहरू भएका छन् । मोहनराज शर्माले कम्तीमा दुइटा यथार्थ वा कल्पित घटनाको कालक्रमिक प्रतिनिधित्व भएको लघुतम आख्यानलाई, दयाराम श्रेष्ठले क्षणभरमै विचार वा भावको प्रभावकारी विस्फोटन हुन सक्ने भित्री अणुसामथ्र्य भएको छोटो कथालाई र राजेन्द्र सुवेदीले आफैँमा स्वतन्त्र, निरपेक्ष, पूणर् अस्तित्वबोधक कथाको प्रविधालाई लघुकथाका रूपमा परिभाषित गरेका छन् । यी परिभाषाहरूलाई हेर्दा लघुकथामा यथार्थ र काल्पनिक दुवै विषयवस्तु समेटिन सक्ने, भावको प्रभावकारी विस्फोटन र अणुसामथ्र्य हुनुपर्ने, स्वतन्त्र भएर पनि आफ्नो अस्तित्वसहितको हुनेपर्ने तर आकारमा चाहिँ अत्यन्त छोटो हुनुपर्ने मान्यतामा जोड दिएको देखिन्छ । यसका आधारमा हेर्दा आकारगत सङ्क्षिप्तता र भावगत प्रभावकारिता नै लघुकथाको शक्ति र सामथ्र्य हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

लघुकथा लेखन, प्रकाशन र समीक्षणको ऐतिहासिक सन्दर्भलाई केलाउन थाल्ने हो भने वैदिक कालसम्म नै पुग्नुपर्ने हुन्छ । पूर्वीय काव्यजगतमा अत्यन्त सूक्तिमय छोटा आख्यानात्मक रचनाहरूको प्रयोग वैदिक, पौराणिक तथा साहित्यिक तीनै कालमा भएको पाइन्छ तर लघुकथालाई नामकरणका साथै प्रयोगात्मक रूपमा चिनाउने कार्यमा पाश्चात्य जगत्को विशेष भूमिका रहेको देखिन्छ । पूर्वीयमा जस्तै पाश्चात्य जगतमा पनि सिर्जनात्मक रूपमा यसको प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको भए पनि सैद्धान्तिक चर्चा भने सन् १९५० को दशकबाट हुन थालेको देखिन्छ । त्यसमा पनि यससम्बन्धी औपचारिक अवधारणा भने सन् १९८० को दशकमा अङ्ग्रेजी साहित्यमार्फत अगाडि आएको देखिन्छ । त्यहाँदेखि यहाँसम्मको चार दशकमा लघुकथाले सैद्धान्तिक एवं सिर्जनात्मक दुवै क्षेत्रमा विश्वव्यापी लोकप्रियता हासिल गरेको देखिन्छ ।

लघुकथा नेपाली कथापरम्परामा पनि सर्वाधिक लोकप्रिय मानिन्छ । वर्तमानमा लघुकथाले आख्यानात्मक सबै खाले सिर्जनालाई उछिनेको देखिन्छ । नेपाली कथाको प्रारम्भचाहिँ शक्तिवल्लभ अर्यालको ‘महाभारत विराटपर्व’ (१८२७) बाट भएको मानिन्छ । साथै प्राथमिककालीन ‘मुन्सीका तीन आहान’मा लघुकथाको पूर्वस्वरूप पनि फेला पर्दछ तर वि.सं. १९९२ को ‘शारदा’ पत्रिकामा प्रकाशित पूणर्प्रसाद बाह्मणको ‘वरदान’ शीर्षकको लघुकथालाई नेपालीको पहिलो लघुकथा मान्ने गरिन्छ । पुस्तकाकार कृतिमा भने ब्राह्मणकै २००७ मा प्रकाशित ‘झिल्का’लाई नेपाली लघुकथाको पहिलो कृति मानिन्छ । नेपाली लघुकथा परम्परालाई हेर्दा पृष्ठभूमिदेखि २००६ सालसम्मको समयलाई पहिलो चरण, २००७ सालदेखि २०२९ सालसम्मको समयलाई दोस्रो चरण, २०३० सालदेखि २०४५ सालसम्मको समयलाई तेस्रो चरण र २०४६ सालदेखि हालसम्मको समयलाई चौथो चरण भनी वर्गीकरण गरिएको पाइन्छ । नेपाली लघुकथाले आफ्नो चरणगत विकाससँगै एउटा छुट्टै विशेषता पनि बोकेर आएको देखिन्छ । यसरी २००७ देखि हालसम्मको सात दशकको अवधिमा नेपाली लघुकथाले जुन प्रकारको उचाइ प्राप्त गरेको छ त्यो नेपाली साहित्यको इतिहासमा नै गर्व गर्न लायक देखिन्छ ।