Showing posts with label मित्र ‘उराठी’ गौतम. Show all posts
Showing posts with label मित्र ‘उराठी’ गौतम. Show all posts

Thursday, November 23, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

यात्रा

-मित्र ‘उराठी’ गौतम
अमरपुर–गुल्मी हालः तिलोत्तमा, रुपन्देही 



‘‘नाइँ म त जान्न । पैसा नै छैन् ।’’ मिङमाले भनि ।
‘‘ह्या ! पैसाको चिन्ता नगर न, म मिलाइहाल्छु नि ।’’ मिनाले आश्वस्त पार्न खोजी । मिना र मिङमा सिमभञ्ज्याङमा बस कुरेर बसे ।

‘‘ए ! भान्जीहरु जाने हो?’’ बाइरोड हुँदै हेटौँडा जाँदै गरेको बसको सहचालकले जिस्काउने शैलीमा सोध्यो ।

‘‘छ्या ! यो सोल्टी त हाम्लाई भान्जी पो भन्छ ।’’ भन्दै उनीहरु बस चढे ।
‘‘भान्जी भने नि, सोल्टीना भने नि के फरक प-यो त? रमाइलो गर्दै बाटो काट्ने मेसो त हो ।’’ सहचालकले मन छाम्न खोज्यो ।

बसमा पछाडि सिट खाली नै भएपनि उनीहरु क्याबिनमा छिरे ।
‘‘ए ! भान्जीहरु यतै पो बस्ने?’’ चालक पनि हौसिए ।

‘‘अलि राम्रो राम्रो गीत बजाउनु नि, द्दे यस्तो गीत बजाको?’’ मिङमाले बजिरहेको गीत बदल्न भनी चालकलाई । चालकले गीत परिवर्तन गरे ।
‘‘ड्राइभर दाई मनप-यो मलाई......’’ गीत बज्न थाल्यो । गीत सुन्दै चालक र उनीहरु मस्तीमा झुम्न थाले । बीच बीचमा सहचालक पनि क्याबिनमा छिर्दै छाडा गफमा सहभागी हुँदै सन्तुष्टि लिन्थ्यो ।

ड्राइभर र ठिटीहरुको हाउभाउ नियालिरहेका यात्रीहरु खिन्न थिए । ‘‘कतै ड्राइभरले गाडी दुर्घटना त पार्ने हैन्?’’ यात्रीहरु एकापसमा आशङ्का व्यक्त गर्थे ।

जसोतसो गाडी हेटौंडा नजिक पुग्नै आँट्यो । ‘‘ए ! भान्जी भाडा पाऊँ है, अब झर्ने बेला भईसक्यो त ।’’ सहचालकले ठिटीहरुलाई सम्झायो ।

के को भाडा? हामीसँग त छैन् पैसा सैसा, हैन त गुरुजी? मिनाले चालक तर्फ हेर्दै लाडे पारा देखाइ ।

‘‘ए ! त्यस्तो पो? टिकट न पैसा त्यसै भान्जी हेटौंडा !?’’ सहचालकले आश्चर्य मिश्रित प्रश्न तेर्सायो ।

Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

महिला खलासी

-मित्र ‘उराठी’ गौतम
अमरपुर गुल्मीं, हालः रुपन्देही 


मिठो मुस्कानसहित नमस्कार गर्दै स्वागत गरिन् ।
हामी ढोकाबाट भित्र पस्यौँ । भित्र गएर आ–आफ्नो सिटमा बस्यौँ ।
आमासँग मामाघर जाँदा र हाम्रो गाउँको घरमा जाँदा मात्र सौगात लामो बसयात्रा गरेको थियो । आज मसँग हवाईयात्रा उसको पहिलो अनुभव हो । त्यसैले पनि ऊ बढी जिज्ञासु थियो ।

सिटमा बसेपछि मैले सिटपेटी बाँधिदिएँ । उसले विमानको झ्यालबाट बाहिरको दृश्यावलोकन गर्दै थियो । यत्तिकैमा विमान परिचारिकाले हाते झोलाहरु राखेका तख्ताका पल्लाहरु बन्द गरिन् । अगाडि उभिएर विभिन्न जानकारी दिँदै सिटपेटी बाँध्ने तरिका प्रदर्शन गरिन् ।

छोरो सौगातले यो सब गतिविधि बडो ध्यानपूर्वक नियालिरहेको थियो ।
आफ्नो निर्धारित समयमा हवाईजहाज उड्यो । छोरो थोरै डराए जस्तो गर्यो । मैले उसलाई सान्त्वना दिएँ । ऊ ढुक्क भयो ।

केही बेरमा परिचारिकाले चिसो पेय पदार्थ गिलासमा भर्दै यात्रुहरुलाई दिन थालिन् । पेय पदार्थ पाएर खुसी हुँदै पियो उसले । निश्चित समयपछि विमान गन्तव्यमा पुगेर अवतरण ग¥यो । हामी बाहिरिँदै गर्दा पुनः मुस्कानसहित नमस्ते गरी बिदाइ गरिन् परिचारिकाले ।

हवाईयात्रा र परिचारिकाको व्यवहारले दङ्ग थियो ऊ ।
विमानबाट निस्किएपछि उकुसमुकुस भएको कुरा पोख्न हतारिए झैँ गर्दै सोध्यो, “बाबा के सबै हवाईजहाजमा महिला मात्रै खलासी हुन्छन्?
“हो, प्रायः सबै हवाईजहाजमा महिला मात्र हुन्छन् तर उनीहरुलाई खलासी भन्दैनन् । विमान परिचारिका भन्छन् ।“, मैले बुझाउन खोजेँ ।
“अनि किन त महिला मात्रै राख्ने गरेको?“

प्रश्नको जवाफ दिन नपाउँदै विमानस्थलको बस हामीलाई लिन विमान छेउ आइपुगिसकेको थियो ।