Showing posts with label ध्रुवराज थापा ’पुरुष’. Show all posts
Showing posts with label ध्रुवराज थापा ’पुरुष’. Show all posts

Tuesday, May 5, 2026

लघुकथा (अङ्क ३४ मा प्रकाशित)

"तपाईँको समुदायको उत्थानको लागि हामीले शिक्षामा लगानी गर्ने योजना बनाएका हौँ ।’’

केही समय अघि पल्लो गाउँबाट आएको चिम्पान्जीको दूतले चारो हालेको थियो । चारो खान बाँदरहरू जम्मा भएका थिए । आफ्नो वशमा पारेर उनीहरूको समुदायमा राज गर्ने चिम्पान्जीहरूको मनसाय थियो ।

उनीहरूले माग अनुसार रकम विनियोजन गरेको घोषणा भएको थियो । कसैले विद्यालय, कसैले विद्यालय बस, कसैले छात्रावास त कसैले एम्बुलेन्स् सहयोग लिएर फर्केका थिए ।

बाँदरहरूको प्रतिनिधित्व गर्दै त्यस समूहमा केही ढेडुहरू पनि सहभागी थिए । आकृति र स्वभाव बढी मिल्ने भएर होला चिम्पान्जीहरू उनीहरूलाई विश्वासकासाथ वशमा पारेर आफ्नो दुनो सोझ्याउन चाहन्थे ।

लगेको बजेट कसैले सदुपयोग गरे, कसैले झ्वाम पारे ।

आज चाहीँ उनीहरूकै सहयोगमा एउटा बाँदर समुदायका लागि स्थापित विद्यालयको उद्घाटनमा चिम्पान्जी बोल्दै थिए । “अब तपाईँका छोराछोरी शिक्षित हुनेछन्, तपाईँको समूदायमा आमूल परिवर्तन आउने छ ।’’

चिम्पान्जी र ढेडुले  संयुक्त रूपमा रिबन काटेर विद्यालयको उद्घाटन गरे । बाँदरहरूले ताली पड्काए ।

शिलालेखमा लेखिएको विद्यालयको नाम पढेर बाँदरहरू मुखामुख गर्न थाले । कसैले मुख लेप्य्राए ।

एउटाले खासखुस गर्‍यो, “होइन आफ्नो बाउको नाम राखेर विद्यालय खोल्न  त, कि त उसले जग्गा दान दिएको हुनुपर्‍यो, कि त धन लगानी गरेको हुनुपर्‍यो, र्होन र भन्या ? दाता एउटा छ, कसरी लाजै पचाउन सक्या होला ?’’

अर्कोले सहमति जनायो, “त्यही त भन्या यो ढेडुले पनि मान्छेका नेता कै सङ्गत गरे जस्तो पो छ !’’

- काभ्रे, पनौती । हालः कपन, काठमाडौँ

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, March 3, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


तामझाम, बाजागाजा र लावालस्करका बिचमा हुईँकिएर आएको एउटा गाडी टक्क रोकियो ।

एकजना सुटेडबुटेड भिआईपी कारबाट ओर्लिए । त्यहाँ प्रहरीको तैनाथी थियो, उनीहरूले उनीलाई स्यालुट ठोके । लामवद्ध प्रहरी अधिकारीले दिएका फूलका गुच्छा समाउँदै भिआईपीले सबैसँगै हात मिलाए ।

प्रहरी अधिकारीले भिआइपीलाई अनुरोध गरे, “हजुर एकचोटी सलामीमा जाऊँ कि !’’ उनको स्वीकारोक्तिको टाउको हल्लियो ।

केहीपर चौरमा मखमलले लपेटिएको फराकिलो पिर्का नेता बोक्न तयार थियो । उनी सरासर आएर पिर्कामाथि उभिने बित्तिकै कमाण्डरले आदेश ओकले, “माननीय मन्त्रीलाई सलाम अर्पण गर्ला !’’ कमाण्डरको बोली भूईँमा खस्न नपाउँदै, सलामी बाजा बज्यो, प्रहरीको गारतले एक्कैसाथ बन्दुक माथि उठाएर सलामी चढाए ।

भिडमा उपस्थित एक बयोबृद्धले असन्तुष्टी पोखे, “कस्तो काल जमाना आयो, केही महिना अघिसम्म प्रहरीको "मोस्ट वान्टेड’को सूचीमा रहेको अपराधीलाई अहिले प्रहरी आफैँ स्यालुट ठोक्न बाध्य छ !’’

अर्को दर्शकले प्याच्च बोलिहाल्यो, “अपराधी मन्त्री बन्नसक्ने व्यवस्था रहुन्जेल यस्तै हो मानिसहरुले बा ! बिचरा  प्रहरी लाचार, अनि कानुनको उपहास !’’

-काभ्रे, पनौती । हालः कपन, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


Thursday, November 27, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


"म धेरै चिन्तामा छु, के गर्ने होला ?’’

आफ्नी नन्दलाई भाउजु गुनासो गर्दै थिइन । नन्द केही नबोली भाउजुका कुरा एक टकले सुनेरमात्र बसिन् ।

भाउजु बिलौना पोख्दै थिइन्, “आफ्नो त भाग्य नै त्यस्तै हो कि ! एउटा हुर्केको छोरो पनि राक्षसजस्तो छ ! केही बोल्नै हुन्न झम्टेर आउँछ !’’

नन्दले प्रसङ्ग मोडिन्, अनि भाउजु, छोरी चाहीँ कस्ति छन् त, उनी पनि पढ्न गएकी होलिन, हैन ?’’

भाउजु पोलिइन, “खै के भन्नु नानी, उसको स्वभाव पनि त्यस्तै हो, जङ्गली स्वभाव ! घरमा नयाँ मान्छे आयो भने छेउमै नपर्ने ! दुवैजना उस्तै छन्, न बोल्ने ढङ्ग छ । न काममा सघाउँछन्, आफ्नै सामान ठीक ठाउँमा राखे त हुन्थ्यो !’’

उनी थप्दै गइन, “अहिले त यस्ता छन्, पछि कस्ता होलान् ?’’

नन्दले सान्त्वना दिइन्, चिन्ता नगर्नुस् न भाउजु, उमेर बढ्दै गएपछि सिक्दै जान्छन् नि !’’

“हुने विरूवाको चिल्लो पात, नहुने विरूवाको खस्रो पात ! यस्तै पाराले के होला र खै ? तपाईँका छोराछोरी कति असल छन्, कति राम्रो संस्कार सिकेका छन्, अनुशासित पनि छन्, आँखामा हाले पनि नबिझाउने जस्ता ! आफ्नो त कर्म नै त्यस्तो हो  कि ?’’ भाउजुले अन्तर्वेदनाको गाँठो खोलिन् ।

“कर्म त्यस्तो होइन भाउजु तपाईँको व्यवहार त्यस्तो !’’ नन्दले पेच हानिन् ।

“मेरो व्यवहार त्यस्तो ! के गरेको छु र मैले ? छोराछोरीले संस्कार नसिक्नुमा मेरो व्यवहार ? अहँ मैले कुरा बुझिन, के भन्न खोज्नु भएको नानी तपाईँले ?’’ भाउजुले आश्चर्य व्यक्त गरिन् ।

नन्दले कुरा खुलस्त पारिन्, हो आज मेरा छोराछोरी संस्कारित हुनुमा उनीहरूका हजुरबा र हजुरआमाको ठूलो हात छ, खै तपाईँले मैलेजस्तो आफ्ना छोराछोरीका हजुरबा र हजुरआमालाई आफ्नो साथमा राख्न सक्नु भएन त ! अहिले पछुताएर के गर्नुहुन्छ ?’’

- काभ्रे, पनौती । हालः कपन, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, September 11, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


"ए छोरी उठ ! उठ !! ए छोरी ! छोरी !!"  मस्त निद्रामा रङ्गीन सपनामा हराइरहेकी छोरी आमाको बोलावटले झस्किइन् र सोधिन्, “के भयो आमा किन बोलाउनु भएको ? के भयो ?’’

“पहिला उठ न अनि थाहा पाइहाल्छ्यौ नि किन रहेछ भनेर !’’ भन्दै आमाले सुतेका जति सबैलाई पालैपालो उठाउनु भयो ।

आँखा मिच्दै सबै आमाको छेउमा आए । छोरीले सोधिन्, “हामीलाई किन उठाउनु भएको ? कस्तो मिठो निद्रा परेको थियो । अब निदाउनै गारो पर्छ, के भयो आमा ?’’

“आज तीजको अघिल्लो दिन, तिमीहरुलाई सक्कली दर खुवाउन उठाएकी नि !’’ आमाले कारण खोल्नु भो !

छोरीले आश्चर्य व्यक्त गरिन्, “आमा हामीले एक महिनादेखि दर भनेर खाँदै आएको चाहिँ के त ?’’

आमाले भन्नुभयो, “त्यो दर होइन छोरी ?’’

“दर नभए के हो त त्यो ?’’ छोरीले जिज्ञासा राखिन् ।

आमा बोल्नुभयो, “त्यो सबै संस्कार र संस्कृतिमा पलाएको ऐंजेरुमात्र हो !’’

पनौती–४, काभ्रे । हालः कपन, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Monday, July 7, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


उनी घुँक्क घुँक्क रोईरहेकी थिइन् । 

“के भयो ए ठूली ? किन यसरी रोएर बसेकी छ्यौ हँ ?“ माथ्लाघरे डिट्ठीनी बजैको प्रवेशले कर्कीनी बजै झस्किइन् ।
उनी सुँक्क सुँक्क गर्दै थिइन् ।

डिट्ठीनी बजैले फेरि प्रश्न तेर्स्याइन्, “हैन के भयो हँ तिमीलाई ? कहिल्यै यसरी रोएको दखेको थिईन मैले, कस्ले के गर्यो तिमीलाई ? किन मन दुखायौ ?’’

“आफ्नै भाग्यलाई सम्झेर धिक्कार्दै छु दिदी, मेरो बुढो जिउँदो भएको भए आज मलाई यस्तो हुने थिएन ।’’ कर्कीनी बजैले बिलौना पोखिन् ।

डिट्ठीनी बजैले सम्झाईन्, “बितेको कुरालाई सम्झेर हुन्छ त? एक्लै बसेपनि अहिलेसम्म हातखुट्टा चलेको छ, आफ्नो काम आफैँ गर्न सक्दैछ्यौ, त्यसमा खुसी मान न !’’

“हो नि दिदी तर नौ महिनासम्म कोखमा राखेर खाई नखाई हुर्काएको सन्तानले मन दुखाएपछि रून त मन लागिहाल्छ नि !’’ कर्कीनी बजैले मुख खोलिन् ।

ए आज आमाको मुख हेर्ने दिन छोरा आएन भनेर चित्त दुखाएको होला, पसल छोडेर आउन पाएन होला ! भरेसम्म आउला नि त किन पिर मानेकी तिमीले ?’’ डिट्ठीनीले ढाडस दिइन् ।

“ऊ आएको थियो दिदी !’’ कर्कीनी बजैले जवाफ दिइन् ।

अचम्म मान्दै डिट्ठीनीले फेरि सोधिन्, “अनि छोरा आमाको मुख हेर्न आएको रहेछ त ! किन रोएर बसेकी त ? कि खाली हात आयो ?’’ 

उनले भनिन् “खाली हात थिएन दिदी !’’

डिट्ठीनीले पुनः जिज्ञासा राखिन् , “केही खानेकुरा त बोकेर आयो होला नि ?’’

मैले महिना भरी उसको पसलबाट खाएको रासन पानीको बिल लिएर आएको थियो !’’ कर्कीनी बजैले लामो सुस्केरा हालिन् ।

– काभ्रे, पनौती । हालः कपन, काठमाडौँ

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Monday, April 28, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


 

सलाई निक्कै छटपटी भएको छ !
वृद्ध बा आत्तिए !  “बाबु ! ए बाबु !! के भयो ?’’

उस्ले लामोलामो सास फेरिरहेको थियो । दुईहात पाखुरा कसेर बलले उचाल्न खोज्दै थियो । उसले दाह्रा किटिरहेको थियो । केही भन्न खोज्दै थियो तर बोली थिएन ।

बाले मुख सुकेको देखेर चम्चाले मुखमा पानी राखिदिनु भयो । दाँत बेस्सरी बाँधिएको भएर मुखबाट पनि बगेर बाहिर आयो ।

ऊ नबोलेको दुईदिन भैसकेको थियो । बेलाबेलामा उस्ले खाली यस्तै हर्कत देखाउँथ्यो ।

बाले उस्लाई गाह्रो भएको देखेर अक्सिजन थोरै बढाउनु भयो । मुखमा लगाएको अक्सिजन मास्क सिधा बनाउनुभयो । पीडामा कुनै कमी देखिएन । ऊ केही बोल्न खोजिरहेको थियो । 

डाक्टरले उस्को छातीमा लागेको गोलीको भ्वाङ् पुरिन मुस्किल छ भनेका थिए । बाले आत्तिएर नर्स बोलाए ।

नर्सले दुखाई कम हुने सुई लगाई दिइन् तर न सविनको दुखाई कम भयो न त बा को !

यसपटक सविनले अक्सिजन मास्क थुतेर फाल्यो अनि बेस्सरी करायो, ऐया ! मरेँ !“ छोराको बोली फर्केको सुनेर बा खुसी भए । छोरालाई सुम्सुम्याउन पुगे । तर छोराको अनुहारमा चिटचट पसिना थियो । शरीर थरथर काँपेको थियो ।

नर्स आत्तिइन् ! बाले चारैतिर अन्धकार देखे !
बाले अकस्मात छोरालाई रुँदै सोधे, “बाबु ! तेरो अन्तिम इच्छा के छ ?’’

छोराले ओठ थर्थराउँदै लामो सास तान्दै बल्लतल्ल आवाज निकाले, “बा… म… यो देशमा उज्यालो भएको हेर्न चाहन्छु !’’

अन्तिम वाक्यसँगै छोराले जिउ तनक्क तन्कायो ! बा चिच्याए ! नर्स डाक्टर बोलाउन गइन् । बाले भावुक हुँदै छोराको शवलाई छोएर कसम खाए, “बाबु अब तेरो अन्तिम इच्छा, अब तेरो यो बुढो बाउको अन्तिम इच्छा हुनेछ !’’

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, April 1, 2025

लघुकथा (अङ्क २२ मा प्रकाशित)


"तपाईं समय अगावै मर्दै हुनुहुन्छ ! तपाईं खरानी बन्दै हुनुहुन्छ !’’

उसले हेर्‍यो !

टेलिभिजनमा धुमपान बिरूद्ध ठाडो विज्ञापन आइरहेको थियो ।

उसलाई पनि थाहा थियो ऊ सकिंदैछ, किनकी उसका मुखमा लाखौँ चुरोटका ठुटा पसिसकेका थिए । ऊ जीर्ण भैसकेको थियो ।

चुरोटकै क्यान्सरले उसको पितालाई पनि खर्लप्प निलेको थियो ।

ऊ बारम्बार अब चुरोट खान्न भन्थ्यो, तर चुरोट उसको जीवन मरणको साथी बनिसकेको थियो ।

ऊ जुरूक्क उठ्यो, चुरोटको बट्टा समात्यो ।

बट्टामा छापिएको क्यान्सर लागेको डरलाग्दो तस्वीर हेर्‍यो ।

बट्टाबाट एउटा चुरोट निकाल्यो, ओल्टाई पल्टाई हेर्‍यो । मन थाम्न सकेन ।

उसले चुरोट सल्कायो, लामो सर्को तान्यो र हावामा धुवाँ उडायो । कोठाभरी रूमलिएको धुवाँमा उसले आफ्नो सपना खोज्यो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, March 2, 2025

साभार लघुकथा (अङ्क २१ मा प्रकाशित)


पशु अधिकारकर्मीले बलीप्रथा विरोधको कार्यक्रमको आयोजना गरेका थिए । उनीहरू चाडबाडको बहाना बनाएर अबोध पशुहरूको बली चढाउन नहुने चेतना बाँड्दै थिए ।

“पशुहरूको पनि आफ्नो अधिकार हुन्छ । यातना दिएर पशुवध गर्नु महापाप हो । त्यसैले शाकाहारी बनौं, स्वस्थ रहौं ।’’ उनीरूले उपस्थित भद्रभलादमीलाई पर्चा बाँडे । फोटो पनि खिचाए । पत्रकार र आयोजकहरू आआफ्नो बाटो लागे ।

धेरै भोक लागेको हुनाले म पनि होटल खोज्दै थिएँ । अलि पर खाजा होटल देखेर त्यतै लागें ।

खाजा खाई मात्र के सकेको थिएँ, पल्लो होटलमा मानिसको हल्लिखल्ली सुनियो । के रहेछ भनेर नजिकै गएँ । पत्रकार क्यामेरा तेर्साएर केरकार गर्दै थिए, “अघि तपाईंहरूले पल्लो टोलमा पशुवध महापाप हो । शाकाहारी बन्नुपर्छ भनेको होइन ? फेरि यहाँ तपाईंहरू आफैँ चिकेन रोष्ट र मःम खाँदै हुनुहुन्छ त !’’

---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, February 12, 2025

लघुकथा समाचार



स्रष्टा साँझ अमेरिकाको आयोजनामा ध्रुवराज थापा ’पुरूष’को लघुकथासङ्ग्रह 'सपनाको पहाड’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीको सभापतित्वमा सम्पन्न सो परिचर्चा कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्की, दीपक लोहनी, ममता मृदुल र शुक्रराज कुँवरले कृतिमाथि परिचर्चा गर्नु भएको थियो ।

सपनाको पहाडको परिचर्चाकारहरूले कृतिभित्र समावेश गरिएका ५८ वटा लघुकथाहरूमा सामाजिक, राजनीतिक, शैक्षिक, नैतिक, सांस्कृतिकमाथि देखापरेको विकृति उपर कडा व्यङ्ग गर्नुको साथै नविन प्रविधि लगायत विविध विषयवस्तुहरु समेटिएको बताउनु भयो ।

वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले ध्रुवराज थापा लेख्नेहरुको भिडबाट आफ्नो छुट्टै पहिचान बनाउन सक्ने नयाँ लघुकथाकार हुन् भन्नुभयो । वहाँका लघुकथामा विषय र आयाम प्रति सचेतता देखाइएको छ । विषयको विविधता, आकस्मिक उठान, आकारमा छोटा, विषयको प्रस्तुति र संरचनामा रोचकता र समापनलाई प्रभावकारी बनाउनु वहाँको लघुकथाको विशेषता भएको बताउनु भयो ।

कार्यक्रममा परिचर्चाकार प्राडा गोविन्दमान सिँह कार्कीले ध्रुवराज थापा पुरुष एउटा पुरानो लघुकथाकार भएको र उहाँको लघुकथा उत्कृष्ठ र पठनीय रहेको बताउनुभयो । सपनाको पहाडमा यथार्थबादी, वस्तुबादी, प्रकृतिवादी कघुकथा भएकोले यो कृति उत्कृष्ठ र सफल रहको बताउनु भयो । वहाँले कृतिकारलाई आफ्नो उचाइलाई कायम राख्न शुभकामना दिनुभयो ।

Sunday, December 29, 2024

म किन लेख्छु ? (अङ्क १९ मा प्रकाशित)


लेख्नु मेरो धर्म हो, मेरो कर्म पनि हो । अग्रजले हातमा कलम थमाई दिएपछि लेख्न थालेको म, आज उमेरले पचासको दशक काट्ने संघारमा पुग्दा पनि अनवरत लेख्दैछु । शिक्षक भएर छत्तीस वर्षसम्म विद्यार्थीलाई ज्ञान र सीप सिकाउन लेखेँ । पाठ्यपुस्तकहरू सरल, सहज र प्रभावकारी बनाउन लेखेँ । 

यी सबै उद्देश्य प्राप्तिकालागि लेखिएका कुरा भए । यी बाहेक उद्देश्य नराखीकनै म लेख्ने गर्छु । लेखेपछि त केही उद्देश्य बन्लान् – आज मेरो लेखाईको क्षेत्र साहित्य ! मैले २०३९ सालबाट साहित्य लेखनमा प्रवेश गरेको हुँ । मेरो पहिलो कविता शार्दूलविक्रीडीत छन्दको ‘कुकुर’ शीर्षकको हो । पछि साहित्यमा रस बस्दै गयो । निबन्ध, कथा, मुक्तक र गीत पनि लेख्न थालेँ । वि.सं. २०४७ सालमा मैले रचना गरेको गीतलाई समेटेर ‘बिना मौसमको वर्षात्‌’ भाग १ र वि.सं. २०४८ सालमा ‘बिना मौसमको वर्षात्‌’ भाग–२ क्यासेट निकालें । यसको परिणामले म निकै उत्साहित भएँ । 

त्यसपछि मैले रेडियो नेपालकालागि केही राष्ट्रिय गीत लेखेँ । पचासको दशकबाट लघुकथा लेख्न थालेँ । प्रायः मुड चलेको बेलामा वा प्लट फुरेको बेलामा लेख्दछु । सिर्जनाको सङ्ख्यामाभन्दा गुणात्मकतामा विश्वास राख्छु । मेरा रचनाले कतै न कतै दीनदुःखीको, अन्याय अत्याचारको, विकृति विसङ्गतिको विरूद्धमा औँला ठड्याउने गर्दछ । मैले लघुकथा लेख्दा लघुकथाको कुनै सिद्धान्त बनेको थिएन । आफ्‌नै हिसाबले लेख्दै गइयो । 

त्यसबेलाका युवामञ्च, कान्तिपुरको साप्ताहिक लगायत पत्रपत्रिकामा लघुकथा छापिएपछि त्यतै रमाउन थालेँ । त्यतिबेला लघुकथाले एउटा बेग्लै ट्रेण्ड समातेको थियो । करिव २०५८ सालपछि लघुकथा लेख्न छाडेँ, पछि आउनेले त्यो धारलाई समाते । लघुकथा लेखे, पुस्तक छापे तर मैले निरन्तरता दिन सकिंन । लघुकथालाई निरन्तरता दिननसक्नु कमजोरी भएको महशुस गरेको छु । चाँडै ‘सपनाको पहाड’ नामक लघुकथासङ्ग्रह लिएर आउँदैछु, जसले म किन लेख्छु भन्ने कुरा पाठकसामु अझ प्रष्ट्याउने छ ।

– काभ्रे, पनौती

-------------------------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, November 8, 2024

लघुकथा (अङ्क १७ मा प्रकाशित)

गुरु सम्मान

- ध्रुवराज थापा 'पुरुष'
काभ्रे, पनौती, हालः कपन, काठमाडौँ 


एक जत्था मुल ढोकामा देखापरे !

आफ्ना गुरूलाई भेट्ने भनेपछि चौकिदारले पनि ढोका खोलिदिए, किन कि आजको विशेष दिनमा उनलाई पनि गुरू सम्मान हेर्ने रहर थियो ।

आज गुरू पूर्णिमाको दिन विद्यार्थीको हुल सरासर प्राध्यापक कक्षभित्र प्रवेश गरे !

नाईकेले भन्यो, “खोई झोलाबाट माला झिक !’’
सहयोगीले माला झिकेर दियो ।

नाईकेले जबरजस्ती माला लगाइदियो र भन्यो, “खोई सगुन पनि निकाल !’’
सहयोगीले झोलाबाट सिसी निकालेर दियो ।

नाईकेले आफ्नो गुरूको मुखभरी सगुन दलिदियो ।
भिडले भन्यो, “अब एउटा फोटो खिचौँ, पत्रिकामा पनि त दिनुपर्‍यो !’’
सम्मानित गुरूलाई बिचमा राखेर फोटो पनि खिचे ।

नेताले गर्वका साथ उद्घोष गरे, “प्रयोगात्मक परीक्षामा हामीलाई राम्रो नम्बर नदिए हामी अर्को वर्ष पनि यसरी नै कालो मोसो र जुत्ताको मालाले गुरु सम्मान गर्छौँ ।’’

यत्तिकैमा पुलिसको साईरनको आवाज सुनियो । प्रहरीले क्षणभरमै चारैतिरबाट घेरा हाल्यो ।


.‍..‍.साथ सहयोगको खाँचो

Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

रहस्य

- ध्रुवराज थापा 'पुरुष’
काभ्रे, पनौती हालः कपन, काठमाडौँ   



"मैले भनेको कुरा हुँदैन ?"

“अहँ हुँदैन ’’

“एकचोटी गरौँ न के हुन्छ र ?’’ उसले फेरि कर गर्‍यो ।

घोप्टिएर मोबाइल चलाउँदै गरेकी सुन्दरी नर्सले इन्कारिन् “नाई हुँदैन, त्यसो भनेर कहाँ हुन्छ, कसैले थाहा पायो भने मलाई समस्या पर्दैन ?’’

नाईट ड्युटीमा एक्लै खटेकी नर्सलाई दिउँसोदेखि नै उनकै कक्षमा गएर उ फकाउँदै थियो । यतिबेला सबै बिरामी र कुरूवाहरू प्रायः निदाइसेकेका थिए ।

बिरामी कुरूवा ऊ कसैसँग सम्पर्क गर्न नपाएर पागल जस्तै भएको थियो । त्यसैले कहिले कपास, कहिले गज कहिले के सामान माग्ने बहानामा नर्सको छेउमा आशामुखी भएर पुगी रहन्थ्यो ।

यस पटक पनि उसले प्रयास गर्‍यो, “एक चोटी दिनुभन्दा पनि कस्तो गर्नु भएको हो तपाईं त, दिनु न दिनु ! म कसैलाई पनि भन्दिन ।’’ यसपटक पनि नर्सले उसको कुरा मानिनन् ।

“कस्ता कस्ता मान्छे पनि आउँछन्, नहुने कुरामा जिद्दी गर्छन् !’’ नर्स भुतभुताइन् । उ निराश भएर फक्र्यो ।

उसमा हार्ने स्वभाव थिएन । उ छटपटाई रह्यो । केहीबेर पछि उसले फेरि एकपल्ट प्रयास गर्‍यो ।

“सिष्टर अहिले यहाँ कोही पनि छैन, दिनु न म खुसुक्क गरेर गैहाल्छु कसैलाई पत्तै हुँदैन ।’’ उसले फेरि अभिलाषा पोख्यो ।

“हत्तेरीका तपाईं त ज्यादै जिद्दीवाल हुनुहुँदोरहेछ, ल आउनुस् यता, खुसुक्क गरेर गैहाल्नुस्, अनि कसैलाई पनि नभन्नु नि फेरि !’’ भन्दै नर्सले भित्री कोठामा लगिन र उसलाई वाईफाईको क्यूआर कोड आफ्नो मोबाइलमा देखाईन र भनिन् “ल छिट्टो स्क्यान गरेर गैहाल्नुस् फेरि अरूले देख्लान् ।’’


..साथ सहयोगको खाँचो

Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

अस्तित्व

- ध्रुवराज थापा 'पुरुष'
काभ्रे, पनौती । हालः कपन, काठमाडौँ   



"तिमी म भन्दापछि मरेको पहिले बाँच्यौ तर म तिमीभन्दा धेरै पछि मरेको कहिले बाँच्छु होला "  मरेका र बाँचेका दुईजना कुराकानी गर्दै थिए ।

“त्यहि त तिमी समयको पालक थियौ । कुनै समय त्यस्तो थियो तिमीबिना कामकाजै चलाउन गाह्रो थियो । सहरवासीलाई दैनिक जगाउने तिमी नै थियौ !’’ बाँचेकोले भन्यो ।

मरेकोले थप्यो, “पहिलेका गइहाले, अहिलेकाले मेरो महत्व बुझेनन् । अहिले पो म वृद्ध भएँ, जवान छँदा सबै मेरै इसारामा नाच्थे ! बाटो हिँड्दा मेरो सौन्दर्यलाई पुलुक्क फर्केर नहेर्ने कोही थिएन ।’’

“हो त समय समयमा समिप बसेर तिम्रो गर्जन सुन्ने बानी परेको म, आजभोलि मेरा कान तिम्रा प्यासी बनेकाछन्, तिमीलाई खोजिरहेका छन् ।’’ बाँचेकोले उसको अभाव दर्शायो र थप्यो, "म जिउँदो छँदा मानिसहरूले मलाई हत्याराको समेत लान्छना लगाउन समेत पछि परेनन् तिमीलाई थाहा नै छ ।"

“हो नि त्यस कुराको साक्षी म छु नि ! दिनरात तिमै छेउमा म ठिङ्ग उभिइ रहेको हुन्थेँ । मान्छेहरू आफ्ना विभिन्न व्यक्तिगत व्यथा बोकेर आउँथे, झ्वाम्म हाम फालेर मर्थे, बेकारमा अपजस् तिमीलाई आउँथ्यो ।

मृतकले अनुरोध गर्‍यो,"लौन तिमीलाई जसले ब्यूँतायो उसलाई मलाई पनि पुनर्जीवित गर्न भनिदेउ न ! म त्यही आशामा बसेको छु । यदी म बाचेँभने अझै धेरै वर्ष निरन्तर सेवा दिने थिएँ !" रूँदै घण्टाघरले रानीपोखरीलाई भन्यो ।

(लामो समयदेखि बिग्रिएको घण्टाघर र भर्खरै पुनर्जीवन पाएको रानीपोखरीको सम्मानमा)


...साथ सहयोगको खाँचो

Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

नाटक

ध्रुवराज थापा  'पुरुष'
काभ्रे, पनौती हालः कपन, काठमाडौँ 
 



सुट टाई लगाएका सुकिला मान्छेहरू हलभित्र पसे । तारे होटलको सभाहल क्षणभर मै भरियो ।

हक अधिकारका कुरा भए । उनीहरूलाई माथि ल्याउने कुरा भयो । अधिकार बाँड्ने कुरा भए । पहुँच बढाउने बिचार बाँडियो । कार्यपत्र प्रस्तुत भयो । टिप्पणीकारले टिप्पणी गरे । दर्शकले ताली पड्काए । कसैले मोटा कसैले दुब्ला खाम बुझे । सबै प्रफुल्ल देखिए । कार्यक्रम सकियो । खानपान सुरू भयो । फिला र कवाफ मज्जाले चपाए । विदेशी ब्रान्डीको खोलो बग्यो ।

डोरीमा झुन्डिएर होटलको रङ्गरोगन गर्दै गरेका एक मजदुरले झ्यालबाट उक्त दृष्य देखे । भोक तिर्खाले प्याकप्याक परेका उनले घुटुक्क थुक निल्दै हावामा उड्दै गरेका आफ्ना साथीलाई देखाए, “उ हेर त, यहाँ त हाम्रै दिवस पो मनाएको रहेछ ।’’


....साथ सहयोगको खाँचो

Sunday, April 21, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

कुतूहल

- ध्रुवराज थापा  'पुरुष'
काभ्रे, पनौती हालः कपन, काठमाडौँ  


''ए हेर त, त्यहाँ को आएर बस्यो ? के पारा होला, कस्तो अचम्म !’’ मैलेसँगै बसेको साथीलाई मञ्चतर्फ सङ्केत गरे । 

“आयोजककै कोही आफ्नै मान्छे होला !’’ विपिनले भन्यो । कृति विमोचन कार्यक्रममा प्रमुख अतिथिले सम्बोधन गर्दै हुनुहुन्थ्यो । त्यो अपरिचित मान्छे कार्यक्रमकै बिचमा उद्घोषकले नबोलाईकनै प्रमुख अतिथिको सिटमा गएर बसेको थियो ।

हलका सबै मानिस मुखामुख गर्न थाले । उद्घोषकले कृतिका सर्जक र कार्यक्रमका सभाध्यक्षलाई अपरिचित मानिसको बारेमा साउती गरेर सोध्नुभयो । उहाँहरुले अनभिज्ञता जनाउनु भयो । एकैछिन सभाहलमा कौतुहलताको वातावरण सिर्जना भयो । प्रमुख अतिथिले आफ्ना कुराहरु राख्दै हुनुहुन्थ्यो । उक्त अपरिचित व्यक्ति सानकासाथ मञ्चमा खुट्टा हल्लाएर चारैतिर हेरेर बसिरहेको थियो ।

आयोजकले निमन्त्रणा नगरेको मानिस ठहर भएपछि, आयोजकमध्येका एकजनाले मञ्चमै गएर उनलाई बाहिरजानको लागि इसारा गरे । सुरुमा त्यहाँबाट जान आनाकानी गरेपनि त्यो अपरिचित पछि उठेर बाहिर गयो ।

मलाई झन कुतूहलता बढ्यो । सभाहलबाट बाहिर निस्केर रहस्यको खोजीगर्न थालेँ । त्यो अपरिचित बाहिर झोक्राएर बसेको थियो । अब उसैलाई वास्तविक कुरो सोध्छु भनेको त यता कुनामा मानिसहरु गाईंगुईं गर्दै थिए, “त्यो पनि सर्जक हो । उसको पहिलो कृति बिमोचनको दिनमा यही हलमा समालोकचहरुले उसलाई बेस्सरी झपारेको थिए । के लेखेको यस्तो ! अझै धेरैवर्ष मिहेनत गरेरमात्र किताब निकाल्नुस् । किताब निकाल्ने कुरा केटाकेटीको खेल हो र ! जस्ता तुच्छ शब्दले होच्याएर निन्दा गरेकोले उ त्यस्तो भएको हो ।’’

यत्तिकैमा मानसिक अस्पतालको गाडी आएर रोकिन्छ, “यो मान्छेले सारै दुःख दियो, खाली भागेको छ, भागेको छ ! कतिपल्टमात्र हामी यसलाई खोज्न यहाँ आउनु !’’ भन्दै अस्पतालका सुरक्षाकर्मीले उसलाई गाडीमा हालेर लगे ।


....साथ सहयोगको खाँचो

Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

दृष्टिकोण

-ध्रुवराज थापा 'पुरुष'
काभ्रे, पनौती, हालः कपन, काठमाडौँ 



'कस्तो घुरेर हेरेको होला, कहिल्यै केटी देख्न नपाएको जस्तो ! यो केटा मान्छेको जात त, राम्री केटी देख्नै नहुने, क्वाप्लाक्कै खाउँला जस्तो गरी पो हेर्छन् त बा !' करिष्मा भुतभुताउँदै थिइन् ।

करिष्माको किशोरावस्थाको उर्लदो बैंसालु जवानीले गर्दा, जो केही पनि भुतुक्कै हुने खालको रुप थियो उनको । सायद उनी कसैलाई पर्खेर बाटोको छेउमा उभिएकी थिइन् । टाइट जिन्स पाइन्ट, पेन्सिल हिल, रङ्गिन बुट्टे सर्टमा सजिए कि थिइन् उनी । उसैमाथि उनी अनुहारमा आधुनिक मेकअप र हेयर स्टाइलले धपक्कै बलेकी थिइन् । बाटोमा ओहोरदोहोर गर्दा उनलाई एकपटक हेरेर र्‍याल नकाढ्ने कोही पनि थिएनन् ।

आफू नजिकै गाडी कुरेर बसेको साधारण पहिरनको एउटा केटो, करिष्मालाई अघिदेखि हेरेर केही भन्न खोजे झैं गरी रहेको थियो । त्यस केटाको चाला देखेर करिषमाको रिसको पारो चढ्दै थियो । करिष्माको रोषपूणर् अनुहार देखेर केटोले पनि उनीसँग बोल्न हिचकिचाइ रहेको थियो । तर बेलाबेलामा उनलाई हेर्न भने छोडेको थिएन ।

केटाले पटक पटक आफूलाई अनौठो किसिमले हेरिरहेको कुरा करिष्मालाई राम्रैसँग थाहा थियो । बाटोमा हिँडने पुरुषले आफूलाई नजर लगाएको कुराबाट पनि उनी बेखबर थिइनन् । आफू निकै राम्री छु भन्ने कुरालाई पुरुषका यी हेराइहरुले प्रमाणित गरेको ठानेर उनी मनमनै प्रफुल्ल थिइन । तर, एउटा सामान्य पहिरनमा रहेको केटाले घरिघरि हेर्दा भने उनी आफ्नो इज्जत घटेको महसुस गर्दै थिइन् ।

यस पटक केटोले करिष्मालाई केही भन्ने आँटै गरेर बसेको ठाउँबाट जुरुक्क उठ्यो र उनी भएतिर गयो । अघिदेखि आफूलाई बारम्बार हेर्ने र बोल्न खोज्ने केटो नजिकै आएर हेर्न थालेपछि भने उनी झन् आगो भइन् र 'के हेरेको त्यसरी, लाज छैन ? कहीँ नभएको लफङ्गो' भन्दै केटाको गालामा एक चड्कन लगाइन् ।

केटोले आफ्नो गाला सुम्सुम्याउँदै सुस्तरी भन्यो, 'दिदी, तपाईंको पाइन्टको चेन खुल्लै छ, म अघिदेखि त्यही कुरा भन्न खोज्दै थिएँ ।' लाज र पश्चातापले करिष्मा रातो पिरो भइन् ।



Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

अबिरजात्रा

-ध्रुवराज थापा ’पुरुष’
काभ्रे, पनौती हालः कपन, काठमाडौँ   


"वीर ज्याकी... जिन्दावाद ! ज्याकीको दुस्मन... मूर्दावाद !!
यो जित कस्को ? ...ज्याकीको ! ज्याकी कस्को ? ... जनताको !’’

चर्को चर्को आवाजमा नारा घन्किएको थियो । मोटरसाइकल र गाडीको निकै लामो लाइन र मानिसका लावालस्करका बीचमा एउटा गाडीमाथि ज्याकी दुवै हात हल्लाइरहेको थियो । ऊ अबिर र मालाले छोपिएको थियो ।

भान्सामा खाना बनाउँदै गरेकी आमाले सोध्नुभयो, ‘‘छोरी बाहिर के को जुलुस हो, चुनाउ नै जितेजस्तो माइकको ठूलो ठूलो आवाज सुन्छु त ! चुनाउको माहोल त छैन आजभोलि ।’’

झ्यालबाट त्यो परिदृष्य नियाली रहेकी छोरीले आमालाई भनिन् “आमा त्यो बलात्कारी हत्यारा ज्याकी डन थियो नि, हो त्यो छुटेछ ! सरकारले उसलाई आम माफी दिएछ ! उसैको अबिरजात्रा हो !’’

छोरीको यति कुरा सुन्नासाथ आमा आँत्तिदै दौडिएर छोरीको कोठाममा आइन्, झ्याल ढ्याम्म बन्द गरेर चुकुल लगाइन् र छोरीलाई अँगालोमा बेरिन् ।

Sunday, January 7, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

विश्व रेकर्ड

-ध्रुवराज थापा 'पुरुष'
काभ्रे, पनौती, हालः कपन, काठमाडौँ 


"हजुरबुबा ! हजुरबुबा ! हाम्रो देश नेपालले पनि विश्व रेकर्ड राखेछ नि !’’ नातिनीले दैनिक पत्रिका लिएर हजुरबुबाको छेउमा आएर सुनाइन् ।

“ए नातिनी, तिमी के अचम्मको कुरा सुनाउँदैछ्यौ, के कुरामा विश्व रेकर्ड राखेछ नेपालले ? ल सुनाउ सुनाउ मलाई !’’ हजुरबाले नातिनीलाई भने !

नातिनीले भनिन् “हजुरबुबा हाम्रा पुर्खाले अङ्ग्रेजहरूसँग घरेलु हतियारले बहादुरीका साथ लडेर विश्वमा नेपालको रेकर्ड राखेका थिए भनेर हामीले पढेका थियौ तर अहिले चाहिँ विश्वमै सबैभन्दा बढी ३५ दिन सार्वजनिक बिदा दिएर सरकारले विश्व रेकर्ड राखेछ, यी हेर्नुस् त यो पत्रिकामा लेखेको रहेछ !’’

Wednesday, November 29, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

अख्तियार

-ध्रुवराज थापा 'पुरुष'
काभ्रे, पनौती, हालः कपन, काठमाडौँ


माईला दाईको पसलमा चिया पिएर गफिंदै गरेको बेला होमनाथले सोध्यो– “साँच्चै, हाम्रो पुरानो साथी राकेश आजभोलि कता छ कुन्नी ! धेरै भयो भेटघाटै छैन, तिमीलाई केही थाहा छ त उस्को बारेमा ?’’
“ए, तिमीलाई राकेशको बारेमा थाहा छैन र ?’’ –होमनाथको कुरा सुनेर टंकले जवाफ फर्कायो । हतारिंदै होमनाथले पुनः प्रश्न तेर्सायो “किन? के भो र?“

“उ त अहिले अख्तियारमा पो पुगेको छ त !’’ –टंकले सुनायो ।
“ए हो र ? अहिले अख्तियारमा पो छ त्यो ? मलाई त उहिल्यै लागेको थियो त्यो एकदिन अवश्य त्यहाँ पुग्छ भनेर । सानो काम पनि घुस नखाई फिटिक्कै नगर्ने, त्यसलाई मैले साथीको नाताले एउटा सानो काम गरिदिन भन्दा मसँग पनि घुमाउरो पाराले पैसा खान खोज्यो । खरदारको जागिरे, तर काठमाडौँमा दुईवटा घर, गाडी, छोराछोरी महङ्गा स्कूलमा ! बा बा बा कम्ति मस्ती गरेको थियो र त्यसले ? पाप धुरीबाट कराउँछ भन्थे, हो रहेछ ! बल्ल आँखा खुल्यो होला अब त्यसको ।’’ –होमनाथले एकै सासमा यति कुरा भन्न भ्यायो ।

“तिमीले भनेको कुरा त ठीकै हो, तर राकेश समातिएर हैन उसको बढुवा भयो अनि सरुवा भएर पो अहिले उ अख्तियारमा पुगेको हो त ।’’ टंकले हाँस्दै भन्यो ।