खरानी
-नवराज रिजाल
बारा
घरमा पाँच कोठा थिए । बुढाले जीवनकालको अन्त्यतिर चार छोरालाई एकएक र बुढाबूढीलाई एक गरी दामासाहीले भाग लगाए । यो छोराहरुको धेरै अघिदेखिको माग थियो । पहिला बुढा मानिरहेका थिएनन् ।
‘केटाकेटी नै छन्’–उनी सोच्थे । अन्त्यमा बडो मुस्किलले सहमतिमा आए । बुढाको मृत्युपछि बूढी एक्लै बसिन् । छोराहरुको सोचको उल्टो भयो । आमालाई आफ्नो पक्षमा ल्याउन सबैले निक्कै प्रयत्न गरे ।
‘तपाईं एक्लै बस्न पाउनुहुन्न’ –जेठोले भन्यो । ’हो त चार–चार भाइ छोराहरु छन्, तपाईं चाहिँ ....’ –माइलोको राय रह्यो । ‘ठीकै त हो यो कुरा, आफूलाई मन लागेकोतिर बस्नोस्’–साइँला र कान्छाले थपे ।
बूढी अडानबाट एक इन्च पनि तल झरिनन् ।
छोराहरुलाई एक एक कोठामा जीवन धान्न अप्ठेरो भइरहेको थियो । एक दिन यसै विषयमा दाइभाइको बीचमा मुक्कामुक्कीसमेत चल्यो । कान्छो सबैभन्दा बलियो थियो । तीनै जना दाजुहरुलाई मज्जाले मुक्क्यायो ।
‘आमा जता बसे पनि कोठामा मेरो अधिकार हुनुपर्छ’ –जेठाले भन्यो । ’अहँ, हुँदैन मेरो हुनुपर्छ । आमाले मसँग बस्ने इच्छा राख्नुभएको छ’ –माइलाले भन्यो । ‘ओ हो, पाउलाउ... हाम्रो त नामै लिन जाँदैनौ हैन ?’ –साइँलो र कान्छो जङ्गिए ।
तर कसैको कुरा कसैलाई चित्त बुझिरहेको थिएन । चारै भाइमा चढेको क्रोधको मात्रा उच्च थियो ।
‘आगो लगाइदिन्छु’ –माइलो गर्जियो । 'अँ म चाहिँ चुपो लागेर बसुँला नि’ –साइँलोले थप्यो । 'म पनि छाड्दिनू’ –कान्छो एक पाइलो अझ अगाडि देखियो । ’यी हेर त मेरो हातमा के छ’ –जेठो भाइहरुतिर फर्कियो । सबैका हातमा मट्टितेल र सलाई थियो ।

