Showing posts with label गंगा खड्का. Show all posts
Showing posts with label गंगा खड्का. Show all posts

Saturday, June 13, 2026

लघुकथा (अङ्क ३५ मा प्रकाशित)

"बुढी ! तिम्रो साथ सहयोगले मैले लोकसेवा आयोगको परीक्षामा अधिकृतमा नाम निकाल्न सफल भएँ । म यस पटकको पहिलो दशैँ पेस्कीमा केही रकम थपेर तिमीलाई सुनको चुरा बनाइदिन्छु ।” दिपकले सृजनालाई भने ।

“सुनको भाउले आकाश छोएको बेलामा नि कसैले सुन बनाउँछ । बरु चुरा बनाइदिने पैसाले मेरो कवितासङ्ग्रह प्रकाशित गरिदिनुहोस् न ।” सृजनाले जोसिँदै भनिन् । 

दिपक केही बेर घोरिए र भने, “तिम्रा कुरा पनि ठिकै हुन् तर तिम्रा दिदीबहिनी सधैँ गहनाले झपक्क भएर हिँड्छन् । मैले भने एउटा चुरा पनि बनाइदिन……. ।”

दिपकको कुरालाई बिचैमा काट्दै सृजनाले भनिन्, “गहना लगाएर को ठुलो भएको छ र ?” सृजनाको समझदार कुराले दिपकलाई खुसी लाग्यो । यति बुझकी श्रीमती पाएकोमा उनी हर्षले गद्गद भए । उनले फेरि सृजनालाई सम्झाउँदै भने, ”किताब पनि पछि निकालौँला, अहिलेलाई चाहिँ तिम्रो लागि एउटा चुरा नै बनाइदिने साह्रै रहर छ बुढी !”

सृजनाले कृतज्ञ भाव प्रकट गर्दै दिपकलाई भनिन्, “गहना त लगाउन्जेल मात्रै मान्छेले देख्ने हुन् तर कृतिलाई त मरेपछि पनि लोकले देख्छ त्यसैले यसपटक त किताब नै निकाल्ने हो बुढा ।”

–बुढानिलकण्ठ, काठमाडौँ

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, January 21, 2026

साभार लघुकथा (अङ्क ३१ मा प्रकाशित)


"बाबा ! भगवान्‌को पालादेखि चलेको चलन । सधैँ एकै ठाउँमा बसेर हुँदैन । अब हामी छुट्टिएर बस्छौँ । हाम्रो भागमा केकति आउँछ, भाग लगाइदिनुहोस्," भरतको जेठो छोराले भन्यो ।

एकैछिनमा जेठी बुहारी बोली, “बुबा ! म त बालककालमा बुहारी बनेर यस घरमा भित्र पसेकी । अरूले भन्दा अलि बढी दुःख गरेकी छु । हाम्रो भागमा त केही न केही बढी नै पर्छ होला नि !’’

“बुबा ! मलाई त तपाईंको छोराले भगाएर ल्याउनुभएकोले मेरो बिहेमा त फुटेको कौडी नि लागेको छैन । हामीलाई त झन् बिहे भाग समेत हिसाब गरेर दिनुपर्छ”, माइली बुहारी डिठ्ठा बिचार्नी भएर बोली ।

भरत केही बोल्न सकेनन् । ओछ्यानमा अक्सिजन लाएर लडिरहेकी उनकी श्रीमतीले स्याँस्याँ गर्दै भनिन्, “पख न त, भाइ आइपुग्ने बेला भयो । अंशवण्डा रोज्ने अधिकार कान्छोको हुन्छ भन्छन् । पहिला उसले रोज्छ अनि तिमीहरू रोजौला ।’’

सबैजना कान्छोको प्रतीक्षा गरेर बसे । केही क्षणमा कान्छो आइपुग्यो र सबै माहोल बुझिसकेपछि भन्यो, “मलाई जेठो र माइलो दाइको जस्तो केही रोज्नु छैन बुबा । तपाईंहरूले दिनुभएको संस्कार र शिक्षादीक्षा नै मेरो लागि सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले म बूढा अवस्थाका हजुरहरूको पालनपोषण गर्ने काम रोज्छु ।’’

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, September 13, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


"जा, गइहाल । तँ यो रित्तो घरमा किन अझै बसेको छस् ?” सुन्तलीले मकैको खोयाले हान्दै घरभित्रको मुसालाई लखेट्न खोजिन् ।

मुसो अटेरी भएर बस्यो । ऊ डेग चलेन । सुन्तलीको रिसको पारो चढ्यो । उनले रिसाउँदै भनिन्, ”आफू त भोकभोकै बस्नुपरेको कति दिन भइसक्यो । तँ चाहिँ के खान बसेको छस् यो घरमा ?”

सुन्तलीको वेदना मिश्रित रिसलाई नियालिरहेको मुसाले प्रतिप्रश्न गर्दै  भन्यो, ”जीर्ण भएको घर र छोराछोरीले पनि नहेरेर बुढेसकालमा एक्लो भएको मानिसलाई छोडेर जान मेरो धर्मले दिँदैन त, म के गरूँ ?”

बूढानीलकण्ठ, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, June 6, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


समाजसेवी सुदीपको हृदयाघातको कारण ४१ वर्षको उमेरमा मृत्युु भएको दोस्रो दिन शनिवार श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्ने मान्छेको आवागमन बेसी थियो । त्यहाँ उपस्थितमध्ये आफन्तले श्रद्धाञ्जली दिने क्रममा सोधे,  "छोरालाई किरिया किन नराखेको ?’’  

"व्रतबन्ध नभएकोले ।’’ यशोधाले छोटो उत्तर दिइन् ।

अनि आफूलाई ठालु ठान्नेहरुले आ–आफ्ना विचार लाद्न थाले । कसैले भने,  "१५/१५ वर्ष भइसकेको छोराको व्रतबन्ध बेलैमा गर्नुपर्ने । यस्तो कुराको ख्याल त आमाले राख्नुपर्थ्यो नि । कमसेकम बाउको किरिया त गर्न पाउँथ्यो ।’’ 

कसैले भने,  "कर्म नचले नि कुशको जनै लगाइदिएर छोरालाई नै किरिया राख्नुपर्थ्यो ।’’ 

कसैले सही थाप्दै थिए,  "त्यही त छोरालाई किरिया गराउन पाएको भए बूढो बाउले  त छोराको किरिया गर्नुपर्ने थिएन नि । बिचरा बूढा ।’’

कुरा सुनेर यशोदा बडो द्विविधामा परिन्, "होइन, यिनीहरू श्रद्धाञ्जली दिन आएका हुन् कि घाउमा नुनचुक छर्न ?’’

– बूढानीलकण्ठ, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, November 23, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

ताली
-गंगा खड्का
बूढानिलकण्ठ, काठमाडौँ 



"छोरा होस् त सौरभ जस्तो !" कसैले भन्दै थिए ।
"छोराछोरी असल भए भने त बाबुआमालाई कति आनन्दआनन्द !"
"सौरभजस्तो छोरा पाउन त सात जुनी तपस्या गर्नुपर्छ ।"
"युवाले ल्याएको नयाँ योजना र सोचलाई हामीले खुलेर स्वागत गर्नुपर्छ ।"
एकातिर देश छोड्न नि परेन, अर्कातिर सङ्घर्षले कमाएको धनको सदुपयोग नि भयो । सौरभले खोलेको नयाँ अफिसको उद्घाटनको दिनमा आमन्त्रित व्यक्तिहरुले यसरी नै उसको प्रशंसा मुक्तकण्ठले गरे । सबैको कुरा सुनेर सौरभका बाबु हर्षले गदगद भए । उनी मनमनै आफ्नो भाग्यको तारिफ गर्दै थिए । त्यति नै बेला सौरभले बाबुको छेउमा गएर भन्यो, "देख्नुभयो बुबा ! विदेश नगएर मैले राम्रै त गरेछु नि । त्यहाँ सिकेको सीप र अनुभवले आज मलाई यो उचाइमा पु-यायो । हेर्नुस् न, हिजोसम्म कुरा काट्नेहरु आजदेखि मेरो लागि ताली बजाउँदै छन् ।"

Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

गुरुपूर्णिमाको उपहार

-गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ 


कक्षामा गुरुपूर्णिमाको अवसरमा सरला गुरुआमालाई उपहार दिनको लागि तँछाडमछाड चल्यो । केही समय रोकिएर उपहार दिने धैर्यता कसैसँग पनि भएन । सबैले उपहार दिइसकेपछि सबैभन्दा अन्तिममा सुशान्तले एउटा पत्याएको कागज र खामभित्र केही चिज हालेर दियो । गुरुआमाले कागज खोलेर खुसुक्क हेरिन् । उनी सुशान्तपट्टि हेरेर मुसुक्क हाँसिन् । उसले पनि मीठो हाँसोद्वारा गुरुआमाको हाँसोको स्वागत ग-यो । यो देखेर अरु विद्यार्थीहरू मुखामुख गरे । उनीहरूले गुरुआमालाई सबभन्दा कसको उपहार मन प-यो भनेर सोधे ।
सरलाले भनिन्, ‘‘बेलुकी मेरो स्टोरीमा हेर्नू ।’’

सबैजना बेलुकीको प्रतीक्षामा बसे । उनले सुशान्तले दिएको उपहार र चिठी दुवैको फोटो राख्दै लेखेकी रहेछिन्, ‘‘आजको गुरुपूर्णिमामा मैले पाएको सबैभन्दा बहुमूल्य उपहार !’’

यो देखेपछि पक्कै गुरुआमालाई मैले दिएको उपहार मन प-यो होला भनेर बेलुकी गुरुआमाको स्टोरी हेर्न व्यग्र प्रतीक्षा गरिरहेका विद्यार्थीहरू सुरुमा त खिन्न भए तर जब सुशान्तको चिठीमा लेखिएका कुरामा उनीहरूका आँखा अडिए तब उनीहरूको मनमा गुरुआमाप्रति कुनै गुनासो रहेन । जसमा लेखिएको थियो, ‘‘आज म जे छु, हजुरकै कारणले छु । आमाबाबु दुवै नभएको म टुहुरोलाई जिन्दगीको अर्थ बुझाउने र कक्षामा प्रथम स्थान हासिल गर्न सफल बनाउने हजुरजस्ती देवीलाई आजको दिन प्रसादस्वरुप मेरो मार्कसिटको प्रतिलिपि उपहार दिएको छु, स्वीकार्नु होला ।’’

Tuesday, November 21, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

रहस्य

-गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ 


"तिमीबिनाको पल त मेरो लागि धड्कनबिनाको मुटुजस्तै हुन्छ ।’’ उसले सधैँ मसँगको भेट वा वार्तामा भन्थी ।
“मलाई पाइनौँ भने के गछ्र्यौ ?’’

“तिम्रो घरको ढोकामा झुण्डेर मर्दिन्छु ।’’ मेरो प्रश्नको उत्तरमा ऊ गुराँसजस्तै रातोरातो मुख बनाएर रुन्चे स्वरमा भन्थी ।

उसले मात्रै होइन म पनि उसलाई आफूलाईभन्दा बढी माया गर्थे । रहँदा बस्दा मेरो परिवारको कमजोर आर्थिक अवस्था उसको र मेरो प्रेममा तगारो बन्यो । उसको सिउँदो पराइको हातले हालेको सिन्दुरले सजियो ।

उसको र मेरो भेट नभएको वर्षौँ भइसकेको थियो । एकपटक एक्कासि हाम्रो भेट काठमाडौँको व्यस्त सडकको जाममा भयो । उसले मलाई जन्मजात शत्रुलाई जसरी रिसाएर क्वारक्वार्ती हेरी । म अन्जानमै मुस्कुराएँ तर उसले मुन्टो बटारी ।

एकैछिनमा ट्राफिकले सुइँ®य सिट्ठी फुकेपछि ऊ चढेको मोटरसाइकल हुइँकियो । म  पछाडि फर्केर हेर्दै थिएँ, ऊ  एकाएक मेरो आँखाबाट ओझेल परी ।

मन भारी भयो । म सोफामा पल्टेँ र विगतसँग हराउन थालेँ ।
“ए साँच्ची ! आज बुबाको दराजका लुगा मिलाइदिँदा, तपाईंको नामको चिठी भेटेको थिएँ ।’’ बुढीको बोलीले म झसङ्ग भएँ ।

बाहिर खाममा पठाउनेको नाम थिएन । हत्तपत्त खोलेर हेरेँ । उसैले ११ वर्ष अगाडि पठाएकी चिठी रहेछ ।

लेखिएको रहेछ, “तिमीबिना मेरो जीवन सम्भव छैन । तिमी भोलि बिहानै बसपार्कमा आऊ । तिमी र म भाग्नुपर्छ ।’’

चिठीको अर्कोपट्टि मेरा स्वर्गीय बुबालाई मलाई सम्बोधन गर्दै लेख्नुभएको  रहेछ, “मलाई माफ गरिदे छोरा । तँलाई तह लाउनको लागि उसका परिवारले ठाउँ ठाउँमा गुण्डा राखेका छन् रे । त्यही भएर तेरो हातमा पर्नुअगाडि नै चिठी लुकाइदिएँ ।’’

Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

परिवर्तन

-गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ 


"आजकाल त रमिलाले सासूलाई निकै माया गर्न थालिछे नि ।"

“हो त ! कतै सासूको खातामा निकै पैसा भएको कुरा थाहा पाएर त होइन ?"

राधा र सरिता बीचको कुराकानी संयोगवश रमिलाले पनि सुनी ।

उसले बडो गम्भीर भएर भनी, “सासूको खातामा पैसा भएको थाहा पाएर माया गरेकी होइन । मेरो छोरो जन्मेपछि एउटा सन्तानको लागि आमाबाबुले कति दुःख गरेका हुँदा रहेछन् भन्ने कुरा थाहा पाएर चाहीँ हो ।"

Saturday, November 18, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

नयाँ वर्ष

-गंगा खड्का
बुढानीलकण्ठ, काठमाडौँ

"बाबा ! भोलि नयाँ वर्षमा घुम्न जाने त भनियो । तर टमीलाई कसको जिम्मा लाएर जाने होला ? कसले खानेकुरा खान दिन्छ त्यसलाई ? घरमा एक्लै बस्न त बोर हुन्छ नि त्यसलाई !"

“टमीको चिन्ता नगर न बाबु । ऊ त हाम्रो घरको सदस्य नै भइहाल्यो नि । ऊ पनि हामीसँगै जान्छ ।" रमिलाले नाति र छोराबिचको वार्तालाप सुनिन् ।
“यसपटक त हजुरआमालाई नि लाने होइन र बाबा ? हामी सबै गएपछि उहाँ घरमा एक्लै हुनुहुन्छ ।“ सानी नातिनीले प्रस्ताव राखी ।

कुकुरलाई पनि लिएर जाने निर्णय र नातिनीको प्रस्तावले रमिलाको अनुहारमा आशाको जून लाग्यो ।

“हजुरआमालाई लगेर घाँडो मात्रै । रमाइलो गर्न छोडेर एक दिन हिँडेको ठाउँमा नि को बस्छ हजुरआमाको गोठालो ?"
एक्कासि बुहारी कर्कशा स्वरमा बोली ।

बुहारीका वचन सुनेपछि अर्ध शरीर पक्षघात भएर थला परेकी रमिलाको आँसुको मूल फुट्यो ।

उनको पक्षमा वकालत गर्दै नातिनीले भनी, “नयाँ ठाउँमा घुम्न जाँदैमा नयाँ वर्ष विशेष हुँदैन । आफ्नै घरका भगवान्रुपी बुबाआमालाई माया र सम्मान गर्ने सोचमा परिवर्तन ल्याउन सके मात्रै नयाँ वर्ष खास हुन्छ ममी ।"