Showing posts with label रमेश सुवेदी. Show all posts
Showing posts with label रमेश सुवेदी. Show all posts

Sunday, July 21, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

 भाग

- रमेश सुवेदी
ललितपुर - १३, कुसुन्ती    



समयको अन्तराल, छोरो कमाउने भए पछि पुरानो घरको मर्मत गर्नु सट्टा नयाँ बनाउने भनेर प्रस्ताव राख्यो । कुरो सुनेर बाउको मन चसक्क भयो । सम्झनामा आयो त्यो कालखण्ड, जति बेला पैसाको कमी थियो । आफन्त ईष्टमित्र र साहुसँग ऋण सापटी लिएर बनाएको घरको सावाँ ब्याज भर्खर मात्र चुक्ता भएको थियो । एक एक ईंटा, ढुङ्गासँग पौठेजोरी खेलेको हिजो जस्तो लग्थ्यो, आज भोग सकिएको आभास भयो ।

नक्सा तयार भए पछि सबै बसेर हेर्न थाले । भान्छा, भन्डार, बैठक, घरमुली र छोरालाई कोठाको भाग लाग्यो । ठूलो ठूलो बन्ने भो भनेर छोरो मख्ख पर्‍यो । बाउले भने अझै केही सच्याउनु पर्ने भए बेलैमा भनि हाल, पछि त मिल्दैन । ठुस्स पर्दै आमाले भनिन्, खोइ त पूजाकोठा अनि नानीलाई किन बिर्सेको, उसलाई खोई ?

बाउ छोरा एकै स्वरमा बोले, नानीलाई त किन चाईयो, बिहे गरेर गै सकि । त्यो कहिलेकाहीँ बस्ने गरी आउने त हो, बैठकमा सुत्छे । कुरो सुनेपछि आमाको पारो तात्यो र भन्न लागिन्, परापूर्वकालदेखि अहिलेसम्म पनि नारीलाई हेर्ने दृष्टिकोण उस्तै छ । बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखेर निकाल्दा पनि बाङ्गै भनेको यहि हो । तिमी पुरुषहरुले जति पढे पनि आफ्नु सोच बदल्न सकेनौ ।

हिजो म सानो हुँदा बावुआमासँग ठूलो भए पछि दाजु भाइसँग एउटै कोठामा छुट्टा छुट्टै बेडमा अटाउँथी । घरको बनोट त्यस्तै थियो र मलाई छुट्टै कोठा भएन भन्ने खट्किरहेको छ । अहिले म कहिलेकाहीँ माईती जाँदा कसैको कोठामा अटाउँदिन, सधैं मलाई मटानमा सुताउँछन् । भन्ने बेला छोरा छोरी बराबर रे ! के हामी महिला विवाह गरेर गएपछि जन्म घरमा यसै गरी हेलत्व भइरहनुपर्ने हो ?


....साथ सहयोगको खाँचो

Friday, April 19, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

कुण्ठा

- रमेश सुवेदी
ललितपुर - १३, कुसुन्ती   


एक्कासी नयाँ मेसेज मेसेन्जरमा, अपरिचित अनुहार, प्रोफाइल खोलेर हेरे, दुई सन्तानकी आमा, फोटो मार्फत् कोठाको साजसज्जा हेर्दा, व्यक्तित्व उच्च घरानाको जस्तो लाग्यो ।

पहिलो चरण अनौपचारिक परिचय गर्दै, केही व्यावहारिक, केही सामाजिक कुराहरू भयो । घरपरिवार, सुखदुःखका कुराहरू शेयर हुन्थे । केटाकेटी हुर्की सकेका, आ-आफ्नो लाइन समाइसकेका रहेछन् । म पनि आफ्नो परिवार र आफ्नो मर्यादामा बसेको मान्छे, खुब होसियारी साथ आफूलाई प्रस्तुत गर्थे । दिनहुँको कुराकानीले आत्मिय मित्र जस्तो भएपनि लामो समयसम्म प्रत्यक्ष भेटघाट भएको थिएन ।

एक दिन वहाँले भन्नु भो, म त एक्लै हुँदा कहिलेकाहीँ एकदम बोर मान्छु । रमाइलो खालको कुनै फिल्म छ भने शेयर गर्नु न, प्लीज..... ।

पहिला त मैले कुरा बुझिन पछि अनुमान लगाएर, सोधी खोजी गरें, श्रीमान् खोइ त? किन एक्लै भन्नु भो? मेरो प्रश्नमा वहाँ आफ्नु वास्तविकता यसरी पोख्न थाल्नु भयो,

म सरकारी उच्च ओहदामा काम गर्ने मान्छे, पद अनुसारको आचरण नि हुनुपर्ने, जिम्मेवारी पनि त्यस्तै हुँदा आफ्नु वास्तविक इच्छा आकांक्षा नि दवाएर बाँच्नुपर्ने । हामी नारीहरू, पुरुषहरु जस्तो खुल्ला भएर हिँड्न र बोल्न नि इज्जतको ख्याल गर्नुपर्ने सामाजिक बाध्यता । आफ्नो मनले खाएको र आफूलाई नि इज्जत दिने मान्छे नपाउँदा आफ्नो ... कुण्ठा दवाएर बाँचेको छु । मनको कुरा पनि खोल्ने साथी नि छैनन् । ५ वर्ष भयो, बुढोले अर्की टिपेर हिँडे ।

एउटी अपरिचित महिलाले खुल्ला निम्तो दिएँझैँ लाग्यो । मेरो पुरुष मन चञ्चल भयो । श्रीमती र सन्तानका अनुहारहरु मेरा मष्तिष्कभरि नाच्न थाले । म दोधारमा परेँ, के जवाफ दिऊँ? लेखे -  "सरी तपाईंले अर्को  साथी खोज्नुस्, ल !"


....साथ सहयोगको खाँचो

Friday, November 24, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

 लडाइँ

-रमेश सुवेदी
कुसुन्ती–१३, ललितपुर  


अहंकार र सु–हृदय बीच द्वन्द्व चलिरहेको थियो । ज्यानको बाजी थापेर एकले शक्तिको तुजुक देखाउँदै लखेट्यो, अर्कोले गिजाउँदै अघि अघि दौड्यो । सु–हृदय अहँकारलाई झुक्याउँदै गाईको शरीरभित्र लुक्यो । अहंकार नि के कम, नजिकैको जङ्गलमा भोकैबसेको बाघको शरीरभित्र प्रवेश ग-यो ।

जङ्गलको अर्को कुनामा चर्दै गरेको गाईलाई मार्छु भन्दै बाघ आयो । बाघले झम्टन खोजेपछि गाई ज्यान बचाउन भाग्दा नजिकैको तलाउमा हाम फाल्यो । बाघ नि के कम, आखिर जङ्गलको राजा जो ठहरियो, झ्याम्म तलाउमा हाम फाल्यो । अगाडि गाई तलाउको हिलोमा गाडियो । बाघ भेट्टाउँछु भन्दै अघि बढे पनि हिलोको कारण खुट्टा धसिएको हुँदा अघि बढन सकेन । मात्र एक मिटरको दुरीमा चारै खुट्टा धसिएर हल्लिन नसक्ने गरी दुवै फसेँ ।

बाघ हुँकार गर्दै फुर्तिले बोल्यो, म जङ्गलको राजा हुँ । आज तँ उम्किन्नस्, मेरो आहारा नबनि सुखै छैन ।
बाघको कुरा सुनेर गाईले भन्यो, मलाई त साँझसम्म खोज्न आउँछन् ।
तिम्रो कोही मालिक छन् ?
बाघले भन्यो, म स्वयम् जङ्गलको मालिक ।
गाईले सोध्यो, त्यसोभए तिम्रो त्यो शक्तिको यहाँ के उपयोग हुन्छ त ?
बाघले भन्यो, तँ पनि त फसेको छस्, केही बेरमा मर्ने वाला होस्, तेरो नि मेरो जस्तै हालत छ ।

गाई मुस्कुराउँदै बोल्यो, एकैछिनमा मेरो मालिकले मलाई यो दलदलबाट निकाल्नु हुन्छ र आफूसँगै घर लैजानु हुन्छ । तिमीलाई कस्ले लैजान्छ ? नभन्दै केही बेरमा एक मान्छेले गाईलाई हिलोबाट निकाल्यो । जाने बेला गाईले फरक्क फर्केर हेर्दै सोच्यो, चाहेर पनि यसलाई हिलोबाट निकाल्न हुँदैन । किनभने यस्को स्वभाव नै झम्टने छ । अहंकारी, घमन्डी विरुद्ध सु–हृदयको मालिक ईश्वरले खटाएका हुन्छन् । त्यसैले यो हिलो रुपी संसारमा शक्ति सङ्घर्ष र अस्तित्वको लडाइँ चलिरहन्छ ।