Showing posts with label सूरज गजुरेल. Show all posts
Showing posts with label सूरज गजुरेल. Show all posts

Tuesday, March 3, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


आज ऊ वरिपरिका मान्छेको व्यवहार देखेर छक्क परेको छ । औधि आनन्द पनि अनुभव गरिरहेको छ ।

कल्पना गर्न नसकेको सम्मान आज समाजले उसलाई दिएको छ । उस्को सम्झनामा जीवनभरि यत्तिको प्रसंशा र शुभ–वचन पाएको याद आउँदैन ।

उहिले प्राइमरी स्कूलमा शिक्षणपेशा गर्दा छात्र–छात्रा र उनीहरूका अभिभावकले देखासेकी केही सम्मान प्रकट नगरेका होइनन्, तर आजको जति श्रद्धा सम्मान कहिलै पाएको थिएन ।

एक समयमा साहित्य चर्चा गर्दा बेला–बखत् उसका रचनाले चर्चित पत्रिकाहरूमा स्थान पाएको याद छ । नचिनेकाहरूले उस्का लेखादिहरूको प्रसंशा गरे पनि वरिष्ठ परिचित साहित्यकारहरूले सधैँ उस्लाई नजरअन्दाज गरी आएका हुन् । संयोगवस केही भन्नुनै परे उट्पटाङ्ग मन्तव्य दिएर गाल टारेझैं गर्थे ।

तर, आज तीनै परिचितहरू महिमा मण्डन गर्न हरेक थरीका उपमा दिएर उस्को कार्यको बखान गरिरहेका छन् । ऊ आज खुसीले गदगद् हुँदै उनीहरू प्रति आभारी बनेको छ । फूलले सुसज्जित वाहन चढाई आज उस्लाई सहरका गलि घुमाउँदै जता–जता लगिएको छ, सबै तिर श्रद्धासाथ टाउको निहुराएर सम्मान प्रदर्शन गरिदैं छ । आज नसोचेको सबै हुँदैछ । ऊ तृप्त तर अचम्भित छ– आफ्ना छर–छिमेक, ज्ञात–अज्ञात मानिसहरूले देखाएको यो परिवर्तित व्यवहारमा । लाग्छ उस्को जीवन सफल भयो । जाँदा जाँदै गाडी एक ठाउँमा टक्क रोकिन्छ । त्यो स्थान उसको परिचित स्थान हो । एक छिन पछि उसलाई सादर सम्मान साथ मसानको चितामा सुताइन्छ ।

ऊ झसङ्ग हुन्छ अनि मुस्कुराउँदै बरबराउँछ– ॅमरेपछि सम्मान दिँदा रहेछन्, वाहः, हाम्रो समाज !’

-तेलियागाउँ, शोणितपुर (असम)

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

घाम-पानी

- सूरज गजुरेल
तेलियागाउँ, तेजपुर (असम)  



महिनौं कहिले यो अफिस, कहिले त्यो अफिस धाएर हिजो मात्रै सोहन मास्टरले बल्ल तल्ल घरको ऋण मञ्जुर भएको कागज पाए पछि ढुक्क मनले तृप्ति साथ रातिको भोजन सबैसँगै बसेर खाए । आज परिवारमा खुसीको माहौल थियो ।

सबै आनन्द चित्तले निन्द्रा देवीको काखमा ढल्केका थिए कि थिएनन्, मास्टर बाबु छाती समातेर अईया-आथु गर्दै, बाहिर आँगनमा निस्के । हल्ला खल्ला सुनेर घरका अरू पनि आँगनतिर दौडे । बाउलाई रगत छाद्दै गरेको देखेर मास्टर बाबुको ठूलो छोरो आत्तिदै काँध समाउन पुगे । केही बिसेक भएपछि मास्टर बाबुलाई समातेर जसोतसो ओछ्यानमा ल्याएर सुताइयो । रात तेस्तै अन्योलमा बिते । 

भोलिपल्ट बिहानै डाक्टरकोमा पुर्‍याइयो अनि धेरै जाँच पछि मास्टर बाबुलाई क्यान्सर बिमार भएको पत्तो लागे । वर्षौं देखिको आफ्नो निजी घर बनाउने सपना बैंकबाट ऋण लिएर भए पनि पुरा हुने चाँजो मिल्दा नमिल्दै यो नसोचेको आपत् आई परो मास्टर बाबुको भाग्येमा । अब भने धर्म संकटमा परे मास्टर बाबु र उनका परिवारजन । बैंकमा बिस लाख जम्मा हुन्छ, तर तो रूपैयाँ घर बनाउनमा मात्रै खर्चिन पाईन । यता मास्टर बाबुलाई मुम्बई लगेर राम्रो उपचार गराउन सके निको हुने पूणर् सम्भावना रहेको । 

जीवन जिउन कसलाई पो रहर नहोला तर आफ्नो परिवारमा पर्ने आर्थिक भार साथै बैंकमा जम्मा भएका रूपियाँ खर्च गर्ने विशेष प्रतिबन्धलाई सम्झँदै, मास्टर बाबुले गुवाहाटी बि बरूवा क्यान्सर हस्पिटल मै जे-जस्तो उपलव्ध उपचार गर्ने मनमनै अठोट गरी बसे ।

उता परिवारमा भने मास्टर बाबुको यस्तो सिद्धान्तलाई कसै गरी मानि लिन नखोज्ने ढीप्पी छदैं थियो । यस्तै असमञ्जसको स्थितिमा एउटा शिक्षकको जीवन मृत्युको खेल चलिरह्यो कयौं महिनासम्म.....


 .....साथ सहयोगको खाँचो

Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

नेपथ्यको खलबली

- सूरज गजुरेल
तेलियागाउ, तेजपुर (असम)   


रजत आज साह्रै खुसी छ । उस्को साईनो पर्ने भाइ महेशले ४६ वर्षको उमेरमा असम लोकसेवा आयोगको परीक्षामा सफलता हासिल गरी समाजमा एक उदाहरण प्रस्तुत गरेको छ । महेशको सफलता आज रजतको सफलता बनेको छ । उस्को आफ्नो सपना महेशमा पूणर् भएको देख्दैछ ।

हो, महेशले यहाँसम्म पुग्न धेरै साधना गरेको छ, धेरै समय र मेहनत लगाएको छ । उ जीविकार्जनको निम्ति अनेकौं काममा खटिंदै गर्दै, आफ्नो पढाई र लगनशील स्वभावले नै आज सफल हुन पुगेको हो ।

रजतले पनि आफ्नो समयमा यस्ता थरी-थरीका सपना बुनेको थियो, त्यस दिशामा प्रयास पनि नगरेको होइन तर परिस्थितिवश, विभिन्न अड्चन आइलाग्दा उ सफल हुन सकेन । तर आज महेशको सफलतामा उ आफ्नो तथा आफू जस्ता अरु धेरै उमेर पुगेकाहरुको प्रयास सफल भएको अनि युगलाई त्यसको जिउँदो प्रमाण पेस गरेको अनुभव गर्छ ।

यसै बीच महेशले यो नोकरी नगर्ने सिद्धान्त लिएको खबर आउँछ । उ आफ्नो वर्तमान पेशामा खुसी छ अरे ! उसले आफ्नो योग्यता प्रमाणित गर्नु थियो गरे । आउने समयमा उ स्वतन्त्र र स्वाभिमानी बनी रहनेछ । 

रजतको बिचारमा, यस कार्यले उनीहरुको पिँढी (जेनेरेसन)ले अबेरै भए पनि सफलताको प्रमाण दिएको छ अनि सामूहिक रुपमा आफ्नो योग्यता प्रतिपन्न गरेकोछ ।


...साथ सहयोगको खाँचो

Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

सुखानुभूति

-सूरज गजुरेल
तेलियागाउँ, तेजपुर (असम) 


कलाक्षेत्रमा नाटक हेर्न पस्दाको निर्मल आकाश बाहिर निस्किदा कालो बादलले ढाकिसकेको रहेछ । राती नौ बजेको समय, तर निरोधार झरीले गर्दा मध्यरातको झैं लागि रहेको थियो । मानिसहरू झरीले गर्दा आ–आफ्नो गाडीसम्म पनि जान नसकेर अडिटोरियमको बाहिर ओत लागि बसेका थिए ।

मनोजको गाडी अडिटोरियमको नजिक पार्किङ्ग भएको हुनाले, उ कुदेर गई गाडीभित्र पसे अनि गाडी चालु गरी जान लागेको बेला, उसको मनमा एउटा भावना प्रवल भइ आइदियो ।

उस्ले गाडी बन्द गरी, गाडीमा रहेको छाता उघारी बाहिर निस्कियो अनि एक एक जना गरी त्यहाँ ओत लागि बसिरहेका सबैलाई छाता ओडाएर आफ्नो गाडीसम्म पु¥याई दियो । सबैले उ प्रति हृदयदेखि आभार प्रकट गरे, मनोज पनि मनदेखि आनन्दित भयो ।

एक एक गरी सबै त्यहाँबाट गइसकेपछि, एकोहोरो झरी माझ मनोज एक्लै थियो तर उस्लाई भने धेरै आफन्तहरूको माझ भएझैं लागिरहेको थियो अनुभूतिमा ।

अन्तमा, मनोज पनि गाडी लिएर घरतिर लागे । झरी, चट्याङ्ग बीच एक्लै सुनसान सडकमा आनन्द मनले गाडी चलाई गीत गुनगुनाउँदै खुसीका साथ आफ्नो गन्तव्यतिर अघि बढी गइरहेको थियो । आज उसको मनमा अपार खुसी थियो, केही राम्रो र केही सहयोग गरेको खुसी मनले मनदेखि पाएको स्यावासी, परम शान्ति अव्यक्त सुखानुभूति.....

Sunday, November 19, 2023

लघुकथा (अङ्क ५ मा प्रकाशित)

यथार्थ

-सूरज गजुरेल
तेलियागाउँ तेजपुर (असम) 


'जुन दिनदेखि आँखाका नदेख्नेले देख्न थाल्छ नि, सर्वप्रथम उसले फ्याँकि पठाउने जिनिस भनेको नै उसलाई अप्ठेरो दिनमा साथ दिएको उसको चिरपरिचित लौरो हो ।’

 – ‘किन त्यसो भन्नु भएको ? यस्ता निराशाजनक कुरा सुहाएन हई तपाईं जस्तोको मुखमा ।’
 – ‘कहिले नसुहाउने, अहिले सुहाउने भयो । समयचक्र कहिले माथि, कहिले तल ।’

 – ‘हैन, के भयो आज ।’
 – ‘आज ममा बितेको, भोलि कसैकोमा बित्ला । कुनै दिन तिमीमै बित्ला । यो समयचक्रको चाल बडा कठोर छ अनि अवश्यमभावी पनि ।’
 – ‘खै‘ मैले केही बुझ्न सकिन !’

 – ‘आफूलाई परे पछि सबैले बुझ्ने कुरो हो । अँ, नपरुञ्जेल बुझ्ने बिरलै होलान् ।’
 – ‘कस्तो कुरो घुमाएर बोल्नु हुँदैछ !’
 – ‘यो कुरो मात्रै किन, समस्या नै घुमौरो छ, जटिल छ ।’

 – ‘छोरा बुहारी उच्च शिक्षित, विदेशमा नाम कमाई बसेका ठूला मानिस, छोरी ज्वाई पनि देशभित्रै उच्च पदमा आसिन । नातिनातिना खाईलाग्दा होनहार विद्यार्थी । तपाईं पनि अवकाश प्राप्त सरकारी अधिकारी, चुस्त–तन्दुरुस्त काया । फेरि पनि के को निराशाका कुरा ?’
 – ‘सबै साँचो र सत्य हो तर यो त बाहिरी दुनियाँ न हो, मन बाहिरको संसार । अरुलाई के थाहा मनभित्रको दुनियाँ कस्तो छ, मनको संसारमा के चल्दै छ ?’

 – ‘त्यो त मनको मालिकले नै जान्ला !’
 – ‘हो त्यही सत्यनै यत्रोबेरदेखि सुनाइरहेको छु । यो मेरो मात्रै कथा होइन, सबैको हो परिवेश परिस्थिति अनुसार स्थानकालको भेदले बेग्लै अलग्गै देखिने ।’

 – ‘ओहो ! साह्रै जटिल र मार्मिक समस्याको उठान गर्नुभयो त ।’
 – ‘हो तर आदिकालदेखि भइ आएको आफैले नभोगुञ्जेल बुझ्न नसकिने ।’
एक वृद्धको र एक अधबैसें तन्नेरीको बीचमा वार्तालाप चलिनै रहेको थियो । धेरै सुख–दुःखका तानावाना बुनिए होला । वृद्धले पनि आफ्ना मनभित्रका अटाई नअटाई गुम्सेका दुखेसो पोखे होला । तर मलाई हतार हुनाले सरक्क तेहाबाट हिडि पन्सिए ।’

अनि तपाईंहरूको मनमस्तिष्कमा यतिखेर चलिरहेको भावतरङ्गजस्तै ति वृद्धका विदेश बस्ने उच्च ओहोदाका छोरा बुहारी, राम्रो घरवार गरी बसेका छोरी ज्वाई अनि वरिपरिको समाज र तिहा बस्ने हामीजस्तै मान्छेहरूको धेरै कुरा, विम्व, प्रतिविम्वहरूले मेरो मनमस्तिकमा पनि हलचल मचाउँदै घर गरी बसे ।