**********************
साहित्यकार श्रीप्रसाद पोखरेलको जन्म इटहरीमा वि.सं. २०१६ श्रावण १२ मा भएको हो । इटहरीमै बाल्यकाल बिताउनु भएका उहाँले अध्ययन र राजनीतिक कामको सिलसिलामा २०३८ सालदेखि ०५२ साल श्रावणसम्म काठमाडौंमा बिताउनु भएको छ । वि.सं. २०५२ देखि जन्मस्थान इटहरी बस्नुहुन्छ । अध्ययनको प्रसङ्गमा कुरा गर्दा उहाँले जनता माध्यमिक विद्यालय, इटहरी, महेन्द्र बहुमुखी क्याम्पस, बिराटनगर हुँदै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकसम्मको योग्यता हासिल गर्नु भएको छ । मासिक साहित्यिक पत्रिका सङ्गम अभियानमा 'क्षमता’ शीर्षकको लघुकथा प्रकाशित गरेर साहित्यमा प्रवेश गर्नु भएको उहाँको लघुकथा सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ । लघुकथा संसारका अन्तर्वार्ता स्तम्भकार गोमविक्रमले लघुकथाको विषयमा केन्द्रित रही उहाँसँग गर्नु भएको कुराकानीको सार यसप्रकार रहेको छ :
**********************
गोमविक्रम : लघुकथा कस्तो विधा हो जस्तो लाग्छ ?
श्रीप्रसाद : लघुकथालाई बुझ्न हिजोआज गाह्रो हुन थालेको छ । अग्रज लघुकथाकारहरूले लेखिएका लघुकथालाई हेर्ने हो भने ती कथाहरू 'छोटा कथा’ जस्ता लाग्दछन् । हाल आएर लेखिएका केही लघुकथा 'मुक्तक’ जस्ता पनि छन् । लघुकथालाई विषय बनाएर यसैमा अनुसन्धान गर्ने र शोधपत्र तयार गर्ने विद्धानहरूले लघुकथाका केही मानकहरू बताउनुहुन्छ ।
कथा, उपन्यासभन्दा फरक स्वाद भएको सबै स्वादले पूर्ण भएको थोरै समयमा पढेर ज्ञान र मनोरञ्जन प्राप्त गर्न सकिने आख्यान विधा नै लघुकथा हो ।
"मलाई यस्तो लाग्छ, आकर्षक तर सानो फूलबारी, लिपपोत गरिएको सफा आँगन भएको चिटिक्क परेको सानो घर हो जुन घर हेर्दा शरीरका सबै अङ्गहरू उत्तेजित हुन्छन् । अझ अर्को शब्दमा भन्दा लघुकथा चौतारामा बसेकी सोह्र वर्षे सुन्दर युवती हुन् उनलाई हेर्न मानिसहरू पटक पटक त्यो बाटो निहुँ बनाएर हिँड्ने गर्छन् ।"
गोमविक्रम : उत्कृष्ट लघुकथा हुन के-कस्ता गुणहरू हुनुपर्ला ?
श्रीप्रसाद : मेरो विचारमा लघुकथा उत्कृष्ट हुनलाई केही फरक स्वाद हुन आवश्यक छ । जस्तै- कथाको सुरुवात कौतूहलपूर्ण हुनुपर्छ । कथाको विस्तार सिलसिलेवार हुनुपर्छ । चाखिलो तर छोटो सम्वाद र कथासार सहितको चोटिलो अन्त्य भएको हुनुपर्छ । बिम्बको प्रयोग, व्यङ्ग्य मिश्रित, सलल बगेको, साधारण पाठकले पनि बुझ्नसक्ने, झर्रो शब्दहरूको प्रयोग आदि भए लघुकथा अझ उत्कृष्ट हुन्छ भन्ने मेरो ठम्याइ छ ।

