Sunday, June 30, 2024

कविता संसार मासिक अङ्क ११ (सम्पादकीय)


असार पन्ध्र र धान दिवस


असार महिना भएकोले जताततै हरियाली देखिन्छ । यतिखेर कृषकहरुलाई असार पन्ध्रले छुने गर्दछ । मुठी रोपेर मुरी उमार्ने हुनाले राष्ट्रिय धान दिवस मनाइन्छ । यसरी रोपाइँ गीतले एक आपसमा हातेमालो गरेर मनोरञ्जन लिने गरिन्छ । हाम्रा लोकगीत र भाकाहरुको संरक्षणसमेत यसबाट हुने गरेको छ । यो नै खेतीपातीको हाम्रो पहिचान हो ।

झमझम पानी पर्‍यो असारको रात, पारीबाट बज्न थाल्यो मकैको पात... राष्ट्रकवि माधव घिमिरेको यो प्रसिद्ध गीत हो । जुन गीतमा मास्टर रत्नदास प्रकाशले स्वर भरेका छन् । यसले हाम्रो कृषिकर्मको झझल्को दिन्छ । यतिखेर हिलोपानीसित लडीबुडी गर्ने बेला पनि हो । धान कसरी रोपिन्छ र सोको लागि के कस्तो तयारी गरिन्छ ? यी सबै हेर्न अब दुलर्भजस्तै भइसकेको छ । एक त जग्गाजमिनको कमी हुँदै गएरहेको छ भने अर्कोतिर खेतालाको अभाव देखिन्छ । समयमा वर्षात् नहुँदा थप मारमा पर्ने हुन्छ । मलपनि समयमा उपलब्ध हुँदैन । यी यावत झन्झटले गर्दा यसमा कमी आएको हुन सक्दछ । चामल कहाँबाट आउँछ भनेर सोधेमा बोराबाट भनेर अचेलका बच्चाहरुले जवाफ दिने गर्छन् ।

हरेक असार २९ गते भानु जयन्ती मनाइन्छ । पहिले घर घरमा भानुभक्तीय रामायण पाठ गरिन्थ्यो । त्यतिखेर यसको लोकप्रियता निकै थियो । आदिकवि भानुभक्त आचार्य काठमाडौँ आउँदा सर्वप्रथम बालाजुको वणर्न गरेका थिए ।

अन्त्यमा, कविता संसारले यात्रा सुरु गरेको वर्ष दिन पुग्दैछ । यहाँसम्म पुग्नुमा सर्जक तथा साहित्यप्रेमीहरुको साथसहयोगले भरपुर भरथेग गरेको स्वीकार्दछौँ । यसरी सदासर्वदा यस्तै सद्भाव पाइरहने हामीले विश्वास गरेका छौं ।

अङ्क ११ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment