Showing posts with label कोषबल्लभ रेग्मी. Show all posts
Showing posts with label कोषबल्लभ रेग्मी. Show all posts

Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

खेल

-कोषवल्लभ रेग्मी
देउमाई न पा ७ इलाम  


स्वतन्त्रताले अनुसासन, प्रशासन फितलो बन्छ र शिक्षाको गुणस्तर घट्छ भन्ने मेरो ठम्याई थियो । प्र.अ. बनेपछि मैले यो विषयलाई जोड दिएँ । तर मेरो यो कार्यले गर्दा स्टाफ र विद्यार्थीहरु सन्तुष्ट थिएनन् । उनीहरू मेरो विरुद्धमा प्रत्यक्ष वा परोक्ष रुपमा विरोध जनाउने गर्थे भने केही अभिभावकहरु- "बल्ल यो स्कुलले हेडसर पायो !" भन्दै मेरो तारिफ गर्ने गर्थे ।

शिक्षकले आफ्ना बच्चालाई सरकारी स्कुलमा नै पढाउनु पर्छ भन्ने मेरो मान्यता भएकाले छ वर्षे छोरालाई आफ्नै स्कुलमा भर्ना गराएँ ।

छोरोले कसैलाई टेरेन । उदण्ड भयो । कक्षामा बस्न मान्दैन्थ्यो । छ महिनामा पनि 'क' चिनेन । लौराको सुम्ला कति पायो पायो । स्कुल आउन छाडेर लुक्दै जङ्गल पस्थ्यो ।

आठ फेल भएको एक युवक घरमा कामदार थियो । यो सब देखेर उसले मलाई भन्यो -"म तपाईंको छोरालाई पढाउन सक्छु । पत्याउनु हुन्छ?"
"कस्ता कस्ताले नसकेको तिमी जस्ताले... !"  मैले छेड हाने ।

"एकचोटी प्रयास गर्न दिनु त !" -उसले आङ् कन्याउँदै भन्यो ।

"बाबुु यता आउ त खेल्न !" -ऊ खेल्न भन्नासाथ रमाउँदै युवकको पछि लाग्यो ।

त्यो कामदारले धुलोमा धर्सा तान्ने र गोला पार्ने खेल सिकायो ।
"यो के भयो काका ?" -छोरोले सोध्यो ।

ढाप मार्दै त्यो कामदारले भन्यो - "स्यावास बाबुले आज 'क' बनायौ । भोलि 'ख' बनाउने खेल खेल्ने है ।"

यो देखेर मलाई लाग्यो -  "म कोक्रोमै रहेछु ।"


Thursday, January 4, 2024

अन्तर्वार्ता (अङ्क ८ मा प्रकाशित)

*********************************** 
इलामको देउमाइ नगरपालिका–  ७ सिद्धि थुम्कामा वि.सं. २०२१ साउन २१ गते साहित्यकार कोषबल्लभ रेग्मीको जन्म भएको हो ।

लघुकथा, कविता र गजलको साधनामा रम्ने रेग्मीको लघुकथामा विशेष रुची र दखल रहेको पाइन्छ । उहाँको प्रथम प्रकाशित रचना भने चियाबारी दैनिकमा ‘श्राद्ध‘ लघुकथा हो । त्यसै गरी विभिन्न समयमा सम्पादित र सङ्कलित भएर प्रकाशित भएका लघुकथा सङ्ग्रहहरू जस्तै ः लघुकथाको सुगन्ध (तीनवटै अङ्कमा), लघुकथाको सुगन्ध स्मारिकामा समावेश लघुकथाहरू, मदुस लघुकथा सङ्ग्रह, हाम्रो लघुकथा पाठशाला तथा सौन्दर्यमा आमा सङ्ग्रह तथा अन्य विभिन्न पत्रपत्रिकामा प्रकाशित थुप्रै लघुकथा, कविता र गजलहरू प्रकाशित भएका छन् । उहाँको लघुकथा पाठ्यपुस्तकमा समेत समावेश भएर आएको देखिन्छ । 

आजको बसाइमा यस स्तम्भका स्तम्भकार गोमविक्रमले लघुकथामा केन्द्रित भएर गर्नु भएको कुराकानी यसप्रकार रहेको छ ।

                                                                                      ***********************************