Friday, June 7, 2024

प्रमोद स्नेहीका दुई कविता


बुद्ध  र  सिटामोल 


पाठशाला भत्किएर 
अक्षरहरू निभेको गाउँ बस्तीहरूमा
एक अञ्जुली उज्यालो मागीरहेछन
बुद्धहरु 
पुल नभएर नदीहरूमा हरेक वर्ष 
पानीमा जिन्दगानी हराइरहेछन
असंख्य बुद्धहरु  !
समयमा सिटामोल नपाएर मृत्यु बाँचिरहेछन
यत्रतत्र बुद्धहरु !
सधैँ / सधैँ कन्दमूल भ्याकुर र 
खाद्यको कुहिएको चामलको लाइनमा
भोकहरूले आक्रान्त हुँदै  
अघाइरहेछन बुद्धहरु !
काम नपाएर बदनाम भएका 
बौद्धिक बुद्धहरु 
बिस्तारै बिस्तारै पलायन हुँदैछन ।
आन्दोलनमा क्षत / विक्षिप्त अंग प्रत्यङ्ग र शरिरमा अझै
देश जस्तै  घाउ बोकेर छटपटाइरहेछन
घाइते बुद्धहरु !
स्वयम्भू / नमोबुद्ध / बौद्ध बिहार पछाडि धुँवामा 
उमेर र  सपना मस्त उडाइरहेछन
एकहूल किशोर बुद्धहरु !
कुर्सी / राजनीति / भ्रष्टाचारमा निमग्न 
राजनीतिज्ञ बुद्धहरु !
अपहरण / हत्या / लुटपाट र बलात्कारमा
ब्यस्त छन
दिग्भ्रमित बुद्धहरु !
यसरी असंख्य / असंख्य बुद्धहरु छन
मेरो यो देशमा 
यो असंख्य / असंख्य बुद्धहरुबाट
म एउटा असल मान्छे  खोजीरहेछु ।
मलाई बुद्ध होइन 
मलाई एउटा असल मान्छे चाहिएको  छ
तस्बिर र मूर्तिहरूमा ध्यानमग्न  शान्तिप्रिय
बुद्ध होइन 
यो देश हाक्ने 
यो  देशको इज्जत राख्ने 
यो असंख्य / असंख्य बुद्धहरुको भीडबाट 
एउटा निस्वार्थ सोच भएको मान्छे खोजीरहेछु
एउटा नयाँ खोज भएको मान्छे खोजीरहेछु ।

**********************
अँध्यारोको  दस्तखत


मलाई अँध्यारोले लखेटिरहेछ
म आँखामा अलिकति उज्यालो बोकेर
दौडिरहेछु अघि अधि
थाहा छैन कुन मोडमा निभ्ने हो
उज्यालो 
र  अँध्यारोसँग हुने हो दस्तखत
बुढो पिपलको रूखको जरा जस्तै 
अँध्यारो फैलिरहेछ जता त्यतै
पखाला लागेर सुस्त भएको  
बालक जस्तै छ
संभावनाका शिखरहरू
अँध्यारो यो इनारमा हाम्फालेर 
उज्यालो 
आत्महत्या गरिरहेछ ।
शोकमा डुबेका छ ।
शोकमा दुखेका छ ।
चिसा परेलाहरूबाट सपनाको 
परेवा उडाएर 
मेरो शिरबाट सर्दै गएको उज्यालोले
मलाई जबरजस्ती अँध्यारो गुफामा
धकेलिरहेछ क्रमशः 
चुपचाप चुपचाप ओठहरूबाट
आवाज हराएको साँझ 
हत्केलाबाट एक थुङ्गा सयपत्री 
खसेको बेला
मलाई आफ्नै छायाँले कठ्घरामा
उभ्याएको बखत
समयको अँध्यारो संघारमा  
अलिकति आँखाको अन्तरमा घुर्मौलो
उज्यालोको लक्ष्मणरेखा कोरेर
उभिएका छौ
मलाई अँध्यारोमा हराउन देऊ
मलाई काँडा जस्तै बिझाउने
उज्यालोको भ्रममा
बग्नु छैन नदी जस्तै   !
            

-वर्तमान वस्ती पुतलीसडक 
सम्पर्क सूत्रः  9841386562

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com

No comments:

Post a Comment