Showing posts with label ‍नवशिला. Show all posts
Showing posts with label ‍नवशिला. Show all posts

Tuesday, January 20, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


यी सबै दलालीहरू हुन् । यिनीहरूले दलाल गरेर सबै कुरा बिगारे । देश बिगारे नियम बिगारे । सबै बिगारे । यस्तो दलालीहरूलाई यहाँ बस्ने एकछिन पनि हक छैन । यिनीहरूले देश जनता केही भनेनन् सबै आफ्नै मनोमानी गरे । यिनीहरूलाई देश निकाला गर्नुपर्छ ।’’ कालुराम चिया पसलमा गफ लगाउँदै निक्कै कड्किए ।

उमेरले ७५ टेकेका कालुराम पञ्चायती कालका प्रधानपञ्च हुन् । उनलाई अहिले पनि कालुराम साहु अथवा पञ्चे भनेर मान्छेहरूले चिन्छन् । उनी गणतन्त्र आइसकेपछि पनि हरेकपटक चुनावमा उठे तर हरेकपटक हार मात्र व्यहोरे ।

उनी चिया पसलमा बसेर हरेक दिनजसो यसरी नै अहिलेका राज्य सत्ता चलाउनेहरू माथि खैरो खनिरहन्छन् ।

“बरु हाम्रै पालामा सबै कुरा ठिक थियो । कम्तीमा मान्छे डराउँथे । नियम कानुन प्रहरी प्रशासन र अदालतको त कम्तीमा डर थियो अहिले त केहीको डर छैन । सबै मै हुँ भन्छन् । सबै राजा बन्न खोज्छन् ।’’

चिया पसलमा युवादेखि अहिलेका स्थानीय जनप्रतिनिधिहरूसम्म बसेर चिया पिउँथे र उनका कुरा सुनेर हाँस्ने अथवा उडाउने गर्थे ।

उनी भन्ने गर्थे हेर एकपटक यस्तो समय आउँछ सबै उथलपुथल हुन्छ अहिलेका यी भ्रष्टाचारीहरू भागाभाग हुनुपर्छ । युवाहरूले अहिलेका यी भ्रष्टहरूलाई लखेट्छन् । उनका कुरा सुनेर धेरैजसोले ओठ लेर्प्याउने गर्थे ।

एकाएक युवाहरूले हुरी र चट्याङ जस्तै आन्दोलन गरे । सत्ता र शक्तिको आडमा बसेर देश सक्ने भ्रष्टाचारीहरूको भागाभाग भयो । केही दिन देश ठप्प भयो धेरै युवाहरूले सहादत प्राप्त गरे पनि युवाहरूले चाहेको सरकार बन्यो । असल र विद्वान् व्यक्तिहरू मिलेर सत्ता सम्हाले । अमन चयन र कानुनी राज सुरु भयो ।

ठप्प पछाडि फेरि चिया पसल खुल्यो । कालुराम भनिरहेका थिए “देख्नुभो नि यो कलियुग हो । आफूले कसैले पनि पाप दम्भ र मनोमानी गर्छ भने त्यसको परिणाम तुरुन्तै देखिन्छ ।’’ चिया पसलका चिया खान आएका सबैले यसपटक ओठ लेर्प्याएनन् बरु ताली बजाए ।

- बेलबारी – २, नवदेव मार्ग, लालभित्ती, मोरङ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, April 17, 2025

समाचार


मोरङका लेखक तथा स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को दोस्रो एकल कृति ‘शिलाजित’ मुक्तकसङ्ग्रहको लोकपर्ण भएको छ । हामी र हाम्रो कृति समाजको आयोजनमा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा उक्त कृतिको लोकार्पण गरिएको हो । 

वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले एक विशेष कार्यक्रमका बिच कृतिको लोकार्पण गरे । कृतिको लोकार्पण गर्दै कविताको उपविधाका रूपमा रहेको यो विधा निक्कै फस्टाएको पनि बताए । मुक्तकको आफ्नै मूल्य र मान्यता भएको बताउँदै चार लाइनमा लेखेका सबै रचना मुक्तक बन्न नसक्ने बताउँदै मुक्तककार शिलाजितले मुक्तकको धर्मलाई निर्वाह गरेको बताए । 


Sunday, March 2, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)

 

मङ्सिर महिनाको चिसो भएपनि बिर्ख बहादुर बिहानै उठेर सधैँ झैँ अटो (तिन पाङ्ग्रे रिक्सा) लिएर चोकमा गयो । बिवाह हुने महिना भएकोले उसको अटोमा चढ्ने यात्रुहरू त्यसदिन निक्कै थिए । दिनभर अटो दौडाउदा दौडाउदा थकित भएको बिर्ख आज बेलुकी पाँच बजे तिरै घर आयो । आज छिट्टै घर आएको देखेर बिर्खकि श्रीमतीले भनिन् – “के भो बुढा सन्चो भएन कि क्या हो? आज त छिट्टै आउनु भो त?’’

बिर्खले बरण्डामा थकाई मार्दै बोल्यो – “हैन हौ सीता ! आज त दिनभर अटो भरिभराउ भयो । सधैँको भन्दा राम्रो कमाई भै गो त्यहि भएर चाँडै आएको हौ । मलाई त आज निक्कै थकाई पो लाग्यो…. लु त्यो गाडी सरसफाई गरेर पाल ओढाइदेउ है ! म एकछिन आराम गर्छु ।’’

एकैछिन पछि बिर्खकि श्रीमती आत्तिदै आएर बोली – “हैन ए बुढा कसको सामान ल्याएर आयौ यो झोलामा त गहना कपडा पैसा पो छ त !’’

बिर्ख जुरुक्क उठ्यो र श्रीमतीको हातको झोला हेर्‍यो ।
“लौ कहाँ थियो नि यो झोला?’’ – बिर्खले सोध्यो ।
“त्यो पछाडी पट्टि डिकिमा र’छ नि कसको होला नि यत्रो?’’ – सीता बोली ।

हो त बिचरा कसको होला… आज त धेरै मान्छे पो बोकियो कसको होला त यो त पक्कै बिहेमा हिंडेका मान्छेको हो । लौ हिड पुलिस चौकीमा बुझाउनु पर्छ । कठै ! बिचरा कति रोईरा’का होलान् ।

दुबै बुढाबुढी हतारिदै पुलिस चौकी पुगे । एकहूल मान्छे थिए केही महिला र केटाकेटी रुँदै थिए ।
बिर्ख र सीता त्यो झोला बोकेर चौकी भित्र पस्दा पस्दै कसैले आवाज दियो – “उ.. उ.. झोला भेटियो !’’
त्यो हूलबाट दुईजना महिला दौड्दै आएर रुँदै भने – कहाँ भेट्नु भो ?

बिर्ख र सीता सबै कुरा बताएपछि इन्स्पेक्टर सापले भने – “देख्नु भो नि सत्यको धन भेटिन्छ । मान्छेमा इमान्दारिता, नैतिकता त मानवता अझैँ मरेको छैन !’’

ति झोला कि धनी महिलाले पाँच हजार रूपैयाँ दिदै भनिन् – “हजुरहरूलाई धन्यवाद छ… हजुरहरू महान हुनुहुन्छ यो पैसा मलाई धेरै भएर दिएकि हैन… तपाईंहरूको मानवतालाई सम्मान गरेकि हुँ !’’

एकछिन अघिको त्यहाँको कोलाहल खुसीमा परिणत भो ।

- नवदेव मार्ग, बेलबारी, लालभित्ती, मोरङ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

मन्त्री

- नवशिला 
बेलबारी –२, नवदेव मार्ग, लालभित्ती, मोरङ   


सार्क देशका अर्थमन्त्रीहरूको भेला थियो । प्रायः सबैजसो देशका मन्त्रीहरूले निक्कै मिठो र अर्थपूर्ण विचारहरू प्रस्तुत गरे, धेरैजसो व्यक्तिहरूले आफ्नै राष्ट्रिय भाषालाई प्राथमिकता दिए र आफ्नै भाषामा बिचार प्रस्तुत गरे ।

हाम्रो अर्थमन्त्रीज्यूले आफ्नो पालो आएपछि सेतापानामा लेखिएका ठूला ठूला अङ्ग्रेजी अक्षर कनिकनि पढ्नु भो ।

'केएनओडब्लु'लाई ’कोनो’ भन्नु भो, 'एफयुटियुआरई’लाई ’फुटुरे’ भन्नु भो ।

घरिघरि अक्कमकिनु भो, बेलाबेला भकभकाउनु भो । कार्यक्रम सकिएपछि खानपिनको माहोल चल्यो ।

एकाआपसमा कुराकानी सुरु भो । हाम्रा अर्थमन्त्रीज्यू ङिच्चङिच्च गर्दै सबैको टेबुलमा पुग्नु भो । टेबुलमा कुराकानी भइरहेको थियो ।

– यी नेपालका मन्त्रीले केमा विज्ञता हासिल गरेर अर्थमन्त्री भएका रहेछन्‌?

– अनि यिनको पढाई चाहिँ कति रहेछ नि अङ्ग्रेजी पनि बोल्दैथे?

– अनि आफ्नै भाषा चाहिँ यिनलाई मन पर्दैन रहेछ कि क्या हो?

– खासै काम गर्ने जस्तो त लागेन कसरी मन्त्री भएछन्‌? …..आदि आदि ।

…………………………………..

यसै बिचमा एकजना नेपाल बसेका सार्क देशका कुटनीतिज्ञ यी सब प्रश्नको जवाफ फर्काउँदै थिए ।

– भ्रष्टाचारमा विज्ञता ।

– आठ कक्षा पास ।

– न आफ्नो भाषाको सम्मान गर्छन् न अर्काको भाषा नै जान्दछन् ।

– अहिलेका प्रधानमन्त्रीका खल्तीका मान्छे । …..आदि आदि ।

---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, November 9, 2024

लघुकथा (अङ्क १७ मा प्रकाशित)

असल दुलही

- नवशिला
नवदेव मार्ग, बेलबारी, लालभित्ती, मोरङ 


घाम चर्को लागेको थियो । नरमाया खुई®य गर्दै सयलमा बसिन् । उनको पोल्टाको फोन बज्यो । उनले फोन उठाइन, श्रीमान्को रहेछ । 

उताबाट आवाज आयो - “के छ नरमाया घर तिरको खबर ? खेत रोपाई सकियो?’’

नरमाया बोलिन् - सकियो बुढा भर्खर खेताला बिदा गरेँ, म चाहिँ थुनथान गरेर अब फर्कन आँटेकी, घाम पनि कस्तो चर्केको, आगै बल्ला जस्तो ।’’

उनीहरुको भलाकुसारी भयो । हाल खबर सन्चो बिसन्चो सोधखोज भो ।

उताबाट श्रीमान् बोले - “के गर्छौ नरमाया आफू विदेश छु, खेती गर्न मान्छे नि पाइन्न तिमीलाई दुःख भो ।

छोराछोरीलाई नि स्कुल टाढा बर्खाको बेला बाढी पहिरोको डर । 

अर्को साल त म फर्केर आउँछु तल नुनफोक तिर यसो एउटा कटेरो हालेर तिमीहरुलाई त्यतै सार्छु ।’’

नरमायाले आखाभरि आँसु पारिन् र बोलिन् - “खै बुढा दुखिया कर्म जे गरे नि हामीलाई त दुःखले नछोड्ने भो?’’

नरमायाको कुरा सुनेर श्रीमान बोले- “चिन्ता नगर न बुढी तिमी असल छौ, घर खेत गरेर छोराछोरी सिहारेर, बा आमा हेरेर गाउँमै बसेकी छौ र त केही जोरजाम गर्न पाइएको छ नि । 

मैले कमाएर पठाएको अरुका स्वास्नी जस्तो मासेर हिँडेकी छैनौ । तिमी जस्ती जीवनसाथी पाउनु मेरो अहोभाग्य हो ।’’

श्रीमान्को कुरा सुनेर उनी निक्कै खुसी भइन् । उनी कुराकानी सकेर घर तिर लागिन् । घरमा सासु ससुरा कुरा गरिरहेका थिए ।

“खै यस्तो चर्को घाम छ, नरमाया आई पुगिन्, तिर्खा लाग्यो होला ।’’

“त्यहि त धेरै काम नगर, आधी खेत अधियाँ गर्नेलाई दे भनेको नि मान्दिन ।’’

“हो नि रामकी आमा ! साह्रै असल बुहारी पाइएको छ, नरिसाउने... नझर्कने ! साँच्चै स्वर्ग नै बनाएकी छे यो घरलाई’’

नरमाया सासुससुराको अगाडि पुगी ।

सासु आमा उठेर घरभित्र पस्दै बोलिन् - “ए ! दुलही आइपुगी छ.... एकछिन शितलमा बस नानी म चिसो पानी लिएर आउँछु ।’’

नरमाया मुसुक्क हाँस्दै सुकुलमा बसिन् ।


..‍.साथ सहयोगको खाँचो

Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

आशिर्वाद

नवशिला
नवदेव मार्ग, नेलबारी लालभित्ती, मोरङ  



एसईई परीक्षा सुरुहुने पहिलो बिहान सुरेस र सबै साथीहरु विद्यालयको चौरमा भेला भए । परीक्षा आठ बजेबाट सुरु हुने थियो । सुरेसको परीक्षा केन्द्र नजिकैको विद्यालयमा परेको थियो । सबै साथीहरु परीक्षा केन्द्रै जानुपूर्व विद्यालयको प्राङ्गणमा भएको सरस्वतीको मन्दिरमा गएर प्रार्थाना गरे टीका लगाए र स्कुलको बसमा चढ्न थाले । सुरेस भने दौडिएर प्रधानाध्यपकको कार्यालय कक्षतिर गयो र ढोकाबाट हेडसरलाई सम्बोधन गर्दै बोल्यो - “मे आई कम ईन सर?“

प्रधानाध्यापकले सुरेसलाई यसरी दौड्दैं आएको हस्याङफस्याङ अवस्थामा देखेर बोले - कम ईन सुरेस.... किन यता आएको परीक्षा दिन जान ढिला हुन्छ नि फेरि के भयो?’’

सुरेसले हँसिलो चेहरा बनाउँदै बोल्यो - “आज हाम्रो एसईई परीक्षा सुरुहुने पहिलो दिन हो  सर ! हजुरहरुले खुब मेहनत गरेर हामीलाई पढाउनु भो सिकाउनु भो... म तपाईंको चरण छुन र आशिर्वाद लिन आएको हुँ सर ! हजुरनै हाम्रो सरस्वती माताको हो हाम्रो विद्याको मन्दिर हो मलाई आशिर्वाद दिनुस् ताकि आज राम्रो उत्तर लेख्नसकूँ ।’’

सुरेसको कुरा सुनेर हेडसर निक्कै खुसी हुनु भो र उसलाई अगालो मारेर शिरमाथि हात राख्दै आशिर्वाद दिनुभो ।

सुरेस दौडेर बस भएतिर लाग्यो... हेडसर भने सुरेसलाई हेरेर मुस्कुराई रहनुभयो ।


....साथ सहयोगको खाँचो

Friday, April 19, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

 हैसियत

-नवशिला
नवदेव मार्ग, नेलबारी लालभित्ती, मोरङ  


सरिताले विवाह गरेपछि छरछिमेकमा निक्कै चर्चा चल्न थाल्यो । एउटी पढालेखा सरकारी जागिर त्यो पनि अधिकृत स्तरको यस्ती कन्याले जागिरसम्म नभएको केटो त्यो पनि ट्याक्सी ड्राइभरसँग विवाह गरेपछि चर्चा चल्नु पनि सामाजिकरुपमा स्वभाविकनै थियो । सरिता अन्मेर गएपछि उनको माइतिघरमा छरछिमेकीले चिया पसलदेखि रासन पसलसम्म यहि चर्चा चलाएका थिए ।

“हेर हेर त्यत्रो पढेलेखेकी केटी गाडी चलाउने ड्राइभरसँग बिहे गरेर गई ।’’

“अनि दाजु र बाबुआमा पनि कस्ता यसो कुल घराना हेरेर अमेरिका अष्ट्रेलियातिर बस्ने केटो खोजेर बिहे नगर्दे र ।’’

“खै ! सँगै पढ्ने केटो अरे काठमाडौंँमा... त्यो ट्याक्सी पनि यसैले पो किन्देकी अरे त ।’’

“अब उ हाकिम भईहाली यसो घरमा भाडा माझ्ने अनि अफिस पुर्‍याउने ड्राइभर बनाएकी होली नि !’’

कसैकसैले त सरिताको आमाको यसरी कान फुक्न पनि भ्याएका थिए - हैन हौ तपाईंकी छोरी के भा’कि यत्रो पढेर ड्राइभरसँग विवाह गरी ।  त्यो पनि काठमाडौँमा कोठामा बस्छ रे ! उता बाउपनि सानैमा मरेको पहाडतिर आमा पनि अरुको खेती गरेर बस्छिन् रे ! कस्तो गति छाडेको हौ । यसो बिहे गर्दा त आफ्नो हैसियत औकात मिल्नेसँग पो गर्नु त ।’’

तर यसबारेमा न त सरितालाई चासो थियो न त सरिताको आमाबाबा र दाईलाईनै । सरिता केही दिनपछि आफ्नो श्रीमानको ट्याक्सीमानै माईत आई । उसले केही छिमेकीहरुबाट आफ्नो बारेमा चर्चा चलेको थाहापाई र उसले त्यहाँका आमा दिदीबहिनी समूहसँग छलफल गर्ने निधो गरी । 

Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

सासु बुहारी

-नवशिला
नवदेव मार्ग, नेलबारी लालभित्ती, मोरङ 


नमस्कार बविता जी ! के गर्दै हुनुहुन्छ हौ बिहानै?’’ - मैले छत माथिबाटै छिमेकी बविताजीलाई प्रश्न गरे ।

के गर्नु र सर ! यसो मेसिनबाट लुगा झिकेर सुकाउँ भनेको अब त बुढेसकाल लागेछ काम गर्न पनि पो गाह्रो हुन थाल्यो । -बविताले जवाफ दिइन् ।

“हुन त हो क्यारे ! अब पचास टेकेपछि त रोगले पनि च्याप्ने त्यसै त्यसै बुढ्यौली लागे जस्तो पो हुने र छ ।’’ -मैले थपेँ ।

“के गर्ने नविनजी तपाईं कि त छोरी छन् यसो आमालाई कामकाज सघाएको देख्छु । आफ्ना त छोराहरु वरको सिन्को पर सार्दैनन् अफिस जाने बेलासम्म सुत्छन् । सर, पनि बिहानदेखि बेलुकीसम्म व्यस्त बन्नुहुन्छ मलाईनै पो हैरान छ । झन् रिटायर भएपछि त गाह्रो पो हुन थाल्यो अफिस हुदाँ एउटा रुटीन हुन्थ्यो ।’’ -बविताले दुखेसो पोखिन् ।

“अब छोराको बिहे गर्नुपर्‍यो बविताजी अस्ति मोहनजीले पनि केटीको कुरा आ’कोथ्यो भन्दै हुनुहुन्थ्यो । अब उमेर पनि भयो नि ठुलो को त ! जागिर पनि राम्रो छ ।’’ -मैले थपेँ ।

“खै नविनजी बिहे गरेर बुहारी आए पनि छोरी जस्तो हुन्नन् क्यारे ! उहि छोराका धनी हुने त हुन् नि झन् सास्ती पो हुन्छ हामीलाई । अर्काका छोरी आएर के गर्देलान् भनेर आस गर्नु आफ्नै स्याहार गर्दै ठिक्क हुन्छ । त्यही माथि अहिलेका पढेलेखेका जागिरे के को काम गर्छन् र नविनजी ।’’ -बविताले भनिन् ।

“लौ के कुरा गर्नु भा’को बविताजी अहिलेको जमानामा तपाईं हामी जस्ता पढेलेखेका दुनियाँ देखेका मान्छेले पनि यसो सोचेर हुन्छ त? बुहारीलाई पनि त छोरीजस्तै बनाउन सकिन्छ नि !’’ -मैले भने ।

“मैले सकिन्न त कहाँ भनेको हो र नविनजी ! तर हेर्नोस यो सासु बुहारीको जात भनेको जति नै मस्का लगाएपनि पिँध कालो हुने नाता रहेछ । हामी जति जान्ने सुन्ने भएपनि जतिनै समानता र अधिकारका कुरा गरेपनि जति पढालेखा भएपनि एकअर्कामा केही न खोट हुने रहेछ यो नातामा । यही वरिपरि छिमेकमै पनि त देखिएकै छ नि नविनजी सासु बुहारीको कहानी । मलाई त सासु बुहारी भन्ने नाता कहिल्यै नमिल्नु है भनेर भगवान् कै पालामा बनेको नियम हो कि जस्तो लाग्छ ।’’ - म उनको कुरा सुनेर हासेँ ।

“ओहो नविनजी म त तरकारी बसाएर पो आ’को थिएँ लौ डढेको गन्ध आयो लु म त झरे है ।’’ बविताजी हतारिँदै भान्सातिर झरिन् ।