Showing posts with label ध्रुव मधिकर्मी. Show all posts
Showing posts with label ध्रुव मधिकर्मी. Show all posts

Sunday, March 1, 2026

अन्तर्वार्ता (अङ्क ३२ मा प्रकाशित)


 

ध्रुव दाइ, प्रश्नको उठान यसरी गरौं – तपाईंको बाल्यकाल र प्रेरणाको स्रोत बताईदिनु न ?

मेरो बाल्यकाल मध्यम वर्गीय परिवारको अभाव, बन्द समाजको सानो घेरा र क्षितिज टाढा छैन भने अनुभूतिहरूबीच बित्यो । त्यो बेला आकाश पनि सीमित थियो । अहिलेजस्तो संसार व्यापक र बृहत् भन्ने थाहा भएको भए शायद जीवन अझ बढी उपलब्धिमूलक हुने थियो कि भन्ने लाग्छ । तर समयलाई शायद यसरी तुलना गर्नु उचित नहोला । त्यो बेलाको सानो संसार पनि बडो रोमाञ्चक र उल्लेख्य अनुभूतिले युक्त थियो भन्ने अहिले लाग्छ ।

प्रेरणाको स्रोत वास्तवमा त्यो बेलाको समाज र टोल–टोलमा खुलेको पुस्तकालयमा गएर पत्रपत्रिका हेर्ने र उपन्यासहरू ल्याएर पढ्ने अवस्थालाई दिनुपर्छ । भर्खर खुल्न थालेको समाज थियो त्यो बेला । र देशका विभिन्न भागहरूबाट पत्रिका प्रकाशन र लेखकहरू जुरमुराउन थालेको अवस्था थियो । त्यस्तो समाजमा हुर्केकाले लेखनतर्फ प्रवृत्त गरायो भन्ने लाग्छ ।

Monday, November 20, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

 नौलो दृष्टि

-ध्रुव मधिकर्मी
भक्तपुर   



एउटाले अर्कोलाई बहुला भन्यो ।
जवाफमा उसले पनि भन्यो, – तँ लठुवा, तेरो के औकात !
तँ सिल्ली, बोली फेरिरहनेसित के कुरा गरुँ ।
छिः, तँ दलाली गर्नेको के मुख हेरिरहनु !

ती चार पाँच जना थिए । यसरी एकले अर्कोसित मुखातीव हुँदै शब्दप्रहार गरिरहे । एवम्प्रकारले तिनीहरुबीच धारेहात लाउँदै निम्न स्तरको गालीगलौज पनि चल्न थाल्यो । भँडुवा, चोर, डाँका, सन्की, पाजी, विदेशी दलाल, गधा, मूर्ख, पटमूर्ख, बलात्कारी आदि । शब्दकोषमा भएकोभन्दा बढी शब्द तिनीहरु एकले अर्कोलाई क्षेप्यास्त्र सरह प्रयोग गरिरहे ।

तिनीहरुको वाक्युद्ध कुनै महाभारतभन्दा कम थिएन । कतिपय व्यक्ति तिनका अश्लील र असभ्यता देखेर लज्जित हुँदै छेउ लाग्दै थिए । बीच सडकमा जारी वाक्युद्धलाई मान्छेहरु कुनै निःशुल्क मनोरञ्जन सरह तमासा हेर्दै थिए । म पनि तमासेमै थिएँ । तर मलाई अन्त जानु थियो । त्यसैले धेरै वेर बसिनँ । म हिँडेँ ।
साँझ म समाचार संकलनको क्रममा एउटा पाँचतारे होटलमा पुगेँ ।     
दिउँसो सबैका सामु तमासा गर्दै धारेहात लगाउँदै गालीगलौज गरिरहेका बहुला, लठुवा, सिल्ली, दलाल र बलात्कारी जस्ता गालीबाट विभूषित तिनै झगडियाहरुलाई होटलको विशेष हलमा पङ्क्तिबद्ध देखें । त्यहाँ उनीहरु एक शब्द पनि नबोली अनुशासित भएर कुनै अपरिचित व्यक्तिको कुरा बडो मनोयोगले सुन्दै मित्रवत् ढङ्गले भतेर पो गरिरहेका थिए ।

मलाई त्यो नौलो दृश्य समाचार बनाउँ या नबनाउँ दोमन भयो ।

म किन लेख्छु ? (अङ्क ३ मा प्रकाशित)


लेख्नु उतिबेला जतिबेला यसको प्रारम्भ गरेँ, रहर थियो । जिज्ञासा थियो । उत्सुकता थियो । के के न गरेँ वा के के न गर्छु होला जस्तो अज्ञात रहस्य थियो ।

उतिबेला अर्थात् ०३२ । ०३३ सालतिरको कुरा हो । विद्यालय तह सकेर कलेज पस्ने तरखरमा जीवन थियो । एउटा मुक्ति, स्वतन्त्रता र खुल्लापनको आरम्भ चरणमा थिएँ । नत्र दैनिक विद्यालय र पढाइको भार । त्यतिबेला मज्जासित घुमफिर गर्ने, खाने, मनलागी खेल्ने उमेर थियो तर उपलब्ध थिएन ।

विद्यालय तह पार गरेपछि घुमघाम गर्ने, पुस्तकालय चहार्ने, सिनेमा हेर्ने होइन नपाए हलमा पोष्टर मात्र भए पनि हेर्ने रुचि पैदा भयो । पुस्तकालय जाँदा पत्रपत्रिकामा छापिएका फोटाहरु हेर्ने, सिनेमाका कलाकारहरुका बारेमा पढ्ने, कविताकथाहरु पढ्ने, कोठेपद भर्ने, पत्रमित्रता गर्ने आफ्नो पनि नाम छापियोस् भन्ने चाहना गर्ने आदि इत्यादि रहरले लेखनतर्फ डो¥याएको हो । अझ मुख्य कुरा त आफ्नो नाम छापिएको हेर्ने उत्कण्ठाले लेखायो ।
यो उतिबेलाको कथा हो । तर अब त्यो स्थिति रहेन । अब केवल नाम होइन नामलाई एउटा उचाइ दिनु त्यसलाई सार्थक पार्नु महत्वपूर्ण कुरो हो । आफ्नो उपस्थितिको औचित्यका लागि लेख्नु आवश्यक भयो । त्यसैले लेख्छु ।

मलाई आफ्नो समयको परिवेशको कुरा लेख्नु छ । अनुभव र भोगाइको निचोडलाई आफ्नै दृष्टिकोणबाट तर अरुभन्दा फरक भएर लेख्नु छ । मलाई आफ्नो मात्र होइन अरुको कुरा पनि लेख्नु छ । त्यसैले लेख्छु ।
–भक्तपुर