ध्रुव दाइ, प्रश्नको उठान यसरी गरौं – तपाईंको बाल्यकाल र प्रेरणाको स्रोत बताईदिनु न ?
मेरो बाल्यकाल मध्यम वर्गीय परिवारको अभाव, बन्द समाजको सानो घेरा र क्षितिज टाढा छैन भने अनुभूतिहरूबीच बित्यो । त्यो बेला आकाश पनि सीमित थियो । अहिलेजस्तो संसार व्यापक र बृहत् भन्ने थाहा भएको भए शायद जीवन अझ बढी उपलब्धिमूलक हुने थियो कि भन्ने लाग्छ । तर समयलाई शायद यसरी तुलना गर्नु उचित नहोला । त्यो बेलाको सानो संसार पनि बडो रोमाञ्चक र उल्लेख्य अनुभूतिले युक्त थियो भन्ने अहिले लाग्छ ।
प्रेरणाको स्रोत वास्तवमा त्यो बेलाको समाज र टोल–टोलमा खुलेको पुस्तकालयमा गएर पत्रपत्रिका हेर्ने र उपन्यासहरू ल्याएर पढ्ने अवस्थालाई दिनुपर्छ । भर्खर खुल्न थालेको समाज थियो त्यो बेला । र देशका विभिन्न भागहरूबाट पत्रिका प्रकाशन र लेखकहरू जुरमुराउन थालेको अवस्था थियो । त्यस्तो समाजमा हुर्केकाले लेखनतर्फ प्रवृत्त गरायो भन्ने लाग्छ ।

