**********************
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका -६ फापरथुममा माता नन्दकला, पिता पं. आनन्दमणि ढकालको सुपुत्रकारुपमा त्रिलोचन ढकालको जन्म वि.सं. २००६ श्रावण १८ गते भएको हो । फापरथुका उकाली ओराली र भञ्ज्याङ देउरालीमा बाल्यकाल बिताउनु भएका ढकालले त्यही सेरोफेरोकै प्रद्युम्न पनेरु, जनप्रदीप र त्रिशहीद माध्यमिक विद्यालयहरूबाट विद्यालयस्तरको तथा अमृत साइन्स कलेज, पृथ्वीनारायण कलेज, त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा आर्जन गर्नु भएको छ ।
साहित्यकार त्रिलोचन ढकाल खासमा बाल्यकालमा आफ्ना दाजु डिल्लिराज ढकालको प्रभावले साहित्यिक क्षेत्रमा प्रवेश गर्नु भएको हो । तत्पश्चात् घरको नगिचै विकास भइरहेको बजार र उहाँले भारतको ऋषिकेशमा पढेर फर्किँदा ल्याएको पत्रिकाका कविताको लयबाट प्रेरित भएर २०१७ सालमा पहिलो कविता लेख्नु भएको थियो । घरको केही तल सेतीदोभान नामक बजार विस्तारित भइरहेको थियो । त्यसकै बारेमा “मान्छे आउने हजार हजार सेतीदोभान क्या राम्रो बजार” भन्ने कविता लेख्नु भएको थियो । त्यसपछि विभिन्न समयमा कविता, गीत, कथा आदि लेखिकन विभिन्न सभा, समारोहहरूमा सुनाउन थाल्नु भयो । आफ्ना सिर्जनाहरू मञ्चमा प्रस्तुत गरेसँगै प्रकाशित हुन भने उहाँले अलिकति पर्खिनु पर्यो अथवा वि. सं. २०३८ सालमा मात्र उहाँको कविता कास्कीबाट ’नौलो हाँक’ नामक पत्रिका पार्टीको तर्फबाट निकालिएको थियो त्यसमा “एक म मरेर के भो जब लाख व्यूँझिदा छन्, बाटो सही छ हाम्रो जनवाद पक्का ल्याउँछौकक ।” बोलको कविता र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका सम्बन्धमा लेखिएको लेख छापिएको थियो । त्यसपछि बीच बीचमा विभिन्न पत्र-पत्रिकामा कविता र लेख छापिँदै गए । उहाँसितको भेटमा लघुकथासित सम्बन्धित रहेर हाम्रा स्तम्भकार गोमविक्रमले गर्नु भएको कुराकानीको सारसंक्षेप यसप्रकार रहेको छ : -**********************

