यस चरणका प्रमुख लघुकथाकारहरू
यस चरणमा लघुकथाको उन्नति र विकास राम्रो भएको देखिन्छ । निकै समर्पित एवं प्रतिभासम्पन्न व्यक्तित्वहरूले लघुकथालेखनमा आफूलाई केन्द्रित तुल्याएका देखिन्छन् । नेपाली लघुकथाको जुन रूप र स्थिति १९९२ देखि २०१९ को कालावधिमा देखियो त्यो यस कालावधिमा भने नितान्त भिन्न देखिन्छ ।
आधुनिक नेपाली कथाको काल विभाजनअनुसार पनि वि. सं. २०२० देखि २०३९ सम्मलाई ’नवचेतनावादी युग’ भनिने गरिएको छ । यस कालमा कथाको विकास जुन द्रुत गतिमा भएको पाइन्छ त्यसैअनुरूप नै लघुकथाको पनि उन्नति भएको पाइन्छ । यस कालका युवाकथाकारहरू नै लघुकथाकारका रूपमा देखा पर्दै आएको पाइन्छ । तिनमा प्रमुख रूपमा विश्वम्भर प्याकुरेल, जगदीश नेपाली, सनत रेग्मी, अनिता तुलाधर, भाउपन्थी, ध्रुव मधिकर्मी, लव गाउँले, किशोर पहाडी, दुर्लभलाल सिंह, विनयकुमार कसजू, रमेश नेपाली आदि हुन् ।
यी कथाशिल्पीहरूका अतिरिक्त केही यस्ता कथाकारहरू पनि देखा पर्छन् जसले कम लेखेर पनि स्तरीयता कायम गरेका छन् । यस चरणमा फुटकर लेख्नेहरूको लामो सूची छ । धेरै लघुकथा लेख्नेहरूभन्दा फुटकर लेख्नेहरूकै कारण पनि यसको स्तरीयतामा उल्लेख्य वृद्धि भएको विचारणीय छ । नेपाली लघुकथाको उन्नत रूपको दिग्दर्शनका निमित्त यस चरणका प्रमुख लघुकथाकारहरूबारे संक्षिप्त अध्ययन प्रस्तुत छ ।
विश्वम्भर प्याकुरेल
नेपाली लघुकथा-साहित्यजगत्मा प्रतिनिधि वा प्रमुख लघुकथाकारहरूमध्ये यिनको नाम महत्वका साथ उल्लेख गरिन्छ । यिनले यस विधामा अनवरत कलम चलाइराखेका छन् । यिनको इन्द्रेणीको गुम्बजभित्र नामक लघुकथासङ्ग्रह वि.सं. २०२९ मा प्रकाशित भएको देखिन्छ । यिनको कथाप्रवृत्ति एवं विषयवस्तु मानसिक उद्वेग र मनोद्वन्द्वलाई जीवनका विसङ्गत स्थितिको पृष्ठभूमिमा प्रस्तुत गर्नु हो ।
जगदीश नेपाली (वि. सं. १९८०-२०३८)
नेपाली लघुकथाका राम्रा प्रतिभा जगदीश नेपाली वि. सं. १९८० मा सुनसरीमा जन्मे र वि. सं. २०३८ मा इहलीला समाप्त गरे । यिनका प्रकाशित कृतिहरूमध्ये जगदीश नेपालीका केही लघुकथाहरू (२०३९) निकै प्रसिद्ध रहेको छ। खलिल जिब्रानका कथाहरूबाट निकै प्रभावित भएका नेपालीका कथाहरूले समसामयिक काललाई जीवन्त तुल्याएका छन् । जगदीश नेपालीका लघुकथाहरू गुणात्मकतामा निबन्धको शैलीशिल्प लिएका र तिनले वैयक्तिक सामाजिक समस्या र आन्तरिक द्वन्द्वको प्रतिबिम्ब लिएका हुन्छन् ।
अनिता तुलाधर (२०१६)
वि.सं. २०१६ सालमा विराटनगरको मोरङमा जन्मिएका अनिता तुलाधर नेपाली कथासाहित्यका एक प्रतिभासम्पन्न नारीहस्ताक्षर हुन् । यस चरण अर्थात् नवचेतनावादी युगका प्रमुख लघुकथाकारहरूमा यिनको नाम आदरसहित लिइन्छ । यिनका कथाहरूले नेपाली साहित्यमा उल्लेख्य स्थान पाएका छन् । यिनका लघुकथा सङ्क्षिप्त हुनाका साथै मानवमनका भावनात्मक पक्षलाई चित्रण गर्छन् । यिनका निम्नवत् कथासङ्ग्रहहरू प्रकाशित छन्ः
क. फुलु (२०३४), ख. रित्ती सहर (२०३५), ग. सूर्यग्रहण (२०४०) र घ. विडम्बना (२०४५) । यसमा फुलु (२०३४) लघुकथासङ्ग्रह हो ।

