Showing posts with label लता के.सी.. Show all posts
Showing posts with label लता के.सी.. Show all posts

Saturday, August 15, 2026

लघुकथा (अङ्क ३७ मा प्रकाशित)


"मेरो भिझेको मनजस्तै कस्तो एकनाशले झमझम पानी परिरहेको रहेछ ?’’ रुपाले झ्यालबाट चियाउँदै एक्लै वैराग्य स्वरमा गुनगुनाइन् । 

साउनको महिना थियो । हरियो वातावरणमा हरियो पहिरनमा महिलाहरू बिहानै मन्दिर जाँदै गरेको दृश्य उनले झ्यालबाटै हेरिरहिन् । उनी एकोहोरो भएर सोच्न थालिन् । 

"ए रुपा, ५ बजिसक्यो । मन्दिर जान ढिलो भएन ?’’ उनका श्रीमान्‌ले झक्झकाएका थिए ।

उनी नुहाएर तयार भएकी थिइन् । कार्यालय पुग्न ढिला होला भनेर दुई जोईपोइ हतार गरेर शिवालय पुगेका थिए । मन्दिरमा पूजाआजा सकेर छेउमा लागेको हरियाली बजारमा गए । 

"साउन महिनामा महिलाको लागि हरियो पहिरन सगुन हो नि !’’ भन्दै चुरा, पोते, लुगा उनका श्रीमान्‌ले किनिदिएका थिए । अनायस उनका आँखा चिसिन थाले । मुटु भक्कानियो । तीन वर्षपछि आज उनी पूजाकोठामा गइन् । प्रभुसँग गुनासो गरिन्, "आखिर किन मेरो रमणलाई खोस्यौ ? म एक्लीलाई मात्र किन बचायौ प्रभु ? जबकी  त्यो दिन म  पनि बाइक दुर्घटना हुँदा सँगै थिए ।’’

शिवको मूर्तिमा उनले रमणको आकृति देखिन् । उनले हाँसेर भने, "मृत्यु विधिको विधान हो, प्यारी ! एउटा कुरा भन्छु मान ल !’’

उनले लाडिएर भनिन्, "भन न !’’

 उनले भने, "मैले त्यो दिन किनिदिएको हरियो पहिरनमा मन्दिर जाऊ र मेरो चिरशान्तिको लागि मन्दिर गएर प्रार्थना गर ल !’’

उनले प्रतिवाद गरिन्, "समाजले मलाई कसरी स्वीकार्छ र ?’’

उनले भने, "धत् लाटी ! रातो रङ पो समाजलाई आपत्ति हुन्छ फेरि मेरो लागि समाजको सबै बन्धन तोड्न सक्दिनौ ?’’

–तीनकुने, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, May 5, 2026

लघुकथा (अङ्क ३४ मा प्रकाशित)

"कति मीठो धूपको मगमग बास्ना कताबाट आयो ?’’ चारैतिर नजर फ्याल्दै मैले आफैसँग प्रश्न गरेँ ।

साँझपखको समय थियो । म छतमा टहलिरएको थिएँ । मेरो नजर पल्लो घरको छिमेकी बहिनी सीतामा अड्कियो । उनी तुलसी मोठको नजिकै राखिएको एउटा फ्रेमको आरती गर्दै थिइन् ।  

सोधेँ,  'बहिनी आज किन धूपबत्ती गर्दैछ्यौ ?’’

उनले अलि ठूस्स परेर भनिन्,  'मरेकी सासूको यो फोटोमा अबदेखि सधैँ  बिहान बेलका धूपबाती गर्नु रे !’’

मैले जिज्ञासा राखेँ,  'पहिले त कहिले गरिनौ । तिम्री सासू मरेको ३ वर्ष भएपछि यस्तो गर्न कसले भन्यो ?’’

सायद उनलाई मैले उनको घरको खोजिनीति गरेको मन परेन हो कि, किन हो ? उनी नबोली कोठामा छिरिन् । म भने विगतमा हराउन पुगेँ ।

सुवेदारनी जीवनको अन्तिम अवस्थामा थिइन् । हिँड्डूल गर्न नसक्ने भएकी थिइन् । एक त उमेरले ८४ पुगेकी उसमाथि रोगले च्यापेको थियो । केही गाह्रो साह्रो पर्दा ओछ्यानबाटै छोरा बुहारी गुहार्थिन् तर उनीहरू आमाप्रति गैर–जिम्मेवार थिए । उनी भोक र रोगले छटपटाएको धेरैपटक मैले देखेको थिएँ । नजिक गएर केही सोध्दैनथे । उनी एक्लै बर्बराउथिन् । एक्लै रून्थिन् । 

मलाई लाग्यो,  'बाँचुञ्जेल वास्ता नगर्नेले अब मरेपछि किन यो नाटक गर्नु परेछ ?’’

- तीनकुने, काठमाडौँ

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


Monday, March 2, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


"नेपाल दुई ढुङ्गा बीचको तरूल हो ।’’ मेरो  कानमा आवाज गुञ्जियो । 

पल्याकपुलुक चारैतिर नियालेँ । कोही थिएन । आफू भने सिँहासनमा विराजमान थिएँ । राष्ट्रनिर्मातालाई सम्झेर प्रणाम गरेँ । मनमा विचार आयो,  "आजका सत्तासिनहरूले यो उपदेशलाई आत्मसात गरेको भए यसरी नेपाल आमाले पीडा बोक्नु पर्ने थियो र ?’’ 

– अचानक बादल गर्जियो । पृथ्वीभर बत्तीको चहकिलो प्रकाश फैलियो ।  ठूलो प्रलयको आशङ्कमा म थरथरी काप्न थालेँ ।

– "ए हजुर, बिहानको साढे सात बजिसक्यो । चिया ल्याएँ । उठ्नु त !’’ श्रीमतीको आवाजले म ब्युझिएँ । 

– "कस्तो भयानक सपना देखेँ ।’’ भन्दै आँखा मिच्न थालेँ । हातमा चिया थमाएर उनी बाहिरिन् । 

– चियाको चुस्की लिँदै एक्लै बर्बराएँ,  "वाइयात ! बकवास ! आजको राजनीति !’’

– सोचको गहिराइमा डुब्दै गर्दा विद्यार्थीमा पढेको राजनीतिक इतिहास  सम्झिएँ । बि.सं १८२५, १९०३, २००७, २०१७, २०३६ साल सबै सम्झिएँ  । 

– वीरताका गाथा, शासक र शासन व्यवस्था, सहिदहरू, राजनेता र जननेता पनि सम्झिएँ । २०४६ सालको जन आन्दोलन र २०६३ सालको माओवादी आन्दोलनको यात्रामा भोगेका सबै सबै घटनाहरू चलचित्रमा रिल घुमेझैँ मष्तिष्कमा घुम्न थाले ।

– रिसले मुर्मिरिएर आफैँसँग सोधेँ,  "नेपाल आमाको वैभवताको रक्षा र सन्ततिको सपना पूरा गर्न के गर्नु ?’’

– देववाणीको आभाष भयो, ’’मुखुण्डोधारी देशप्रेमी गद्धारहरूको समूल नाश !’’

–तीनकुने, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Monday, December 1, 2025

पुस्तक समीक्षा (अङ्क २९ मा प्रकाशित)


लघुकथाकार लता के.सी.को सफलता नामक लघुकथासङ्ग्रहभित्र उनले लेखेका कदम, आरोप, प्रभाव, बुझाइ, भोेक, कुण्ठा, अदृश्य, कला लगायत विभिन्न शीर्षकका ६१ वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत ६१ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌ । यस सङ्ग्रहभित्रको कदम शीर्षकको पहिलो लघुकथामा छोरीको इच्छाअगाडि आमाबाबु लाचार भए । बिहे भयो । पहिलो रातमा नै केटाले गजबको कदम चाल्यौ नत्र यति सहजै हाम्रो बिहे कहाँ हुन्थ्यो र ? भनेको बारेमा  लेखिएको छ । 

यस सङ्ग्रहभित्रका लघुकथामा आन्तरिक तथा बाह्य दुबै दृष्टिबिन्दुको उपयोग भएको छ । लघुकथाको आयाम छोटोछरितो हुन्छ । छोटोको मापन गर्ने एक स्थूल आधार शब्दसङ्ख्या पनि हो । कसैले २५० र कसैले ३०० शब्दलाई एउटा लघुकथाको अधिकतम शब्दसीमा मानेका छन् । प्रभाव शीर्षकको लघुकथामा दर्शकदीर्घाबाट समर्थकहरूको कोलाहल मच्चियो । वातावरण तातेर उधुम भयो । भर्खर सत्र बसन्त टेकेकी रिनाले छमछम नाचिरहँदा सबै लठ्ठ परिरहेका थिए भनेर लघुकथाकार लताले लेखेकी छिन् । 

लघुकथाकार लताका कथाहरू छोटा भए पनि निक्कै अर्थपूर्ण छन् । कथाका विषयवस्तु विविधतापूर्ण छन् । भोेक शीर्षकको लघुकथामा बिरालोले कुकुरलाई विश्वास दिलाउँदै म दुध भात खाएर आउँछु । बरु तेरा लागि मासु कहाँ र कति छ भनेर बुझेर आउँछु नि । अनि तैले मासु र भात खानू । हुन्न ? भनेको छ । फरक शीर्षकको लघुकथामा आफूले बेचेको खसी र पालेकोे भाइका बिचको अन्तर देखाउँदै मानवीय बेइमान चरित्र उजागर गरिएको छ । बालापन शीर्र्षककोे लघुकथामा रमाइलो बालापनको स्मरण गरिएको छ । नातिसँगै मोबाइलमा रमाउने क्रममा बालापनको स्मरण भएको हो ।

लघुकथा अहिलेको लोकप्रिय विधा हो । अन्य विधामा स्थापित सर्जकहरू पनि लघुकथामा कलम चलाउन थालेका छन् । सफलता लघुकथा सङ्ग्रहबाट लता लघुकथाकारको अवतारमा देखिएकी छिन् । निर्णय शीर्षकको लघुकथामा बाबु फाल्ने डोेको लोककथामा झैँ बाआमालाई उपेक्षा गर्ने बाबुुआमालाई नातिका प्रश्नले झस्काएको छ । विचित्र शीर्षकको लघुकथामा देशैभरि चुुनावको चहलपहल बढ्दो थियो । कालुु गाउँ छाडेर सहर छिर्छ । उसले टोल टोल घुम्दै हिँडेका कुकुरहरूको जुलुस देख्छ । 

Wednesday, November 26, 2025

म किन लेख्छु ? (अङ्क २९ मा प्रकाशित)


लेखन अर्थात् लेख्ने काम ! लेख्नु भन्नाले विचार बाँढ्नु वा बौद्धिकता खन्याउनु हो । लेखनमा हरेक लेखकको सीप र कला झल्किन्छ । जीवनजगतसँग सम्बद्ध भएर आफ्नो समाज, धर्म र इतिहास आदि बहुल विषयमा एउटा लेखक सौन्दर्य खोज्छ, रूप र गुण खोज्छ, अनि भावनामा छताछुल्ल पोखिन्छ । 

विश्वका अनगिन्ति लेखक किन लेख्छन् ? मलाई थाहा छैन तर म आफ्नो लेखनमा मेरो गाउँ, समाज, देश अनि मेरो विश्वको कथा व्यथा खोज्छु र भावना एवम् कल्पनाको लेप लगाएर कागजमा उतार्छु । यसो गर्दा मलाई आत्मसन्तुष्टि मात्र मिल्दैन, म मेरो सीपको विकास गर्दै व्यक्तित्वको वृद्धिमा लागिरहेको हुन्छु । आफ्नो विचार पोखिरहँदा आत्मसम्मान त छँदैछ अर्कोतिर आफ्नो भावनाहरूलाई स्मृतिमा कैद पनि गरिरहेको हुनेछु । आफन्त, साथीभाइसँग बेतुकका कुरा गरेर बिताउने समयको सदुपयोग पनि  गरिराखेको हुन्छु ।

म आफ्ना लागि मात्र होइन, देश र समाजको हित अनि सुधारको लागि पनि लेख्ने गर्छु । एउटा लेखकको कलममा ठूलो तागत लुकेको हुन्छ भन्ने विश्वास मभित्र रहेको हुनाले समाजको प्रगतिको लागि बाधक तङ्खवप्रति खबरदारी गर्न म लेख्छु । एउटा लेखक भएको नाताले मानव समाजप्रति मेरो जिम्मेवारी र दायित्व छ । समाजमा सकारात्मक भावको बिउ छर्न म लेख्ने गर्छु ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Friday, October 24, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


"आमा, यसपालिको दशैँ खुब धूमधामले मनाउनु पर्छ है !’’ पाँच वर्षपछि विदेशबाट आएकी कान्छी छोरीले आमालाई गर्ल्याम्म  अङ्गालोमा कसेर भनी ।

हिजैदेखि घरमा आफन्तहरूको जमघट सुरु भैसकेको थियो । जेठी छोरी ज्वाइँ र नातिनातिना बोकेर ४/५ दिन माइती बस्छु भनेर आएकी थिई । सन्तानका नाममा दुई मात्र छोरी थिए, उनीहरूका  । दुवै सन्तान साथमै भएकोले जोईपोइले साउती गरे, "यस्तो संयोग कहिलेकाहीँ मात्र आउँछ त्यसैले दशैँमा कुनै बिलौना नगरौँ, है !’’

अष्टमी परेकोले बिहानै घरमा बोका ढलेको थियो । कवाफ, भुटन सबै तयार भयो । साँझपखको समय, सबै दशैँको वातावरणमा रम्दै थिए । सबैलाई मीठा मीठा परिकार पस्किएपछि उनले सादा खाना लिएर बसिन् । आमाको भाग देखेपछि कान्छी छोरीले भनी,  "मासु  भनेपछि हुरुक्क हुने आमालाई के भयो ? अनुहार पनि मलिन देख्छु । सञ्चो भएन कि ?’’

उनले आफूलाई रोक्न सकिनन्,  "आँखाबाट बलिन्द्र आँसु झार्दै भनिन्,  ॅॅदेश दुखेको बेला एउटी आमा कसरी हाँस्न सक्छे र, छोरी ?’’

- तीनकुने, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Monday, July 7, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


आजको दिन सुधाको लागि एउटा उत्सवजस्तै थियो । उनले स्थापना गरेको  कलाघरको ६०औँ वार्षिकत्सव मनाउँदै थिइन् ।

आफ्नो एक्लो जीवनलाई व्यस्त राख्न सुधाले एउटा कलाघर खोलेकी थिइन् । उनको लोग्ने र भएको एउटा छोरालाई नियतिले टाढा  पारेपछि त्यही कलाघर नै उनको लागि संसार थियो । जहाँ उनी सिक्न चाहनेका लागि नृत्य सिकाउँथिन् । उमेर ढल्दै गएपछि उनलाई कलाघर मर्छ कि भन्ने चिन्ता थियो त्यसैले केही विश्वास पात्रहरूलाई सहयोगी बनाएकी थिइन् ।   

आज उनले आफ्नी चेली नीलालाई सम्झिन् । उनी सोचमग्न भइन् ।  नीलाले सुरु सुरुमा उनको व्यक्तित्वको प्रशंसा गरेको, नजिक हुन चाहेको सबै सबै सम्झिरहिन् तर आज नीला खोई ? नीला त्यही चेली हुन् जो कुनै समयमा सुधालाई भगवान मान्थिन् । दिनरात उनकै सम्पर्कमा रहन्थिन् । आज उनले बाटो फेरेकी छिन् । उनी साहित्यको संसारमा रमाएपछि ठूला ठूला हस्तीहरूसँग उनको उठबस् हुन थालेको छ । पुरानो नाता र भावना उनले  बिर्सिएकी छिन् । 

सुधा मनमनै गुन्दै थिइन्, ’’आजका राजनीतिक चरित्रजस्तै नीला पनि छेपारो त होइनन् ?’’

नीलालाई अचानक के भएछ, कुन्नि ? खबर पनि नगरेर, हस्याङफस्याङ गर्दै आइपुगिन् । ग्वार्ल्वाम्मै अङ्गालो हाल्दै भनिन्, ’’दिदी ! हजुर त यो उमेरमा पनि कस्तो क्रियाशील हुनुहुन्छ । हजुरबाट मैले धेरै कुरा सिक्नु छ ।’’

– तीनकुने, काठमाडौँ हालः टेक्सास, अमेरिका

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Saturday, April 12, 2025

लघुकथा समाचार

 

लता के.सी.को 'पाहुर' र महेन्द्र नेउपानेको 'चन्द्रविनोद´ लघुकथासङ्ग्रह आज चैत ३० गते शनिबारका दिन एक कार्यक्रम बीच लोकार्पण सम्पन्न भएको छ ।

हाम्रो लघुकथा केन्द्र, नेपालको आयोजनामा भएको कार्यक्रममा हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता के.सी.को सभापतित्व र श्रीओम श्रेष्ठ 'रोदन'को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । विशिष्ट अतिथिहरूमा ध्रुव मधिकर्मी, गंगा कर्माचार्य पौडेल, केदार नेउपाने र माधव नेउपाने रहेका थिए ।

लघुकथा गान बजाएर सुरू गरिएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य बन्दना घिमिरेले गरेकी थिइन् भने दुबै लघुकथाकृतिको विमोचन प्रमुख अतिथि रोदनले गरेका थिए ।

हाम्रो लघुकथा केन्द्रका सदस्य मिसु श्रेष्ठले पाहुर लघुकथासङ्ग्रहबाट `जुक्ति´ शीर्षक लघुकथा र सत्या अधिकारीले `स्वप्नलोक´ शीर्षक लघुकथा वाचन गरेकी थिइन् । अर्को कृति चन्द्रविनोद लघुकथासङ्ग्रहबाट कृतिकारको छोरी डा. मन्जिला नेउपानेले `रुन्चे हाँसो´ शीर्षक लघुकथा वाचन गरेकी थिइन् ।

मन्तव्यको क्रममा मञ्चासिन व्यक्तित्वहरूले लघुकथाको उन्नयनमा केन्द्रको योगदानबारे चर्चा गर्दै कृतिकारद्वयलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

सयजनाको हाराहारी साहित्यकारहरूको उपस्थितिमा रोयल इभेण्टस् एण्ड बैन्क्युट तीनकुनेमा भएको कार्यक्रममा सभापति के.सी.ले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रमको समापन गरिएको थियो ।


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, March 30, 2025

लघुकथा (अङ्क २२ मा प्रकाशित)


 

"ए आमा ! यसपाली त छोरा दसैँको टीका थाप्न घर आउने रे !’’

बुहारीले मोबाइल सासूलाई दिँदै खुसी प्रकट गरिन् । ओछ्यानमै   थलिएकी आमा सकी नसकी उठिन्  । आगत र विगत कोट्याउँदै गर्दा आमाको आँखा रसायो । 

छोराले भन्यो,  "आमा ! अब तपाईंका दुःखका दिन गए । किन रुनु भएको ?’’  

आमाले आँसु पुछ्दै भनिन्,  "यो त खुसीका आँसु हुन्, बाबु !  घर  कहिले आइपुग्छस् ? कति दिनलाई आउँछस् ?’’ 

उसले हाँस्दै भन्यो,  "नवमीको दिन आइपुग्नेछु । अब त म बुढी आमालाई घरमा एक्लै छाडेर फर्किन्न, आमा !’’ 

’’नफर्केर घर कसरी धान्छस् ? फेरि अधर्मीहरू बसेका यो देशमा तँ टिक्न  सक्लास् र ? बरू आएको बेलामा मलाई सुविधा सम्पन्न बृद्धाश्रममा राखेर परिवार पनि लाने व्यबस्था गरेस्, बाबु !’’ 

उसले दृढ भएर भन्यो,  "होइन आमा ! जे जसो भएपनि बाँच्ने जोहो त त्यही गरम्ला । आमा र मातृभूमिको सेवा गरेर म आफ्नै देशमा बस्नेछु ।’’

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Thursday, January 23, 2025

लघुकथा (अङ्क २० मा प्रकाशित)


 उनले नै प्रथम स्थान हासिल गर्नेछिन् भन्नेमा सबै ढुक्क थिए । लगानी गर्नेले पनि दिल खोलेरै गरेको थियो, तर पराजयको नतिजाले सबै चकित भए । अनहोनी घटना भन्दै उनका समर्थकहरू सडकमा ओर्लिए । नाराबाजी भयो । भीँडमा गएर सम्बन्धित पक्षले जनमत संकलन सुरू गर्‍यो,  "आखिर के कारणले प्रतिस्पर्धामा हार्नु पर्‍यो ?"

विभिन्न आवाजहरू पोखिए, 

– आत्मविश्वासमा प्रचुरता हुनु
– प्रतिस्पर्धी बढी शक्तिशाली हुनु
– चाहिनेभन्दा बढी प्रचार हुनु
– अभ्यासको कमी हुनु आदित्यादि

सधै‌ नै अद्भूत नृत्य प्रस्तुत गरेर विजय हात पार्ने उनी आज हारको अनुभव बोकेर भिडमा आइन् । उनले आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरिन् । उनीमाथि प्रश्नको वर्षा हुन थाल्यो । उनले शालीनताका साथ सबैको मन जितिन् ।

अन्त्यमा भनिन्,  "प्रतिस्पर्धामा हारजीत स्वभाविक हो । जितेर मात्तिनु भन्दा हारेर सिक्नु ठूलो हुन्छ ।"

- तीनकुने, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, December 29, 2024

अन्तर्वार्ता (अङ्क १९ मा प्रकाशित)



नेपाली साहित्यको लघुकथा विधामा अनवरतरूपमा सक्रिय महिला साहित्यकार हुन् – लता के.सी । जान्दवीदेवी र लक्ष्मीबहादुर खड्का क्षत्रीकी सुपुत्री लता के.सी. २०१६ कात्तिक ६ गते भोजपुर दावामा जन्मिएकी हुन् । 

बी.ए.सम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका लता २०वर्षको निरन्तरशिक्षण सेवाबाट २०७३ देखि अवकाशप्राप्त हुनुहुन्छ । २०३९ मा मोरङ कलेजको वार्षिक मुखपत्र 'प्रकाश’मा 'अन्तरद्वन्द्व’ शीर्षकको कथा प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकी के.सी.को पहिलो लघुकथा लोकभावना पत्रिकामा प्रकाशित 'दुर्घटना’ शीर्षकको थियो भने पहिलो कृतिको रूपमा 'चोटदेखि मृत्युसम्म’ (लघुकथासङ्ग्रह, २०७७) प्रकाशित भएको थियो । 

हाम्रो लघुकथा केन्द्र नेपालको अध्यक्षको रूपमा कार्यरत के.सी.का अन्य कृतिमा दृश्य लघुकथासङ्ग्रह–२०७८, सफलता लघुकथासङ्ग्रह –२०८० गरी तीन वटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् भने केही पुस्तकहरू प्रकाशनको तयारीमा छन् । उहाँले थुप्रै पुस्तकको सम्पादन समेत गरेकी छिन् । 

उनी विभिन्न संघसंस्थाबाट साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । लता के.सी.सँग लघुकथा संसारले गरेको छोटो कुराकानी । 


लघुकथा किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?

लता के.सी. : लघुकथाकारहरूले शब्दका माध्यमबाट जीवन र जगतका विषयहरूलाई लघुकथामा उठान गर्छु । कलमले यावत् समस्या उजागर गर्छ, समाधान खोज्छ । एकातिर समाजको लागि भने अर्कोतिर आत्मसन्तुष्टि र समयको सदुपयोग होस् भनेर म लघुकथा लेख्ने गर्छु । 


उत्कृष्ट लघुकथा हुन के कस्ता गुणहरू हुनुपर्छ होला ?

लता के.सी. : लघुकथाको सिद्धान्त लेखिसकिएको यो वर्तमान परिस्थितिमा लघुकथालाई उत्कृष्ट बनाउन एउटा सर्जक त्यतातिर सजग हुनु पर्छ ।  मोटामोटीरुपमा आकारले, आयामले छोटो छरितो हुनु, कथावस्तु, विषय नवीन र मौलिक हुनु, सकारात्मक सन्देश हुनु, तीखो व्यङ्ग्य, संवाद र विम्बको प्रयोग हुनु, पात्र सीमित हुनु, शीर्षकको सार्थकता, विपरित र झड्केदार समापन आदि जस्ता गुणहरु आउनु पर्छ । 


यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ?

लता के.सी. : एउटा कलमप्रेमीलाई  लेखनमा समय र स्थानले प्रभाव पार्छ नै । मेरो हकमा पनि त्यही हो । बिहानीको ताजा अवस्थामा एक्लै, सुनसान, फुर्सदको समयमा प्रायः लेख्ने गर्छु । कहिलेकाही“ जुनबेला जहाँ पनि विचार र भाव सलबलाउँछन् त्यसबेला म टिपोट गर्छु र समयानुकूल लेख्ने गर्छु । 


हिजोआज साहित्य लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउन चलन असाध्यै बढेर गएको छ यसलाई कसरी लिनु भएको छ ?

लता के.सी. : साहित्यको विकास र विस्तारमा सामाजिक सञ्जालको ठूलो महत्व र प्रभाव रहेको छ । प्रविधिले दिएको यो एउटा अवसर र उपहार हो । हामीले सदूपयोग गर्न सक्नु पर्छ । सामाजिक सञ्जालमा पोष्ट्याउनु सरल पद्धति त बनेको छ तर उत्कृष्ट साहित्य लेखनमा स्रष्टा स्वयम् सचेत र सजग रहनु पर्छ ।


वर्तमान लघुकथा लेखनको समग्र प्रवृत्तिलाई कसरी हेरिरहनु भएको छ ?

लता के.सी. : वर्तमान समयमा लघुकथा लेखनको भेल बगेको छ । खासगरी ७०को दशकपछि लेखन दर ह्वात्तै आकाशिएको छ । कोही लघुकथा बनेका छन् भने कोही अलघुकथा पनि । हिजो र आजको लेखन प्रवृत्तिलाई तुलना गर्दा निकै फरक आएको छ । जतिखेर लघुकथाका सिद्धान्त कोरिएका थिएनन्, त्यो बेला आ–आफ्‌नै हिसाबले प्रयोग भए, लघुकथा लेखिए तर वर्तमान समयमा लघुकथाका तङ्खवहरु आत्मसात् गरेर  लेखिनु पर्छ भन्ने आवाज उठेको छ, लेखिन थालेका छन् । 

Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

 दृष्टिदोष

- लता के.सी.
तीनकुने, काठमाडौँ -३२ 


"यो आइमाईले टोल नै बिगार्ने भई । सबै मिलेर यसलाई लखेटौँ न !’’ छतमा बसेर बाहिरी दृश्य नियालिरहेकी रमाले बीनातिर औँलो सोझ्याउँदै कराइन् । बीना दुई जना सहकर्मी लिएर घरभित्र छिर्न गेट खोल्दै थिइन् । तत्क्षण नै यता उताका छिमेकी पनि छतमा देखिए । केहीले धारे हात लगाउन पनि भ्याए । 

रमा टोलकै धनीमानी वर्गमा पर्थिन् । घर बसी खाने आइमाई बटुलेर दिनभर गफ हाँक्नु र आफ्नो रवाफ देखाउनु उनको दिनचर्या थियो । बीना सरकारी कार्यालयमा हाकिम थिइन् । उनको उठ्बस पुरूषहरूसँग भएको रमालाई पचेको थिएन । यस्तो घटना पहिलो पटक मात्र भएको थिएन । बारम्बार खप्नु परेको आक्षेपलाई बिनाले सधैँ हाँसेर पचाउँथिन् । 

उनलाई लाग्थ्यो,  "मूर्खसँग मुख लागेर किन आफ्नो मूल्य घटाउनू ?" तर आज उनको संयमता भङ्ग भयो । उनी सिधै रमाको ढोका ढक्ढकाउन पुगिन् । दुबैको तातो रिस पोखियो । वाक् युद्ध चर्कियो । 

रमाले भनिन्,  "हाकिम भएँ भन्दैमा लोग्ने मानिससँग टाँसिंदै हिँड्नु पर्छ ?"
बीनाले चेतावनी दिइन्,  "आइन्दा यस्तो फट्याइ भयो भने मानहानीको मुद्दा हाल्ने छु ।"
रमा के कम ? कराइन्,  "जो चोर उसको ठूलो स्वर !"

रमाका श्रीमान्  टुप्लुक्क घर आइपुगे । उनी बिखलवन्दमा परे । उनले दुबै जनालाई सम्झाए । जेनतेन भनाभन  साम्य भयो ।

फर्किने बेलामा बीनाले उनका श्रीमानसमक्ष अनुरोध गरिन्,  "तपाईंकी यी बिन्दास  श्रीमतीलाई ठेगानमा राख्नु होला ।"


....साथ सहयोगको खाँचो

Saturday, November 9, 2024

लघुकथा (अङ्क १७ मा प्रकाशित)

 आतङ्क

- लता के.सी.
तीनकुने, काठमाडौँ  



"लुजा ! बल्ल भाउ भेटे, बज्याहरूले !" ठूलै युद्ध जितेको हाउभाउमा उनी बोलिन् । 

श्रीमान् उनलाई हेरेर हाँस्न थाले । उनी झन थप्न थालिन्, "कम्ता उपद्रो गरेका थिए त ? छोराछोरीको नयाँ लुगा, नयाँ किताब बिगारेर उधुम मचाउनेहरूलाई उपचार गरेरै  छाडियो ।"

श्रीमान्ले खित्का छाड्दै भने, "हाम्रा घरमा मात्र हो र ? जहाजमा पसेर उडान स्थगित गर्ने, उडिरहेका जहाजलाई आकस्मिक अवतरण गर्न बाध्य पार्ने यी उपियाँहरू पो हुन् त !"

उनी अलि गम्भीर भइन्  र भनिन्,  "उता पाकिस्तानको संसद भवनमा छिरेर  पोहोर निकै आतङ्क मच्चाएका थिए रे !" 

उनी एक्कासी कराए, ''एउटा जेमराज यहाँ नै आएर ढल्यो । ऊ अर्को पनि !" 

उनले चिन्ता व्यक्त गरिन्, "विष परेर भटाभट मर्न थालेका यी सिनोलाई अब कता पो थन्क्याउनु ?"

नी जुरुक्क उठे र भने, "कोदालो झिक त ! बारीको एक ठाउँमा पुर्नु पर्छ नत्र रोग फैलाउन यी झन् माहिर छन् नि !"

शत्रु नाश गरेकोले उनी दङ्ग परिन् । श्रीमान् भने एकोहोरो भए । विषले असर गरेको हो कि ? भनेर उनी आत्तिदै घच्घच्याउन थालिन् ।

बौरिएझैँ गरेर उनले भने, "घरका चारखुट्टे, अज्ञानी मुसालाई त तह लाइयो तर राज्यका दुईखुट्टे, ज्ञानी मुसाहरूलाई के गर्ने ? भनेर चिन्तन पो गरिराको त !"


.‍..‍.साथ सहयोगको खाँचो

Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

प्रतिस्पर्धा

- लता के.सी
तीनकुने, काठमाडौँ   


"म्याउँ, म्याउँ !" बिरालोले चाल मार्‍यो । घर सुनसान देखेर लुसुक्क भित्र पस्यो । एक बटुका दूध चट् गर्‍यो । ऊ आफ्नो बाटो तताउँदै थियो । सुरक्षाको लागि बसेको कुकुरले लखेट्यो र झम्टिन थाल्यो । एकछिनको भिडन्तपछि बिरालो ज्यान जोगाएर भाग्न सफल भयो ।

केही बेरमा नै बिरालो त आफ्नो समाज बोकेर आयो । उनीहरू  कुकुरविरूद्ध  सडक आन्दोलनमा उत्रिए । नारा लगाउन थाले, "बलियो छु भनेर अरुलाई हेप्न पाईंदैन, पाईंदैन ।" 

कुकुर के कम ? आकाशतिर फर्केर कुईँ....य् गरेर के कराएको थियो, चारैतिरबाट कुकुर समाज भेला भयो । एकैछिनमा हेर्दा हेर्दै कुकुर बिरालोको ताण्डव सुरू भयो । बीच सडकमा भएको यो भिडन्तले सडक अवरूद्ध भयो । मानिसको भिड र गाडीको जाम तह लाउन प्रहरी आए । उनले लठ्ठीको भरमा खेद्ने प्रयास गरे ।

दुबै पक्षका योद्धाहरू ज्यान जोगाउन भाग्थे अनि एकैछिनमा फेरि आक्रमणको शैलीमा आइपुग्थे । प्रहरी हायलकायल भए ।

सुरूदेखि अन्तसम्म म घटनाको प्रत्यक्षदर्शी बनेको थिएँ । मलाई लाग्यो, "यी कुकुर बिराला त संसद भवन पसेका हाम्रा श्रद्धेय सदस्यभन्दा उग्र रै'छन् ।"

...साथ सहयोगको खाँचो

Thursday, April 18, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

प्रयोग

- लता के.सी.
तीनकुने, काठमाडौँ  


ओल्टाइ पल्टाइ, तल माथि गरेर ३ पटक पढेँ ।  फिटिक्कै बुझिनँ । टाउको प्याट्ट पिटेँ । आफैसँग प्रश्न गरेँ,  "किन यो मस्तिष्क ह्याङ हुँदैछ ?" 

फेरि पढेँ । अहँ, फेद टुप्पो भेटिनँ । एक कप कफी पिएँ । त्यसबेला झ्वाट्ट महाकवि देवकोटा सम्झिएँ । लेखिसकेर पढ्दा आफैँले लेखेको रचना आफैँ बुझ्दिनँ भनेर साथीभाइसँग जिस्किन्थे रे ! 

यसबेला लेखकसँग धेरै रिस पनि उठ्यो । जान्ने पल्टेर किन क्लिष्ट लेख्नु पर्‍थ्यो ? सबैले बुझ्ने गरेर लेख्दा तिनको बाउको के जान्थ्यो र ?  अगाडि भए बेस्सरी खनिन्थे होला । तत्पल नै दिमागमा घण्टी बज्यो । फेसबुकमा लेखकको नाम खोजेँ । उस्तै नाम दश वटा नाम फेला परे । प्रोफाइल जाँच गर्दै गएँ । बल्ल एउटा लेखक भनेर फेला पर्‍यो । अँध्यारोमै ढुङ्गा हान्न मन लाग्यो र ठाडै मेसेन्जर कल गरेँ । विवरण प्रस्तुत गर्दै सोधेँ,  "यो रचना हजुरकै हो ?"

"हो ।  किन ? के भयो र ?" जवाफ आयो । 

"के भएन ? भन्नु न बरू !" मैले आक्रोश पोखेँ । 

"रिसानी माफ होस् हजुर ! कारण के पर्‍यो होला ?" प्रश्न तेर्सियो ।

सिधैँ सोधेँ,  "हजुरले लेखेको प्रतीकात्मक शैलीको फलानो रचनामा प्रयोजन त प्रष्ट हुनुपर्ने होइन र ? म जस्ता पाठक कति रन्थनिए होलान्?"

उनले हाँस्दै आफ्ना एक विद्वान मित्रको भनाइ सुनाए, "नयाँ प्रयोग सुरू गर्ने हो भने रचनाको  विश्लेषण गर्दा समीक्षक र पाठक होइन, लेखक स्वयम् बोलोस्  रे !"


....साथ सहयोगको खाँचो

Thursday, March 21, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

मन

-लता के.सी.  
तिनकुने, काठमाडाैँ   


 दाजुले फोनबाट खबर गर्नुभयो, "छोरीको गुन्युचोलो छ । एक साता बस्ने गरेर आउनू है, बहिनी !"

उनी टोलाइन्, "धेरै वर्षपछि बल्ल माइत जान पाइने भयो । फुपू, मामा सबैसँग भेट हुनेछ । बाल्यकालका दौतेरी पनि भेट भए झन् मज्जा हुने थियो । उनी उताको वातावरण सम्झेर रमाउन थालिन् ।"

श्रीमानले  "खाना पस्क न ! अफिस जान ढिला भयो ।" भन्दा उनी झसङ्ग भइन् ।

खाना खाँदै गर्दा जोईपोइले को को जाने हो भनेर योजना बुने ।

आखिर उनी प्लेनबाट एक्लै जाने टुङ्गो भयो । खर्च जोड्न थालिन् । प्लेन भाडा, भदैलाई उपहार, आफ्नो फुटकर खर्च सबै जोड्दा ३५ हजार ! बैँक गइन् । ब्यालेन्स शून्य गरेर नगद झिकेर ल्याइन् । भोलि टिकट र अरू सामान किन्नु पर्ला भनेर लिस्ट बनाउन बसिन् । 

"दिदी !" घरको कामधन्दा गर्ने सहयोगी बहिनीले बोलाइन् । 

"के भयो ? काम सक्यौ? म दुई दिनपछि  माइती जान्छु । घरमा सबैको ख्याल गर्नू है !"

उसले अनकनाउँदै भनी,  "हस् दिदी ! छोराले  चिया पसल खोल्छु भनेर २५ हजार ऋण मागेको थियो । छ भने दिनु न ! तलबमा कटाउनु होला ।"

"मेरो रमाइलो महत्वपूणर् कि एउटा गरिबको हातमुख जोर्ने मेलो ?" उनी सोचमग्न भइन् । 

छेउको ब्यागबाट पैसा झिकेर उनलाई दिँदै भनिन्,  "ल यो धनको सदुपयोग गरेस् ।"


Thursday, November 23, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

आदर्श

-लता के.सी.
तिनकुने, काठमाडौँ 


"स्वागत छ, लघुकथाकारज्यू !" भन्दै उनले मलाई देख्नासाथ अङ्कमाल गरे । म एकदिन भेटन भनेर उनको कार्यालय पुगेको थिएँ । उनी सहरको प्रसिद्ध विद्यालयका प्रधान अध्यापक थिए । साहित्यमा उनको गहन रुचि थियो । विश्वका महान साहित्यकारहरुको चित्र र महत्वपूर्ण उक्तिहरुले कार्यालयको भित्ता सजाएका थिए । भेटमा हामीले साहित्यिक भलाकुसारी ग-यौ । विगत र आगत सबै ओकल्यौँ । घण्टौँ बितेको पत्तो भएन ।

मैले उनीसँग सोधेँ, “मेरो लघुकथासङ्ग्रह पढ्नु भयो त ? कतै ती सबै मेरा पुस्तकहरु विद्यालयको पुस्तकालयमा सडेर बसेको त छैन नि ?”

उनी मज्जाले हाँसे र भनेँ, ‘‘म पुस्तकको कीरो ! किन पढिँन होला त?’’ मैले प्रतिक्रिया जान्न चाहेँ, ‘‘कुन पक्ष मन प-यो ?’’

उनले अति उच्च कोटिको भनेर व्याख्या गर्न थाले । उसैबेला मेरो नजर भित्तामा कोरिएको उक्तिमाथि प¥यो । मनमनै पढेँ । लेखिएको थियो, ‘‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन“ । पढेर म मुसुमुसु हाँस्न थालेँ । म हाँसेको देखेर उनले अझ तिव्र गतिमा मेरो लेखन र शैलीबारे बोल्न थाले जबकी म हाँस्नुको कारण उनको प्रशंसाका शब्दहरु थिएन तर मेरो कृति किनेर उनले दुई वर्षदेखि रकम दिएका थिएनन् । न त दिने सोच नै देखिन्थ्यो ।

Tuesday, November 21, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

समस्या

-लता के.सी.
तिनकुने, काठमाडौँ


"के गरौँ त ? कमाइ छाडेर स्वदेश फर्कौँ ?’’  
खुइय...! लामो सास फेरेर बिरामी आमाले भन्नुभयो, ‘‘तेरो परिवार सबै बिल्लीबाठ हुन्छ छोरा !  म त यसै पनि डाँडापारिको जून !  तँ यता फर्केर के पो गर्लास् ?’’

उसले श्रीमतीसँग सल्लाह माग्यो, ‘‘तिमी घरै फर्क । म खर्च धान्नेछु ।’’
‘‘म एक्लै कसरी आमालाई स्याहार्नु र ? बरु राम्रो वृद्धाश्रममा राखौँ न, हुन्न ?’’ श्रीमतीले भनिन् । त्यसपछि साथीको आश्रममा नै आमाको व्यवस्था मिलायो ।

एकदिन आमाले भन्नुभयो, ‘‘सबै नेपालीलाई अमेरिका मनपर्ने अनि अमेरिकालाई नेपाल मनपर्ने रहेछ है बाबु ?’’

‘‘नेपालमा त हामीजस्ता नपढेका बकम्फुसे मात्र बस्ने देश भयो, आमा !’’
आमाले भन्नुभयो, ‘‘तिमीहरु यहाँ बसेर आन्दोलन गर्न सक्दैनौँ ?’’
‘‘कस्तो आन्दोलन आमा ?’’

उज्यालो अनुहार बनाएर आमाले भन्नुभयो, ‘‘अमेरिका–नेपाल भिषा फ्रीको ।’’