Thursday, July 4, 2024

कविता संसारको अङ्क ११ मा प्रकाशित

 ***********************************

डा. दामोदर पुडासैनी 'किशोर' वर्तमान समयका जुझारु, लगनशील, निर्भिक र ऊर्जावान स्रष्टा हुनुहुन्छ । गद्यमा होस् या पद्यमा उहाँको लेखनी हस्तक्षेपकारी छ । उहाँका १० कवितासङ्ग्रह, ७ नियात्रासङ्ग्रह र १ दर्शन कृति प्रकाशित छन् । ती सबै कृतिहरू आम पाठक, समालोचक र शोधार्थीको चासोको विषय बनेका छन् । साझा प्रकाशनबाट प्रकाशित उहाँको नियात्रा कृति— डोल्पो ओ डोल्पोले साहित्य संगम मकवानपुरबाट यसै वर्ष वर्षभरि प्रकाशित कृतिहरूमध्ये सर्वोत्कृष्ट पुस्तक पुरस्कार पाएको छ । त्यस बाहेक उहाँका अरु कृतिहरूले सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । वि.सं. २०१९ जेठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मनुभएका डा. पुडासैनी लेखापरीक्षण (अडिटिङ) विषयमा विद्यावारिधि (पीएच.डी.) पुरा गर्ने पहिलो नेपाली हुनुहुन्छ । ज्ञान, विज्ञानका सान्दर्भिक उदाहरण सहित सटिक ढङ्गले तर्क गर्न रुचाउँने डा. पुडासैनी देशका विभिन्न भूगोलमा र संसारका अनेकौं स्थानमा घुमफिर गरेर नवीन सिर्जनाहरू रच्न रमाउनुहुन्छ । नेपाल सरकारको उच्च तहमा रहेर वर्षौं राज्यलाई उल्लेखनीय योगदान दिनुभएको उहाँले संसारका चालिसभन्दा बढी मुलुकहरू र देशका सतहत्तर जिल्लाकै भ्रमण गर्नु भएको छ । असार महिनामा झमझम पानी वर्षिरहेको बेला लमजुङ जिल्लाका दुई प्रख्यात गुरुङबस्ती— घलेगाउँ र भुजुङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किनुभएका उहाँसँग साहित्यकार एवं पत्रकार त्रिचन्द्र श्रेष्ठ 'प्रतीक्षा'ले गर्नुभएको कुराकानीको अंश यहाँ प्रस्तुत छ ः

***********************************


तपाईंको विचारमा कविता के हो ? कविता के को लागि लेख्नुहुन्छ ?

पुडासैनी : जीवनमा बुझेका र भोगेका घटनाक्रमले अनुभूतिहरू प्रवल रुपमा पैदा हुन्छन् । तिनै अनुभूतिहरूसँग संवेगहरू जोडेर र कल्पनाहरू मिसाएर लयात्मक रुपमा जीवन र जगत्को व्याख्या गर्नु नै कविता हो । उपमा, बिम्ब, प्रतीकको माध्यमबाट शब्दकला सुललित, मधुर र रसपूणर् बनेपछि कविता जन्मन्छ । कल्पनाको तीब्र बेगमा अनुभूतिका रसदार सारहरू मिसाएर अभिव्यक्ति स्वरुप कविता जन्माइन्छ । यसले मनलाई गहिरो प्रभाव पार्दछ । जीवन र जगतका यथार्थसँग कवि नजिकिन्छ । त्यो उसले ज्ञानको रुपमा ग्रहण गर्दछ । त्यसमा कविको कतिपय अवस्थामा सहमति हुन्छ, कतिपयमा असहमति पनि । त्यही जीवन अनुभवलाई कविले भावना, विचार, संवेदना, उद्देश्य जस्ता तत्वहरूमा मिसाएर लयदार निचोडको रुपमा कविता जन्माउँछ । जीवन र जगतबाट प्राप्त ज्ञान, विचार, मूल्य, आदर्श, उद्देश्यहरूलाई एकीकृत गरेर कविले जीवनको महानतालाई अघि बढाउँन त्यसप्रतिको फराक बाटोलाई कलात्मक रुपमा प्रकट गर्दछ । कविता सूत्रात्मक, व्यञ्जनापूर्ण र ध्वन्यात्मक बनाउन सकियो भने त्यसले विशेष महत्व राख्दछ ।

म मानवीय संस्कृतिलाई उच्च बनाउनकालागि कविता रच्छु । शब्दको माध्यमबाट आश्चर्यपूर्ण परिणाम खोज्न पनि म कविता रच्छु । कवितामा शब्द र विम्बको चित्रात्मक संयोजन हुन्छ र यसले युग चिनाउने मात्र होइन युगलाई अघि बढ्न प्रभावशाली बाटो देखाउनपनि सक्तछ । त्यसैले म कविता रच्छु । गहिरो अनुभूतिलाई लालित्यपूर्ण ढङ्गले अभिव्यक्त गर्न पनि कविता रच्न जरुरी ठान्छु म । मेरा भावना र विचारलाई सुन्दर ढङ्गले पस्कन, कयौं लुकेका कथाहरू अरु समक्ष राख्न र लुकेका खबरहरू सम्प्रेषण गर्न पनि मैले कविता रच्ने गरेको छु।

कविता र दर्शनको अन्तरसम्बन्ध हुनुपर्दछ कि पर्दैन ?

पुडासैनी : कविता र दर्शनको अन्तरसम्बन्ध बुझ्नु अघि शास्त्र र दर्शनको भेद बुझ्न जरुरी हुन्छ । ‘शास्त्र’ ले कुनै विषयमा चलिआएको मान्यतालाई ग्रहण गर्दछ । शास्त्र आस्थामा आधारित हुन्छ । यसले सत्यता र प्रमाणिकताको विषयमा कुनै प्रश्न पनि उठाउँदैन । ‘दर्शन’ ले भने सम्बन्धित विषयको सुव्यवस्थित एवं निष्पक्ष परीक्षा गर्दछ । दर्शनले समस्या, मान्यता, सिद्धान्त र विश्वासको तर्कसंगत अध्ययन तथा निष्पक्ष मूल्याङ्कनपनि गर्दछ । त्यसकारण सपाट वणर्न गरेर रचिएको शास्त्रीय ढङ्गको कविताले जीवन र जगत्मा सकारात्मक सुधार गर्न सक्तैन । कविता रच्नु वैज्ञानिक आविष्कार गर्नुजस्तै हो । यसले नवीन मार्ग प्रशस्त गर्नसक्नु पर्दछ । सम्बन्धित विषयको विवेचना र मूल्याङ्कन गरी त्यसको स्वरुप, मूल्य, अनुभूति, क्रिया, मान्यता, विश्वास र सिद्धान्त समेतलाई मनन गरेर कलात्मक अभिव्यक्ति दिएको र परम्परागत मूल्य, मान्यता र शैलीभन्दा फरक ढङ्गले कविता रच्न सक्नु नै कविको सफलता झल्कन्छ । यसको लागि कवितामा दर्शनपक्ष प्रवल भयो भने मात्र कविताले सही बाटो देखाउँन सक्तछ ।


तपाईंले स्वदेश र विदेशमा रहेर प्रशस्त कविता लेख्नुभएको छ । कविता रच्न तपाईंलाई कुनै निश्चित स्थान वा समय आवश्यकता पर्दछ ?

पुडासैनी : मलाई कविता लेख्न समय भन्दा पनि परिस्थितिले बढी घचघच्याउने गर्दछ । प्रकृतिको सौन्दर्य, प्रकृतिमा आइरहने फेरबदल र मानवमा भेटिएका उज्याला र अँध्यारा पक्षहरूले मनमा गहिरो संवेग उठेपछि मेरो मन कविता लेख्नतिर तुल्बुलिन थाल्दछ । एउटै कोठामा बसेर भन्दा यात्रा गर्दै कविता लेख्न बढी आनन्द आउँछ मलाई । कुनै स्थान वा घटनाले मनमा छोयो भने कविता नलेखी बस्न सक्तिन ।


वर्तमानमा कविता लेखनको समग्र प्रवृत्तिलाई कसरी हेरिरहनु भएको छ ?

पुडासैनी : कवि सधैं समय र परिस्थितिप्रति चनाखो हुन्छ । समय र परिस्थितिलाई नजिकबाट नियालेर नवीन दृष्टिकोण समेत जोडेर कविले कविता रच्दछ । विज्ञान प्रविधिको विकास र सञ्चार क्षेत्रमा अभूतपूर्व प्रगतिको कारण वर्तमान कविहरूले आफू उभिएको भूगोल र समाज मात्र नभै संसारलाई नै मिहिन ढङ्गले पहिचान गर्न समर्थ छन् । यस हिसावले आजका कविता विगतका भन्दा बढी स्तरीय बन्न सकेका छन् । परिवर्तित राजनीति, विज्ञान, समाज, अर्थ, संस्कृति र सञ्चारसँग कविहरूले नजिकको साइनो जोड्न समर्थ भएका कारण अहिलेका कविताहरूले ती विषयहरूलाई सजिलै समेटेका पाइन्छन् । वर्तमान कवितामा विम्ब सिर्जनामा नवीनता पाइन्छ । नवीन शब्दहरू सिर्जना गर्ने, नवीन काव्यभाषा निर्माण गर्ने, चित्रात्मक शैली अपनाउने, विषयलाई गम्भिर ढङ्गले प्रक्षेपण गर्ने क्षमतापनि आजका कवितामा प्रचूर रुपमा आएको पाइन्छ । वर्तमान कविहरू कथ्य र शिल्प दुवैमा उम्दा ठहरिन प्रयासरत छन् । यो खुसीको कुरा हो । वर्तमान कविहरू मानवमूल्य, विद्रोह, क्रान्ति, विश्वबोध, सांस्कृतिक चेत, पर्यावरणीय चेत, नारीवादी चेत आदिमा केन्द्रित भइ कविता लेखिरहेछन् । मानवीय अस्तित्वको खोजी, मानव जीवनमा यान्त्रिक पक्षको प्रवलता, जीवनका आशा र निराशाका घेराहरू, विश्वमानवतावादी दृष्टिकोण र युद्धले मानवलाई पारिरहेको सङ्कट जस्ता विषयहरू समेटेर कविता रच्नेहरूको प्रवलता पनि अहिले देखिएको छ ।


तपाईं यो समयका कुशल कवि र प्रसिद्ध नियात्राकार हुनुहुन्छ । कविता र नियात्राको तात्विक भिन्नता के कस्ता हुन्छन् ? केही बताइदिनुहुन्छ कि ?

पुडासैनी : विधातात्विक दृष्टिले कविता र नियात्रा दुवै फरक विधा हुन् । कविता प्रायः लयात्मक पद्य शैलीमा लेखिन्छ । नियात्रा भने प्रायः गद्य शैलीमा लेख्ने चलन छ । तर, काव्यात्मक शैलीमा लेखिएका नियात्राहरू बढी सुललित लाग्दछन् । नियात्रा लेख्न नियात्राकारले एक ठाउँदेखि अर्को ठाउँसम्म यात्रा गर्न जरुरी छ, कविता एकै ठाउँमा रहेरपनि लेख्न सकिन्छ । नियात्रामा गतिमयता, सांस्कृतिक चित्र, स्थानीयता, भौगोलिक विविधता, समाज, सामयिकता जस्ता पक्षहरूलाई समेटनैपर्ने बाध्यता आइपर्दछ, जबकी ती सबै पक्षभन्दा फरक रहेर पनि कसैले कविता बनाउन सक्तछ । कवितामा कविता विधामात्र अटाउँछ, नियात्रा बहुविधा बोक्नसक्ने विधा हो । नियात्रा लेख्ने क्रममा नियात्राकारले समाज, भूगोल, जीवन आदि पक्षहरूलाई समेटेर कविता, गीत, कथा, उपन्यास, नाटक जस्ता बहुविधा मार्फत आफ्नो अभिव्यक्ति प्रस्तुत गर्न सक्तछ ।


तपाईंले लेख्नुभएको कविता, नियात्रा र दर्शन विधाका प्रायः सबै कृतिहरूले प्रसिद्ध पाए र पुरस्कृत पनि भए । वि.सं. २०७२ सालमा प्रकाशित 'धर्मको ह्याङ्ओभर’ नामको तपाईंको दर्शनकृतिले समाजमा झन् चर्चा पाइरहेछ । त्यसको बारेमा केही प्रकाश पारिदिनुहुन्थ्यो कि ?

पुडासैनी : एउटा कवि वा लेखकले समाजका रीत र सामाजिक क्रियाकलापलाई फरक कोणबाट नियाल्ने मात्र होइन समाजलाई नयाँ गति र दिशा दिनसक्ने सामर्थ्य पनि राख्नसक्नु पर्दछ । शास्त्रीय ढंगबाट लेखिरह्यो भने स्रष्टाले समाजलाई खासै नौलो कुरा दिन सक्तैन । जुनसुकै विषयमा पनि दार्शनिक दृष्टिकोण साथ लेख्नसक्ने स्रष्टाले नै नवीन पक्षको उजागर गर्न सक्तछ । मैले केही समय धर्म र धर्मका विविध पक्षको अध्ययन गरें । शुरुमा अनुशासन कायम गर्न धर्म प्रतिपादन भएथ्यो । कालान्तरमा धर्ममा कर्मकाण्ड थपियो र धर्मको नाममा ठगी गर्ने परम्पार पनि बसालियो । वर्तमानमा त धर्मलाई कमाइ खाने भाँडो, सिधासाधालाई छकाउने माध्यम मात्र नभै ‘व्यापार’ समेत बनाइयो । धर्मका असल र खराब पक्षहरू उदाङ्ग पारेर मैले ‘धर्मको ह्याङ्ओभर’ लेखें । तपाईंले भन्नुभएझैं यो पुस्तक प्रकाशित हुने बित्तिकै आम पाठकले मन पराउँनु भयो जुन आजसम्म कायम छ ।


तपाईं राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका अनेकौं सम्मान र पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ । यस किसिमबाट पुरस्कार पाउँदा आत्मसन्तुष्टि मिल्छ कि, अहंकार बढाउँछ कि, जन्म सफल भएको लाग्छ कि, अरु केही लाग्छ ? बताइदिनुहोस् न ।

पुडासैनी : मेरो विचारमा पुरस्कार र सम्मान पाउँदा सामाजिक पहिचानमा वृद्धि हुन्छ । पुरस्कार वा सम्मानले आत्मसन्तुष्टि भन्दा पनि त्यस क्षेत्रमा लाग्न थप हौसला मिल्दछ । पुरस्कारले कसैलाई अहंकार बढाएको पनि देखिन्छ । पुरस्कार वा सम्मान पाएपछि अहंकार पाल्दै हिँड्ने सत्पात्र हुनै सक्तैन । स्रष्टाले पुरस्कार वा सम्मानलाई मात्र केन्द्र बनाएर सिर्जना गर्ने  पनि होइन । सिर्जना गर्दागर्दै कसैले सम्मान वा पुरस्कार प्रदान गर्छ भने त्यसले अझ बढी कार्य गर्न र सिर्जनामा निखार ल्याउन मद्दत पुर्‍याउँछ ।


पाँच दशकदेखि तपाईंले निरन्तर विभिन्न विधामा लेखिरहनुभएको छ र ती कृतिहरू प्रकाशनपनि भइरहेछन् । तपाईंका पाठक तथा शुभचिन्तकका लागि निकट भविष्यमा कस्तो कृति प्रकाशमा ल्याउँदै हुनुहुन्छ ?

पुडासैनी : पटक पटक संयुक्त राज्य अमेरिका जाने, आउने र बस्ने क्रममा अमेरिकी परिवेश एवं भावभूमिलाई आधार बनाएर झण्डै पाँच दर्जन कविताहरू लेखेको थिएँ । तिनै कविताहरूको सङ्ग्रह निकट भविष्यमा पाठकको हातमा ल्याउन कार्य गरिरहेको छु ।


तपाईंलाई आम मान्छेले कसरी बुझिदिए हुन्थ्यो भन्ने लाग्छ ?

पुडासैनी :  जीवनमा अनेकौं बाधा, अड्चन र अप्ठेराहरू आइरहन्छन्, र पनि जिन्दगीभित्र दुःखको ठाउँमा सुख र आनन्द लिन सकिने ठाउँहरू प्रशस्त छन् । ठूलो सङ्घर्षको परिणामस्वरुप यो जीवन पाइएको हो र यसलाई टिकाउनपनि ठूलै सङ्घर्ष गरिरहनु पर्दछ । जीवनका हरेक क्षण इमान्दारीपूर्वक कार्य गर्न सकियो भने मान्छे, समाज र संसारलाई अग्रगतिमा अघि बढाउँन सकिन्छ । मलाई लोलोपोतो र कुरा कटुवाहरू मन पर्दै । आफ्नो स्वार्थको लागि अरुलाई फसाउनेहरू पनि मन पर्दैन । निरन्तर अध्ययन, निरन्तर काम र निरन्तर उपलब्धि— यी तीनको त्रिवेणीमा उत्साहपूर्वक अघि बढिरहनु पर्दछ भन्ने मलाई लाग्दछ । सबैसँग मिलेर काम गर्न मन लाग्छ र कामको सँगसँगै रमाइलोसँग जीवन अघि बढाउन मन लाग्छ । वास्तवमा मलाई सबैले इमान्दार, मेहनती, मिलनसार र रमाइलो स्रष्टाको रुपमा बुझिदिए हुन्थ्यो भन्ने लाग्दछ ।


सामाजिक सञ्जालको जमाना छ । रहरले कविता लेख्ने वा बुझेर कविता लेख्ने दुवैथरिले सामाजिक सञ्जालमा पोष्ट गर्ने चलन बढिरहेछ । यसलाई कसरी लिनुभएको छ ?

पुडासैनी : तपाईंले भन्नुभएझैं फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता विविध माध्यमबाट सिर्जना पोष्ट गर्ने चलन निकै बढिरहेछ । अनलाइन पत्रिकामा प्रकाशन गर्ने त झनै छन् । सबै स्रष्टाको पहुँच पत्र-पत्रिकामा नहुने भएकोले विविध सामाजिक सञ्जालबाट रचना प्रकाशित गर्ने मौकाले लेखकहरूलाई राम्रो प्लेटफर्म त मिल्छ नै । सबै स्थानबाट सबैको समान रुपमा पहुँच हुने भएकोले पनि सबै किसिमका स्रष्टाले प्रकाशनको मौका पाउँदछन् । तर, कतिपय अवस्थामा एक स्रष्टाको सिर्जना अर्कोले चोरेको पनि देखिएको छ । अरुको सिर्जना नक्कल गरेर आफ्नै भनेर प्रकाशित गर्ने ठूलो रोग पनि तीब्र रुपमा बढेको छ । स्तरीय र मौलिक रचना सामाजिक सञ्जालमा पाउँदा भने आम पाठकको लागि फाइदा हुने नै भयो ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment