Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

बालुवा भएको दूध

- विश्वजित गुप्ता (विशाल)
रामग्राम-३, घोडपाली, नवलपरासी    


दूध लेलो दूध कराउँदै, सखारै दूधवाला आएछ । गबुवाको दूध साइकलबाट तल झार्छ । खै, मलाई डेढ लिटर दूध दिनोस् त । दूधको भाँडा थाप्दै मोहित भन्छन् । सधैँ झैँ दूध लिएर घरभित्र पस्छन् । दूध दिएपछि दूधवाला पनि बाटो तताउँछ ।

दूध तताउन जाँदा केही ख्याल गर्छन् । भैँसीको दूध त आज गाईको दूधभन्दा पनि फिक्का पो रै’छ त । कुरो के कसो हो ? करिब पन्ध्र दिन भइसक्यो । यस्तो दूध अहिलेसम्म कहिल्यै आएको थिएन । कहीँ दूधवालाले दूधमा, बजारमा पाइने दूध-पाउडर त मिसाएको छैन ? यसको भोलि राम्ररी जवाफ लिनुपर्ला ।

भोलिपल्ट फेरि दूधवाला उही समयमा आउँछ । होइन दाजु, हिजो तपाईंले दिएको दूध भैँसीको थियो कि गाईको ? साह्रै धमिलो थियो त । मोहितले दूधवालालाई सोध्छन् । ए, त्यो दूध भैँसीकै थियो नि भाइ । गर्मी यत्रो छ, भैँसीले धेरै पानी खाई होली नि । त्यसैले, हुनसक्छ । म अरु दूधवालाजस्तै बजारको दूध-पाउडर पानीमा मिलाएर बेच्दैन नि फेरि । आफैँ सफाइ दिँदै दूधवाला भन्छ र आफ्नो बाटो लाग्छ ।

अब त हदै भयो । दूधमा बालुवा, कसरी हुन सक्छ ? अब त्यो दूधवालासित दूध लिएकै बेकार छ । अर्को दिन भेट्दा, “दाइ, के तपाईं दूधमा पानी मिसाएर बेच्नुहुन्छ र ? होइन, कसले भन्यो त्यस्तो ? दूधवालाले ढाँट्दै भन्छ । हिजोको दूधमा बालुवा कसरी आयो त ? कि भैँसीलाई घाँसमा बालुवा मिलाएर ख्वाउनुहुन्छ ? यो सुन्दै दूधवालाको सातो पुत्लो जान्छ । बिचरा, हिजो घरको धारा बिग्रेर ऊ झुक्केछ र हतारमा ख्यालै नगरी छिमेकीको बालुवादिने पाइपको पानी दूधमा मिसाएछ । दूधमा अलिकति पानी त लगभग सबै दूधवालाले मिलाउँछन् तर तपाईंले पानीमै दूध मिलाउनु हुन्छ कि क्या हो ? मोहितले थप्छन् । यो कुरा सुनेर ऊ झन् लज्जित हुन्छ, आफ्नो गल्ती स्वीकार गर्छ र माफी पनि माग्छ ।

दुई-चार पैसाको लोभले कसैको स्वास्थ्यसँग खेलबाड गर्नुहुँदैन भनी दूधवाला दाइलाई मोहितले सम्झाउँछन् । यसरी ठगी गर्दा कहिले न कहिले त भाण्डा जरुर फुट्छ र समाजमा बेइज्जत भइन्छ । दूधवालालाई ठूलो पश्चात्ताप हुन्छ । अर्को दिनबाट बिना मिलावटको ताजा शुद्ध दूध ल्याउँछ । मोहित पनि शुद्ध राम्रो दूध खान पाउँदा पुलकित हुन्छन् । त्यो दिनबाट दूधवाला कहिल्यै पानी मिसाएको दूध बेच्दैन ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment