दुखन भाइ
जिउको भएभरको तेल निखारेर
दिनभर
रिक्सा तान्दातान्दा थकित
तनलाई डोर्याउँदै
हान्निएर आउँछन् उनी
साँझको हाट भर्न
र भट्टीमा पसेर
तन्काउँदैछन् केही डबका
जाँड !
जाँडले नै
तिनको अस्थिपञ्जर शरीरलाई
नचाउन थाल्छ
र राग अलाप्त थाल्छन् उनी
आफ्ना बाबु-बाजेको नाममा
दुबैले गरेर
सबै सम्पत्ति सकिदिए
भन्दै ।
अनि -
मस्त मातेपछि
भट्टीबाट फर्कन्छन् उनी
रिक्सा तान्दै छु भन्ने
भ्रमकासाथ
कतै आतङककारीको आशङकामा
बज्रने
बुटका चुम्बनहरू निम्त्याउँदै
र कतै सुराकीको आशङकामा
बर्सने
भाटाका डामहरू
सुम्सुम्याउँदै ।
परिणामस्वरूप -
उनको ‘मौगी’ हरेक बिहान आँसु झार्दै हुन्छिन्
रित्तिएको खल्ती
र चोटपटकले भरिएको शरीर
लिएर
मध्यरातमा आइपुगेको
लोग्नेको दुर्गति देखेर ।
त खानदानी सोझोपन
र परम्परागत शोषणले पनि
नपुगेर
आफ्नै कुलतको सिकार भएका
दुखन भाइ
भोलिपल्ट पनि
कुनै परिवर्तन
ल्याउँदैनन् आफ्नो दिनचर्यामा ।
लाग्छ -
वनमा डढेलो लाएर आगो
ताप्नेहरूले जस्तै
नदीमा ढल मिसाएर इज्जत
ढाक्नेहरूले जस्तै
उनले पनि
आफ्ना सन्तानका लागि
भोग्न
केही बाँकी नराखिदिने सुर
कसेका छन् ।
***********
उसले
मानौं म उसकी मात्र पेवा
भएझैं
जथाभावी गर्दै छ मलाई ।
उसले
जुवाको खालमा द्रौपदीलाई
युधिष्ठिरले हारेझैं
जीवनको खेलमा हार्दै छ
मलाई ।
म पृथ्वी हुँ ।
ऊ मान्छे हो ।
मलाई कराही बनाएर
आफ्नो स्वार्थको तेल
तताउँदा तताउँदै
थाहै नपाई
उसले त्यही तातो तेलमा
सुकुटी बनाएर
तार्दै छ आफैंलाई ।
मैले त अहिले नै पनि
भोगिरहेकै छु उसको
दुर्व्यवहार ।
चिन्ता त के भने
अब कसरी सुन्नु
मैले नै
उसले उसैलाई यसरी
भुटिरहँदा निस्कने
उसको पीडाको अन्तिम
चित्कार !
***********
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि
trichandra.shrestha@gmail.com
आहा ! मीठा कविताहरु
ReplyDelete