Saturday, August 24, 2024

नैना अधिकारीका दुई कविता


बालुवाभित्र मुन्टो  

थकित र उदासी दिनहरू आउँछन् तागतका साथ ममाथि झम्टिन थाल्छन् सँगसँगै आउँछन् लोते लोते पाराले अलिकति जिउने चाहनाहरू अझै जिउनुपर्छ लोभ्याउन थाल्छन् अचानक याद आउँछ मलाई कसरी हतियारबन्द हत्याराका गिरोहले प्रेम र सङ्गीतको घाँटी निचोरे अनि कसरी भोकमरी युद्ध अस्थिरता र आत्महत्याहरूका बिचमा विवेकलाई दफनाएर आवेगले भरिएका विलासिताहरूका साथ नयाँ-नयाँ सिद्धान्तहरू जन्माउँदै गए वरिपरि अन्योलका नाजायज बिरुवाहरू उम्रिँदै गए श्मशानको सन्नाटा कसरी छायो यो चुलबुले गाउँमा मलाई अलि अलि थाहा छ मलाई फेरि याद आउँछ फिलिस्तिन, इराक र लेतिन अमेरिकी युद्धहरू गृहयुद्धहरू मान्छेहरूका जीवन जङ्गलका महाविनाशहरू घरी घरी याद आउँछ सबै खरानी पारिदिने त्यो भयानक आगो जुन आगो मानिसले सल्काएका हुन् अर्काको अधिकार पोल्न आफ्नो स्वार्थ सेक्न अनि रातौरात सबै बगाएर लाने ब्रह्मपुत्रको बाढी तिस्टाको पैरो एमाजनको धुवाँ मान्छेकै कुकर्मको मलिलो खेतमा मौलाएको अपतृण धर्तीमा दबिएका खनिजहरूका कोख गुमसुम उदास मेरा देशका पहाडहरूका सुस्केरा विष घोलिदिइएका नदीका रोदन समुद्र किनारका नुनिला उकुसमुकुस प्रतिक्षारत प्रेम मस्तिष्कमा त्रास फैलाउने त्रासदी छायाँचित्र लड्नु छ मैले यी सबैका विरुद्ध म त प्रेम सौन्दर्य नैसर्गिकताको निष्कपट कामना हुँ अनि हुँ स्मृति र सपनाहरूको द्वन्द्व म वीर सहिदहरूको जीवनका ती दिन हुँ जसलाई उनीहरूले जिउन दिएनन् यो अँध्यारो तातो बाफले भरिएको कारागारमा उज्यालो छिर्ने झ्याल हुँ यदि म आजको सचेत युवा हुँ सपना मेरो हो साथी! हिजोआज तिम्रो घर विवेकका छेउँमै छ? कि कतै सुतुरमुर्गको झैँ टाउको लुकाउने बालुवा खोज्दै छौ?


कङ्गालको आत्मकथन 
 

 मलाई हिजोआज दुइटा शब्ददेखि सारै डर लाग्छ एउटा - देश अर्को - दुनियाँसँग अनि यी शब्दहरू घेरेर अरू केही शब्दहरू बसेका छन् - 
धर्म, ईश्वर, जात, वर्ण, चुनाउ, आश्वासन, सपना अनि यथार्थ, भोगाई, पीडा अरू धेरै तिम्रो शिरपेच, अनि त्यसमुनिको क्रुर हाँसोलाई आफ्नो शिरमा सजाइ तिम्रोभित्रबाट बाहिरिएको दुर्गन्धित रीतिस्थितिहरू घिसार्दाघिसार्दै अब असहनीय हुनथालेको छ तिम्रा तराजुमा आफ्नो जीवन राखेर सासको आवागमन हेर्छु धेरै लज्जित हुन्छु कसले जान्दैन र ईश्वर - तिम्रो अश्लीलतम् ध्यानकेन्द्र हो धर्म - सृष्टिको सबैभन्दा ठुलो घोटाला अनि जाति! गहिरो खाडल जसको भयावहताले पानी छोप्छ सास थुनिन्छ तिम्रो कला र विज्ञानसँग पनि म अघाइसकेकी छु उसले यहाँ पसिनालाई - थुक रगतलाई - पानी प्रतिस्थापित गरिदिन्छ चीत्कारलाई यहाँ मन्दिरको कीर्तनले घोटेर बसेको छ सुनेकी थिएँ - सत्यलाई टयलेट-पेपर बनाएर झुन्डाउँछन् आफ्नो स्वार्थमा बलबुतो हुनेले लावालस्कर लिएर अनि जसले बिहान- बेलुकी पसिना चुहाउनेहरूको चुसिएका सपनाहरू पुछिन्छ म यही देशको त्यो खाद्यनलीबाट आएकी हुँ जसले सदियौँदेखि अन्नको मुख देखेको छैन म तिम्रो भोकदेखि भयभीत छु मलाई छाडिदेऊ मेरा ती ताल- तलाउहरूका लागि जहाँ माछाहरू मेरो पर्खाइमा होलान् म कुनै दिलदार साथीसँग साउनलाई आफ्नो भोटो बनाएर त्यही दिशामा तैरिन जान्छु जहाँ मेरा गाई चर्दै होलान् मुक्तिबोधका बारेमा मेरो कुनै ज्ञान छैन मार्क्सलाई म चिन्दा पनि चिन्दिनँ अम्बेडकरको नाउँ त पहिलोपटक सुन्दैछु अज्ञेय हुनु सायद तिम्रो सभ्यताको सबैभन्दा ठुलो पुरस्कार हो अब मलाई जान देऊ म सबै जिद्दी छाडिदिन्छु चाहे काँतर भन भगुवा भन तर जान देऊ सायद तिमी बुझौँला म गएपछि मेरो जानुको कारण सायद तिमी बुझ्न सक्छौ होला बङ्गाइएको त्यो फलामको तनावग्रस्त थरथराहट जसले मलाई सिकाएको थियो - विनम्रतालाई विवशतामा परिवर्तन हुनुभन्दा पहिला विद्रोहमा बदल्नु नै जीवितताको प्रमाण हो।
 

..साथ सहयोगको खाँचो

 

No comments:

Post a Comment