Showing posts with label प्रद्युम्न अधिकारी. Show all posts
Showing posts with label प्रद्युम्न अधिकारी. Show all posts

Monday, June 15, 2026

लघुकथा (अङ्क ३५ मा प्रकाशित)


हिरालाल बेलुका घर फर्कँदा सधैँ रक्सी पिएर आउँदथे र अनावश्यक कुराको निहुँमा श्रीमतीसँग झगडा गर्दथ्यो । झगडाको कारण घरमा अशान्ति हुनुको साथै सुरक्षाको पठनपाठनमा समेत बाधा पर्दै गइरहेको थियो । 

प्रखर बुद्धि भएकी र उमेरले १४ वर्षमा पुगेकी सुरक्षा कक्षा ७ मा अध्ययन गर्थी । बुवाले रक्सी पिएर झगडा गर्ने र घरमा सधैँ अशान्ति भइरहेकोमा उनी दिक्क हुन्थी । बुवाको रक्सी पिउने खराब लत सधैँको लागि छुटाई कसरी घरमा शान्ति ल्याउने भन्ने कुरामा उनी चिन्तित भइरहन्थिन । 

एकरात कठोर निर्णय गर्दै सुरक्षाले कागजमा केही कुरा लेखेर आफु नजिकै राखेर सुतिन । सधैँ सबेरै उठि लेखपढ गर्न बस्ने छोरी आज झलमल्ल घाम लागिसक्दा पनि नउठेको देखेर आमा आत्तिईन र श्रीमान्‌लाई बोलाएर छोरीको कोठामा छिरिन । तर छोरी केही नबोलिकन टुलटुली हेरेर मात्र बसिरहेको देखेर उनीहरू आत्तिए ।

बुवाको आँखा सुरक्षाको नजिकै रहेको कागजमा पर्‍यो । कागजमा लेखिएको थियो, “जबसम्म बुवाले रक्सी पिइरहनु हुन्छ र घरमा अशान्ति भइरहन्छ तबसम्म म पानी समेत नपिई मौन भएर बस्छु । कृपया मलाई करकापमा पारेर बोल्न लगाउने र  खानेकुराहरू खुवाउने प्रयास नगर्नु होला ।’’ 

यति कुरा पढ्नासाथ बुवाले छोरीलाई अंगालो मार्दै भने, “मेरी छोरी, तिमी कति महान रहिछौ । मैले तिमीलाई बुझ्न सकिनछु । तिम्रो यो कठोर निर्णयले आज मेरो चेतनाको आँखा खुल्यो । मलाई माफ गर छोरी । अब म कहिल्यै रक्सी पिएर घरमा कलह निकाली अशान्ति ल्याउँदिन । यो मेरो दृढ प्रतिज्ञा भयो ।

–चाबहिल, काठमाडौँ ७

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Monday, March 2, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


सुबोधले आफ्नै मिहिनेतबाट राम्रो ठाउँमा जागिर पाएकोले साथीभाइ र आफन्तहरूको लागि दिल फुकाएर खर्च गर्न कहिल्यै हिचकिचाउँदैन थियो ।

साथीहरूले पनि उ सँग घुम्न जाने, कतै गएर रमाइलो गर्ने प्रस्ताव राख्दा सजिलैसँग, “हुन्छ नि, भैहाल्छ नि’’ भनेर स्विकार्दथ्यो । आफन्त र साथीहरूले पैसाको खाँचो पर्दा उसै सँग सापटी लिएर गर्ज टार्दथे । उसले पनि विश्वास गरेर पैसा सापटी दिने गर्दथ्यो । मानौँ उ सबैकोलागि दुहुनो गाईसरि प्यारो बनेको थियो ।

तर विडम्बना…! समय र परिस्थिति सधैं आफ्नो पक्षमा हुँदैन । पैसा सापटी दिनु भनेको शत्रु कमाउनु हो भने झैँ, सुबोधले दिएको सापटी विरलै मात्र अरुबाट फर्किन्थ्यो । सापटी दिएको आफ्नै पैसा फिर्ता माग्दा पनि, “अहिले पैसा छैन, पछि फर्काउँला’’ भनेर पन्छिन्थे अनि सम्पर्क बिहिन हुन्थे । क्रमशः साथी र आफन्तहरू पैसाकै कारण उ देखि टाढिँदै गएका थिए ।

कमाइ भन्दा खर्च दिनानुदिन अत्यधिक मात्रामा बढ्दै गइरहेकोले आफ्नै घरव्यबहार चलाउन पनि मुस्किल पर्दै गएको सुबोधलाई महसुुस भयो ।

उसलाई छट्पटीले रातभर निद्रा लागेन । उसलाई पछुतो लाग्यो र पश्चाताप गर्दै आत्मसमिक्षा गर्न थाल्यो, “ओहो…! मैले त अनाहकमा अनावश्यक खर्च गरिरहेको रहेछु । पैसाको वास्तविक महत्त्वलाई बुझ्न सकेको रहेनछु । खर्च गर्न सकुन्जेल बलेको न्यानो आगोसरि सबैको म नजिक थिएँ । सबैजना मेरो अघिपछि लाग्थे । अहिले निभेको आगोसरि सबैले छोडेको खरानी जस्तो हुन पुगेँ । आखिर सबैले बलेको आगो नै ताप्ने रहेछ्न ।“ यति कुरा मनमा खेलाउँदा खेलाउँदै ऊ भुसुक्क निदायो ।

-का.म.न.पा. –७ चाबहिल, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


Sunday, November 30, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


प्रेमलालले जागिरेको पेन्सनबाट खाइ नखाई रकम जम्मा गरेर बनाएको सानो दुई तले घरको तल्लो तलालाई भाडामा लगाएको थियो । त्यही भाडा नै उसको पारिवारिक जीवन गुजार्ने आम्दानीको मुख्य श्रोत थियो । 

तीन महिना नाघिसक्दा पनि भाडामा बस्ने मान्छेले कुनै न कुनै बहाना बनाएर भाडा तिर्न आनाकानी गर्दै गइरहेकोमा प्रेमलाल आजित भएको थियो । भाडा माग्न जाँदा, “अहिले म सँग पैसा छैन । अर्को महिना जसरी भए पनि एकैचोटि एकमुष्ट रकम दिईहाल्छु नि । नआत्तिनु होस ।’’ भन्दै सधैँ पन्छिने गर्दथ्यो ।

एकदिन प्रेमलाल आफ्नै कामको धुनमा व्यस्त थिए ।भाडामा बस्ने मान्छे पनि केही छिनको लागि बाहिर गएको थियो । सोही मौका पारी उ बसेको कोठाको झ्यालै छेउमा राखेको मोबाईल र पर्स कुनै अपरिचित व्यक्तिले सुटुक्क लगेछ । आफ्नो सामान चोरी भएको थाहा पाउने बित्तिकै उसले, “लौन, मेरो कोठाको सामान चोरी भयो । गुहार…! गुहार… !“ भन्दै चिच्याउन थाल्यो ।

उतिनैखेर प्रेमलाल सहित केही छिमेकीहरू त्यहाँ जम्मा भए । प्रेमलालले उसलाई सोध्यो, “तपाईंको के सामान चोरी भयो ?’’ उसले हतारहतारमा सत्य कुरा ओकल्यो, “मेरो मोबाईल र तिस हजार रुपैयाँ राखेको पर्स चोरी भयो ।’’

यो सुनेर प्रेमलालले आक्रोश हुँदै कडकिँदै भन्यो, “तँलाई फटाहा…! मैले भाडा माग्दा सधैँ छैन भनेर टार्ने । अहिले तीस हजार चोरी भयो भन्न लाज लाग्दैन ? यस्तो नियतमा खोट भएको व्यक्तिलाई भाडामा किन राख्ने ? यति भन्दै छिमेकीहरुको सहयोगमा उसले कोठा खाली गराउन लगायो ।

- चाबहिल– ७, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Sunday, September 14, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


"दाइ ! तपाईंसँग म पनि मेलामा घुम्न जान्छु है ? मलाई पनि घुम्न मन लाग्यो ।’’ भाइले मेला हेर्ने र घुम्ने रहर गरेकोले दाइले भाइलाई मोटरसाइकलमा राखेर मेलामा घुमाउन लग्यो । सुरक्षित ठाउँमा मोटरसाइकल राखेर उनीहरू मेला हेर्न अगाडि बढे ।  मेलामा बाजागाजा, नाचगान लगायत झाँकीहरूको लावालस्कर थियो । मेला भर्न आउने मानिसहरूको बढ्दो क्रम चलिरहेको थियो ।

दाजुभाइ रमाइलो कुरा गर्दै, यताउता घुम्दै, रमाउँदै मेला हेर्दै थिए । अचानक भीडले गर्दा दाइको हातबाट फुत्किएर भाइ छलियो । भाइ छलिएको देखेर उसको होसहवास् उड्यो । उसले भ्याएसम्म चारैतिर धेरैबेर भाइलाई खोज्यो, हेर्‍यो, बोलायो । भाइलाई खोज्दाखोज्दै झमक्क साँझ परिसक्दा पनि भाइ कहिँ भेटिएन । 

भाइ छलिएकोमा के गर्ने, के नगर्ने…! उसले केही सोच्नै सकेन । उसलाई छट्पटी भयो । “अब मैले घरमा के भन्ने र कसरी मुख देखाउने ।’’ ऊ दिक्क हुँदै, निन्यारो मुख लगाएर मोटरसाइकल राखेको ठाउँमा पुग्यो । 

उता भाइ रुँदै, कराउँदै दाइलाई खोज्दै थियो । कतै नदेखेपछि अत्तालिँदै मोटरसाइकल भएको ठाउँमा आएर दाइलाई कुरेर बसिरहेको थियो । निकैबेर पछि दाइ हस्याङ्फस्याङ गर्दै बल्ल त्यहाँ आइपुग्यो ।

त्यहाँ भाइ रुँदै बसिरहेको देखेर हत्तपत्त बोक्दै भन्यो, “मेरो प्यारो भाइ ! धन्न तिमीले बुद्धि पुर्‍याएर यहाँ आएर बसेछौ । नत्र त्यत्रो भीडमा कहाँ भेट्नु र…! मैले तिमीलाई कहाँमात्र खोजिन…।’’

भाइले आँसु पुछ्दै भन्यो, “दाइ, म आफू छलिएपछि यताउता हेरेँ, रोँए, कराँए…। कतै नदेखेपछि पक्कै पनि यहीँ आउनुहुन्छ भन्ने सोचेर कुरिरहेँ । “भाइको यस्तो सोचविचार र बुद्धिमतापूर्ण काम देखेर दाइको खुसीको सीमा रहेन । छलिएको आफ्नो प्यारो भाइ भेटिएपछि खुशी हुँदै उनीहरू ढुक्कसँग घर फर्के ।

चाबहिल– ७, काठमाडौंँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, July 8, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


लोग्ने र सौताको चरम अपहेलना सहन नसकेपछि गाउँको सबै घरव्यबहारलाई चटक्क छोडी आफ्नो आठ बर्षकी सानी छोरीलाई च्यापेर मालती काम खोज्दै खोज्दै शहर पसेकी थिइन् । भाग्यबस शहरको कुनै एउटा घरमा सरसफाइको काम गर्ने अवसर पाइन् ।

मालती काम गर्न बसेको घर आदर्श परिवारको थियो । जहाँ आमाबुवाको मायामा हुर्केकी मालतीकी छोरी सरहकी एउटी सानी छोरी पनि थिइन् । त्यो घरको मायालु र शिक्षित वातावरण देखेर मालती आफ्नो जिन्दगी र कर्मलाई धिक्कार्दै गहभरी आँसु पार्थिन् ।

अनि आफ्नो छोरीको भविष्यलाई सम्झदैँ मनको पीडालाई दबाउने प्रयत्न गर्थिन् ।

हरेक दिन त्यो घरको सानी छोरीलाई आफ्नो बुवाले अफिस जाने बेलामा आफूसँगै मोटरसाइकलमा राखेर स्कूल लाने र ल्याउने गर्दथे । स्कूल जाने बेलामा आफ्नो आमालाई, “आमा ! मीठो खाजा बनाइदिइ राख्नुस् है !’’ भन्दै हात हल्लाउँदै जाने गर्थी । यी सबै क्रियाकलापहरु मालतीकी छोरीले सधैं देखिरहन्थी र उ सँगसँगै स्वरमा स्वर मिलाउँदै हात हल्लाउने प्रयास गर्थी । तर त्यो स्वर भित्रभित्रै विलीन भएर जान्थ्यो र निरर्थक बन्थ्यो ।

एकदिन छोरीले मालतीलाई भनी, “आमा ! मैले पनि यसैगरी मीठो खाजा बनाएर राखिदिनुस् है, भन्दै हात हल्लाएर स्कूल जाने मेरो रहर कहिले पूरा होला ?’’ छोरीको उत्साहित प्रश्नले मालती स्तब्ध बनिन् । उनको बोली फुटेन । छोरीलाई स्नेह साथ काखमा राख्दै आफ्नो मनको पीडा भित्रभित्रै लुकाउने कोशिस गरिन् । तर त्यो पीडाले उनको आँखाबाट बलिन्द्र आँँसुको धाराको रुप लिएर अविरल बगिरहन्थ्यो… ।

-का.म.न.पा– ७, चाबहिल, काठमाडौँ

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Tuesday, April 29, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


फ्नो दैनिकी जीवनको डायरी लेख्ने क्रममा आफूले भोगेका थुप्रै कथा व्यथाहरू उसले लेखिसकेको छ । जागिरबाट सधैंको लागि अवकाश पाएको दिनको अर्को एउटा डायरी लेख्न उसले शुरु गर्दै थियो । त्यत्तिकैमा, "बाबा अब सुत्ने बेला भयो । राती अबेरसम्म बसेर आफ्नो शरीरलाई कमजोर नबनाउनुहोस् ।’’ भन्दै उसको एक्ली सानी छोरी त्यहाँ आईपुगी । बाबाले पनि हुन्छ छोरी । म केही छिनमै सुतिहाल्छु "बरु तिमी गएर सुत ल…।’’ भनी जवाफ दिए ।

उसले आफ्नो डायरीमा जागीरे कालमा भोगेका थुप्रै सुखदुःखका कुराहरू क्रमशः सम्झदै अनि लेख्दै गयो । उ लेख्दै थियो, “आज मिति २०८१/०८/२५ गते… । लामो समयको अन्तराल पछि म आज पिँजडाबाट मुक्त भएर खुल्ला आकाशमा उडेको स्वतन्त्र पंक्षीतुल्य भएको छु । सुखदुःख, आरोह अवरोह मिहिनेत पसिनासँग मैले धेरै सङ्घर्ष गरेको छु ।’’ उसले आफ्नो लेखाइमा थप्दै गयो, “यो मेरो अवकाश पछिको शेष कालले अबका दिनमा कहाँ पुर्‍याएर कुन मोडको परिस्थितिमा मलाई धकेलिदिन्छ, त्यो अनिश्चित परिस्थिति हेर्न बाँकी छ ।’’  रात क्रमशः छिप्पिदै गइरहेको थियो… ।

भोलिपल्ट अबेरसम्म पनि बाबा नउठ्नु भएकोले उठाउनु पर्यो भनेर छोरी कोठामा छिरिन् । त्यहाँ बाबाले लेख्नु भएको डायरी देखिन् र पढ्न थालिन् । डायरी पढ्दापढ्दै छोरीको आँखा रसाएर आयो । उनले मनमनै भनिन्, “ओहो… हाम्रो लागि बाबाले धेरै रगत पसिना बगाउनु भएको रहेछ । बाबा, हजुरको यो अमूल्य गुन म छोरीले कसरी चुकाउँ… ।’’ यति भन्दै थाम्न नसकेको आँसु पुछ्दै बाबालाई उठाइन् ।

छोरीको घचघच्याईले उनी ब्युँझिए । छोरीको आँखाभरि आँसु देखेर आतिंदै सोधे, “छोरी तिम्रो आँखामा आँसु… ! के भयो तिमीलाई ?’’ छोरीले आँसु पुछ्दै भनिन्, “बाबा, हजुर महान हुनुहुन्छ ।’’ यसपछि छोरी निशब्द बनिन् । र आफ्नो आँसु पुछ्दै स्नेहका साथ बाबाको अंगालोमा बाँधिइन्‌… ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


Sunday, March 2, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)

 

सुशीला एक कुशल गृहिणी थिइन् । उनी घरव्यबहार चलाउन देखि लिएर आफ्नो श्रीमानलाई रिझाउन सिपालु थिइन । आफूलाई आवश्यक पर्ने सम्पूर्ण घरायसी सामानहरूको किनमेल आफैं गर्थिन् ।

उनीहरूलाई बिहेको निम्तो आएकोले भोजमा जानुपर्ने चटारो थियो । बिहेको निम्तोमा जाने दिन बिहानै सुशीलाले श्रीमानलाई भनिन्, “भरे बिहेको भोजमा जानुपर्छ । अफिसबाट बेलैमा आउनुस् है ।’’

श्रीमतीको कुरा सुनेर श्रीमानले, “हुन्छ, भइहाल्छ नि’’ भनी छोटो जवाफ दिए ।

बिहेको भोजमा जानकालागि उनी चिटिक्क परेर बसिन । श्रीमान् अफिसबाट अलि ढिलो आएकोले सुशीलाले भनिन, “कति अबेला आउनु भएको …! अब लुगा लगाएर तयारी हुनुहोस् । जान ढिला भइसक्यो ।’’

बिहेको भोजमा सबैजना एक अपसमा गफगाफ गर्दै थिए । खानपिन, नाचगान देखि अन्य कुरामा रमझम चलिरहेको थियो । सबैजना आफ्नै धुनमा मस्त र व्यस्त देखिन्थे । 

अचानक त्यहाँ कसैले गहना लुटेर लगेको हल्ला मच्चियो । सबैले आफूले लगाएको गहना छ कि, छैन भनी हातले छामी चनाखो रहन थाले । सुशीलाले पनि आफ्नो घाँटी कान छाम्न थाली । आखिर उनकै घाँटी र कानबाट पत्तै नदिइ कसैले गहना थुतेर लगिसकेको रहेछ ।

उनी अक्क न बक्क परिन । सबैले उनलाई “के भयो, के भयो… भनेर घेर्न थाले । त्यहाँ ठूलो खैलाबैला मच्चियो । आफ्नो गहना लुटेर लग्दा पनि उनी केही नबोली मौन भएर बसेकी थिइन् ।

घर आएपछि श्रीमान्‌ले गाली गर्दै भने, “तिमीले आफ्नो सामानको ख्याल राख्नु पर्दैन । तेत्रो महंगो पर्ने गहना लगाएर किन हिड्नु पर्‍यो ?’’ सुशीलाले संयमित हुँदै नम्र भएर जवाफ दिइन्, “नआत्तिनुस श्रीमान्‌ज्यू ! ती गहनाहरू नक्कली थिए । हराए पनि डर थिएन । मैले यस्तै हुनसक्छ होला भनेर खुसुक्क किनेर राखेको थिएँ । श्रीमतीको यस्तो चलाखी र बुद्धिमतापूर्ण कार्य देखेर श्रीमान नाजवाफ भए …।

- चाबहिल– ७, काठमाडौँ

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

अधैर्य हुनुको पछुतो

- प्रद्युम्न अधिकारी
चाबहिल- ७, काठमाडौँ    


रत्न लालले एउटा किराना पसल चलाएको थियो । उसको धेरैजसो समय पसलमै बित्थ्यो । एकछिन स्थिर गरेर कहीँ कतै बस्न नसक्ने उसको चञ्चले बानी थियो । यहि बानीले गर्दा उसलाई सबैले चञ्चले साहु भन्ने गर्थे ।

पतिको यस्तो चञ्चले स्वभाव देखेर उसकी पत्नी धेरै दुखी हुन्थी । आफ्नो पतिको यस्तो स्वभाव कसरी हटाउन सकिन्छ, भन्ने कुरामा उनी रातदिन चिन्तित भइरहन्थिन् ।

एकदिन पत्नीले भनिन, “तिम्रो चञ्चले बानी देखेर दिक्क लागिसक्यो । कहीँ गएपनि धैर्य गरेर बस्न सक्तैनौ । आफ्नो यस्तो बानीलाई सुधार ।’’ पत्नीले थप्दै भनिन, “भोलि गाउँको शिवमन्दिरमा विद्वान पण्डितहरुद्वारा ज्ञानगुणका कुराहरुको धार्मिक प्रवचन हुँदैछ । मनलाई कसरी शान्त, स्थिर र नियन्त्रणमा राख्ने जस्ता कुराहरू हुन्छन् रे ! यस्ता कुराहरुले तिम्रो स्वभावमा ठुलो सुधार हुनसक्छ । जान्न भन्न पाउँदैनौ ।’’  - पत्नी कुरा सुनेर उसले केही नबोली सहमति जनायो ।

भोलिपल्ट दुबैजना प्रवचन सुन्न गए । दुबैजनाले ध्यान लगाएर प्रवचन सुनिरहे । मनको चन्चलपनलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने प्रसङ्ग आउनु अगावै उसलाई छट्पटीले कुनबेला उठेर हिँडौ जस्तो भयो । पत्नीलाई थाहै नदिई उ जुरुक्क उठेर हिँड्यो । 

प्रवचनको कार्यक्रम सकेर फर्कने बेलामा पत्नीले यताउता हेरिन् । पतिलाई नदेखेपछि उनी दिक्क हुँदै घर फर्किन् । घर पुगेर पतिलाई भनिन्, “एकछिन पनि धैर्य गरेर बस्न सक्तैनौ तिमी ? कति राम्रो मनको शुद्धीकरण सम्बन्धी अमृतमय दिव्य प्रवचन भैरहेको थियो । यस्तो दिव्य प्रवचन सुन्ने मौका सधैं कहाँ पाइन्छ र... । तिमीले प्रवचन नसुनेर ठूलो भुल गर्‍यौ ।’’ पत्नीको कुरा सुनेर उसलाई पछुतो लाग्यो । 

अनि मनमनै भन्न थाल्यो, “हे भगवान् ! मेरो यो कस्तो अस्थिर र अधैर्य पन...! एकछिन धैर्य गरेर पनि बस्न सकिन । धिक्कार छ मेरो यो अधैर्य स्वभावलाई ।’’ बल्ल उसले अधैर्य हुनुको पछुतो कस्तो हुँदोरहेछ, भन्ने कुराको महशुस गर्न थाल्यो ।


....साथ सहयोगको खाँचो

Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

 अभाव

- प्रद्युम्न अधिकारी
का.म.पा. -७, चाबहिल



जुनेलीको श्रीमान् बडो इमानदार र मिहिनेती छ । ऊ हरेक दिन मजदुरी गरेर जसोतसो आफ्नो जहान परिवार पाल्ने गर्छ । दुःख गरेर खाइ नखाइ भए पनि आफ्ना परिवार सधैं खुसी र सुखी रहून् भन्ने चाहना राख्छ ।

एकदिन सधैँजसो आफूले कमाएको र दुःखगरि बचाएको सबै पैसा आफूसँग नराखी श्रीमतीको हातमा थम्याउँदै भन्छ, “लौ यसपालिको दशैंको खर्च यसैले टार्नू ...! जति पसिना बगाए पनि कमाउन सकिएन । यो कस्तो अभाव नै अभावमा बाँच्नु परेको जिन्दगी ...! आफ्नो त कर्म भाग्य नै यस्तै रहेछ ।’’

श्रीमान्ले हातमा राखिदिएको पैसा हेर्दै जुनेलीले गुनासो गर्दै भन्छिन्, “तिमी त सधैँ यस्तै भन्छौ । महान चाड दशैं तिहार नजिकिंदै छ । यति थोरै पैसाले कसरी घरव्यबहार चलाउने..?’’ उनी अझै दुखेसो थप्छिन्, “पोहोर दशैंमा पनि एउटा फरिया र चोलो सिवाय केही हाल्न पाइन । उता सानो छोरो मासु खान पाइन भन्छ । अनि ठुली छोरीले पोहोरको दशैंको लुगा र जुत्ता पुरानो भैसक्यो भनेर कराउँछे । पसलको उधारो पनि तिर्नै पर्‍यो । यति पैसाले लुगा किन्ने कि ...! खानेकुरा र मरमसला किन्ने कि ...! तिरोतारो गर्ने ...!’’ यति भन्दै उनी दिक्क मानेर घरभित्र छिरिन् ।

श्रीमतीको यति गुनासो र दुखेसो सुनिसकेपछि लामो सुस्केरा निकाल्दै उ पिँढीमा थचक्क बस्छ । अनि गोजीमा भएको चुरोट निकाल्दै सल्काउछ । उसले आफूले तानेको चुरोटको प्रत्येक सर्कोको धुवाँलाई हेर्दै आफ्नो परिवारको चाहना र रहरलाई पुरा गर्ने औकातको परिकल्पना गर्छ, तर ती सबै उडेर गएको धुवाँसँगै विलीन् हुँदै जान्छन्...।


...साथ सहयोगको खाँचो

Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

अनिश्चित यात्रा

- प्रद्युम्न अधिकारी
का.म.पा. -७, चाबहिल   



सुन्तलीको पति दीर्घरोगी थिए जसले गर्दा उ कडा परिश्रम गर्न सक्तैन थियो  । उनीहरूको एउटा १२ वर्षको छोरो थियो । जेनतेन छोरालाई नजिकैको कुनै सरकारी विद्यालयमा भर्ना गरिदिएका थिए । दैनिकी घर व्यवहार चलाउनको लागि भएपनि सुन्तली हरेक दिन मजदुरी काम गर्न विवश थिइन् ।

दिन बित्न कतिबेर लाग्दो रहेछ र ... अब त छोरा पनि ठुलो भैसक्यो । यो ध्रुवसत्य हो कि मानिसको उमेरसँगै उसको शरीरको रुपरङ्ग पनि ढल्कँदै जान्छ । सुन्तलीको उमेरसँगै उनको रुपरङ्ग ढल्कदैं गइरहेको थियो, उता उनको पतिको पनि दिनहुुँ जसो रोगको कारणले शरीर जिणर् बन्दै गएको थियो अनि छोरा पनि अल्लारे भएको थियो । 

एकदिन सबैले यो संसार छोड्नै पर्ने । यो त विधिको नियम नै हो, जसलाई ग्रहण गर्नै पर्छ । सुन्तलीको पतिले सधैंका लागि यस संसारबाट बिदा लिए । जसले गर्दा अब ती दुई आमा छोरा अभिभावकविहीन् हुन पुगे । 

धेरै दुःख र परिश्रम गरी ऋणको बोझ बोकेर भएपनि सुन्तलीले नचाहँदा नचाहँदै आफ्नो छोरालाई पैसा कमाउने उद्देश्यले विदेशमा काम गर्न पठाईन् । सायद सुन्दर र उज्यालो भविष्यको सपना देखेर होला ।

समय बित्ने क्रमसँगै छोरो विदेशमा काम गर्न गएको पनि १ वर्ष बितिसकेछ । तर छोरा पुगेर काम शुरु गरेको खबर बाहेक अरु हालखबरमा सुन्तली अनभिज्ञ नै थिइन् । तर विडम्बना एकदिन खबर आयो । सायद त्यो खबर अशुभ नै थियो होला ... !

आफ्नो बुवाको सहारा त बन्न सकेन सकेन आमाको पनि छोरो सहारा बन्न सकेन । दैवको खेल नै यस्तै रहेछ । विदेशमा दुर्घटनाको कारण उसले पनि यस संसारबाट बिदा लिएको दुःखद् खबर सुन्तलीले सुनिन् । सुन्तली स्तब्ध बन्न पुगिन् ।

सुन्तलीको सबै सुन्दर सपनाहरु...... सिसाझैँ चकनाचुर भए । आज उनी सहाराविहीन् भएकी छिन् । एउटा अनिश्चित यात्रामा कमजोर पाइला चलाउँदै छिन् ।

अब यी कमजोर पाइलाहरू कहिलेसम्म अघि बढ्ने हुन् ? अनि कहाँ गएर टुङ्गिने हुन् .... ?!


..साथ सहयोगको खाँचो