Saturday, August 24, 2024

योगेन्द्र तिमिल्सिनाका दुई कविता


सकार्छु यो ऋण

देश देशान्तरका परिवर्तनका सङ्गीन कथाहरू, सामाजिक र आर्थिक क्रान्तिहरू, राजनीतिक उथलपुथलका कथाहरू, वैभव र दरिद्रताका कथाहरू, रावण, भस्मासुर, देवता र दानवका कथाहरू, पढ्दै आएको छु, सुन्दै आएको छु, क्रान्ति, मुक्ति र परिवर्तनका कथाहरू । लुटपाट, आगजनी र निर्मम हत्याहरु देखेको छु, निर्दोषको चित्कार सुनेको छु, बलत्कारीको अट्टहास सुनेको छु, मान्छेहरू भोक भोकै मरेको देखेको छु । आँधी, बाढी, पहिरो र आगलागी भोग्दै आएको छु । विकास र समृद्धिको नाउँमा देश देशान्तरबाट ऋण लिएको छु । खाली कागजमा दस्तखत गरेको छु,, विकासको साक्षी बनेर । मेरो थाप्लाभरी ऋणको भारी बोकाएर बैँसको उन्मत्त राजनीति अब बुढो भैसकेको छ, म निःशब्द सकार्छु यो ऋण र भावी सन्ततिमा सार्दै जान्छु ।

समृद्धि 


तिम्रो प्रतीक्षामा मैले के गरिन, घरहरुमा आगो झोसिन कि, रातविरात मानिसका छातीमा बन्दुक ठोकिन कि, जङ्गलभित्र काँढाघारीमा कुदिन कि, हिमालमुनि हिउँमा सुतिन कि, आशै आशामा मैले के गरिन ! नदी तरेँ, एउटा डाँडाबाट अर्को पाखामा हाम फालेँ, तर तिमी कहिल्यै भेटिइनौ, तिम्रा लागि मैले लाठी खाएँ, लात्ती खाएँ र कोर्रा खाएँ जति सङ्घर्ष गरे पनि युद्धमा हारेको सिपाही झैँ भाग्नु पर्यो, भोक भोकै भागिरहनु पर्यो । तिम्रै कारण घर झगडा भयो, भैरह्यो, मैले टुलुटुलु हेरिरहनु पर्यो त्यसपछि पनि तिमी भागिरह्यौ । तिमीलाई पाउन मैले आन्दोलन गरेँ, पटक-पटक विद्रोह गरें, यो अन्तिम विद्रोह भनेँ, यो सम्वृद्धिको निम्ति विद्रोह भने, समानताको विद्रोह भने, तर तिमी आइनौ, आउँदै आइनौ ।

 

..साथ सहयोगको खाँचो

 

No comments:

Post a Comment