Tuesday, August 20, 2024

लघुकथा संसार मासिक अङ्क १५ (सम्पादकीय)


पृथक दिने प्रयास

नेपाली साहित्यिक क्षेत्रमा लघुकथाको विकास तीव्र गतिमा हुँदै गएको पाइन्छ । हिजोआज सामाजिक सञ्जालमा यसको लोकप्रियता नाप्न सकिन्छ । यिनै कारणले होला, अन्य विधाका समेत यतातिर मन खोलेर लागेका छन् । अतः बर्सेनि सङ्ग्रह निकाल्नेको सङ्ख्या पनि बढेको पाइन्छ । यो कम समयमा सजिलै पढ्न सकिने विधा पनि हो । तसर्थ एक दर्जन जति समूह सामाजिक सञ्जालमा सक्रिय छन् । यस्ता समूहले प्रोत्साहित गर्दै आइहेको छ भने यसले खेलेको भूमिका सराहनीय मान्नुपर्छ ।

लघुकथा संसारको १५ अङ्कलाई व्यक्ति विशेषका रुपमा हामीले प्रस्तुत गरेका छौं । जुन नितान्त नौलो र पृथक प्रयास पनि हो । यसको लागि दोलखामा जन्मिएका प्रतिभाशाली व्यक्तित्व त्रिविक्रम पाण्डेका ३६ वटा लघुकथालाई यहाँ समेटेका छौं । उनी चर्चित गीतकार पनि हुन् । उनका थुप्रै गीतमा प्रसिद्ध कलाकारहरूले स्वर/सङ्गीत दिएका छन् । कतिपय उनका चर्चित गीतहरू हामीले सुन्दै र गुनगुनाउँदै आइरहेका छौं । आफ्नो भाव गीतले मात्र अभिव्यक्त गर्न नसकेर लघुकथालाई चुनेका हुन् । उनले गीतपछि लघुकथालाई आफ्नो अर्को साहित्यिक माध्यम बनाउँदै आएका छन् । उनले लघुकथा पचासको दशकदेखि लेख्न थालेका हुन् । ॅनियतिॅ लघुकथा मधुपर्क मासिक पत्रिका (२०६६)मा प्रकाशित पहिलो लघुकथा हो । यसमा समावेश उनका तमाम लघुकथाले सामाजिक परिवेश र विसङ्गतिलाई उदाङ्गो पार्न खोजेको छ ।

अन्त्यमा, लघुकथा संसारले यसपालि केही नयाँ दिने क्रममा यो सौगात पस्केका छौं । आगामी दिनमा पनि यसरी नै प्रतिभाशाली सर्जकहरूलाई खोजीनीति गरेर राख्ने हाम्रो प्रयास जारी रहने छ । हरेक भदौ ५ गते हामीले लघुकथा दिवस मनाउँदै आएका छौं । यसै अवसरमा यो पृथक र नौलो प्रयासलाई तपाई‌ंहरूले सहर्ष स्वीकार्ने आशामा हामी छौं । धन्यवाद !

अङ्क १५ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment