Showing posts with label चूडामणि नेपाल अकिञ्चन. Show all posts
Showing posts with label चूडामणि नेपाल अकिञ्चन. Show all posts

Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

 दोषी को ?

- चूडामणि नेपाल 'अकिञ्चन'
विराटनगर -१


'कथा कहाँ पुगेको थियो ? म सोच्दै छु ।’
पात्रहरुले विद्रोह गर्न थालेपछि घटना र परिवेश अर्कैतिर मोडियो । 

‘ममाथि अन्याय गर्दै हुनुहुन्छ है ।’ महिला पात्र बोली । 

‘लेखकज्यू घटनालाई दुःखान्त बनाएर परिवेश पनि परिवर्तन गर्नुहोस् ।’ महिला मित्र मोहिनी बोली । 

‘हाम्रो हकअधिकार बिरुद्धको घटना अब हामी कथामा चित्रण गर्न दिंदैनौँ ।’ दुबैजना एकैस्वरमा बोले । 

‘यो मेरो सार्वभौम लेखकीय स्वतन्त्रता हो । मैले लेख्न पाउनु पर्छ । महिला पुरुष मेरालागि बराबर हुन् । पुरुष लेखनबाट मात्र महिला प्रताडित भएका होइनन् । सामाजिक रीतिरिवाज, रहनसहन, लवाई-खुवाई, घर व्यवहार, सुख-दुःख, प्रेम, आदिको चित्रणमा कथाको घटना अनुसार कोही पात्रमाथि अन्याय होला तर त्यो कथाको माग हो । कहिले सुखान्त कहिले दुःखान्त । यो मेरो लेखकीय अधिकार हो । समाजको यथार्थ हो, किन रोक्नु खोज्नुहुन्छ ?’ लेखक बोल्यो ।

‘तपाईंहरुले महिलालाई कमजोर बनाएरै चित्रण गर्नुभयो । श्रृङ्गारिक लयमै सजाउनुभयो । अहिले पनि महिलालाई प्रोत्साहन गरेर लेख्न किन सक्नुहुन्न तपाईंहरु? तपाईंहरुले खेलौना बनाउनु भयो’ महिला पात्र बोली ।

बैठक कोठामा आज पनि रडाको मच्चियो, आवाज महिलाकै थियो, ‘तेरा माइतबाट के दाइजो ल्याएकी छस् र हैकम जमाउँछेस्, ठूला ठूला भाषण गररेमात्र घर चल्दैन । म सक्दिन अब । कहाँ जानु पर्छ जा, ठूलो साहित्यकारलाई पनि सँगै लैजा । सके गरेर खान्छु नसके मर्छु । बाँच्न कहाँ पाएँ र ? जीवनभरि त मरेकै छु । आफू हारेर गए, आरोप मैले खेप्नु पर्‍यो । लोग्ने मारी, खाई भन्ने दोष मेरो टाउकोमा आयो ।’

टाउको रन्थनियो । पात्र परिवेश घटना कता हराए कता । सम्झें कस्का लागि लेख्दै छु ?


....साथ सहयोगको खाँचो

Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

बोझ

- चूडामणि  नेपाल ‘अचिञ्कन’
विराटनगर १   


‘छुट्टी लिएर बस्नु पर्छ नि । सानो नानी छ । थाहा पाउनु भयो । म त पहिलो पटक एकवर्ष बस्दा नै वाक्क भएकी थिएँ ।’ सरला सरल भावमा बोलिन ।

‘विस्तारै कुरा गर, हाम्रो कोठामा आउ । यहाँ त ऊ त्यो क्यामाराले सबै टिप्दो रै’छ क्या । मनका कुरा पनि खुलस्त गर्न नपाइने । बुहारीको जागिर नै त्यस्तै होला बुझ्न ।’ दिलनाथले मनको कुरा पोखे ।

‘हिजो छोराले हाम्रो र नातिको दिनचर्या सबै कम्प्युटरको भिडियोमा देखायो म त छक्क परेँ । छोराछोरी कसरी खेले ? के खाए ? सबै त्यसमा आउँदो रै’छ ।’ दिलनाथले भने ।

‘ए हो र यिनीहरुले हाम्रो चियो गर्ने, मैले त कोही छैन भन्दै चोलो पेटिकोट फेरेँ ।’ सरला बोलिन । ‘मैले पनि त कछाड नफेरी सुरुवाल फेरेँ नि तर त्यो त खै झलक्क एकपटक देखेथेँ फेरि देखिएन रिल काटी दियो कि छोराले ।’ दिलनाथ उठेर कोठातिर लागे ।

‘बुझ्नु भयो नि छोरा बुहारीको अलि ठाकठुक परे जस्तो छ, बुहारीले आफ्ना आमा बुवा बोलाउनेजस्तो कुरा गरिन । हामी पो बोझ भइसक्यौँ कि छोरासँग प्रष्ट कुरा राख्नु न है ।’ 

‘त्यो पनि ठीक हो त उहाँहरु आउनुहुन्छ हामी जान्छौँ । के को चिन्ता म त यहाँ कुँजिसकेँ ।’ दिलनाथले सम्झाए । छोरो आयो र भन्यो ‘आमा एकहप्ता पछिको टिकट लिएर आएँ । बुहारीले आमाबुवा बोलाइछन् । उहाँहरु आएपछि गाह्रो हुन्छ । यसपालि यस्तै भयो ।’

आमा लरबराउँदै बोलिन् ‘छोरा ! हामी पहिलोपटक काठमाडौँ जाँदा बाउले तँलाइ सबै मठमन्दिर काँधमा बोकेर डुलाएको बिर्सिस् होला, म त डुलेकै थिएँ, बरा ! बाउलाई दुईचार ठाउँ डुलाई दिएको भए तेरो के सकिन्थ्यो, छोड्दे अब हामी आफ्नै हिमाल पहाड र तराइ डुल्छौँ, हामी जान्छौँ । भोलि नै भान्जाकोमा पुर्‍याइदे । एयरपोर्ट नजिक पर्छ होइन ?’ 

बुहारी आई पुगिन् ‘कसलाई सोधेर टिकट लिनु भयो ? रद्द गर्नुहोस् मैले महिना दिनको छुट्टी लिईसकेँ । तीन महिना पछि चारैजना आमाबुवासँगै फर्कनुहुन्छ ।’


...साथ सहयोगको खाँचो

Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

अद्भूत आविष्कार

चूडामणि नेपाल 'अकिञ्चन’
विराटनगर १    



सनसनीपूर्ण रुपमा समाचार फैलियो ‘अद्भूत आविष्कार । अब बच्चा बन्न सकिने । शरीरको आकार परिवर्तन गर्न सकिने । जेनेटिक प्रयोगशालाको अपार सफलता ।’

‘उमेर अनुसार परिवर्तन गरिदिन्छ रे ! कति वर्षको बन्न मन लागेको छ? म त हिंडे बुढी, पूजा तिमी नै गर ।’ अब फेरी तन्नेरी हुने भैयो ।

उनी लौरो टेक्दै विस्तृत कुरा बुझ्न बाहिर निस्किए । ‘प्रयोगशाला बाहिर बुढाबुढीहरुको बिहानैदेखि ठूलो भिड लागेको छ ।’ अर्को समाचार आयो । 

‘विश्व टेलिभिजनको प्रत्यक्ष प्रसारण लिएर म अहिले जेनेटिक प्रयोगशालाको आँगनमा उभिएको छु, अहिले यहाँ खासगरी साठी कटेका मन्दिरका मठाधिस, पूजारी, वृद्ध, नायक, नेता, उद्योगपति, व्यापारी, कवि, कलाकारहरुको ठूलो भीड लागेको छ । भीडमा पुरुषहरुको सङ्ख्या अत्यधिक रहेकोछ ।’ पत्रकार प्रत्यक्ष प्रसारणमा बोल्दै थिए ।

लहर र रहरमा लौरो टेकेर उभिइरहेका वृद्धवृद्धाहरु देखिन्थे । एकैछिनमा अर्को समाचार बाहिरियो । ‘शरीरको अवस्था र आकार परिवर्तन गर्न दशलाख रुपैयाँ आवश्यक पर्ने ।’

अहिले भीड बैङ्कतर्फ मोडियो । छोराछेरी र नातिनातिनाका मोबाइलका घण्टीहरु बज्न थाले । ‘मेरो पैसा दे ।’ ‘मेरो खातामा पैसा ट्रान्सफर गरिदे ।’ ‘चेक काटिदे ।’ घरघरमा कोलाहल मच्चियो । झगडा सुरु भयो । 

‘आज र अहिलेबाटै कार्य थालिने । आकार परिवर्तन गरेको पचास वर्षसम्म एउटै अवस्थामा रहनुपर्ने ।’

पहिलो पालो नेताकै आयो । ऊ मख्ख थियो आफ्नो जवानी देखेर । अनुहार उही थियो । ‘तर मेरो सोच र बुद्धि पो कहाँ गयो त ? म को र कुन पार्टीको पो हूँ ?’ सनसनी रुपमा अर्को समाचार फैलियो ‘अवतारी नेताहरु आफूलाई आफैँले चिन्न छाडे ।’ दर्शक जनता निरास देखिन्थे ।


....साथ सहयोगको खाँचो

Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

बैकुण्ठधाम

-चूडामणि नेपाल अकिञ्चन
विराटनगर १     


'होइन एकपटक हेरेरचाहिँ आउन कस्तो रहेछ ? बैकुण्ठ एक्सप्रेस ? स्वयम ब्रह्मा, विष्णु नारद नै आउनु भएको रहेछ भने त ?’ मनमायाले जिज्ञासा राखिन ।

होइन जो अठोट गरेर जान्छ त्यसले मात्र देख्छ रे ! उसको लागि मात्र ढोका खुल्छ रे ! अब आउन त को को आएका छन थाहा भएन ।’ फेरि मनमाया बोलिन् ।

अनि तल्ला घरे साइँली बजै र माथ्ला घरे माइली बजै बैकुण्ठ जाने सल्लाह र अठोट गर्दै नारायण मन्दिर गएका रे ! साइँली बजैलाई त एउटा बाटुलो र माथितिर गजुरजस्तो चुच्चो भएको यानभित्र तानेर राख्यो रे ! माइली बजै बोल्दै थिइन् ‘मैले त देख्दै देखिन ।’ माइली बजै भन्दै थिइन् । साइँली बजैलाई त उडाएर लग्यो होला ।’ ‘बैकुण्ठ एक्सप्रेसमा ।’

साइँली बजै हराइन । हल्ला खल्ला भयो  । घरमा भीड लाग्यो । रुवाबासी मैले पवित्रधाम पनि टेक्न पाइन । प्रकाशले आँखाहरु तिरमिराए । केही देखिन । म त्यहाँ आफैँ हराएझैँ लाग्थ्यो । मेरो शरीर कपासजस्तो भएको थियो । ‘साइँली त किन आएकी तेरो बेला भएको छैन ।’ बाहुन नरनाथले च्याप्प अँगाल्न खोज्दै हुनुहुन्थ्यो । म जमिनमा ड्याङ्ग पछारिएँ ।

‘जिउँदो मान्छेले यहाँ कसैलाई भेटन पाउँदैन । यो पवित्रधाम हो, जिउँदाहरुको बुद्धि अगाडि हामी मुर्ख हुन्छौँ । जिउँदाले हामीमाथि शासन गर्न थाल्छन् । तिम्रो देशमा त सबै मरेजस्ता छन् ।’ यस्तै बोलेझैँ सुनेँ । एकछिनपछि साइँली बजैलाई पुज्नेहरुको भीड लाग्यो ।


..साथ सहयोगको खाँचो

Tuesday, December 5, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

 भग्नावशेष

-चूडामणि नेपाल अकिञ्चन
विराटनगर– १    


'के भयो ? उठनु न भनेको ? मलाई त रिँगटा लागेजस्तो पो भयो त, सुन्नु भएन घर त गर्लाम्मै लडिसक्यो हेर्नु न भनेको ?’ निर्जला रुन थालिन् ।

आफू र छोराछोरीलाई कुखुराको पोथीले चल्ला छोपेझैँ छोपेर बेहोस भएका निरजलाई घच्घचाइन् । निरजले भूकम्पको पहिलो झट्कामै छानाबाट झर्न पुगेको बलोलाई समाउन पुगेछन् । उनका दुबै हात भाँचिए । तत्काल सोहोरिएर आएको माथिल्लो गाह्रोलाई उनले लात्तले अर्कोपटि ठेल्न भ्याएछन् । ठूलो ढुङ्गो टाउकोमा बजारिन पुगेछ ।

‘जाउ निर्जला आमा बुबालाई हेर छोराछोरी लिएर बाहिर जाउ । म अब बाँच्दिन होला हेर निर्जला प्रकृतिलाई कसैले जित्न सक्दैन । हामी आफै सुरक्षित हुनुपर्छ । सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्छ ।

‘उठ्नु न उठ्नु केही हुन्न उनी अझ भावुक भइन । म तान्छु आउनु ।’ उनले हात दिन सकेनन् ।

बाहिर चुक घोप्टयाएजस्तो अँध्यारो थियो । छोराछोरी निदाएका हुन् कि के भएको हो उनलाई थाहा भएन । आमाबुबाको कोठा पुरै ढुङ्गाले भरिएको थियो । उनी पस्न सकिनन् । उनी आफूहरु सुत्ने कोठमा माथि आउँदै थिइन् । अकस्मात् बाँकी घर गल्र्यामगुर्लुम्म ढल्यो । निरज चिच्याए । पानी देउन निर्जला पानी तर त्यो आवाज कसैले सुनेन ।

बाहिर छोराछोरी रोइरहेका थिए । घरभित्र भग्नावशेषमा निरजको साहस जिउँदै थियो आँट बटुलेर हातले केही समाउन खोजे तर मात्र पाखुराहरु तुर्लङ्ग झुण्डिए ।