Friday, September 13, 2024

राजेशमान के.सी.का तीन कविता

 बोली बचन

बोली बचन सधैँभरि हुनु पर्छ राम्रो ।
बोलीले नै व्यवहारलाई दर्शाउँछ हाम्रो ॥

बोलीले नै मित्रताको नाता टुटाउँछ ।
त्यही बोलीले दुश्मनीको गाँठो फुकाउँछ ॥

मन, वाणी, कर्म हाम्रो एउटै हुनु पर्छ ।
मधुर बोली बोल्दा सबको हृदय छुनु पर्छ ॥

जुन मानिसको हुन्छ असल बोली बचन ।
त्यही मानिस समाजमा बन्छ सज्जन ।  

मरे पछि मानिसले केही लाने हैन ।
मीठो बचन बोल्दा केही जाने पनि हैन ॥

सबै कुरा खरीद गर्न पैसाले पाईदैन ।
मीठो बोली बोल्नलाई पैसा चाहिँदैन ॥

मानिसले हान्ने भन्दा बन्दुकको गोली ।
मनमा चोट पुर्याउँछ मानिसको बोली ॥

कसैलाई नि घोचपेच गरी बचन लाउनु हुँदैन ।
रुखो बचन बोली उसको दिल दुखाउनु हुँदैन ॥

रुखो बचनले मनको घाउ बल्झाउँछ ।
मीठो बोलीले घाउमा मलम लगाउँछ ॥

मीठो वाणीले हृदयमा गहिरो छाप बन्छ ।
डाक्टरले नि मीठो बोले रोगी निको हुन्छ ॥

मानिसले आवेशमा जब दिल दुखाउँछ ।
तब उसले आफैलाई कष्ट पुर्याउँछ ॥

कसैलाई दिल दुखाउने बचन नभन ।
सबैभन्दा ठूलो हाम्रो बोली बचन ॥

**************

हाम्रो संस्कृति

संस्कृति नै नेपालीको मुख्य पहिचान ।
राखेको छ यसले हामी नेपालीको शान ॥

विविध जातजाती अनि विविध भाषा भेष ।
संस्कृतिले परिपूर्ण नेपाल हाम्रो देश ॥

थारु, तामाङ्ग, मैथली, नेवार, भोजपुरी ।
लाग्छन् प्यारो यी संस्कृति हामीलाई बराबरी ॥

संस्कृति नै सबैभन्दा ठूलो हाम्रो सम्पत्ति ।
जोगाउनु पर्छ हामीले आफ्नो संस्कृति ।

देशको लागि गौरव हाम्रो धर्म संस्कृति ।
आउन दिनु हुन्न हामीले यसमा विकृति ॥

राम्रो कुरा अरु देशको भित्र्याउनु पर्छ ।
आफ्नो मौलिकपना भने जोगाउनु पर्छ ॥

खराब कुरा नक्कल गरे आउँछ विकृति ।
राम्रो कुरा ग्रहण गरे ल्याउँछ समृद्धि ॥

संस्कृतिमा जसले आफ्नो वितृष्णा देखाउँछ ।
उसले आफ्नो पहिचान पनि गुमाउँछ ॥

सक्यौं राख्न भने जोगाई आफ्नो संस्कृति ।
खुसी हुने छन् हाम्रा भावी सन्तति ॥

हाम्रो धर्म, हाम्रो कला, हाम्रो संस्कृति ।
गर्नु पर्छ यसको हामीले अझ श्रीवृद्धि ॥

***********

सन्तुलित जीवन

जीवनको हर पक्षमा हुनुपर्छ सन्तुलन ।
नत्र ल्याउन सक्छ यसले ठूलो विचलन ॥

कहिले सुख कहिले दुःख यस्तै नै हो चलन ।
अघि बढ्दै जानु पर्छ राखी सन्तुलन ॥

सबैभन्दा ठूलो कुरा मनको सन्तुलन ।
दुःखको मूल कारण बन्छ यसको विचलन ॥

न त धेरै चिसो हुन्छ न त धेरै तातो ।
रोज्नु पर्छ हामीले सधैँ सन्तुलनको बाटो ॥

प्रकृतिमा पनि हुनु पर्छ सन्तुलन ।
नत्र ल्याउँछ ठूलो विपद् भई विचलन ॥

राख्न सक्छ जसले आफ्नो सन्तुलित मन ।
जिउन सक्छ उसले नै आनन्दित जीवन ॥

मन सन्तुलित नभए हुन्छ हर कुरामा किचलो ।
जिन्दगी नै लाग्न थाल्छ साह्रै फितलो ॥

मानिसलाई चाहिन्छ सधैँ स्वस्थ तन र मन ।
दुबै राम्रो भए हुन्छ सन्तुलित जीवन ॥

- गट्ठाघर, भक्तपुर

 

..साथ सहयोगको खाँचो

 

No comments:

Post a Comment