Sunday, July 21, 2024

पुस्तक समीक्षा


भुजूको एक मुठ्ठी माटो

लघुुकथाकार सुरेन्द्रलाल भुजूको एक मु्ठ्ठी माटो नामक लघुकथासङ््ग्रह तेस्रो कृतिको रुपमा २०८० मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका वीणाको फैसला, दृष्टिकोण, मित्रता र नाता, विभेद, सिमानामा काँडेतार, सरकारी शिक्षक र बोर्डिङ शिक्षक लगायत विभिन्न शीर्षकका ४२ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ४२ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको वीणाको फैसला शीर्षकको पहिलो लघुकथामा विगतका सब कुरा चलचित्रझैँ सम्झेर अनायास वीणाको मन पानी पानी भयो । उनले छोडपत्रको फैसला च्यातिन् र भरियाहरुलाई बोलाएर भो तिमीहरु जाऊ भनिन् भनिएको छ ।

    • दृष्टिकोण शीर्षकको लघुकथामा सरकारी सेवाबाट रिटायर्ड कर्मचारी, गुर्खा होइन भनेर परिचय दिँदा पनि मलाई गुर्खा भनेर नै बोलाउँथे भनेर सुरेन्द्रले लेखेका छन् । सिमानामा काँडेतार शीर्षकको लघुकथामा जनताको विरोध, विपक्षीको विरोध, पार्टीभित्रको विरोध चारैतिरबाट थामी नसक्नु भयो भने राष्ट्रियताको मुद्दा ल्याउने क्या ! अबको पालि सिमानामा तारबार लगाउने घोषणा गर्छु म । अनि त जनता सबै मेरै पक्षमा भनिएको छ । सानो आकार र आयाममा अभिव्यञ्जित जीवनको कुनै एउटा विषय अनुभूति र घटनाको प्रकटित रुप नै लघुकथा हो ।

      अलिकति भोगाइ, अलिकति सुनेको अलिकति देखेको घटनाले मनमा जगाएको विभिन्न किसिमका भावनालाई सुरेन्द्रले अक्षरमा उन्दै गएका छन् । कथाकार सुरेन्द्रले प्रायः लघुकथामा आकार र प्रभावकारितालाई ध्यान दिएका छन् । उनको विशेषता हो कुनै विषय वा घटना देख्नासाथ त्यसलाई लघुकथाको विषय बनाइहाल्नु । कथाकारले ससाना घटना भोगाइ र सन्दर्भलाई लघुकथामा उतारेका छन् । त्यस्ता विषयलाई उनी सरल र सीधा संरचनामा प्रस्तुत गर्छन् । 

      यसभित्रको सरकारी शिक्षक र बोर्डिङ शिक्षक शीर्षकको लघुकथामा सरकारी स्कुलको टिचरले अलि लजाउँदै भन्यो यस्तै हो सरकारीमा निःशुल्क गर्नै पर्‍यो । निःशुल्क भएकोले गरिब किसान मजदुरकै छोराछोरी बढी पढ्न आउँछन् । त्यसमाथि राजनैतिक हस्तक्षेप तर मैले पढाएको यो विद्यार्थीमा संस्कारचाहिँ रहेछ है भनेर सुरेन्द्रले लेखेका छन् । 

      यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकारले मनन गरेका छन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन् । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण  हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन ।

       प्रेरणा शीर्षकको लघुकथामा तिमीलाई विहा नै गर्ने मन छैन कि कसो ? कतै मेरो जिन्दगी देखेर तिमीलाई घरजम गर्ने कुरामा वितृष्णा त लागेको होइन ? एक जना मेरो साथी सोच्दै थियो भनेर लेखिएको छ । माटोको माया शीर्षकको लघुकथामा डाक्टरहरुले बिरामीको शरीरका मेजर अङ्गहरु डाइमेज भैसक्यो । उपचारले केही हुन्न । बिरामीको कुनै इच्छा छ भने पूरा गराउनु भनेर सल्लाह दिन्छन् । सुरेन्द्रको यस लघुकथासङ्ग्रहले जीवनका विविध आयाम बोकेर सुन्दर र सलील संसारको कामना गरेको छ । सुख र सकारात्मक संसार निर्माणको पहलमा यो लघुकथासङ्ग्रहले अग्रगम्ब बिचार पस्केको छ । वास्तवमा लघुकथा लेख्नु निकै जोखिमको विषय हो । 

      लघुकथा आख्यानको लघुतम वा सूक्ष्म विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार सुरेन्द्रको अन्य कृतिहरु पनि प्रकाशित भएर हामीहरुले पढ्न पाउने बाचा गरेको छु ।


      ...साथ सहयोगको खाँचो

      No comments:

      Post a Comment