Friday, December 1, 2023

अन्तर्वार्ता (अङ्क ७ मा प्रकाशित)


****************************
लेखक परिचय

साहित्यकार शेखर अर्यालको जन्म वि.सं. २०२८ चैत २९ गते गुल्मी जिल्लाको मदाने –३, सिर्सेनी, लाम्पाटामा माता कला अर्याल तथा पिता तिलकराम अर्यालको सुपुत्रको रुपमा भएको हो । एमफिल÷एमएड÷एमएसम्मको शिक्षा लिनु भएको उहाँ महेन्द्रद्रआदर्श विद्याश्रम क्याम्पस र बंगलामुखी क्याम्पस, नमुना  मच्छिन्द्र मा.वि. ललितपुरमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । लामो समयदेखि साहित्यको साधनारत शेखर अर्यालसँग लघुकथा संसारका संवाददाता गोमविक्रमले लघुकथाको सेरोफेरोमा रहेर गर्नु भएको कुराकानीको  सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छः – 

****************************

 गोमविक्रम –  लघुकथा के हो जस्तो लाग्छ ? अनि उत्कृष्ट लघुकथा हुन के कस्ता गुणहरू हुनुपर्ला ?

शेखर अर्याल – लघुकथा एउटा सलाई हो, जहाँबाट स्वाट्ट एउटा काँटी झिकेर रगेटिन्छ त्यसपछि झ्वार्र बल्छ अनि झ्वाप्पै निभ्छ । सलाईभित्र रहेका तमाम काँटीरुपी कालखण्डमध्ये एक काँटी वा जीवनको एकक्षण वा कालखण्डलाई एउटै घटनामा आवद्र्ध गराई सल्काइन्छ अनि नाटकीय ढङ्गबाट झ्याप्प निभाएर अन्त्य  गराइन्छ । यही लघुकथा हो जस्तो लाग्छ ।

एउटा उत्कृष्ट लघुकथा निर्माण हुनका लागि एक पक्ष वा एउटै तङ्खवले मात्र सम्भव छैन । एक पूर्ण लघुकथा बन्नका लागि संरचक तङ्खव कथावस्तु, पात्र, दृष्टिविन्दु, परिवेश, भाषाशैली र उद्देश्य रहनुपर्छ । सार्थक अनि कथावस्तुको झल्को प्रदान गर्ने सारयुक्त सामथ्र्य भएको शीर्षक हुनुपर्छ । यसमा विविध घटना, अधिक पात्र हुनुहुँदैन । एक घटना रहने, अन्तद्र्वन्द्व हुने, आकारगत लघुता भएको, रैखिक ढाँचामा संरचित, तीव्र वेगमा थोरैमा धेरै भन्न सकिने सामथ्र्य भएको, नाटकीय अन्त्य गर्न सक्ने गुण लघुकथामा हुनुपर्छ ।  


गोमविक्रम –  लघुकथामा कसरी आकर्षित हुनुभयो ? अरुलाई कसरी आकर्षित गर्न के गर्न सकिएला ?

शेखर अर्याल – म प्रायः कथाहरू पढ्ने गर्थेँ । कथा पढ्दै जाँदा छोटोमा एकक्षणको घटनालाई प्रस्तुत गरेर लेख्दा पनि कथा बन्छ होला भन्ने जिज्ञासा जाग्थ्यो । एकदिन म पत्रिका पढ्दै गर्दा एउटा छोटो कथा पढ्ने मौका पाएँ अनि पो ए छोटा र चोटिला पनि कथा हुँदा रहेछन् भन्ने अवगत भयो । त्यसपछि म लघुकथातर्फ उत्प्रेरित भएँ । यहीँबाट उत्सुक भएर मैले पहिलो लघुकथा ’मित्रता’ लेख्ने प्रयास पनि गरेँ । यसपछि अझ म एम.एड. अध्ययन गर्दा मित्र शेखरकुमार श्रेष्ठसँग भेट भएपछि लघुकथाका विषयमा कुराकानी भए । उहाँले पनि एउटा सगरपुर लघुकथा पनि दिनुभयो । यसपछि अझ लघुकथातर्फ लगाव बढ्न थाल्यो त्यसपछि त पूर्णप्रसादका लघुकथा पढियो । यसपछि लघुकथा त छोटो र चोटिलो पो हुँदोरहेछ भन्ने लाग्यो अनि बिस्तारै यसतर्फ आकर्षण बढ्यो ।

*************************************************************************************

उहाँका प्रकाशित कृतिहरू ः  

शेखर अर्यालमा केही कृतिहरु

– भाषा विज्ञानका प्रमुख सिद्धान्त (२०६१, सहलेखन)
– हाम्रो नेपाली व्याकरण (२०६२, सहलेखन)
– नेपाली आख्यान र नाटक, स्नातक तह (२०६७, सहलेखन)
– नेपाली कथा र उपन्यास, स्नातक तह (२०६८, सहलेखन)
– पूर्णिमाको राति बाल गीत तथा कवितासङ्ग्रह (२०६९)
– हाम्रो निबन्ध बमाला (२०६९, सहलेखन)
– हाम्रो सरल निम्न माध्यमिक निबन्ध माला (२०६९, सहलेखन)
– प्रारम्भिक हाम्रो निबन्ध माला साथमा केही चिठी (२०७०, सहलेखन)
– हाम्रो माध्यमिक नेपाली व्याकरण (२०७०, सहलेखन)
– हाम्रो ओसन नेपाली शृङ्खला १ देखि ७ सम्म (२०७१, सहलेखन)
– हाम्रो ओसन नेपाली व्याकरण ५ देखि ८ सम्म (२०७२, सहलेखन)
– सोपान माध्यमिक व्याकरण (२०७५, सहलेखन)
– सोपान आधारभूत नेपाली व्याकरण (२०७६, सहलेखन)
– हाम्रो नेपाली माला कक्षा १ (२०७७)
– सनराइज मिठो नेपाली कक्षा २, ३ र ६ (२०७८)
– काकालाई चिठी कवितासङ्ग्रह (२०७८)
– कलम बालकवितासङ्ग्रह (२०७८)
– चाँदनी लघुकथासङ्ग्रह (२०७९)
– मेरो प्यारो मुने बालकथासङ्ग्रह (२०७९)
  आदि लगायत विभिन्न पत्रपत्रिकामा समालोचना, कविता, लघुकथा, कथा तथा गीतहरू प्रकाशित ।
सम्पादन ः
ध शिखर पत्रिका, ध लघुकथाको सुगन्ध अङ्क ३, ध लघुकथाको सुगन्ध बालविषयक लघुकथा सङ्ग्रह, ध लघुकथाको सुगन्ध बा, ध मालिका दर्पण अङ्क २ र ३ लगायत थुप्रै पुस्तक तथा पत्रिकाहरूको सम्पादन ।

*************************************************************************************

गोमविक्रम – अहिले लेखिएका लघुकथाहरूको कमजोर पक्ष अथवा लघुकथाका चुनौतीहरू के के छन् ?

शेखर अर्याल – अहिले लेखिएका लघुकथाहरूको कमजोर पक्ष मात्र नभएर सबल पक्षहरू धेरै छन् । हालको अवस्थामा आएका लघुकथाहरूमा सुधारात्मक पक्षहरू पनि धेरै छन् । लघुकथामा प्रस्तुत हुने घटनामा लघुकथाको मर्मअनुरुप नभएर लामो कथन वा घटना प्रस्तुत गर्नू, एक दिन, एक समयको कुरा हो जस्ता समयको अन्तराल समावेश गर्नू, समयसीमामा ल्याउनका लागि जवर्जस्त छोटो बनाउने, निबन्धात्मक तरिकाले बढी घटना वर्णन गर्ने जस्ता पक्षमा सुधार गर्नुपर्ने हुन्छ ।

अहिले त लघुकथा लेखनमा बाढी नै आएको छ । यो सकारात्मक पक्ष हो । सङ्ख्यात्मक रुपमा वृद्धि हुनु आफैमा सबल पक्ष पनि हो । यसको अलावा यसलाई सङ्ख्यात्मकताबाट गुणात्मकतातर्फ लैजाने चुनौती पनि हाम्रो सामु रहेको छ । अर्कोतर्फ लघुकथालाई आद्योपान्त अध्ययन नगरी त्यसमा चर्चा गर्दा पनि सकारात्मक सुझाव प्रदान गर्न नसकेको अवस्था हुनाले स्तरीय लघुकथा लेखनमा सुधारतर्फ लैजाने कुरामा चुनौती देखा परेको छ । प्रचारात्मक पक्षलाई बढी जोड दिने प्रवृत्तिले गर्दा सहीपन देखा पर्न नसक्नु, लघुकथामा प्रशिक्षात्मक पक्ष कमजोर हुनु, नवसर्जकलाई लघुकथाको मर्मअनुरुप लेखनतर्फ डो¥याउन नसक्दा पनि लघुकथाको गुणात्मक पक्षमा चुनौती देखा परेका छन् । यति हुँदाहुँदै पनि लघुकथामा विभिन्न मञ्चबाट लघुकथालाई अगाडि बढाउने र लेखनलाई उत्प्रेरित गर्ने कार्य भने सकारात्मक ढङ्गबाट अगाडि बढेको छ ।

गोमविक्रम – नेपाली लघुकथाको अहिलेको अवस्था कस्तो छ ? विश्वसाहित्यको बजारसम्म पु-याउन के गर्न सकिएला ?


शेखर अर्याल –
लघुकथा छोटो हुने हुँदा सबैको रोजाइमा पर्दछ । थोरैमा धेरै कुरा व्यक्त हुनसक्ने हुनाले यो सबै पाठकका लागि प्रिय बन्न गएको छ । कोरोनाको समयदेखि लघुकथा लेखन तीव्र रुपमा अगाडि बढेको देखिन्छ । यो गति निरन्तर चल्दै गएको छ । धेरैले अध्ययन गर्ने परम्परा बसेको छ । यसले गर्दा पठन संस्कृतिको विकासमा समेत टेवा पु-याएको छ । सङ्ख्यात्मक रुपमा धेरै लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् । प्रकाशित मात्र होइन ती प्रकाशित लघुकथासङ्ग्रहमा उत्तिकै चर्चापरिचर्चा पनि भएका छन् । यसले गर्दा स्थापित सर्जक वा नवसर्जकहरूलाई पनि उत्प्रेरित गरेको छ । यति मात्र नभएर लघुकथा प्रतियोगिताहरू साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा भएका छन् । कृतिहरू पुरस्कृत भएका छन् । यसले गर्दा अहिलेको नेपाली लघुकथाको अवस्था सवल बन्दै गएको छ । अझ यसलाई सशक्त रुपले अगाडि बढाउने कुरामा सचेत रहनुपर्ने देखिन्छ ।

नेपाली लघुकथालाई विश्वसाहित्यको बजारसम्म पु-याउनु चानचुने कुरा होइन । यसका लागि लामो अभ्यास र स्तरीयताको जरुरत पर्दछ । नेपालीहरू विश्वका विभिन्न मुलुकमा छरिएर रहेका छन् । त्यो छरिएको मनस्थितिलाई आत्मसात गरेर विश्वबजारमा नेपाली लघुकथा पु-याउन सक्नुपर्छ । विश्वराज अधिकारीद्वारा सञ्चालन गरिएको 'श्रष्टा साँझ अमेरिका' बाट लघुकथाको चर्चापरिचर्चा गर्दै विश्वसामु पु-याएको अवस्था पनि छ । अझ स्तरीय खालका कृति रचना गरी ती कृतिलाई अनुवादको दायरामा ल्याई नेपालीभाषी इतरका व्यक्तिले पनि पढ्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । विश्व साहित्य सञ्जालको माध्यमबाट होस् या साहित्यिक संस्थाहरूका मार्फतबाट यसको विस्तार गर्न सक्दा पनि लघुकथालाई विश्व बजारसम्म पु-याउन सकिन्छ ।


गोमविक्रम – तपाईको मनसपटलमा रहेका स्मरणीय लघुकथा (आफ्नो/अरूको)  सङ्ग्रहको नाम र कारण बताइदिनु हुन्छ कि
?

शेखर अर्याल – सर्जकले सिर्जना गरेका कृति आफैमा स्मरणीय हुन्छन् । त्यसमा पनि आफूले प्राप्त गरेका वा आफ्नो नजरमा परेका लघुकथासङ्ग्रह  अध्ययन गरिन्छ । सर्वप्रथम त आफूद्वारा सिर्जना गरिएको लघुकथासङ्ग्रह  नै स्मरणीय हुन्छ, त्यो कृति हो 'चाँदनी लघुकथासङ्ग्रह' । यो लघुकथासङ्ग्रह  आफ्नै मिहिनेत र परिश्रम गरी निर्माण गरेको हुनाले स्मरणीय हुँदोरहेछ । त्यस्तै अर्को स्मरणीय लघुकथासङ्ग्रह हो, पूर्णप्रसाद ब्राह्मणको 'झिल्का' । यस सङ्ग्रहले लघुकथाको आधार सिर्जना गरेको हुँदा यो ज्यादै ऐतिहासिक तथा महत्वपूर्ण कृति हो त्यसैले यो सङ्ग्रह स्मरणीय बनेको छ । अन्य स्मरणीय लघुकथासङ्ग्रहहरूमा भागीरथी श्रेष्ठद्वारा सम्पादन गरिएको 'रङ्गीन पोखरी', ध्रुव मधिकर्मीद्वारा सम्पादित 'बुद्ध कहीँ छैन', रवीन्द्र समीरको 'तेस्रो आँखा', किशोर पहाडीको 'किम्बदन्ती', कपिल लामिछानेको 'अन्यथा' र 'अणिमा', श्रीओम श्रेष्ठको 'आँखीझ्याल', पुष्करराज भट्टको 'कर्मयोद्धा', हरिप्रसाद भण्डारीको 'काला सर्पको खोजी', शेखरकुमार श्रेष्ठको 'छाता', छविलाल खड्काको 'आर्शिवाद', विश्वराज अधिकारीको 'अन्तिम निर्णय', लता केसीको 'दृश्य', विनोद नेपालको 'गोदान', रञ्जन घिमिरेको 'सम्मोहन', म्यामराज राईको 'हाम्रो बाटो', सत्या अधिकारीको 'ऐना', खेमराज पोख्रेलको 'ईश्वरको मृत्यु', मनिषकुमार शर्माको 'हराएको सहर', गणेश नेपालीको 'अछुत', हरिगोविन्द भोमीको 'समय', डा. विदुर चालिसेको 'लघुकथालय', शुभ शर्माको 'शुभांशु' जस्ता लघुकथाहरू रहेका छन् ।  

गोमविक्रम – दिवंगत लघुकथाकारमध्ये सम्झिनुपर्ने नाम ?

शेखर अर्याल – दिवंगत लघुकथाकार धेरै छन् तर मैले अभ्ययन गरेको र सम्झनामा आएको नाम हो पूर्णप्रसाद बाह्मण ।

गोमविक्रम – लघुकथाको उन्नयनका निमित्त पत्रपत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया माध्यमको भूमिकाका कस्तो अपेक्षा राख्नु हुन्छ ?

शेखर अर्याल – साहित्यका हरेक पक्षलाई चिनाउने माध्यम नै सञ्चार हो । सञ्चारका साधनका रुपमा रहेका पत्रपत्रिका, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन, अनलाइन पत्रिकाले लघुकथाको उन्नयनमा अहम भूमिका रहेको हुन्छ । सर्जकले सिर्जना गरेका कृतिको चिनारी र समीक्षा पत्रपत्रिकाले गरेको खण्डमा सर्जकमा एक खालको उत्साह पैदा हुने हुनाले राम्रो हुन्थ्यो भन्ने लाग्छ । सामाजिक सञ्जालबाट पनि लघुकथाकार र लघुकथा सबै सामु पु¥याउन सक्दा सबै पाठकले पढ्न पाउने अवसर प्राप्त हुन्छ अनि पाठकले दिएको प्रतिक्रियाका आधारमा सुधार गर्न सकिन्छ । यही भूमिका निर्वाह गर्नका लागि पनि सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसैले सबै सर्जकलाई सामाजिक सञ्जालका सहायताबाट सर्जकलाई बाहिर ल्याउन पाए हुन्थ्यो जस्तो लाग्छ । रेडियो र टेलिभिजनबाट लघुकथाकारका अन्तर्वार्ता, लघुकथा वाचन तथा लघुकथाकारको चिनारी गराउन सके त्यो अझ बढी श्रेयस्कर बन्न जाने थियो । यस्ता कार्य सञ्चारका माध्यमबाट गर्न सके मिडियाकै गरिमा बढ्न जाने थियो जस्तो लाग्छ ।

No comments:

Post a Comment