Friday, September 13, 2024

अन्जु शर्मा थपलियाका दुई लघुकथा


 यात्रा र यात्री

झ्यार्र सलाई कोरेर चुरोट सल्कायो । निष्पट्ट औंसीको रातलाई उसले बलात्कार गर्यो । ‘कहाँसम्मको यात्रा तय गरेका छौँ ?’ यात्राले यात्रीलाई सोध्यो । ‘खै कहाँसम्म भनौं ! तिम्रो अन्तिम बिन्दुसम्म’ यात्रीले उत्तर दियो।

‘उफ ! तिमीले मेरो गन्तव्य कसरी छिचोल्न सक्छौ ? तिम्रो आगमनभन्दा धेरै पहिले थल, जल, नभमा आफ्नो गन्तव्य कोरिसकेको छु । फेरि तिमी जस्तो अस्थिर हैन म । म अनन्त अनन्तसम्म चिरस्थायी छु ।’
यात्री यात्राका कुरा सुनेर पसिनाले निथ्रुक्क भिज्यो । अनि आफ्नो घमण्डलाई तोडफोड गरेर यात्राको शरणमा चुर्लुम्म डुब्यो ।
***************
गाउँ
‘ए आमोइ ! अमेरिकाको शहर निको मानिछ्यौ कि नाइ ?’ भुपालले आमालाई सोध्यो । दायाँबायाँ हेरेर ‘बाबु ! तैंले कति लोभ गरेको ? त्यो बुहारीलाई पेटीकोट किन्ने पैसा त दिनपर्छ नि।’ आमाले भन्नुभयो ।
‘हैन, के भनिछ्यौ ? बुझिन के आमोइ !’ भुपालले प्रतिप्रश्न गर्यो । ‘खै के भनौं ! बुहारीका कुरा नगर्नु । जे भने नि निको मान्नु भनेर पठाथे छोरीहरूले ।’ आमा मलिन हुनुभयो ।

‘आमोइलाई गाली गरी की कसो बुहारीले ? ’ भुपाल अरू बढी जिज्ञासु भयो । स्याउती गर्दै आमाले भन्नुभयो – ‘बाबु ! मलाई गाम पठाइदे । गाम नै मलाई निको लाग्छ । गाममा धारामा आइमाई मात्रै नुहाउँदा त पेटिकोट लाउछन् । त्यत्रा पोखरीमा नुहाउन गएकी बुहारी बोटीस र कट्टु मात्रै लगाएर । म त सरमले भुतुक्कै भएँ ।’ - रातोपुल, काठमाडौँ ।

..साथ सहयोगको खाँचो

No comments:

Post a Comment