Sunday, September 22, 2024

अन्तर्वार्ता (अङ्क १६ मा प्रकाशित)


 ************************

नेपाली साहित्यको आख्यान क्षेत्रका वरिष्ठ आख्यानकार पद्मावती सिंहको जन्म वि.सं. २००५ बैशाखमा काठमाडौँको ओम बहालमा भएको हो । कन्या माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै साहित्यमा अभिरुचि राख्ने सिंहको साहित्यिक यात्रा भने त्रिचन्द्र कलेजमा अध्ययनका क्रममा आरम्भ भयो । त्यही बेला वि.सं. २०२२ सालमा आरती साप्ताहिकमा उनको 'पत्थरको हृदय' पहिलो कथा प्रकाशित भयो । यसपछि उहाँ निरन्तर साहित्य साधनामा छिन् । 

'समानान्तर आकाश' सिंहको पहिलो प्रकाशित उपन्यास हो । यो उपन्यासलाई नारीवादी भनेर पनि समालोचकहरूले चर्चा गर्छन् । नारी-पुरुष एउटा रथका दुई पाङ्ग्रा हुनुपर्छ, अनि मात्र परिवार र समाजले सहज रूपमा गति लिन्छ भन्ने सन्देश भएको सिंहको यो उपन्यासले साझा पुरस्कारसमेत प्राप्त गर्‍यो । दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् भने दर्जनौं पदक, पुरस्कार पाइसक्नु भएका सिंह विभिन्न संघसंस्थाबाट समेत अभिनन्दित र सम्मानित भइसकेकी छिन् ।

२०५४ सालमा १२ जना नारी साहित्यकारहरू मिलेर 'गुञ्जन' नामक साहित्यिक संस्था स्थापना भएको हो । जसको संस्थापक अध्यक्ष सिंह हुनुहुन्छ । साहित्यमार्फत् नै परिवर्तन ल्याउन सकिन्छ भनेर दृढ विश्वास गर्नुहुने सिंह यो संस्थामार्फत नेपाली नारी सर्जकहरूलाई डोर्‍याउने उनी अगुवा बनिन् ।  लामो समयदेखि साहित्यमा साधनारत पद्मावती सिंहस“ग लघुकथा संसार अनलाइन मासिकले गरेको छोटो कुराकानी ।

 ************************

विशेष विधा के हो र किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?

मेरो विशेष विधा आख्यान हो । म एक त लेख्ने शौखले लेख्छु । समाजका विकृति, विसङ्गति र लिङ्गीय विभेदको विरोध गरी समाजमा चेतना जागृत गर्नका लागि पनि लेख्छु । 


कथा र जीवन दर्शनलाई दाँजेर कसरी हेर्नुहुन्छ ?

कथामा जीवन दर्शन हुन्छ । कथा रचनात्मक हुन्छ, जीवन दर्शन सैद्धान्तिक हुनाले तुलनात्मक दृष्टिले दुई एकअर्काको पूरक हो भनी ठान्दछु ।


यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ?

मेरो कथा लेख्ने निश्चित समय राति हो । स्थानको कुरा गर्दा म कुनै पनि स्थानमा बसेर लेख्न सक्छु । 

अहिले कविता, कथा र दर्शनलाई बुझेर लेख्ने वा रहरले लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउने/कवि भनाउने 


चलन असाध्यै बढेर गएको छ यसलाई कसरी लिनु भएको छ ?

मेरो विचारमा यो नराम्रो कुरा होइन । सामाजिक सञ्जालमा यी कुराहरूले कुनै न कुनै किसिमले लेखनमा जागृति आउँछ जस्तो लाग्छ ।


वर्तमान कविता, कथा लेखनको समग्र प्रवृत्तिलाई कसरी हेरिरहनु भएको छ ?

कथा लेख्न र कविताको प्रवृत्ति मैले सकारात्मक रहेको मैले पाएकी छु । युगानुसार कथा लेखन प्रति कथाकार तथा लेखकहरू अग्रसर भइरहेका छन् जस्तो लाग्छ । 


कविता र कथामा तात्विक भिन्नता के कस्ता हुन्छन् ? केही खुलाई दिनुहुन्छ कि ?

तात्विक भिन्नता भनेको एउटा गद्य हो भने लेख्ने अर्को पद्य लेखन हो । दुवै कलात्मक हुन्छन् र संप्रेषणीय पनि हुन्छन् ।


अनेकौं सम्मान, राष्ट्रियस्तरका पुरस्कार प्राप्त गरी सक्नु भएको सन्दर्भमा निचोड के होला ?
क) आत्मसन्तुष्टि ख) अहँकार ग) जन्म सफल भएको ।

आफूले साहित्यमा योगदान दिएकै कारण सम्मान पाएको जस्तो लाग्छ । आफूले साहित्यिक क्षेत्रमा गरेको सत् कार्यको पहिचान गरेको लाग्छ । निसन्देह जन्म सफल भएझैँ लाग्छ । 

 सिंहका केही प्रकाशित कृतिहरू


कथा लगायत अन्य कृतिहरू निरन्तर आइरहेका छन् । पाठक शुभचिन्तकहरूलाई अब आउन लागेको नया“ कोसेली कृति केही छन् ?

अब आउन लागेको मेरो कृति उपन्यास हो । यस वर्षको अन्त समयमा पाठकहरू सामु मैले उपन्यास पस्कने छु । 


साहित्यको कुन विधा यहाँलाई प्रिय लाग्छ अथवा पाठकले आफूलाई को हुँ भनेर बुझिदिए हुने थियो जस्तो लागेको छ ?

साहित्यमा मैले गीत, कथा, उपन्यास, निवन्ध, यात्रा संस्मरण आदि विधामा कलम चलाइरहेकी छु । तर मेरो प्रिय विधा कथा, उपन्यास नै हुन् । 

आफूलाई भन्न मन लागेको र सोध्न छुटेका केही कुराहरू भए उल्लेख गरी दिन अनुरोध छ । 

मलाई भन्न मन लागेका कुरा हुन् ः

-  साहित्यमा गुटबन्दी हुनु हुँदैन ।

-  साहित्य राजनीतिभन्दा माथि हुनुपर्छ ।

-  साहित्यकारलाई राज्यले यथोचित सम्मान गर्नु पर्छ । 

-  साहित्यिक संस्थाहरूले अन्य साहित्यिक संस्थाहरूसित समन्वय गरी साहित्यिक विकासमा अघि सर्नु पर्छ ।


‍‍.....साथ सहयोगको खाँचो

No comments:

Post a Comment